Wednesday, February 21, 2018

वेदका शाखाहरु



वेदका शाखाहरु
वेदको ज्ञान अनन्त छ । वैदिक वाङ्मय ज्ञानको भण्डार हो । वेदका विद्वान्हरुले वेदको ज्ञानलाई सुरक्षित राख्न अनेकौ प्रयत्नहरु गरे जुन प्रशंसा गर्न योग्य छ । एक उपाय वेदका शाखाहरुसँग सम्बन्धित छ ।
जसरी वृक्षमा अनन्त शाखाहरु हुन्छन् र तिनले वृक्षलाई सुरक्षा प्रदान गर्दछन् र त्यसको साटो वृक्षको जिवन्ततामा उनीहरु पनि आफ्नो जीवन बाँच्दछन् ,त्यसै नै वेदहरुको शाखाको विषयमा पनि रहेको छ । यहाँ शाखाको अभिप्राय वेदका विभिन्न धाराहरुसँग रहेको छ ।
प्राचीनकालमा वेदहरुको शिक्षा प्रमुखताका साथ दिइन्थ्यो । वंश दुई विधिको हुन्छ ः– रक्त सम्बन्धबाट , जसरी परिवारको वंशवृक्ष चल्दछ , त्यसै गरी विद्या क्षेत्रमा पनि कुल हुन्छ । जो गुरु तथा आचार्यहरुले आ–आफ्ना शिष्य–प्रशिष्यहरुलाई वेदविद्याको अध्ययन गराए , ती सबै शिष्य–प्रशिष्य उनीहरुकै कुलका कहलिन्छन् । यस्ता अनेक विद्याकुल प्राचीन कालमा भारतवर्षमा प्रचलित थिए । आचार्यले जो वेदविद्या आफ्ना शिष्यलाई अध्ययन गराउँथे तिनमा शैली – पद्धतिगत केही अन्तर पनि हुन्थ्यो । यही शैली भेद अन्य आचार्यहरुबाट भिन्न पनि हुन्थ्यो । यस शैली भेदका कारण अनेक रचनाहरु हुने गर्दथे । यही रचनाहरु कालान्तरमा शाखाको रुपमा प्रचलित हुन गए । जुन आचार्यका जति शाखा हुने गर्थे त्यति नै ब्राह्मण , उपनिषद् , आरण्यक , श्रौत सूत्र , धर्मसूत्र पनि भिन्न भिन्न हुने गर्थे । सम शाखाका अध्येताले आफ्ना सबै वैदिक ग्रन्थ पृथक पृथक राख्ने गर्थे र आफ्ना श्रौत कार्यहरुको सम्पादन त्यही अनुरुप चलाउने गर्थे । यसप्रकार प्रत्येक शाखामा संहिता , ब्राह्मण , आरण्यक , उपनिषद , श्रौतसूत्र र गृह्यसूत्र विशिष्ट हुने गर्थे । यस प्रकारले महामुनि पतञ्जलिका अनुसार प्राचीन कालमा वेदहरुका ११३१ शाखाहरु थिए । धेरै कारणहरुले कैयौ शाखाहरु नष्ट पनि भए र आज त ती शाखाहरुको नाम मात्र पनि हामीलाई थाहा छैन । एक सर्वेक्षणका अनुसार हाल ११ शाखाहरु मात्र उपलब्ध छन् ।
वेदहरु र तिनका शाखा
१. ऋग्वेद –
आचार्य पतञ्जलिका अनुसार ऋग्वेदका २१ शाखाहरु थिए – एकविंशतिधा बाह्वृच्यम् । ( महाभाष्य ः पस्पशाह्निक ) । यी २१ शाखाहरुमा हाल केवल ५ शाखाहरु उपलब्ध छन् ः शाकल , बाष्कल , आश्वलायन , शांखायन र माण्डूकायन । यी पाँच मूल शाखाहरु मानिन्छन् । किन्तु हाल शाकल शाखा नै पूर्ण रुपले उपलब्ध छ । आज जो ऋग्वेद उपलब्ध छ , त्यही नै शाकल – संहिता हो । यस शाखाका पदपाठकर्ता र विभाजनकर्ता शकल ऋषि थिए , अतः यसको नाम नै शाकल शाखा रहन गयो ।
यस शाखामा मन्त्रहरु दुई प्रकारले विभाजन गरिएका छन् –
(क) अष्टक क्रम र (ख) मण्डल क्रम ।
(क) अष्टक क्रम – यसका अनुसार ऋग्वेदमा आठ अष्टक छन् । प्रत्येक अष्टकमा आठ–आठ अध्याय छन् । यस प्रकार ६४ अध्याय छन् । यी अध्यायमा वर्गहरु हुन्छन् जो कुल २००६ छन् । यी वर्गमा मन्त्रहरु हुन्छन् , यी कुल मन्त्रहरु १०५८५ छन् ।
(ख) मण्डल क्रम – यो विभाजन अधिक वैज्ञानिक मानिन्छ । व्यवहार क्षेत्रमा यसै क्रमको प्रयोग हुने गर्छ । यसका अनुसार ऋग्वेदमा कुल १० मण्डल छन् । प्रत्येक मण्डलमा अनुवाक छन् जसको संख्या ८५ छ । अनुवाकहरुमा सूक्त हुन्छन् जसको कुल संख्या १०१७ (यदि बालखिल्य सूक्त – ११ मिलाउने हो भने १०२८ ) । ऋग्वेदमा कुल शब्द १५३८२६ र अक्षर छन् ४३२००० ।
ऋषि व्यासले यस वेदको अध्ययन आफ्ना शिष्य पैललाई गराएका थिए ।
(२) यजुर्वेद ः पतञ्जलि ऋषिका अनुसार यजुर्वेदका १०१ शाखाहरु थिए – “एकशतमध्वर्युशाखाः ।”
यस वेदका दुई सम्प्रदाय छन् – (क) ब्रह्म सम्प्रदाय (ख) आदित्य–सम्प्रदाय ।
(क) आदित्य सम्प्रदाय ः यसमा मन्त्र शुद्ध रुपमा छन् अर्थात् मन्त्रहरुका साथ ब्राह्मणादि मिश्रित छैनन् , अतः यसलाई शुक्ल यजुर्वेद पनि भनिन्छ ।
माध्यन्दिन शाखा ः शतपथ ब्राह्मणका अनुसार आदित्य यजुर्वेदको नाम नै शुक्ल यजुर्वेद हो । यो याज्ञवल्क्य ऋषिद्वारा आख्यात छ । यसका दुई शाखा हाल उपलब्ध छन् ः
माध्यन्दिन शाखा जसलाई वाजसनेयी शाखा पनि भन्छन् र काण्व शाखा । यस समय उत्तर भारतमा माध्यन्दिन शाखाको नै प्रचलन छ । यसमा कुल ४० अध्याय र १९७५मन्त्र छन् । यसको अन्तिम अध्याय ईशोपनिषद् हो ।
काण्व शाखा ः यसको प्रचलन सर्वाधिक महाराष्ट्रम प्रान्तमा रहेको छ । यसमा पनि ४० अध्याय रहेका छन् किन्तु १११ मन्त्र अधिक रहेका छन् । यसप्रकार कुल मन्त्र २०८६ रहेका छन् ।
(ख) ब्रह्म सम्प्रदाय ः यसमा मन्त्रका साथ साथै तन्नियोजक ब्राह्मणहरुको पनि मिश्रित छन् , अतः यसलाई मिश्रणका कारण कृष्ण यजुर्वेद पनि भनिन्छ । यसका कुल शाखा ८५ थिए तर आज केवल ४ शाखा शेष रहेका छन् – तैतिरिय , मैत्रायणी , कठ र कपिष्ठल ।
तैतिरिय शाखा – यसको प्रचलन मूलतः महाराष्ट्र , आन्ध्र र द्रविड देशहरुमा रहेको छ । यसको संहिता , ब्राह्मण , आरण्यक , उपनिषद् , श्रौतसूत्र तथा गृह्यसूत्र सबै उपलब्ध छन् , अतः यो शाखा पूर्ण छ । यस संहितामा ७ काण्ड , ४४ प्रपाठक , ६३१ अनुवाक छन् ।
मैत्रायणी शाखा – यसमा ४ काण्ड छन् । मन्त्र २१४४ छन् जसमा ऋग्वेद का १७०१ ऋचाहरु अनुगृहीत छन् । यसमा कुल ५४ प्रपाठक ६५४ अनुवाक छन् ।
कठ संहिता ः महाभाष्य (४.३.१०१ ) का अनुसार यस शाखाको प्रचलन प्रत्येक गाउँमा थियो । यसको मुख्य रुपले प्रचलन मध्य देशमा थियो । यसमा कुल पाँच खण्ड , अनुवाक ८४३ , मन्त्र ३०९१ छन् ।
कपिष्ठल शाखा ः यसको प्रचलन कुरुक्षेत्रमा सरस्वती नदीको आसपास थियो । यसको पूर्ण विवरण उल्लेख छैन ।
वेद व्यासले यजुर्वेदको अध्ययन आफ्ना शिष्य वैशम्पायनलाई गराएका थिए ।
(३) सामवेद ः ऋषि पतञ्जलिका अनुसार सामवेदका १००० शाखा थिए “ सहस्रवत्र्मा सामवेदः ” । महाभारतको शान्तिपर्व (३४२.९८)मा यसको उल्लेख रहेको छ – सहस्रशाखं यत्साम । यसको महत्व यस कुराबाट पनि बढ्छ कि श्रीकृष्णले आफूलाई सामवेद बताएका छन् ः – वेदानाम् सामवेदोऽस्मि । यसका तीन शाखा अझै पनि उपलब्ध छन् –
(क) कौथमा शाखा – यो संहिता सर्वाधिक लोकप्रिय छ । छान्दोग्य उपनिषद् यसैसँग सम्बन्धित छ । यसको अवान्तर शाखा ताण्ड्य हो ।
(ख) राणायनीय शाखा – यसको अवान्तर शाखा सात्यमुग्रि हो ।
(ग) जैमिनीय शाखा – यसको संहिता , ब्राह्मण , श्रौत तथा गृह्यसूत्र उपलब्ध पनि छन् । ऋषि व्यासले सामवेदको अध्ययन जैमिनिलाई नै गराएका थिए ।
(४) अथर्ववेद ः – पतञ्जलिका अनुसार यसका ९ शाखा थिए –“ नवधाथर्वणो वेदः ” । यी हुन् – पिप्लाद , स्तौद , मौद , शौनकीय , जाजल , जलद , ब्रह्मवद , देवदर्श तथा चारण वैद्य ।
यिनमा शौनक शाखा नै हाल उपलब्ध छ र यसको प्रचलन नि छ । यसमा २० काण्ड , ३४ प्रपाठक , १११ अनुवाक , ७३१ सूक्त र मन्त्र ५९८७ छन् ।
आभार – ( वैदिक संस्कृत पृष्ठ , प्रा. प्रवीणकुमार )

No comments:

Post a Comment