प्रियांशु सेठ
महर्षि पतञ्जलिद्वारा वर्णित अष्टाङ्ग योगका आठ अंगब्रह्मरुपी सर्वोच्च शिखरमा चढ्नको लागि आठ खुट्किला हुन् । उनका नाम हुन् – यम , नियम , आसन , प्राणायम , प्रत्याहार , धारणा , ध्यान र समाधि ।
यहाँ प्रत्येकको संक्षिप्त विवेचना प्रस्तुत गरिएको छ –
१. यम पाँच छन् –
(१) अहिंसा – अहिंसाको अर्थ केवल कसैको हिंसा नगर्नु मात्र होइन अपितु मन , वचन र कर्मले कुनै पनि प्राणीलाई कुनै किसिमको कष्ट नदिनु , कसैलाई कुनै हानि नपुर्याउनु र कसैप्रति वैरभाव नराख्नु पनि अहिंसा हो । उपासकको लागि आवश्यक छ कि कसैसँग वैरभाव नराखोस् , सबैसँग प्रेम भाव राखियोस् । उसको आँखामा सबैका लागि स्नेह र वाणीमा माधुर्य होओस् । पशुहरुलाई मारेर अथवा मार्न लगाएर उनको मांसले आफ्नो पेट भर्नेवाला तीन कालमा पनि योगी बन्न सक्दैन । साधक प्रत्येक स्थानमा , प्रत्येक समयमा र प्रत्येक परिस्थितिमा अहिंसाव्रती हुनुपर्छ । “ अहिंसा परमो धर्म ” अहिंसा नै परम धर्म हो । अहिंसाको उद्देश्य हो कि मनुष्यको भित्र लुकेको उग्र , क्रूर र पाशविक वृत्तिहरुलाई जड–मूलबाटै उच्छेद गर्नु । जब मनमा अहिंसाको छाया पनि देखिदैन तब जान्नु पर्छ कि अहिंसाको सिद्धि भइसकेको छ । अहिंसाको फल के हो ?
महर्षि पतञ्जलि लेख्नुहुन्छ कि –
अहिंसाप्रतिष्ठायां तत्संनिधौ वैरत्यागः ।
–योग दर्शनज साधन . ३५
हृदयमा अहिंसालाई प्रतिष्ठित भएपछि अहिंसकका समीप बाघ , साँप आदि हिंस्रक प्राणीहरु पनि आफ्नो वैरभाव त्यागिदिन्छन् ।
अहिंसाको सिद्धिको बिना अन्य यमहरुको सिद्धि हुन सक्दैन । त्यसैले यमहरुमा यसलाई सर्वप्रथम स्थान दिइएको छ ।
(२) सत्य –सत्य द्वितीय यम हो । साधक मन , वचन र कर्मले सत्य जानोस् , सत्य मानोस् , सत्य बोलोस् र सत्य नै लेखोस् , मिथ्या– असत्य नबोलोस् , न त मिथ्या व्यवहार नै गरोस् । सत्यस्वरुप परमेश्वरलाई पाउनको लागि नै सर्वथा साधक सत्यनिष्ठ बन्नुपर्छ । सत्यस्वरुप प्रभुको साक्षात्कार गर्नको लागि उपासक सदा सत्यमा बाच्नु पर्छ , सत्यस्वरुप नै बन्नु पर्छ र सत्य प्रति आंशिक होइन सम्पूर्ण र सर्वोपरि लगाव राख्नुपर्छ । साधनाको नींव राख्नको लागि सत्यव्रती बन्न अत्यावश्यक छ । सत्य सबैभन्दा ठुलो व्रत हो ।
अहमनृतात्सत्यमुपैमि – यजु . १÷५
म असत्यलाई त्यागेर जीवनमा सत्यलाई ग्रहण गर्दछु ।
वेदादिशास्त्रहरु सत्यको महिमाले भरिएका छन् ।
उपनिषदहरुमा भनिएको छ –
सत्येन लभ्यस्तपसा ह्येष आत्मा । – मुण्डकोपनिषद् ३.१.५
परमात्मा सत्य र तपले नै प्राप्त हुन्छन् ।
सत्येमेव जयति नानृतम् । – मुण्डकोपनिषद् ३.१.६
सत्यको नै विजय हुन्छ , असत्यको होइन ।
महाभारतमा भनिएको छ –
सत्यं स्वर्गस्य सोपानम् । – महाभारत उद्योग पर्व ३३.४७
सत्य स्वर्गको खुट्कििला हो । ु
महर्षि मनुको कथन छ कि –
नास्ति सत्यात्परो धर्मो नानृतात्पातकं परम् । – मनु. ८÷८२
सत्यभन्दा ठुलो अरु कुनै धर्म छैन र असत्यभन्दा ठुलो कुनै पाप छैन ।
सत्यभाषणको फल बताउँदै महर्षि पतञ्जलि भन्नुहुन्छ कि –
सत्यप्रतिष्ठायां क्रियाफलाश्रयत्वम् । – योगदर्शन साधनापाद . ३६
सत्यमा प्रतिष्ठित हुनाले व्यक्ति वाक्सिद्ध हुन्छ ।
सत्यको महत्वलाई जानेर जीवनमा सत्यलाई धारण गर्नुहोस् । सत्यमा निवास गर्नुहोस् । सत्यमा मूत्र्तरुप बन्नुहोस् । मन , वाणी र कर्मले सच्चा बन्नुहोस् ।
(३) अस्तेय – यमहरुमा तेस्रो यम अस्तेय रहेको छ । स्तेयको अर्थ हो चोरी गर्नु र अस्तेयको अर्थ हो मन , वचन र कर्मले चोरी नगर्नु । साधक चोरी नगरोस् , सत्य व्यवहार गरोस् । स्वामीको आज्ञा नभएसम्म कुनै पनि वस्तुलाई नउठाइयोस् ।
स्तेयरुपी अवगुण सर्वत्र दृष्टिगोचर देखिन्छ । व्यक्तिको लागि जति आवश्यक हुन्छ , त्यसभन्दा अधिकको आशा राखेर जुन कार्य गरिन्छ त्यो नैतिक र आध्यात्मिक दृष्टिले चोरी हो । आवश्यकताभन्दा अधिक खानु पनि चोरी हो । बस अथवा रेलमा टिकट नलैजानु र मसँग पास छ भनेर निस्कनु पनि चोरी हो । खिइएको सिक्का चलाउनु या पसलेले गल्तीले दिएको अधिक पैसा पनि गोजीमा खुसुक्क हाल्नु पनि चोरी नै हो । घुस दिएर काम गराउनु पनि चोरी नै हो ।
मनुष्य चोरी किन गर्छ ? चोरीको वास्तविक कारण मनुष्यहरुमा नगण्य इच्छा हुनु तथा अनियन्त्रित इन्द्रियहरु हुन् । चोरीबाट बच्नको लागि आफ्ना इच्छाहरुलाई नियन्त्रित गर्नु र इन्द्रियहरुलाई अनुशासित र मनलाई वशमा राख्नु नै हो ।
अस्तेयको महत्ताको प्रतिपादन गर्दै महर्षि पतञ्जलि लेख्नुहुन्छ कि –
अस्तेयप्रतिष्ठायां सर्वरत्नोपस्थानम् । – योगदर्शन साधनपाद ३७
मनुष्यको हृदयमा अस्तेयको प्रतिष्ठा भएपछि उसका सामुन्ने संसारका सबै रत्नहरु स्वयमेव उपस्थित हुन सुरु गर्छन् अर्थात् अस्तेयमा प्रतिष्ठित भएपछि व्यक्तिलाई कहिल्यै पनि धन–रत्नको अभाव रहदैन ।
(४) ब्रह्मचर्य – ब्रह्मचर्य दुई शब्दको मेलबाट बनेको छ – ब्रह्म र चर्य । ब्रह्मको अर्थ हो ईश्वर , वेद , ज्ञान र वीर्य । चर्यको अर्थ हो चिन्तन , अध्ययन , उपार्जन र रक्षण । यस प्रकार ब्रह्मचर्यको अर्थ हुन्छ – साधक ईश्वरको चिन्तन गरोस् ,ब्रह्मको विचरण गरोस् , वेदको अध्ययन गरोस् , ज्ञानको उपार्जन गरोस् र वीर्यको रक्षण गरोस् ।
ब्रह्मको विचरण गर्नको लागि मनमा विषय–वासनादिबाट मुक्त हुनपर्छ । विषय वासनाहरुमा कामवासना सबैभन्दा प्रबल र घातक रहेको छ , अतः ब्रह्मचर्यको अर्थ प्रमुख रुपमा वीर्य रक्षण गर्ने गरिन्छ । साधक जितेन्द्रिय होस् न कि कामभोगी ।
ब्रह्मचर्यको उद्देश्य हो – खाइएको अन्नलाई ओजशक्तिमा परिवर्तित गर्नु । ब्रह्मचर्यको अर्थ हो – मनुष्यमा रहेका पाशविक शक्तिहरुलाई संयमित गर्नु , तिनको संरक्षण गर्नु , तिनलाई उच्च स्तरतर्फ उन्मुख गराउनु र खाएको अन्नलाई ओजशक्तिमा रुपान्तरित गर्नु ।
ब्रह्मचर्यको महिमा महान् छ । उपनिषदहरुमा भनिएको छ –
ना अयमात्मा बलहीनेन लभ्यः । – मुण्डकोपनिषद् ३.२.४
ब्रह्मचर्यले हीन व्यक्ति परमात्मालाई पाउन असमर्थ छ ।
साधकका लागि ब्रह्मचर्य त्यसै रुपमा आवश्यक छ जस्तै विद्युतले चल्ने गाडीका लागि विद्युत् । यसको बिना साधक योगमार्गमा उन्नति गर्न सक्दैन । ब्रह्मचर्यको शक्तिले नै चञ्चल इन्द्रियहरु र कुटिल मनमाथि विजय प्राप्त गर्न सकिन्छ । वेदमा ब्रह्मचर्यको महिमाको सम्बन्धमा भनिएको छ कि –
ब्रह्मचर्येण तपसा देवा मृत्युमपाघ्नत । – अथर्ववेद ११.५.१९
ब्रह्मचर्य र तपले नै विद्वान्हरुले मृत्युलाई पनि जित्न सक्छ ।
महर्षि पतञ्जलि लेख्नुहुन्छ कि –
ब्रह्मचर्यप्रतिष्ठायां वीर्यलाभः । –योगदर्शन साधनापाद ३८
ब्रह्मचर्यमा प्रतिष्ठित हुनाले वीर्यलाभ हुन्छ । अर्थात् ब्रह्मचर्य – प्रतिष्ठित व्यक्तिको परमेश्वरको विमल ज्योति प्रकाशित हुन्छ ।
उपस्थेन्द्रियको अतिरिक्त अन्य इन्द्रियहरुमा पनि नियन्त्रण राख्नुपर्छ ।
आँखाहरुलाई रुपतर्फ जानबाट , कानहरुलाई शब्दतर्फ जानबाट , नासिकालाई गन्धतर्फ जानबाट , जिब्रोलाई रसपानतर्फ जानबाट , छालालाई स्पर्श – आनन्दतर्फ जानबाट रोकौँ । सबै इन्द्रियहरुको निरोधरुपी ब्रह्मचर्य साधकलाई ब्रह्मसाक्षात्कारतर्फ लैजान्छ ।
(५) अपरिग्रह – अपरिग्रहको अर्थ हो – आवश्यकताभन्दा अधिक पदार्थहरुको संग्रह नगर्नु । साधक त्यति मात्र पदार्थको संग्रह गरुन् जतिको आवश्यकता छ । कुनै पनि वस्तुको खरीद गर्नुपूर्व गम्भीरतापूर्वक सोचौँ । यदि ती वस्तुको खरीद अत्यावश्यक भए खरीद गर । पदार्थहरुको अधिक संग्रहले आज मानव दुःख पाइरहेको छ ।
विषयहरुको अर्जन , रक्षण , क्षय ( नाश ) , सङ्ग ( उपभोग ) , हिंसा ( संग्रहमा परपीडा ) आदि दोषहरुलाई देखेर तिनलाई स्वीकार नगर्नु र त्याग गर्नु नै अपरिग्रह हो ।
अपरिग्रहको एक अर्थ अभिमान नगर्नु पनि हो । साधक विनम्र बनून् । उनीहरु निरभिमानी बनून् , अभिमान कहिल्यै नगरुन् । विद्या , धन , बल आदि जुन कुराहरुमा मनुष्यले अभिमान गर्दछ तीमध्ये एक पनि यस्तो छैन जो अभिमान गर्न योग्य होस् ।
अपरिग्रहको फल के हो ?
महर्षि पतञ्जलि लेख्नुहुन्छ कि –
अपरिग्रहस्थैर्ये जन्मकथन्ता सम्बोधः ।– योग दर्शन साधन पाद ३९
अपरिग्रहमा प्रतिष्ठा–दृढता भएपछि पूर्वजन्मका कारणहरुको बोध हुन्छ ।
यी पाँच अंगहरु मिलेर उपासना–योगको प्रथम अंग हो ।
२– नियम पनि पाँचवटा छन् –
(१) शौच – शौचको अर्थ हो पवित्रता । साधक भित्र र बाहिरबाट पवित्र होऊन् । राग–द्वेषको त्यागबाट आन्तरिक र जलादिबाट बाह्य शुद्धि आवश्यक छ । शरीरको दशाको मनमा धेरै प्रभाव रहन्छ , अतः शरीरलाई स्नानले पवित्र राख्नुपर्छ । वेश–भूषा पनि पवित्र हुनुपर्छ । फोहोरो र जहा दुर्गन्धको वास हुन्छ त्यस स्थानमा मन लाग्दैन । अन्तः शुद्धिमा पनि विचार गर्न आवश्यक रहन्छ । अण्डा , मासु , रक्सी , चुरोट , अफीमको सेवन गर्ने मान्छेको मन पनि दुषित हुन्छ ।
शौचात् स्वाङ्गजुगुप्सा परैरसंसर्गः । – योगदर्शन साधनपाद ४०
पवित्रतामा प्रतिष्ठित भएपछि आफ्नो अंगबाट विरक्ति र अरु स्त्री पुरुषको साथ संगतिबाट पनि वितृष्णा हुन जान्छ ।
शौचबाट बुद्धिको शुद्धि , मनको विमलता , एकाग्रता , इन्द्रियजय र आत्मदर्शनको योग्यता प्राप्त हुन्छ ।
(२) सन्तोष– सन्तोेषको अर्थ गलत सम्झिएको पाइन्छ । सन्तोषको अर्थ बेकाम बस्तु होइन । सन्तोषको अर्थ आलस्यलाई त्यागेर पुरुषार्थमा सदा उद्यत रहनु हो । धर्मपूर्वक पुरुषार्थ गरेर लाभमा प्रसन्न र हानिमा अप्रसन्न हुुनुहुदैन । सन्तोष सुख र शान्ति प्राप्त गर्ने मार्ग हो । महर्षि पतञ्जलिको वचन छ –
सन्तोषदनुत्तमसुुखलाभः । – योगदर्शन .४२
सन्तोषको सिद्धि भएपछि यस्तो सुखको प्राप्ति हुन्छ जो भन्दा ठुलो अरु कुनै सुख नै छैन । त्यो वर्णनातीत हुन्छ ।
महर्षि वेदव्यास लेख्नुहुन्छ कि –
यच्च कामसुखं लोके यच्च दिव्यं महत्सुखम् ।
तृष्णाक्षयसुखस्यैते नार्हतः षोडशीं कलाम् ।। – महाभारत शान्ति पर्व १७३.४६
यस संसारमा काम्य वस्तुको जो उपयोजनित सुख छ अथवा स्वर्गको जो महान् सुुख छ , त्यो तृष्णाक्षयबाट उत्पन्न हुने सुखको सोह्रौ अंश बराबर पनि छैन ।
हो , यौटा कुराको ध्यान राख्नुपर्छ । सन्तोष सांसारिक कुरामा नै गर्नु पर्छ , साधनामा होइन । साधनामा त असीम असन्तोष हुनुपर्छ । साधकको प्रभुप्रतिको भक्ति र प्रेममा कहिल्यै पनि सन्तोष हुनु हुन्न ।
(३) तप – तपको सम्बन्धमा अनेक भ्रान्तिहरु विद्यमान रहेका छन् । कसैले भन्छन् कि एक खुट्टामा उभिनु नै तप हो अथवा यौटा वा दुइवटा हातको भरमा उभिनु नै तप हो । कोही सम्झन्छन् कि शीतकालमा चिसो पानीमा उभिनु या ग्रीष्मकालमा पञ्चाग्नि ताप्नु नै तप हो । कसैका अनुसार स्वयंलाई धर्तीमा गाड्नु नै तप हो । कसैको मतमा किलाको पलङमा सुत्नु नै तप हो । वस्तुतः यी कुनै पनि तप होइनन् । तपको वास्तविक अर्थ हो – द्वन्द्वसहनं तपः – कष्ट आउँदा पनि धर्मकार्यको निरन्तरता नै तप हो । हानि – लाभ , जीवन–मरण , सुख–दुःख , भोक–प्यासमा पनि समभावमा रहनु नै तप हो ।
तप धातुको अर्थ हो – तप दाहे –अर्थात् जल्नु र जलाउनु । अग्निका दुइ गुण सदा ध्यानमा राख्नुपर्छ – यो पदार्थलाई शुद्ध गर्छ र स्वयं तेजयुक्त छ । तप पनि एक प्रचण्ड क्रिया हो जो मनुष्यको मलहरुलाई जलाएर त्यसलाई आत्मचैतन्यको प्रकासमा उद्भासित गराउँछ ।
तपको फल हो बलको प्राप्ति । जुन तपले शरीरमा कान्ति , ओज र तेजको वृद्धि हुँदैन त्यो तप होइन ।
नातपस्विनो योगः सिध्यति ।
जो तपस्वी होइन , उसलाई योगमा सिद्धिको लाभ हुदैन ।
उपनिषदहरुमा भनिएको छ कि
तपसा चीयते ब्रह्म – मुण्डकोपनिषद् १.१.८
ब्रह्मको प्राप्ति तपबाट नै सम्भव छ ।
वेदमा भनिएको छ कि –
अतप्ततनूर्न तदामो अश्नुते । – ऋग्वेद ९.८३.१
जसले तपको आगोमा आफूलाई तताएको छैन , त्यस्तो काँचो व्यक्तिल प्रभुको प्राप्ति गर्न सक्दैन ।
महर्षि पतञ्जलिले लेख्नुभएको छ कि –
कायेन्द्रियसिद्धिशुद्धिक्षयात्तपसः । – योगदर्शन साधनपाद .४३
तपबाट अशुद्धिको नाश भएर शरीर र इन्द्रियहरुलाई सिद्धि प्राप्ति हुन्छ । तपबाट शारीरिक कान्ति र इन्द्रियहरुमा सूक्ष्म विषयहरुको ग्रहण गर्न सक्ने शक्ति उत्पन्न हुन्छ ।
(४) स्वाध्याय – नियमको चौथौ अंग हो स्वाध्याय । स्वाध्यायको अर्थ हो – वेदको अध्ययन – अध्यापन र ऋषिमुनिहरुले लेखिएको सत्शास्त्रहरुको अध्ययन–अध्यापन । वेद परमात्माको दिव्य ज्ञान हो । यो मानव–कर्तव्यहरुको बोधक शास्त्र पनि हो , ज्ञान र विज्ञानको अगाध निधि पनि हो । स्वकर्तव्यहरुको ज्ञानको लागि वेदहरुको अध्ययन आवश्यक छ । ऋषिमुनि कृत ग्रन्थ भनेका वेदका व्याख्यान हुन् त्यसैले तिनको पनि अध्ययन गर्नु पर्छ । यस विषयमा महर्षि दयानन्दजी लेख्नुहुन्छ –
“महर्षि आदिको आशय जहाँसम्म हुनसकोस् सुुगम र जसको ग्रहणमा कम समयको व्यय लागोस् त्यस प्रकारको रचना हुन् र क्षुद्राशय आदिको आशय यस प्रकृतिको हुन्छ कि जहाँ सम्म हुनसकोस् कठिन रचना होस् जसको अध्ययनमा कठिन श्रम लाग्छ र कम लाभ हुन्छ जस्तै पहाड खनेर , कौडीको लाभ हुन्छ । अर्कातिर आर्ष ग्रन्थहरुको अध्ययनले सागरमा फाल हानेर बहुमुल्य मोतिको प्राप्ति झैँ हुन्छ । ”
– सत्यार्थ प्रकाश , तृतीय समुल्लास
मोक्ष विधायक आर्ष ग्रन्थहरुको अध्ययन नै स्वाध्ययन हो । समाचारपत्रको अध्ययन , उपन्यास आदिको अध्ययन स्वाध्ययन होइन । साधकले सदा उत्तम ग्रन्थहरुको अध्ययन गर्नु पर्छ ।
उपनिषद्हरुमा भनिएको छ –
स्वाध्यायान्मा प्रमदः । – तैत्तिरीयोपनिषद् शिक्षा ११
स्वाध्यायमा वेदको अध्ययनमा कहिल्यै प्रमाद गर्नु हुन्न । स्वाध्यायको अर्थ हो सत्पुरुषहरुको सङ्ग । साधकहरु सदा सज्जनहरुको संगतिमा रहनुपर्छ । सत्संगले मनुष्य ठुलो हुन्छ । महर्षि दयानन्द सरस्वतीको सत्संग पाएर नास्तिक , जड्याहा र मांसाहारी मुंशीराम परम आस्तिक स्वामी श्रद्धानन्द बने । महता अमीरचन्द पनि परिवर्तन भए । पं लेखराम , पं गुरुदत्त विद्यार्थीहरुको जीवन नै परिवर्तन भयो ।
स्वाध्यायको अर्को अर्थ प्रतिदिन परमात्माको सर्वोत्तम नाम ओ३म् को अर्थपूर्ण जप पनि हो ।
वेदमा भनिएको छ –
ओ३म् क्रतो स्मरः । – यजु ४०.१५
हे कर्मशील जीव ! तिमी ओ३म् को जप गर ।
ओ३म् प्रतिष्ठ । – यजु २.१३
तिमी ओ३म् मा प्रतिष्ठित होऊ अथवा ओ३म् नामक परमात्मालाइ आफ्नो हृदय मन्दिरमा बसाऊ ।
महर्षि पतञ्जलिले स्वाध्यायको फल बताउँदै भन्नुभएको छ –
स्वाध्यायादिष्टदेवतासंप्रयोगः । – योगदर्शन साधनपाद ४४
स्वाध्यायले इष्ट देवता – परमेश्वरको दर्शन , साक्षात्कार हुन्छ ।
(५) ईश्वरप्रणिधान – नियमहरुमा ईश्वर प्रणिधानको स्थान सर्वोच्च स्थान रहेको छ । ईश्वर प्रणिधानका दुई अर्थ रहेका छन् – एक , बिना इच्छा , आकांक्षा र मांगको आफूलाई , आफ्ना सबै कामलाई , सबै संकल्पलाई प्रभुमा समर्पण गरिदिनु । जो परमात्मासँग कुनै वस्तु माग्दछन् तिनलाई परमात्माले तिनै वस्तु दिन्छन् तर जो परमात्मासँग केही माग्दैनन् तिनलाई त परमात्मा सबै दिन्छन् । र अन्तमा आफूलाई पनि उनीहरुमा अर्पण गरिदिन्छन् । अर्को अर्थ हो कि– हृदयमा ईश्वरको प्रेम राख्दै , ईश्वरको विशेष भक्ति र उपासना गर्दै ईश्वरको कृपा , दया र प्रसन्नताको पात्र बन्नु । ईश्वरप्रणिधानबाट अहं भावको विनाश हुन्छ र जीवनमा नम्रता आउँछ । यसको के फल छ ?
समाधिसिद्धिरीश्वरप्रणिधानात् । – योग दर्शन साधन पाद ४५
ईश्वरप्रणिधानबाट योगको सर्वोच्च फल समाधिको प्राप्ति हुन्छ ।
यी पाँच नियम मिलेर उपासना योगको अर्को अंग कहलिन्छन् ।
३. आसन– यो योगको तेस्रो अंग हो । महर्षि पतञ्जलिका अनुसार आसनको अर्थ हो –
स्थिरसुखमासनम् । – योगदर्शन साधनपाद ४६
शरीर स्थीर रहोस् र चित्तमा कुनै किसिमको उद्वेग नहोस् , यस्तो अवस्थामा दीर्घकालसम्म सुखमा बसिनुलाई आसन भनिन्छ ।
साधक यसरी बस्नुपर्छ कि जसमा कष्ट नहोस् स्थिर सुखको प्राप्ति होस् । आसन दृढ भएपछि उपासना सरल हुनजान्छ । एक आसनमा निश्चलतापूर्वक बस्नाले श्वास–प्रश्वासको गति संयत हुन जान्छ र मनमा लय हुन लाग्छ । पूर्ण स्थिरताका साथ एक आसनमा बस्नु आसनजय कहलाइन्छ । आसनजयका पश्चात् साधक योगको श्रेष्ठ र गुरुतर विषय प्राणायमतर्फ अग्रसर हुन लाग्छ । योगसाधनाकको लागि मुख्य चार आसन छन् – सिद्धासन , पद्मासन , स्वस्तिकासन र सुखासन ।
४.प्राणायम– प्राणायम राजयोगको चौथो अंग हो । प्राण र मनको धनिष्ठ सम्बन्ध रहेको हुन्छ ।जहाँ जहाँ प्राण जान्छ , त्यहाँ त्यहाँ मन पनि जान्छ । यदि प्रााण वशमा भयो भने मन बिना प्रयासको स्वयं नै वशमा आउन जान्छ ।
प्राणायम के हो ?
महर्षि पतञ्जलि लेख्नुहुन्छ –
तस्मिन् सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायमः ।
आसन सिद्ध भएपछि श्वास र प्रश्वासको गतिलाई रोक्नुको नाम नै प्राणायम हो ।
महर्षि मनुले प्राणायमको महत्ताको सम्बन्धमा लेख्नुभएको छ –
दह्यन्ते ध्मायमानानां धातूनां हि यथा मलाः
तथेन्द्रियाणां दह्यन्ते दोषाः प्राणस्य निग्रहात् ।। – मनुस्मृति ६.७१
जसरी अग्निमा तताएपछि सुनादि धातुहरुको मल नष्ट भएर ती शुद्ध हुन्छन् त्यसरी नै प्राणायमद्वारा मन आदि इन्द्रियहरुको दोष हटेर निर्मल हुन जान्छन् ।
५.प्रत्याहार – प्रत्याहारको अर्थ हो –पछि फर्किनु । इन्द्रियहरुलाई तिनको भोगहरुबाट फर्काउने कामलाई प्रत्याहार भनिन्छ । जब आँखा खुल्लै राख्दा पनि रुप देख्न बन्द हुन्छ , कान शब्द सुन्न बन्द गर्छ , नासिका गन्धको ग्रहण गर्न बन्द गर्छ , जिब्रोले स्वाद लिन बन्द गर्छ तथा छालाले स्पर्शको अनुभव बन्द गर्छ , त्यस अवस्थालाई प्रत्याहार भन्ने गरिन्छ ।
सामान्य अर्थमा भन्नु पर्दा मनलाई एक लक्ष्यमा एकाग्र गर्नको लागि त्यसलाई बाह्य विषयहरुबाट समेट्ने कामलाई प्रत्याहार भनिन्छ । बाह्य विषयहरुबाट हट्नाले मनलाई ध्यान–लक्ष्यमा केन्द्रित गर्न सकिन्छ । प्रत्याहार त्यो महान् कुञ्जी हो जो धारणा , ध्यान र समाधिका द्वारहरुलाई खोलिदिन्छ ।
६. धारणा – अष्टांग योगको पूर्वकथित यमादि पाँच अंग योगको बहिरंग हुन् , भूमिका मात्र हुन् , वास्तविक योग होइनन् । योगको आरम्भ धारणाबाट हुन्छ । धारणाको अर्थ हो – मनलाई एकाग्र गर्नु , मनलाई कुनै एक विषयमा केन्द्रित गर्नु ।
महर्षि पतञ्जलि लेख्नुहुन्छ कि –
देशबन्धश्चित्तस्य धारणा । – योगदर्शन विभूतिपाद १
चित्तलाई कुनै एक देश–स्थानविशेषमा , शरीरको भित्र या बाहिर बाँध्नु धारणा हो ।
नाभिचक्र , हृदय , भ्रूमध्य , नासिकाग्र या ब्रह्मरन्ध आदि कुनै पनि स्थानमा चित्तलाई स्थिर राख्नु धारणा हो ।
७. ध्यान – ध्यानको परिपक्वताको नाम नै ध्यान हो ।
तत्र प्रत्ययैकतानता ध्यानम् । – योगदर्शन विभूतिपाद २
धारणामा प्रत्यय–ज्ञान एकै रुपमा रहिरहनु नै ध्यान हो । जुन स्थानमा चित्तलाई एकाग्र गरिन्छ , त्यस एकाग्रताको ज्ञान तैलधारावत् निरन्तर एकझैँ बनिरहोस् र त्यस समयमा कुनै अन्य प्रकारको ज्ञान या विचार चित्तमा नआउन पाओस् । यस अवस्थालाइ ध्यान भनिन्छ ।
८. समाधि –निरन्तर अभ्यास र वैराग्यमा सम्यग् अवस्थिति भएपछि एकाग्रताको वृद्धि हुन्छ तथा अखण्ड क्रमले गतिमान रहन्छ । त्यसपछि अन्ततः प्रगाढ ध्यानमा निमग्न हुने अवस्था आउँछ जो राजयोगको आठौ अवस्था हो । यसैलाई समाधि भनिन्छ ।
तदेवार्थमात्रनिर्भासं स्वरुपशुन्यमिव समाधिः । – योगदर्शन विभूतिपाद ३
ध्यानमा जब अर्थ–ध्येय मात्रको प्रकाश रहेपछि र उपासक आफ्नो स्वरुपबाट शुन्यझैँ भएपछिको अवस्थाको नाम समाधि हो ।
योगका यी आठ अंगलाई पार गरे बिना कुनै पनि साधक साधनामा सफल हुन सक्दैन , अतः प्रत्येक उपासक , साधक , भक्तले यिनको अभ्यास गर्नु पर्छ ।
यहाँ प्रार्थनाको रुपरेखा दिइदैछ –
योगेयोगे तवस्तरं वाजेवाजे हवामहे ।
सखाय इन्द्रमूतये ।। ऋ.वे १.३०.७
हे सच्च्दिानन्दस्वरुप ! हे सर्वाधार ! हे करुणामृतवारिधे ! हे सर्वशक्तिमान् ! हे न्यायकारिन् ! हे परमदेव प्रभो ! तपाई ज्योतिपुत्र र आनन्दका अपार सागर हुनुहुन्छ । देव ! तपाईलाई मेरो नमस्कार छ , बारम्बार नमस्कार छ ।
ओ३म् । भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।। – यजु. ३६.३
हे सर्वरक्षक ! सच्चिदानन्दस्वरुप परमेश्वर ! तपाई सकल जगत्का उत्पादक तथा वरण गर्न योग्य हुनुहुन्छ ।हामी तपाईसँग गर्न योग्य , आनन्दप्रद , शुद्ध एवं तेजस्वरुपको ध्यान गर्दछौँ । तपाई हाम्रो बुद्धिलाई श्रेष्ठ मार्गतिर प्रेरित गर्नुहोस् ।
No comments:
Post a Comment