Wednesday, February 7, 2018

महर्षि दयानन्द को थिए ?



महर्षि दयानन्द को थिए ? 

डा. विवेक आर्य

उहाँ मूलशंकर हुनुहुन्थ्यो , चैतन्य हुनुहुन्थ्यो , महाचैतन्य हुनुहुन्थ्यो , दयानन्द हुनुहुन्थ्यो । सरस्वती हुनुहुन्थ्यो , वेदरुपी सरस्वतीलाई यस धरातलमा प्रवाहित गरेर जानुभयो । उहाँ स्वामी हुनुहुुन्थ्यो , उहाँ सन्यासी हुनुहुन्थ्यो , परिव्राट हुनुहुन्थ्यो । दंडी हुनुहुन्थ्यो , योगी हुनुहुन्थ्यो , योगीराज हुनुहुन्थ्यो , महान् तपस्वी हुनुहुन्थ्यो । मनीषि हुनुनहुन्थ्यो , ऋषि हुनुहुन्थ्यो , महर्षि हुनुहुन्थ्यो , चतुर्वेदका ज्ञाता तथा मन्त्रद्रष्टा हुनुहुन्थ्यो । ब्रह्मचारी हुनुहुन्थ्यो , ब्रह्मवेत्ता हुनुहुन्थ्यो , ब्रह्मनिष्ठ हुनुहुन्थ्यो , ब्रह्मानन्दी हुनुहुन्थ्यो । अग्नी हुनुहुन्थ्यो , परम तपस्वी हुनुहुन्थ्यो , वर्चस्वी हुनुहुन्थ्यो , ब्रह्मवर्चस्वी हुनुहुन्थ्यो । यस धरातलमा शंकर भएर आउनुभएको थियो । शंकरको मूल खोज गरेर जानुभयो र दयानन्द बनेर आफ्नो दया संसारभर छर्नुभयो । नश्वर देहको मोहलाई त्यागेर हाँस्दा हाँस्दै प्रसन्नतापूर्वक , परम प्रभुमा विलीन हुनुभयो । एक अपूर्व जीवन , एक अद्भूत क्रान्ति , अतीतको गुणगौरवको मधुर लक्ष्य , एक महान् लक्ष्य , एक महान् आशाको संचार , एक अद्भूत जीवन–ज्योति यस जगत्मा अनन्त समयको लागि छोडेर जानुभयो । उहाँ निश्चय नै शंकर हुनुहुन्थ्यो । प्राणी मात्रको कल्याणको लागि , विश्वको कल्याणको लागि उहाँको अमर साधना थियो । उहाँको जीवनको एक एक क्षण त्यसको पूर्तिका लागि लाग्यो । हामी जुन धरातलमा छौँ , उहाँको त्यसभन्दा धेरै उचाइमा थियो । शुद्ध चैतन्य हुनुहुन्थ्यो । उहाँले हामीभित्र चेतनाको संचार गर्नुभयो । हाम्रो यस विश्वका जातिहरुमा , हाम्रा देशहरुमा , हाम्रा धर्म–कर्महरुमा , निस्तेजता , प्राणहीनता र मलीनता गहीरो जडा जमाइसकेका थिए । ती चैतन्य ब्रह्मचारीबाट चेतना एवं प्राण प्राप्त गरेर आज हामी जीवित छौँ , गौरवशाली छौँ । हामी सामाजिक , सांस्कृतिक र राजनीतिक निस्तेजतालाई त्यागेर जीवन एवं चेतनाको अनुभव गर्दै छौँ र अरुलाई पनि तेजस्विताको भान हुुँदै छ । आज विश्वको आँखा हामीतिर केही आशा , कुनै महान् सन्देशलाई प्राप्त गर्नको लागि परेको छ ।

उहाँ सरस्वती हुनुहुन्थ्यो । वेद विद्याको अपार र अथाह समुद्र हुनुहुन्थ्यो । काशीका पण्डितहरुले उनलाई निस्तेज पार्न खोजे परन्तु उनीहरु उहाँको गहिराइमा जान सकेनन् । मत–मतान्तरका विद्वान्हरुले पनि अनेक पल्ट उनलाई निस्तेज पार्न खोजे । उहाँको ज्ञानसागरमा हाम फाले परन्तु आफ्नो प्राण जोगाएर भागे । उहाँ नुनीले समुद्र हुनुहुन्नथ्यो परन्तु रसवान् समुद्र हुनुुहुन्थ्यो । उहाँको समीप जो जान्थ्यो ऊ तृप्त भएर आउँथ्यो ।

उहाँ स्वामी हुनुहुन्थ्यो । विश्वनाथ मन्दिरको वैभव काशीनरेशले अर्पण गर्न खोजे , उदयपुर महाराणाले पनि एकलिंगको गद्दी उहाँको चरणमा अर्पित गर्न खोजे परन्तु लोभ र लालचले उहाँ कत्ति पनि विचलित हुनुभएन । ब्रिटिश शासन कालमा , पराधीन भारतमा , स्वराज्यको सर्वप्रथम उद्घोष गर्ने उहाँ नै हुनुहुन्थ्यो । मृत्युले पनि विचलित हुनुहुन्नथ्यो । मृत्युञ्जयी हुनुहुन्थ्यो । आत्मसंयमी हुनुहुन्थ्यो । केवल आफ्नो मात्र स्वामी हुनुहुन्नथ्यो परन्तु संसारका स्वामी हुनुहुन्थ्यो । संसारका स्वामी भएर नै एक लंगोटधारी , सर्वहुत , सर्वस्व त्यागी , सन्यासी हुनुहुन्थ्यो । राजा , महाराजा र सम्राटहरुको कृपाको उहाँलाई इच्छा थिएन । राजा – महाराजा र सम्राटहरुको पनि सम्राट , परिव्रट हुनुहुन्थ्यो । जसको चारवटै दिशा नै रक्षक थियो र प्रभु नै जसका मंत्रद्रष्टा थिए । उहाँ योगी हुनुहुन्थ्यो । उहाँले तपस्याले शरीर , मन र अन्तःकरणलाई पवित्र गर्नुभएको थियो । पवित्र अन्तःकरणमा उहाँ नित्य ब्रह्माको दर्शन गर्नुहुन्थ्यो । ब्रह्मको आनन्दमा नित्य निमग्न रहनुहुन्थ्यो । ब्रह्मसँग नित्य योग–मेल मिलाप गर्नुहुन्थ्यो । अतएव निर्भय हुनुहुन्थ्यो , निर्भय हुनुहुन्थ्यो , निःशंक हुनुहुन्थ्यो । उनको चारैतर्फ आनन्दको साम्राज्य थियो । आनन्दको सागरमा नै तैरनुहुन्थ्यो । ब्रह्माको तेज – ब्रह्मा वर्चस उहाँको मुख मण्डलमा देदीप्य थियो । ज्ञान र तेजका रश्मीहरु उहाँबाट प्रस्फुटिट हुने गर्थे । उहाँ कहिल्यै पनि नथाक्ने र विश्राम नगर्ने हुनुहुन्थ्यो । उहाँ सदा जागरुक र जागरण ल्याउनेवाला हुनुहुन्थ्यो । सबैलाई ज्ञानको ज्योतिमा उहाँले प्रबुद्ध गर्नुभयो ।

योगसाधनामा रहेर आफ्नो मात्र उद्धार गर्ने उहाँ हुनुहुन्नथ्यो । उहाँ योगीराज हुनुहुन्थ्यो । भोग एवं लोभका पर्वत उहाँसँग ठोक्किएर चकनाचुर हुनेगर्थे । अज्ञान , अविद्याका भयंकर प्रलयकारी आँधी त्यहाँ शान्त हुनेगर्थे । लोभ एवं लालचका हिलो त्यहाँ पुगेर शुष्क बालुवाम रुपान्तरित हुनेगर्थे । उहाँ त्यागमा अनुपम हुनुहुन्थ्यो , तपस्यामा अनुपम हुनुहुन्थ्यो , ज्ञानमा अनुपम हुनुहुन्थ्यो । अनुपम वक्ता हुनुहुन्थ्यो । उहाँको वक्तृत्व शक्तिले सबैलाई मोहमा लिन्थ्यो । उहाँको अद्वितीय तर्कशक्तिले युगौदेखिको रुढिग्रस्त विचारहरु क्षणभरमा छिन्न–भिन्न हुनेगर्थे । जो कार्य अरु कसैले गर्न सकेन त्यो कार्य महर्षिले विश्वकल्याणका लागि गरिदिनुभयो । त्यसैले हामी उहाँप्रति कृतज्ञ छौँ , उहाँका अगाडि नतमस्तक छौँ । उहाँको मधुर–स्मृति पुनः सजीव बनाउने प्रयास गर्दै छौँ ।

महर्षिको जन्मदिवस आएको छ । देशका जनता यसलाई हर्ष र उल्लासका साथ मनाउनेछन् । मैले सबैलाई प्रसन्नचित्त देखेर सोधेँ – महर्षि दयानन्द को थिए ? उनीहरुले तुमुुल घोषमा भने –

“ ती महर्षि महान् हुनुहुन्थ्यो ! महान्तर हुनुहुन्थ्यो !! महानतम् हुनुहुन्थ्यो !!! ”



No comments:

Post a Comment