Wednesday, February 28, 2018

वैदिक होली पर्व के हो र कसरी मनाउने ?



वैदिक होली पर्व के हो र कसरी मनाउने ?

वेदिका स्कुलबाट आएर झोला राख्दै होलीको बारेमा निवन्ध लेख्नु छ भन्न थालिन् । बुवा, आमालाई होलीको विषयमा जान्न इच्छा राखेर निवन्धको लागि सोध्न थालिन् ।

वेदिका – होली के हो र किन मनाउने हो ?

आमा – होली हाम्रो ठुलो पर्व हो, जसमा सबै जना मतभेद बिर्सेर समाजिक सौहार्दताको वातावरणमा रमाउँदछन् । यस विषयमा पौराणिक मान्यता यस प्रकार छ – हिरण्य कश्यपुको बहिनी होलिकाले भगवानबाट वरदान पाएकी थिइन् कि उनी आगोमा जल्ने छैनिन् । हिरण्य कश्यपु घोर नास्तिक थिए । उनका छोरा प्रहलाद धर्मात्मा, ईश्वर भक्त थिए । बाबु छोरामा सधै अनमन भै रहन्थ्यो । एकदिन हिरण्य कश्यपुले बहिनी होलिकालाई भने –तिमी आगोमा जल्ने छैनौ, प्रहलादलाई काखमा राखेर चितामा बस । प्रहलाद जलेर भस्म हुनेछ र हाम्रो बिरोधी भगवान मान्ने पनि सिद्धिनेछ । ईश्वरका कृपाले होलिका आगोमा जलिन् र प्रहलाद बचे । उहिले देखि नै होली मनाउँदै आएको हो ।

वेदिका – बुवा होलिका नजल्ने वर पाएको कुरा साँचो हो ? फेरि कसरी जलिन् ?

बुवा – छोरी ! यो कथा जनमानसमा सुनिदै आएको छ । अब यो कुरालाई तर्क र वेदको कसौटीमा कसेर हेराँै । पहिलो कुरा परमात्माको सृष्टिका पाँच तत्वहरुमा अग्नि तत्व निकै प्रवल छ । उसको काम कुनै पनि बस्तुलाई सुक्ष्म बनाउनु र भस्म गर्नु हो । आगोको स्वभाविक गुण जलाउनु हो । दुवै जनासँगै आगोमा बसेका थिए तर एकजना जलिन् र अर्कोलाई केही भएन, यो त पुरै झुठो कथा हो । किनकी आगो जड पदार्थ हो, त्यसलाई यति ज्ञान नै हँुदैन कि कुन आस्तिक हो र कुन चाहिँ नास्तिक हो । आगोले चाहे भक्त होस् वा चाहे भक्तहिन, चाहे धर्मात्मा होस् वा अधर्मी सबैलाई जलाउँदछ । यो कथाले एकातिर ईश्वरले दिएको वर काम नलाग्ने बनाएर ईश्वरको उपहास गरेको छ भने दोश्रो आगोको स्वभाविक गुणको पनि असत्यता देखाइएको छ ।

आमा – परमात्माको कृपा भएमा जे पनि हुन सक्छ ।

बुवा – तिम्रो यो सोच गलत छ किनकी परमात्माले कहिले पनि भुल गर्दैनन् । उनका सबै कार्य टिकाउ र स्थायी छन, त्यसमा परिवर्तन हुँदैन । जुन तत्वको जो स्वभाविक गुण हो, त्यो परमात्माले बदल्दैनन् र स्वभाविक गुणको नाश हँुदैन । परमात्मा कसैको भनाइ सुनाइमा आउँदैनन् । उनका सबै काम सीधा र सही हुन्छ र बदल्ने आवश्यकता नै छैन ।

वेदिका – बुवा त्यसो भए साँचो कुरा के हो ?

बुवा– होलीको वास्तविक स्वरुप यस प्रकार छ । यो साँस्कृतिक पर्व हो र यसको नाम ‘वासन्ती नवसस्येष्टि ’ हो । पदच्छेद = वासन्ती + नव+ सस्य + येष्टी शब्दार्थ – (वासन्ती ) वसन्त ऋतु सम्बन्धी (नव) नयाँ (सस्य) अन्न (येष्टी) यज्ञ । भावार्थ– वसन्त ऋतुमा उब्जने नयाँ अनाजहरुद्वारा यज्ञ अर्थात देव पुजा गर्नु हो । वसन्त ऋतुलाई मधुमास पनि भन्दछन् , चैत र बैशाख मधुमास कहिन्छन् । होली वसन्त ऋतुको पर्व हो । यसबेला जौ, चना, केराउ आदि अनाज पाक्दछन् । कृषकहरुले नयाँ अन्न खानुभन्दा पहिला देवतालाई चढाउँदछन् । देवताहरुसम्म पुर्याउने माध्यम यज्ञ हो । ‘अग्निर्वै देवानां मुखं ’ अग्नि देवताहरुको मुख हो । यज्ञमा जुन अन्न, घ्यु, शाकल्य आदि हालिन्छ , त्यो सुक्ष्म भएर देवताहरुलाई प्राप्त हुन्छ । योगेश्वर कृष्णले गीताको अध्याय ३ मा भन्नु भएको छ – अन्नले जीवहरुको पालन गर्दछ । अन्न बर्षाबाट उब्जनी हुन्छ । होली सामुहिक पर्व हो । यसमा सबैजना मिलेर महायज्ञ गर्ने गर्दथे र त्यसको परिक्रमा गर्दै भजन गाउँदै, बजाउँदै हर्षोल्लास पुर्वक परस्पर मिल्दथे । गीता ३–१० मा ‘सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।’ अर्थात प्रजापति परमात्माले मानव सृष्टिसँगै यज्ञको प्रावधान गरिदिएका छन । योगेश्वर कृष्ण भन्नुहुन्छ – देवान्भावयतानेन ते देवा भावयन्तु वः । परस्पर भावयन्तः श्रेयः परमवाप्स्यथ ।। गीता ३–११ अर्थात – यज्ञद्वारा देवताहरुलाई खुसी गराऊ, वेद देवता तिमीहरुलाई खुसी दिन्छन् । यसरी एक आपसमा उन्नति गर्दै मोक्ष प्राप्त गर ।

वेदिका – बुवा के होलिका र होलीको कुनै नाता छैन ?

बुवा – हिरण्य कस्यपुको बहिनी होलिका र होली पर्वको कुनै सम्वन्ध छैन ।

आमा– अनि किन मानिसहरु होलिका माताको जय भन्दछन् ?

बुवा – यसको समाधान तराईको गाँउले भाषामा खेतबाट ल्याएको बोट सहितको चनालाई “होरा वा होराहा ” भन्दछन । चनालाई संस्कृत भाषामा “होलक” भनिन्छ र स्त्री लिंग शब्द “होलिका” हुन्छ । जुन पनि अन्नको दानामा ढक्कन (बोक्रा) हुन्छ , त्यसलाई होलक भन्दछन र भित्रको दानालाई ‘प्रहलाद’ भन्दछन् । ‘माता निर्माता भवति’ होलिकालाई माता यसकारण भनिन्छ कि बोक्रा (छिल्का) ले चना रुपी प्रहलादको निर्माण गर्दछिन् । जब होरालाई आगोमा भुटिन्छ तब होलिका (होलक) यानि छिल्का जल्दछ र प्रहलाद बाहिर निस्कन्छ वा बच्दछ । बालबालिकाहरुले प्रसन्नतामा ‘होलिका माताको जय’ भन्दछन । यदि बोक्रा (होलक) नभएमा चना नै बन्ने थिएन । जतिपनि बोक्रा वा छिल्का भएका अन्न सबैको नाम होलक हो ।

वेदिका – फागु पुर्णिमाको राति आगो बालेर ‘होलिका दहन’ किन भनिन्छ ?

बुवा – होलिका दहनको विषयमा त मैले भनि नै सके । फागु पुर्णिमाको राति धेरै काठ जम्मा गरेर अवैदिक विधिले पुजा अर्चना गरेर वा नगरेर आगो जलाउँदछन् र उनीहरु संझन्छन् कि कुनै ठुलो धार्मिक कार्य गर्दैछन् जुन वास्तवमा कुनै धार्मिक कुरासँग सम्बन्ध नै छैन । पुर्णिमाको दिन सामुहिक रुपमा यज्ञ विहान गर्नु पर्दछ जुन वैदिक हो ।

वेदिका – मलाई त बाटोमा भाङ्ग , रक्सी आदि पिएर लडिरहेका र रङ्गको सटटा अरु कुराले होली भनेर खेलेको मनै पर्दैन । यस्तो चलन कसरी चलेको होला ?

बुवा – आज हाम्रा सबै प्रथा परम्परा विकृत, प्रदुषित भएका छन । होलीमा पनि यस्ता उच्छृङ्खल व्यवहार गर्नेहरु वाममार्गी हुन, जसले पर्वको निहँुमा मादक पदार्थ खान्छन र समाजमा कुरीति फैलाउँदछन् । यस्ता व्यक्तिहरु वैदिक संस्कृतिबाट अनभिज्ञहरु नै हुन् । यस्ता कुराहरुको हामीले त्याग गर्नु पर्दछ ।

वेदिका – बुवा त्यसो भए हामीले वैदिक परम्परा अनुसार होली कसरी मनाउनु पर्दछ ?

बुवा – वैदिक परम्परामा सबैजना जम्मा भएर नयाँ अन्नको हलुवाको आहुित दिएर सामुहिक यज्ञ गर्नु पर्दछ । त्यस पछि पुरुषहरुले एकआपसमा चन्दन लगाएर अंकमाल गर्नु पर्दछ । मातृवर्गले पनि परस्परमा चन्दन लगाएर अंकमाल गर्नु र नमस्कार गर्नु पर्दछ । एक आपसमा मित्रता र खुसी समाजमा बाँडनु पर्दछ । कुनै प्रकारको मनोमालिन्य भएमा परस्पर क्षमायाचना गर्ने र क्षमादान पनि गर्नु पर्दछ । क्षमायाचना र क्षमादानमा कुनै किसिमको संकोच गर्नु हुदैन । सामुहिक भजन गायन गर्नु पर्दछ । आज पनि थारु समाजमा होलीको दिन मात्र रङ्ग खेल्दछन् र झन्डै हप्ता दिनसम्म रङ्ग नखेलेर सामुहिक भजन गाउँदै गाउँमा सबै कहाँ पुगेर खुसी बाँडने चलन छ ।

वेदिका – आजभोलि त हाम्रो त्यस्तो राम्रो सामाजिक पर्वलाई नबुझेर विकृत पो पारेका रहेछन् ।

बुवा – हो अब त बुझ्यौ नि तिमीले होली पर्वले हामीलाई देवपुजाको साथ साथै सामाजिक सौहार्दताको प्रेरणा पनि दिन्छ । तिमीहरुले नै समाजमा होली पर्वमा परस्परमा सबै मन मुटाव र उंच निचलाई मेटाएर प्रीतिपुर्वक हर्षोल्लास बाँडनु पर्दछ । आफ्नो वैदिक संस्कृतिलाई जोगाउनु नै सुसंस्कृत हुनु हो ।

No comments:

Post a Comment