Friday, February 16, 2018

के वेदहरुमा पशुबलि , माँसाहार आदिको विधान छ ?



के वेदहरुमा पशुबलि , माँसाहार आदिको विधान छ ?

वेदहरुको विषयमा अधिक प्रचलित भ्रान्ति यही हो कि वेदहरुमा पशुबलि , माँसाहार आदिको विधान छ । यस भ्रान्तिका मुख्य कारणहरू हुन् – पाश्चात्य विद्वान्हरू जस्तै म्याक्समुलर , ग्रिफ्फिथ आदि तथा मध्यकालका आचार्य जस्तै सायण , महीधर आदि द्वारा वेदहरूको गलत अर्थ गर्नु तथा ईशाई , मुसलमान आदि द्वारा तथा साम्यवादी अथवा नास्तिक विचारधाराका समर्थकहरूद्वारा भनेसुनेको कुरालाई बिना जाँचको बारम्बार रट्नु ।

कुनै पनि सिद्धान्तलाई अथवा कुनै पनि तथ्यलाई आँखा बन्द गरेर मान्नु विद्वान पुरुषको लक्षण होइन । हामी वेदका सिद्धान्तहरूको परीक्षा वेदका साक्षीद्वारा गर्नेछौँ जसबाट हाम्रा भ्रान्तिहरूको निराकरण हुनेछ ।

शंका १ ः के वेदहरूमा मांस भक्षणको विधान छ ?

समाधान ः वेदहरूमा मांस भक्षणको स्वष्ट निषेध गरिएको छ । अनेक वेदमन्त्रहरूमा स्पष्ट रूपमा कुनै पनि प्राणीलाई मारेर खानुको स्पष्ट निषेध गरिएको छ । जस्तै –

हे मनुष्यहरू ! गाई आदि पशुहरू कहिल्यै पनि हिंसा गर्न योग्य छैनन् । – यजुर्वेद १.१

जो मानिसहरू प्राणी मात्रलाई आफ्नो आत्माको समान लिन्छन् र जसरी आफ्नो हित चाहन्छन् त्यही व्यवहार अन्यप्रति पनि राख्दछन् – उनीहरूलाई शोक आदि कहिल्यै प्राप्त हुँदैन । – यजुर्वेद ४०.७

चामल ( भात ) खाऊ , जौँ खाऊ , उडद खाऊ तथा तिल खाऊ । तिम्रोलागि यिनै रमणीय भोजनका भाग हुन् । तिमी कुनै पनि भाले अथवा पोथीको हिंसा नगर । – अथर्ववेद ६.१४०.२

जो भाले अथवा पोथी , भ्रूण अथवा अण्डाको नाशबाट प्राप्त माँसुलाई काँचै वा पकाएर खान्छ , हामीले उनीहरूको विरोध गर्नुपर्छ । – अथर्ववेद ८.६.२३

निर्दोषहरूलाई मार्नु निश्चय नै महापाप हो , हाम्रा गाई , घोडा र पुरुषहरूलाई नमार । – अथर्ववेद १०.१.२९

यी मन्त्रहरूबाट स्पष्ट हुन्छ कि वेदहरूमा मांस भक्षणको निषेध छ ।

शंका २ ः के वेदहरूका अनुसार यज्ञमा पशुबलिको विधान छ ?

समाधानः यज्ञको महत्ताको गुणगान गाउँदै वेदहरू भन्छन् कि सत्यनिष्ठ विद्वान् व्यक्तिहरूले यज्ञद्वारा नै पुजनीय परमेश्वरको उपासना गर्दछन् । “ यज्ञो वै श्रेष्ठतमं कर्म ” आदि आर्षवचनहरूका अनुसार यज्ञ कर्ममा सबै श्रेष्ठ धर्महरूको समावेश हुन्छ । यज्ञ शब्द जुन यज् धातुले बनेको छ , त्यसको अर्थ हुन्छ देवपूजा , संगतीकरण तथा दान । यज्ञ नगर्नेहरूको लागि वेदमा भनिएको छ कि जो यज्ञमयी डुङ्गामा चढ्न असमर्थ हुन्छन् , उनीहरू कुत्सित , अपवित्र आचरणयुक्त भएर यही लोकको तलतल खस्छन् । वेदहरू यज्ञलाई परमेश्वरप्राप्तिको साधन बताउँछन् , जसमा हिंसा नाम नै छैन । वैदिक यज्ञमा पशुबलिको विधान भ्रान्त धारणा हो ।

यज्ञमा पशुबलिको धारणा मध्यकालको देन हो । प्राचीन कालमा यज्ञहरूमा पशुबलि प्रचलित थिएन । मध्यकालमा जब अवनतिको समय आयो तब मांसाहार , रक्सी आदिको प्रयोग प्रचलित भयो । आफ्ना आफ्ना मत–मतान्तरका अनुचरहरूले आफ्नो आफ्नो वेद भाष्य बनाएर वेदमा मांसाहार , पशुबलि ; गाई, घोडा , साँँडे आदिको बलि गर्ने विधान प्रचारित गरे , जसलाई देखेर मैक्समूलर , विल्सन , ग्रिफ्फिथ आदि पाश्चात्य विद्वान्हरूले वेदहरूमा मांसाहारको प्रचूर प्रचार गरेर न केवल पवित्र वेदहरूलाई कलंकित गरे , किन्तु लाखौ निर्दोष पशुहरूको हत्या गरेर मनुष्य जातिलाई नै पापी बनाए । मध्यकालमा भारतमा वाममार्गको प्रचार भएको थियो जसले मांस , मैथुन , मदिरा , मीन ( माछा ) आदिबाट मोक्ष प्राप्ति हुने विश्वास गर्थे । आचार्य सायण आदि त विद्घान् त थिए तर वाममार्गको प्रभावमा आएर वेदहरूमा मांस भक्षणको विधान दर्र्साउन पुगे । निरीह प्राणीहरूको यस किसिमको विभत्स हत्या देखेर महात्मा बुद्ध एवं महावीरले वेदहरूलाई हिंसाले लिप्त ठानेर वेदहरूलाई अमान्य घोषित गरिदिए जसका कारण वेदहरूको धेरै हानी भयो र अवैदिक मतहरूको प्रचार भयो । क्षत्रिय धर्मको नाश हुनाले देशले गुलामी सहनु पर्यो । वेदहरूमा मांसभक्षणको विधानको गलत प्रचारको कारण देशले कतिको हानी बेहोर्नुृ पर्यो , यसको अनुमान लगाउन सकिन्न । कहाँ वेदहरूको जीव रक्षा र निरामिष भोजनको आदेश र कहांँ त्यसको विपरीत पशु आदिको यज्ञहरूमा बलि ? प्राचीन आर्ष भाष्यमा मांस भक्षण , पशुबलि आदिको लेश पनि छैन । स्वामी दयानन्दले वेदहरूको भाष्य गरेर यस भ्रान्तिको निवारण गर्नुभयो , तर जो वेदको विरोध गरेर नै खान्छन् , उनीहरूको उपाय छैन किनकी उनीहरूको उद्देश्य नै वेदहरूको प्रतिष्ठा कम गर्नु हो ।

वेदहरूमा यज्ञको लागि अध्वर शब्दको प्रयोग भएको छ ,जसको अर्थ निरुक्त अनुसार ‘हिंसा रहित कर्म ’ हो ।

वेदका केही मन्त्रार्थहरू द्रष्टव्य छन् –

हे ज्ञान स्वरूप परमेश्वर ! तपाई हिंसा रहित यज्ञहरूमा मात्रै व्याप्त हुृनुहुन्छ र यस्तै नै यज्ञहरू विद्वान् सत्यनिष्ठ व्यक्तिहरू सदा स्वीकार गर्छन् । – ऋग्वेद १.१.४

यज्ञको लागि अध्वर शब्दको प्रयोग ऋगवेद १.१.८ , १.१४.२१, १.१२८.४ ,१.१९.१ , ३.२१.१ , सामवेद २.४.२ , अथर्ववेद १.४.२ इत्यादि मन्त्रहरूमा यसप्रकारले भएको छ । अध्वर शब्दको प्रयोग चारै वेदका अनेक मन्त्रहरूमा हुनुले यो सिद्ध गर्छ कि यज्ञमा हिंसा कर्म निषिद्ध छ । त्यसमा त झन् पशुबलिको त झन् कुरै उठ्दैन ।

हे प्रभु ! मलाई सबै प्राणीहरू मित्रको दृष्टिले हेरून् , म सबै प्राणीहरूलाई मित्रको दृष्टिले हेरूँ । हामी सबै एक–अर्कालाई मित्रको दृष्टिले हेरौँ । –यजुर्वेद ३६.१८

यजुर्वेद १.१ मा यज्ञलाई श्रेष्ठतम् कर्मकोरूपमा लिँदै पशुरक्षाको उपदेश गरेको छ ।

यजुर्वेद ६.११ मा पति–पत्नीलाई उपदेश दिइएको छ कि पशुहरूको रक्षा गरून् ।

हे मनुष्य तिमी दुई खुट्टावाला अर्थात् अन्य मनुष्य एवं चार खुट्टावाला अर्थात् पशुहरूको रक्षा गर्ने गर । – यजुर्वेद १४.८


शंका ३ –के वेदहरूमा वर्णित अश्वमेध , नरमेध , गोमेधमा घोडा , मनुष्य , गाईहरूको यज्ञमा बलि दिने विधान छैन र ?

समाधानः मेध शब्दका तीन अर्थ छन् ः १. मेधा अथवा शुद्ध बुद्धिलाई बढाउनु , २. मान्छेहरूमा एकता अथवा प्रेमलाई बढाउनु ,३.हिंसा । यसकारण मेध शब्दले केवल हिंसा अर्थको ग्रहण उचित छैन । जब यज्ञलाई अध्वर अर्थात हिंसा रहित भनियो भने मेधको अर्थ हिंसा कसरी लिन सकिन्छ ? बुद्धिमान् व्यक्ति मेधावी भनिन्छन् । यस तरिकाले स्त्रीहरुको नाम मेधा , सुमेधा इत्यादि राखिन्छ , तब के यी नामहरु उनीहरु हिंस्रक भएकाले राखिएको हो या बुद्धिमान भएका कारण ?

अश्वमेध यज्ञको अर्थ यज्ञमा घोडाको बलि दिनु हैन । शतपथ ब्राह्मण १३.१.६.३ तथा १३.२.२.३ का अनुसार राष्ट्रको गौरव , कल्याण र विकासका लागि गरिने सबै कार्य ‘ अश्वमेध ’ हुन् ।

गोमेधको अर्थ यज्ञमा गाईको बलि दिनु होइन बरु अन्नलाई दुषित हुनबाट बचाउनु , आफ्ना इन्द्रियलाई वशमा राख्नु , धर्तीलाई सफा राख्नु – ‘ गोमेध ’ यज्ञ हो किनकी गो शब्दको अर्थ अन्न , इन्द्रिय , सूर्यको किरण , पृथ्वी आदि हुन् ।

नरमेधको अर्थ मनुष्यको बलि दिनु होइन बरु मनुष्यको मृत्यु पछि उसको शरीरलाई वैदिक रीतिपूर्वक दाहसंस्कार गर्नु नरमेध यज्ञ हो । मनुष्यहरुलाई उत्तम कार्यको प्रशिक्षित एवं संगठित गर्नु पनि नरमेध यज्ञ या पुरुषमेध या नृृपमेध यज्ञ हो ।

अजमेधको अर्थ खसीबोकाको बलि दिनु होइन बरु अजको अर्थ हुन्छ बीज , अनाज या धान आदि । यसप्रकार कृषिको उब्जनी बढाउनु अजमेध हो । यसको सीमित अर्थ धान आदिको आहुति दिनु पनि हो ।

शंका ४ः यजुर्वेद मन्त्र २४.२९ मा ‘ हस्तिन आ लभते ’ अर्थात हात्तीहरुलाई मार्ने विधान छ ?

समाधानः ‘ लभ्’ धातुबाट बन्ने आलम्भ शब्दको अर्थ मार्नु हैन परन्तु राम्ररी प्राप्त गर्नु , स्पर्श गर्नु या दिनु हो । हस्तिन शब्दको अर्थ यदि हात्ती लिने हो भने यस मन्त्रमा राजाले आफ्नो राज्यको विकासको लागि हात्ती आदि प्राप्त गर्नु , आफ्नो सेना सुदृढ गर्नु आदि बताइएको छ । यहाँ हिंसाको कुनै विधान छैन ।
पारस्कर गृह्य सूत्र २.२.१६ मा बताइएको छ कि आचार्य ब्रह्मचारीको हृदयको स्पर्श गर्छन् । यहाँ आलम्भ शब्दको स्पर्श अर्थ आएको छ ।

यदि यहाँ आलम्भ शब्दको अर्थ मार्नु गर्ने हो भने कसरी मार्नु भन्ने अर्थको ग्रहण युक्तिसंगत या तर्कसंगत सिद्ध हुन्छ ?

शंका ५ ः वेद , ब्राह्मण एवं सूत्र ग्रन्थमा संज्ञपन शब्द आएको छ जसको अर्थ पशुलाई मार्नु हो ?

समाधान ः संज्ञपन शब्दको अर्थ ज्ञान दिनु , दिलाउनुु तथा मेल गराउनु हो । अथर्ववेद ६.१०.१४ – १५ मा लेखिएको छ कि तिम्रो मनको ज्ञानपूर्वक राम्ररी ( संज्ञपन ) मेल होस् , तिमीहरुका हृदयहरुको राम्ररी ( संज्ञपन ) मेल होस् ।यसै प्रकारले शतपथ ब्राह्मण १.४ मा एक आख्यानिका छ , जसको अर्थ हो – म वाणी त मन भन्दा अधिक राम्री छु , त जे पनि मनमा चिन्तन गर्छस् म उसलाई प्रकट गर्छु , म त्यसलाई राम्ररी अरुलाई जनाउँछु ( संज्ञपयामि ) । यसरी संज्ञपन शब्दकोे मेलको स्थानमा हिंसापरक अर्थ गर्नु अज्ञानताको परिचय हो ।

शंका ६ ः वेदहरुमा आएको ‘ गोघ्न ’ शब्दको सिधा अर्थ – गाईलाई मार्नु , अर्थात गाईको वध गर्ने आदश हो ?

समाधान ः गोघ्न शब्दमा हन् धातुको प्रयोग भएको छ , जसका दुई अर्थ छन् – हिंसा र गति । गोघ्नमा गति अथवा ज्ञान , गमन , प्राप्ति विषयक अर्थ रहेको छ । मुख्य भाव यहाँ प्राप्तिको छ , अर्थात जसबाट उत्तम गाईहरु गराइयून् ।
हिंसाको प्रकरणमा वेदको उपदेश गाईको उपदेश गाईको हत्या गर्नेहरुबाट टाढा रहने रहेको छ । ऋग्वेदका १.११४.१० मा लेखिएको छ कि जो गोघ्न = अर्थात गाईको हत्या गर्ने व्यक्ति छ , ऊ नीच पुरुष हो , ऊ तिमीबाट टाढा रहोस् । वेदहरुका धेरै उद्धरणहरुबाट पनि ज्ञात हुन्छ कि ‘ हन् ’ को प्रयोग कसैको निकट जान या समीप पुग्नको लागि पनि गरिन्छ । अथर्ववेद ६.१०१.१ मा पतिलाई पत्नीको समीप जाने उपदेश छ । यस मन्त्रमा यो अर्थ – पति पत्नीको समीप जाओस् , हुन्छ न कि पतिले पत्नीलाई मारोस् । त्यसैले हननको केवल हिंसा अर्थमा प्रयोग भ्रम फैलाउन बाहेक अरु केही होइन ।

शंका ७ ः वेदहरुमा अतिथिलाई गाई आदिको मासु पकाएर खुवाउने आदेश छ ?

समाधान ः ऋग्वेदको मन्त्र १०.६८.३ मा अतिथिनीर्गाः को अर्थ अतिथिहरुको लागि गाई भन्ने गरिएको छ । वेदका विरोधीहरु यसको यो तात्पर्य लिन्छन् कि कुनै प्रतिष्ठित व्यक्ति आएपछि गाईलाई मारेर त्यसको माँसुले अतिथिलाई तृप्त गराइन्थ्यो । यहाँ जुन भ्रम आएको छ , त्यो अतिथिनी शब्दलाई बुझ्नमा गल्ती भएर हो । यहाँ यसको उचित अर्थ हो – यस्ता गाईहरु जो अतिथिहरु समीप दानार्थ ल्याइन्छन् , तिनलाई दान गरियोस् । ःयलष्भच ध्ष्ििष्बm ले आफ्नो संस्कृत अंग्रेजी शब्दकोशका अतिथिग्वको अर्थ ूत्य धजयm नगभकतक कजयगमि नय ू ९ए(ज्ञद्ध० अर्थात ‘ जसको समीप अतिथिहरु प्रेमवश जाऊन् ’ गरेका छन् । श्री द्ययियmाष्भमि यसको अर्थ ूउचभकभलतष्लन अयधक तय नगभकतकू अर्थात अतिथिहरुलाई गाई भेंट गर्नेवाला गरिएको छ । अतिथिहरुलाई गाईको मासु पस्किने काम कपोलकल्पित हो ।

शंका ८ ः वेदहरुमा साँढेहरुलाई मारेर खाने आदेश छ ?

समाधान ः यो पनि भ्रान्ति छ कि वेदमा साँढेहरुलाई मारेर खाने विधान छ । वेदहरुमा जस्तै गाईहरुका लागि अघ्न्या शब्दको प्रयोग गरिएको छ , त्यसै प्रकारले साँढेको लागि पनि अघ्न्या शब्दको प्रयोग गरिएको छ । यजुर्वेद १२.७३ मा अघ्न्या शब्दको प्रयोग साँढेका लागि गरिएको छ । यसको पुष्टि सायणाचार्यले काण्वसंहितामा गरेका छन् ।

त्यसैप्रकारले अथर्ववेद ९.४.१७ मा लेखिएको छ कि साँढेले सिंगद्वारा आफ्नो रक्षा गर्छ परन्तु मानव समाजले पनि यसको रक्षामा भाग लिनुपर्छ । अथर्ववेदको ९.४.१९ मंत्रमा साँढेका लागि अघ्न्य र गाईको लागि अघ्न्या शब्दको प्रयोग भएको छ । यहाँ लेखिएको छ कि ब्राह्मणहरुलाई ऋषभको दान गरेर दाता आफ्नो स्वार्थको परित्यागद्वारा श्रेष्ठ बन्दछ । ऊ आफ्ना गौशालामा साँढेहरु र गाईहरुको पुष्टि देख्दछ ।

अथर्ववेद ९.४.२० मंत्रमा भनिएको छ कि जो सत्पात्रमा वृषभ ( साँढे ) को दान गर्दछ , उसका गाई र सन्तानहरु उत्तम रहन्छन् ।

यी उद्धरणहरुबाट यो सिद्ध हुन्छ कि गाईहरु सँगै साँढेहरुको रक्षाको सन्देश पनि वेदहरु दिन्छन् ।

शंका ९ ः वेदहरुमा वृद्ध गाई तथा साँढेहरु ( उक्षा ) मार्ने विधान छ ?

समाधान ः शंकाको कारण ऋग्वेद ८.४३.११ मंत्रमा अनुसार वन्ध्या गाईहरुको अग्निमा आहुति दिने विधान बताइन्छ । यो अर्थ सर्वथा अशुद्ध हो । यस मन्त्रको वास्तविक अर्थ निघन्टु ३.३ का अनुसार यो हो कि जसरी महान् सूर्य आदि पनि जसको प्रलयकालमा ( वशा ) अन्न वा भोज्यका समान हुन्छन् । यसको शतपथ ५.१.३ का अनुसार अर्थ हो कि पृथ्वी पनि जसको ( वशा ) अन्नका समान भोज्य छ , यस्ता परमेश्वरलाई नमस्कारपूर्वक स्तुतिहरुद्वारा सेवा गर्छौँ । वेदहरुका विषयमा यस किसिमका भ्रान्ति हुनुका मुख्य कारण वशा , उक्षा , ऋषभ आदि शब्दको अर्थ बुझ्न नसक्नु नै हो ।

यज्ञ प्रकरणमा उक्षा र वशा ,यी दुवै शब्दको औषधीपरक अर्थ छ , जसलाई अग्निमा हालिन्छ । सायणचार्यका एवं मोनियर विलियम्सका अनुसार उक्षा शब्दको अर्थ सोम , सूर्य , ऋषभ नामक औषधी हुन् ।

वशा शब्दको अन्य अर्थ अथर्ववेद १.१०.१ को अनुसार ईश्वरीय नियम वा नियामक शक्ति हो । शतपथ १.८.३.१५ का अनुसार वशाको अर्थ पृथ्वी पनि हो । अथर्ववेद २०.१०३.१५ का अनुसार वशाको अर्थ संतानलाई वशमा राख्ने उत्तम स्त्री पनि हो ।

यस सत्यार्थलाई नबुझेर वेद मन्त्रहरुको अनर्थ गर्नुृ निन्दनीय हो ।

शंका १० ः वेदादि धर्म ग्रन्थहरुमा माष शब्दको उल्लेख छ , जसको अर्थ मासु खानु हो ?


समाधान ः माष शब्दको प्रयोग ‘ माषोदनम् ’ को रुपमा भएको छ । यसलाई बदलेर कुनै मांसभक्षीले मांसोदनम् अर्थ गरिदिएको छ । यहाँ माष एक दालका रुपमा वर्णित छ । यहाँ त मांसको त प्रश्न नै उठ्दैन । आयुर्वेद ( सुश्रुत संहिता शरीर अध्याय २ ) गर्भवती स्त्रीहरुको लागि मांसाहारको स्पष्छ निषेध गर्दछ र उत्तम सन्तान पाउनको लागि माष सेवनलाई हितकारी भन्छ । यसबाट के स्पष्ट हुन्छ ? यही स्पष्छ हुन्छ कि माष शब्दको अर्थ मांसाहार होइन बरु दाल आदि खाने आदेश छ । त्यही पनि यदि कोही माषलाई मांस नै भन्न चाहे , मांसको निरुक्त ४.१३ को अनुसार मनन साधक , बुद्धिवर्धक र मनलाई प्रिय लाग्ने वस्तु जस्तै फलको गुदी , खिर आदिलाई भनिएको छ । प्राचीन ग्रन्थहरुमा मांस अर्थात गुदी आदि खाने अनेक प्रमाण भेटिन्छन् । जस्तै चरक संहितामा आम्रमांसं ( आपको गुदा ) , खजुरमांसं ( खजुरको गुदा ) आदि । तैत्तिरिय संहिता २.३२.८ मा दही , मह र धानलाई मांस भनिएको छ ।

यसबाट यही सिद्ध हुन्छ कि वेदादि शास्त्रहरुमा जहाँ माष शब्द आएको छ अथवा मांसको रुपमा जसको प्रयोग भएको छ , त्यसको अर्थ दाल अथवा फलहरुको मध्य भाग अर्थात गुदी हो ।

शंका ११ ः वेदहरुमा यज्ञमा घोडाको बलि दिने र घोडाको मासु पकाउने आदेश छ ?

समाधान ः यजुर्वेदको २५ औ अध्यायमा सायण , महीधर , उव्वट , ग्रिफ्फिथ , म्याक्स मुलर आदिले अश्व हिंसापरक अर्थ गरेका छन् । यसको मुख्य कारण वाजिनम् शब्दको अर्थ न बुझ्नु नै हो । वाजिनम्को घोडा सँगसँगै अन्य अर्थहरु पनि छन् जस्तै शूर , बलवान् , गतिशील र तेज ।

यजुर्वेदको २५.३४ मंत्रको अर्थ गर्दै सायणजी लेख्नुहुन्छ कि अग्निले पकाइएको , मरेको तेरो अवयवहरुबाट जुन मांस–रस निस्कन्छ , त्यो भूमिमा या तृणमा नखसोस् , त्यो इच्छा गर्ने देवहरुलाई प्राप्त होस् । यस मन्त्रको अर्थ स्वामी दयानन्दजी गर्नुहुन्छ कि – हे मनुष्य , जो ज्वर आदिले पीडित अंग छ , ती वैद्यहरुद्वारा निरोग गराइनुपर्छ , किनकी ती वैद्यजनहरुबाट जुन औषधी दिइन्छ त्यो रोगीहरुका लागि हितकारी हुन्छ एवं मनुष्यहरुले व्यर्थ वचनहरुको उच्चारण गर्नुहुदैँन बरु विद्वानहरुप्रति उत्तम वचनहरुको मात्र प्रयोग गर्नुपर्छ । अश्वको हिंसाको विरुद्ध यजुर्वेद १३.४७ मन्त्रमा शतपथकारले अर्थ लेखेका छन् कि अश्वको हिंसा नगर्नूृ ।

यजुर्वेदको २५.४४ मा यज्ञमा घोडाको बलिको समर्थन गर्दै सायणाचार्य लेख्नुहुन्छ कि हे अश्व ! त अरु अश्वहरु जसरी मर्दैनस् किनकी तलाई तलाई देवत्व प्राप्ति हुनेछ र न हिंसित हुनेछ किनकी व्यर्थ हिंसाको यहाँ अभाव छ । प्रत्यक्ष रुपमा अवयवहरु ( अङ्ग ) को नाश हुँदाखेरि यस्तो कसरी भन्छौ ? यसका उत्तर दिन्छौँ कि सुन्दर देवयान मार्गहरुबाट त देवहरुलाई प्राप्त हुनेछस् , त्यसैले यहाँ हाम्रो कथन सत्य छ । परन्तु स्वामी दयानन्द यस मन्त्रको अर्थ यसप्रकार गर्नु हुन्छ कि जसरी विद्याले राम्ररी प्रयुक्त अग्नि , जल, वायु इत्यादिले युक्त रथमा स्थित भएर मार्गहरुबाट सुखपूर्वक गइन्छ , त्यसैगरि आत्मज्ञानद्वारा आफ्नो स्वरुपलाई नित्य जानेर मरण र हिंसाको डरलाई छोडेर दिव्य सुखहरुलाई प्राप्त होऊ ।

पाठकहरु आफै विचार गरून् । कहाँ स्वामी दयानन्दद्वारा गरिएको सच्चा अर्थ र कहाँ सायण आदिको हिंसापरक अर्थ । यी दुईमा आकाश–पातालको फरक छ । यस्तै भेद वेदका ती सबै मन्त्रहरुमा छ जसको हिंसापरक अर्थ गरिएको छ । अतः ती मान्न योग्य छैनन् ।

शंका १२ ः के वेदहरुका अनुसार इन्द्र साँढे खान्छन् ?

समाधान ः इन्द्रद्वारा साँढे खाने समर्थनमा ऋग्वेदको १०.२८.३ र १०.८६.१४ मन्त्रहरुको उद्धरण दिइन्छ । यहाँ वृषभ र उक्षन् शब्दको अर्थबाट अनभिज्ञहरुले यिनको अर्थ साँढे गरिदिए । ऋग्वेदको लगभग २० स्थलहरुमा अग्निलाई , ६५ स्थलहरुमा इन्द्र्रलाई , ११ स्थलहरुमा सोमलाई , ३ स्थलहरुमा पर्जन्यलाई , ५ स्थलहरुमा रूद्रलाई वृषभ भनिएको छ । व्याख्याकारहरुका अनुसार वृषभको अर्थ यज्ञ हो । उक्षन्को अर्थ ऋग्वेदमा अग्नि , सोम , आदित्य , मरुत आदिको लागि प्रयोग गरिएको छ । जब वृषभ र उक्षन् शब्दहरूका यति धेरै अर्थ वेदहरुमा गरिएका छन् भने व्यर्थ नै साँढे अर्थ गरेर त्यसलाई इन्द्रलाई खुवाउनु युक्तिसंगत एवं तर्कसंगत छैन ।

यसै सन्दर्भमा ऋग्वेद २.५२.१ मा इन्द्रको भोज्य पदार्थ निरामिष धान , पुरोडाश तथा पेय सोमरस हुन् न कि साँढे ।

शंका १३ ः वेदहरुमा गाईको कुन स्थान छ ?

समाधान ः यजुर्वेद ८.४३ मा गाईको नाम इडा , रन्ता , हव्या ,काम्या , चन्द्रा , ज्योति , अदिति , सरस्वती , मही , विश्रुति र अघ्न्या भनिएको छ । स्तुतिको पात्र भएकाले इडा , रमयित्री भएकाले रन्ता , यसको दूधको आहुति यज्ञमा दिन मिल्ने भएकाले हव्या , इच्छित भएकाले काम्या , हृदयलाई नै प्रसन्न गर्ने भएकाले चन्द्रा , अखण्डनीय हुनाले अदिति , दुग्धवती भएकाले सरस्वती , महिमशालिनी भएकाले मही , विविध रुपमा श्रुत भएकीले विश्रुति तथा मार्न निषेध गरिएकी हुनाले अघ्न्या कहलिन्छन् ।

अघ्न्या शब्दमा गाईको वध गर्नबाट निषेध यति स्पष्ट छ कि विदेशी लेखकहरुले पनि यसलाई स्वीकार गरेका छन् ।

हे गाईहरु , तिमीहरु पुज्य छौ , तिमीहरुको पुज्यता म पनि प्राप्त गरूँ । – यजुर्वेद ३.२०

म समझदार मनुष्यहरुलाई भनिदिन्छु कि तिमी बिचारी गाईको हत्या नगर । यी अदिति हुन् , काट्न – चिर्र्न योग्य हैन । – ऋग्वेद ८.१०१.१६

ती देवी गाईलाई मनुष्यले अल्प बुद्धि भएर मार्ने – काट्ने नगरून् । – ऋग्वेद ८.१०१.१६

निरपराधको हत्या बढी भयंंकर हुन्छ , अतः तिमी हाम्रा गाई , घोडा र पुरुषलाई नमार । – अथर्ववेद १०.१.२९

गाईहरु वधशालामा नजाऊन् । – ऋग्वेद ६.२८.४

गाईको वध नगर । – यजुर्वेद १३.४३

ती मनुष्य मूर्ख हुन् जो कुकुरद्वारा वा गाईका अंगहरुद्वारा यज्ञ गर्छन् । – अथर्ववेद ७.५.५

शंका १४ ः वेदहरुमा गाईको हत्या गर्नेहरुका लागि के विधान छ ?

समाधान ः वेदहरुमा गाईका हत्याराका लागि कठिन दण्डको विधान छ ।
जो गाईको हत्या गर्छ , उसलाई मृत्यु दण्ड दिनुपर्छ । – यजुर्वेद ३०.१८

हे गाईहरु ! तिमीहरु प्रजाहरुले सम्पन्न भएर उत्तम घाँसवाला चरनभूमिमा सुखपूर्वक चरन गर । सुखपूर्वक जल पिउन सकिने जलाशयहरुबाट जल पिओ । चोर र घातकहरु तिम्रा स्वामी बन्न नसकून् , क्रूर पुरुषको शस्त्र पनि तिमीहरुमाथि नपरोस् । – अथर्ववेद ४.२१.७

गाई हत्या गर्नेहरुका लागि स्पष्टसँग भनिएको छ कि यदि तिमीले हाम्रा गाई , घोडा आदि पशुहरुको हत्या गर्यौभने हामी तिमीलाई सिसाको गोलीले हान्छौँ । – अथर्ववेद १.१६.४

वेदहरुमा गौहत्यामा मृत्यु दण्डको विधान भए पनि मध्यकालमा यज्ञमा पशुबलि प्रचलित हुनुको कारण राजाहरु संस्कृत एवं वेद ज्ञानबाट अनभिज्ञ हुनु थियो । दण्ड दिने कत्र्तव्य राजाको हो तर जब राजालाई गाई हत्यारालाई दण्ड दिने विधान सिखाइएन भने राजाले के दण्ड दिन्थे ? यसको विपरीत यो सिखाइयो कि होममा बलि दिइएकोे पशु स्वर्ग जान्छ ।

सत्य यही हो कि यज्ञमा कुनै पनि पशुको बलि दिने विधान वेदहरुको सत्य उपदेशको विपरीतको कुरा हो एवं मध्यकालमा प्रचलित जे–जति पनि काम थिए ती सबै वेदहरुको मनमानी अर्थ गरिनुको परिणाम हो जो त्याग गर्न योग्य छ । एकातिर भारतीय आचार्यहरु वाममार्गीहरुको प्रभावमा आएर वेदहरुमा मांसभक्षणको समर्थनलाई घोषित गर्न इच्छुक थिए भने अर्कािितर विदेशी चिन्तकहरु आफ्नो मतान्धताको जोसमा स्वार्थपूर्तिको लागि वेदहरुको निन्दक अर्थ निकाल्दै थिए जसबाट भारतीय जनमानसमा वेदहरुप्रतिको श्रद्धा समाप्त होस् र उनीहरुको मार्ग प्रशस्त होस् । धन्य हुन् स्वामी दयानन्द जसले आफ्नो दुरदृष्टिले न केवल यो षड्यन्त्रलाई जाने बरु निराकरणहेतु वेदहरुको उचित भाष्य पनि गरे । हामी सबै ऋषि दयानन्दको यस उपकारका लागि आभारी हुनुपर्छ ।




No comments:

Post a Comment