Friday, February 9, 2018

रामायणमा सीताको अग्निपरीक्षा



रामायणमा सीताको अग्निपरीक्षा 

डा. विवेक आर्य

रामायणा महाकाव्यमा सीताको अग्निपरीक्षा एक विवादित प्रसंगको रुपमा हेर्न सकिन्छ । यस प्रसंगका अनुसार रामद्वारा रावणलाई युद्धमा जितेपछि लंकामा सीतालाई स्वीकार गर्नुपूूर्व सीताको अग्निपरीक्षा लिइएको थियो । अग्निमा प्रवेश गरेर पनि सीताको शरीर भष्म भएन । यसबाट सीताको पवित्रताको साक्षी पाएर श्रीरामले सीतालाई स्वीकार गर्नुभयो । सीताको अग्निपरीक्षालाई लिएर व्यक्तिपिच्छे धेरै मतहरु देख्नमा आउँछ । महिला अधिकारको नाममा पसल थाप्नेहरुले यसलाई नारीजातिमाथिको अत्याचार , शोषण , नारीको अपमानको रुपमा हेर्दछन् । विधर्मी मतहरु यस प्रसंगलाई हिन्दु धर्मलाई शोषक धर्मका रुपमा चित्रित गर्न प्रयोग गरेर धर्मान्तरणको सहायका लागि प्रयोग गर्दछन् । अम्बेडकरवादीहरु यसलाई मनुवाद , ब्राह्मणवादको प्रतीकका रुपमा उठाई आफ्नो व्यक्तिगत कलह–विषको वमन गर्छन् । यति हुँदाहुँदै पनि हाम्रा केही हिन्दु भाइहरु यसलाई श्री रामको महिमा र चमत्कारको रुपमा गुणगान गाउँछन् । किनकी उनीहरुका लागि श्री राम भगवान् विष्णुका अवतार हुन् र भगवानका लागि जे पनि सम्भव छ ।

यस लेखमा सीताको अग्निपरीक्षालाई तर्कको कसौटीमा पक्षपात रहित भएर परीक्षा गरेर नै हामी अन्तिम निष्कर्ष निकाल्नेछौँ ।


१. वाल्मीकि रामायणका श्री रामचन्द्र महान् व्यक्तित्व , मर्यादापुरुषोत्तम , ज्ञानी , वीर , महामानव , ज्येष्ठ–श्रेष्ठ आत्मा , परमात्माका परम भक्त , धीर – वीर पुरुष , विजयका पश्चात् पनि विनम्रता आदि गुणहरुले विभूषित , महानायक , सद्गृहस्थ तथा आदर्श महापुरुष थिए । यस्ता महान् व्यक्तित्वका महान् गुणका समक्ष सीताको अग्नीपरीक्षा गरेर पवित्रतालाई निर्धारित गर्नु बलपूर्वक लगाइएको आरोप , मिथ्या एवं अस्वीकार्य घटना हो । श्री रामको महान् व्यक्तित्व एवं आदर्श विचारहरुको समक्ष यो प्रसंग अति नै तुच्छ छ । यसबाट यो प्रतीत हुन्छ कि यो प्रसंग बेमेल हो ।


२. वैदिक कालमा नारी जातिको स्थान मध्यकालको जस्तो निकृष्ट थिएन । वैदिक कालमा नारी वेदहरुका ऋषिकाहरुदेखि लिएर गार्गी , मैत्रेयीको समान विदुषी थिए , कैकयी समान महान क्षत्राणी थिए जो राजा दशरथसँग युद्धमा पराक्रम पनि देखाउँथे , कौशल्याको समान दैनिक अग्निहोत्री र वेदपाठी थिए । सम्पूर्ण रामायण यस तथ्यलाई स्वीकार गर्दछ कि रावणको अशोकवाटिकामा बन्दी अवस्थाकी सीतालाई रावणले शक्ति र सामथ्र्य हुँदा–हुँदै पनि सीताको इच्छाको विरुद्ध उसको नजीक जाने साहस गर्न सक्दैन । यो उक्त कालको सामाजिक मर्यादा तथा नारी जातिको पतिव्रता शक्तिको उद्बोधक हो । रामायणकालमा सामाजिक मर्यादाको एक अन्य उदाहरण यस तथ्यबाट पनि पाइन्छ कि परस्त्रीलाई अपहरण गर्ने रावण र परपुरुषको इच्छा राख्नेवाली शुर्पनखालाई उनीहरुको दुराचारका कारण राक्षस भनिएको छ जबकी सबै प्रलोभनबाट विरक्त एवं एक पत्नीव्रत श्री राम र शुर्पणखाको व्यभिचारी प्रस्तावलाई अस्वीकार गर्ने लक्ष्मणजीलाई देवतुल्य मानिएको छ । यस्तो महान् समाजमा विदुषी एवं तपस्वी सीताको सत्य वचन नै उनको पवित्रतालाई सिद्ध गर्नको लागि पूर्ण थियो । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्ते प्रसंग सिद्ध हुन्छ ।


३. वैज्ञानिक दृष्टिले हेर्दा पनि यो सम्भव छैन कि कुनै मनुष्यको शरीरलाई अग्निका स्पर्श गराएपछि त्यो बिना जलेर सकुशल बचोस् । के अग्नि कसैको पवित्रताको परीक्षा लिन सक्षम छ ? वैज्ञानिक तर्कको विरुद्ध सीता अग्निपरीक्षालाई चमत्कारको संज्ञा दिनु मन बहलाउनुको समान छ । केवल आस्था , विश्वास र श्रद्धारुपी मान्यताबाट संसार चल्दैन । कुनै पनि मान्यतालाई सत्य एवं ज्ञानबाट सिद्ध भएपछि मात्र ग्रहण गर्नु उपयुक्त हुन्छ । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक मनगढन्ते प्रसंग सिद्ध हुन्छ ।


४. सुग्रीवकी पत्नी रुमा जसलाई बालीले आफ्नो बन्धक बनाएर आफ्नो महलमा राखेको थियो , बालीको वधपश्चात् ग्रहण गर्न सक्छ भने श्री रामले हरण गरिएकी सीतालाई किन स्वीकार नगर्नु ? श्री आदर्शलार्ई मान्नेवाला कसैले पनि यो तर्कलाई झुट्याउन सक्दैन ।


५. यसै पुस्तकमा रामायणमा प्रक्षिप्त ( मिश्रण ) भएको ( विशेष रुपले उत्तर काण्ड ) को वर्णज अन्य लेखमा पनि गरिएको छ । त्यस आधारमा सीताको अग्निपरीक्षा भएको प्रसंग पनि प्रक्षिप्त भएका कारण अस्वीकार्य छ । रामायणको महान् गाथा त युद्धको पश्चात् हनुमानद्वारा रामविजयबारे सीतालाई सूचना दिनको लागि अशोकवाटिका जाँदा , श्री रामद्वारा सीताको पुनर्मिलन र अयोध्या फर्किएर आउनासाथ समाप्त हुन्छ । रामायणमा मिश्रण गरेर श्री रामको आदर्श चरित्रलाई दुषित गर्ने एवं सीताको अग्निपरीक्षाको व्यर्थ आरोप लगाउने काम सबै मध्यकालको देन हो । यस आधारमा पनि सीताको अग्निपरीक्षा एक कपोलकल्पित प्रसंग हो ।


रामायण नारी जातिको सम्मानको पनि शौर्य गाथा हो । यसले सन्देश दिन्छ कि यदि एक अत्याचारी परनारीलाई हरण गर्छ भने सागरमाथि पुल बनाउन परे पनि , वर्षौसम्म जंगलमा घुम्न परे पनि ,आफ्नो शक्ति जति सीमित भए पनि दृढ निश्चयी एवं सत्य मार्गको पथिक नारी जातिको तिरस्कारको , अपमानको प्रतिशोध प्राण हरण गरेर नै लिनुपर्छ । यस्तो महान् गाथामा सीताको अग्निपरीक्षा जस्तो अनमेल , अप्रासंगिक वर्णन प्रक्षिप्त या मिश्रित हुनुको अतिरिक्त अरु केही होइन ।

No comments:

Post a Comment