वेद र पुनर्जन्म
डा. िववेक अार्य
केही पाश्चात्य विद्वान्हरूको यो धारणा रहेको छ कि वेद पुनर्जन्मको सिद्धान्तको समर्थन गर्दैन । भारतीय लेखकहरू पनि पाश्चात्य लेखकहरूको अन्धो अनुशरण गरिरहेका देखिन्छन् । इसको एक कारण त वेदहरूलाई सूक्ष्मता पूर्वक नजान्नु नै हो भने अर्को कारण सबै पाश्चात्य विद्वान्हरू ईसाई मतका भएर पूर्वाग्रहले ग्रसित हुनु पनि हो । ईसाई मतले वेदहरूमा वर्णन गरिएको कर्मफल व्यवस्था र पुनर्जन्मलार्ई मान्दैन , त्यसैले उनीहरू वेदमा पुनर्जन्मको सिद्धान्तलाई मान्दैनन् ।
स्वामी दयानन्दले आफ्नो प्रसिद्ध ग्रन्थ ऋग्वेदादिभाष्यभूमिकामा पुनर्जन्मबारे वेदहरूबाट स्पष्ट प्रमाण दिनु हुन्छ । यसको अतिरिक्त अन्य विद्वान्हरूले पनि पुनर्जन्मको विषयमा अनेकौ प्रमाण दिएका छन् ।
१. हे सुखदायक परमेश्वर , तपाई कृपा गरेर पुनर्जन्ममा हामीमा उत्तम नेत्रादि सबै इन्द्रियहरू स्थापित गर्नुहोस् तथा मन , बुद्धि , चित्त ,अहंकार , बल , पराक्रम आदि युक्त शरीर पुनर्जन्ममा स्थापित गर्नुहोस् । – ऋग्वेद ८.१.२३.१
२. हे सर्वशक्तिमान् , तपाईको कृपाले हाम्रो लागि बारंबार पृथ्वी प्राणलाई , प्रकाश चक्षुकलाई अंतरिक्ष स्थानादि अवकाशहरूलाई दिँदै रहनु होस् । पुनर्जन्ममा सोम अर्थात् औषधिहरूको रस हामीलाई उतम शरीर दिनको लागि अनुकुल रहून् तथा पुष्टि गर्ने परमेश्वरले कृपा गरेर हरेक जन्ममा हामीलाई दुःख निवारण गर्ने पथ्यरूप स्वस्ति देऊन् । – ऋग्वेद ८.१.२३.२
३. हे सर्वज्ञ ईश्वर , जब जब हामी जन्म लिऔँ , तब तब हामीलाई शुद्ध मन , पूर्ण आयु , प्राण , कुशलतायुक्त जीवात्मा , उतम चक्षु र श्रोत्र प्राप्त होऊन् । – यजुर्वेद ४.१५
४. हे जगदीश्वर , तपाईको कृपाले पुनर्जन्ममा मन आदि एघार इन्द्रिय मलाई प्राप्त होऊन् अर्थात् सर्वदा मनुष्य देह नै प्राप्त हुँदै गरोस् । – अथर्ववेद ७.६७.१
५. जो मनुष्य पुनर्जन्ममा धर्माचरण गर्छ , उक्त धर्माचरणको फलले अनेक उतम शरीर प्राप्त गर्छ भने अधर्मात्मा मनुष्य नीच शरीरलाई प्राप्त हुन्छ । – अथर्ववेद ५.१.१
६. जीवहरूलाई माता र पिताको शरीरमा प्रवेश गरेर जन्मधारण गराउनु , पुनः शरीरलाई छोडनु ,फेरि जन्म लिनु , बारम्बार हुन्छ । – यजुर्वेद १६.४७
७. तिमी शरीरधारी रूपमा उत्पन्न भएर अनेक योनीहरूमा अनेक प्रकारका मुखवाला पनि हुन्छौ । – अथर्ववेद
१०.८.२७
८.यो जीवात्मा कहिल्यै कसैको पिता , कहिल्यै कसैको पुत्र , कहिल्यै ठूलो त कहिल्यै सानो हुन्छ । –अथर्ववेद १०.८.२८
९. मैले इन्द्रियहरूका रक्षक यस आत्माको साक्षात्कार गरे जो जन्म–मरणको मार्गबाट विचरण गरिरहन्छ । ऊ आफ्नो राम्रो–नराम्रो कर्मको अनुरूप प्र्रीतिपूर्वक अनेक योनीहरूमा संसारमा भ्रमण गरिरहन्छ । –ऋगवेद १.१६४.३
१०. हे जीवहरू ! तिमीहरू जब शरीर छोड्छौ तब यो शरीर दाहपछि पृथ्वी , अग्नि आदि र जलको बिच देह–धारणको कारणलाई प्राप्त र माताको उदरमा वास गरेर पुनः शरीरलाई प्राप्त हुन्छ । –यजुर्वेद १२.३८
११. जीव माताको गर्भमा बारम्बार प्रविष्ट हुन्छ र आफ्नो शुभकर्मानुसार सत्यनिष्ठ विद्वान्को घरमा जन्म लिन्छ । –अथर्ववेद १४.४.२०
यसैप्रकारले निरुक्तमा यास्कले पुनर्जन्मलाई मानेका छन् ।
१. मैले अनेकौ पटक जन्म–मरणलाई प्राप्त गरेर हजारौ गर्भाशयहरूको स्वाद गरे । निरुक्त १३.१९.१
२. अनेक प्रकारको भोजन गरेँ , अनेक माताहरूको स्तनपान गरेँ , अनेक माता–पिता र सुहृदहरूलाई देखेँ । – निरुक्त १३.१९.२
३.मैले गर्भमा तल मुख र माथि पद इत्यादि नाना प्रकारका पीडाहरूले युक्त भएर अनेक जन्म धारण गरेँ । –निरुक्त १३.९.७
दर्शनशास्त्र पनि पुनर्जन्मको समर्थन गर्छन् ।
१. हरेक प्राणीको यो इच्छा देख्न सकिन्छ कि म सदैव सुखी रहूँ , नमररूँ । म नहोऊ , यो इच्छा कोही पनि गर्दैन । यस्तो इच्छा पुनर्र्जन्मको अभावमा हुने थिएन । यो ‘अभिनिवेश ’ क्लेश कहलिन्छ जो कृमि (जुका)मा हुन्छ । यो व्यवहारले पुनर्जन्मको सिद्धि गर्छ । –योगदर्शन २.९
२. जो उत्पन्न अर्थात् शरीर धारण गर्छन् , उनीहरू मरण अर्थात् शरीरलाई छोडेर पुनरुत्पन्न अर्थात् अर्कोे शरीरलाई अवश्य प्राप्त गर्छन् । यसप्रकारले मरेर पुनर्जन्म लिनुलाई प्रेत्यभाव भनिन्छ । – न्यायदर्शन १.१.५९
गीतामा यौटा प्रसंग आउँछ कि जसरी मनुष्यले पुराना वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्छ , त्यसै प्रकारले आत्मा पनि पुरानो व्यर्थ शरीरलाई त्याग गरेर नयाँ भौतिक शरीरको धारण गर्छ । –गीता २.२२
यस प्रकार पुनर्जन्मको सिद्धान्तको समर्थन रामायण, महाभारत , उपनिषत् , पुराण आदि ग्रन्थले गरेको हामी पाउँछौँ । पाश्चात्य विद्वान् तथा उनीहरूका अनुचरहरूलाई वेदमा पुनर्जन्म नभेटिनुको कारण वेदहरूको मूल अर्थ जान्न नसक्नु नै हो ।
No comments:
Post a Comment