Sunday, February 11, 2018

शम्बुक वधको सत्य



शम्बुक वधको सत्य


डा. विवेक आर्य


मर्यादापुरुषोत्तम श्री रामचन्द्र जी महाराजको जीवन परापूर्वकालदेखि नै आदर्श र पवित्र मानिएको छ । केही विधर्मी र नास्तिकहरुद्वारा श्री रामचन्द्रजी महाराजमाथि शम्बुक नामक एक शुद्रको हत्यारा भएको आक्षेप लगाइन्छ ।


सत्य त्यही हो जो तर्कशास्त्रको कसौटीमा उत्रिनसकोस् । हामी शम्बुक वधको कथालाई परीक्षाको गरेर सत्यासत्यको निर्णय लिनेछौँ ।
सर्वप्रथम शम्बुक वधको कथा वाल्मीकि रामायणको उत्तर काण्डको ७३ – ७६ सर्गमा भेटिन्छ ।


शम्बुकको कथा यस प्रकारको छ –


एक दिन एक ब्राह्मणको यौटा मात्र पुत्रको मृत्यु हुन्छ । त्यस ब्राह्मणले आफ्नो पुत्रको शव राजद्वारको अगाडि राखेर विलाप गर्न थाल्यो । उसको आरोप थियो कि उसको पुत्रको मृत्युको कारण राज्यको कुनै दुष्कृत्य थियो । ऋषि–मुनिहरुको परिषद्ले यो विचार गरेर यो निर्णय दियो कि राज्यमा कोही अनधिकारीले तप गरिरहेको छ । रामचन्द्रजीले यस विषयमा विचार गर्नको लागि मन्त्रीहरुलाई बोलाउनुभयो । नारदजीले सभामा भन्नुभयो – राजन ! द्वापरयुगमा पनि शुद्र तपमा प्रवत रहनु महान् अधर्म हो भने यो त त्रेतायुग हो । यस युगमा तपमा प्रवत रहने कुनै प्रश्न नै उठ्दैन । निश्चय नै तपाईको राज्यको सीमामा कुनै खोटी बुद्धिवाला शुद्रले तप गर्दै छ । अतः तपाईले आफ्नो राज्यमा खोज गर्नुहोस् र जहाँ कुनै दुुष्कर्म भएको देख्नुहुन्छ त्यसलाई रोक्ने यत्न गर्नुहोस् । यो सुनेर रामचन्द्रजी पुष्पक विमानमा सवार भएर शम्बुकको खोजमा निस्कनुभयोे र दक्षिण दिशामा शैवल पर्वतको उत्तर भागमा एक सरोवरमा तपस्या गरिरहेको एक तपस्वी भेटियो जो रुखमा उल्टो टङिगएर तपस्या गरिरहेको थियो ।


उसलाई देखेर श्री रघुनाथजी उग्र तप गरिरहेको त्यस तपस्वीको नजीक गएर भन्नुभयो – “ उत्तम तपको पालन गरिरहेको तापस ! तिमी धन्य छौ । तपस्यामा सुदृढ – पराक्रमी पुरुष ! तिमी कुन जातिमा उत्पन्न भएका हौ ? म दशरथ कुमार राम तिम्रो परिचय जान्नको लागि यी कुरा सोध्दै छु । तिमीलाई कुन चिज प्राप्तिको चाहना छ ? तपस्याद्वारा सन्तुष्ट भएका इष्टदेवसँग तिमी कुन वर पाउन चाहन्छौ – स्वर्ग या कुनै अरु चिज ? कुन यस्तो वस्तु हो जसको प्राप्तिको लागि तिमी यति कठोर तपमा लागेका छौ जुन अरुको लागि दुर्लभ छ ?
तापस ! जुन वस्तुका लागि तिमी तपस्या गरिरहेका छौ , त्यसबारे म सुन्न चाहन्छु । यस अलावा तिमी यो पनि भन कि तिमी ब्राह्मण हौ या अजेय क्षत्रिय ? तेस्रो वर्ण वैश्य हौ या शुद्र हौ ?


क्लेश रहित कर्म गर्ने भगवान रामका यी वचन सुनेर तल टाउको गराएर टङ्गिएको तपस्वीले भन्यो कि –“ हे राम ! म झुठ बोल्दैन । देव लोकलाई प्राप्त गर्न नै म तपस्या गरिरहेको छु । मलाई शुद्र नै जान्नुहोस् । मेरा नाम शम्बुक हो । ”


उसले यस प्रकार भनिरहेको थियो कि रामचन्द्रजीले मयानबाट चमचम चम्किरहेको तरवार निकालेर शम्बुुकको टाउको काटेर फालिदिनुभयो ।


शम्बुक वधको कथालाई तर्कले परीक्षा गरौँ


यस कथालाई पढेर मनमा यो प्रश्न उठ्दछ कि


के कुनै पनि शुद्रलाई तपस्या गर्न शास्त्रहरुमा वर्जित गरेको छ ?


के कुनै पनि शुद्रले तपस्या गर्दैमा कुनै पनि ब्राह्मणको बालकको मृत्यु हुन्छ ?


के श्री रामचन्द्रजी महाराज शुद्रहरुमा भेदभाव गर्नुहुन्थ्यो ?


यस प्रश्नहरुको उत्तर वेद , रामायण , महाभारत र उपनिषद्हरुमा अत्यन्त प्रेरणादायी रुपमा दिइएको छ ।
वेदहरुमा शुद्रको विषयमा कथन छ कि


१. तपसे शुद्रम् – यजुर्वेद ३०.५
अर्थात् – धेरे परिश्रमी , कठिन कार्य गर्नेवाला साहसी र तप गर्नेवाला आदि पुरुषको नाम शुद्र हो ।


२. नमो निशादेभ्य – यजुर्वेद १६.१९
अर्थात्– शिल्प–कालिगडी विद्याले युक्त जो परिश्रमी जन ( शुद्र÷निषाद ) छन् उनीहरुलाई नमस्कार अर्थात् सत्कार गरियोस् ।


३. वारिवस्कृतायौषधिनाम पतये नमो – यजुर्वेद १६.१९
अर्थात् – वारिवस्कृताय अर्थात सेवन गर्नेवाला भृत्यलाई सत्कार गर ।


४. रुचं शुद्रेषु – यजुर्वेद १८.४८
अर्थात्– जसरी ईश्वर ब्राह्मण , क्षत्रिय , वैश्य र शुद्रहरुसँग एकैप्रकारको प्रीति गर्दछन् , त्यसैगरि विद्वान्हरुले ब्राह्मण , क्षत्रिय , वैश्य र
शुद्रहरुसँग एकै प्रकारको प्रीति गरुन् ।


५. पञ्च जना मम – ऋग्वेद
अर्थात् – पाँचै मनुष्य ( ब्राह्मण , क्षत्रिय , वैश्य , शुद्र एवं अतिशुद्र निषाद ) मेरो यज्ञको प्रीतिपूर्वक सेवन गरून् । पृथ्वीमा जति मनुष्य छन् ती सबै यज्ञ गरून् ।


यसै प्रकारका अनेक प्रमाणहरुबाट शुदले तप गर्ने , सत्कार गर्ने , यज्ञ गर्ने आदि प्रमाण भेट्न सकिन्छ ।
वाल्मीकि रामायणमा शुद्र उपासनाले महान् बनेको प्रमाण


मुनि वाल्मीकिजी भन्नुहुन्छ कि रामायण पढ््नाले ( स्वाध्याय ) ब्राह्मण ठुलो सुवक्ता ऋषि बन्नेछ , क्षत्रिय भूपति हुनेछ , वैश्य राम्रो लाभ पाउनेछ र शुद्र महान् बन्नेछ । रामायणमा चारै वर्णको समान अधिकार देखिन्छ ।
सन्दर्भ – प्रथम अध्याय अन्तिम श्लोक


यसका अतिरिक्त अयोध्या काण्ड अध्याय ६३ श्लोक ५०–५१ तथा अध्याय ६४ श्लोक ३२ –३३ मा रामायणको श्रवण गर्ने समान अधिकार वैश्य र शुद्रहरुलाई रहेको वर्णन छ ।


महाभारतमा शुद्र उपासनाले महान् बन्ने प्रमाण


श्री कृष्णजी भन्नुहुन्छ कि–


हे पार्थ ! जो पापयोनि स्त्री , वैश्य र शुद्र छन् यी पनि मेरो उपासना गरेर परमगति प्राप्त हुनेछन् ।
गीता ९.३२


उपनिषद् पनि शुद्र उपासनाले महान् बन्ने प्रमाण


यो शुद्र वर्ण पूषण अर्थात् पोषण गर्नेवाला हो र साक्षात् यस पृथ्वीको समान हो किनकी जसरी यो पृथ्वी सबैको भरण–पोषण गर्दछ त्यसैगरि शुद्र पनि सबैको भरण–पोषण गर्दछ ।


सन्दर्भ – बृहदारण्यक उपनिषद् १.४.१३


व्यक्ति गुणहरुले शुद्र अथवा ब्राह्मण हुन्छ न कि जन्मगृहले


सत्यकाम जाबाल जब गौतम गोत्री हारिद्रुमत मुनिको समीप शिक्षार्थी भएर जान्छ तब मुनिले उसको गोत्र सोध्छन् । तब जब सत्यकामले आफ्नी मातासँग यो प्रश्न राख्दछन् तब उनले जवाफ दिन्छिन् कि जब युवावस्थामा म अनेक व्यक्तिहरुको सेवा गर्दथे । त्यसैबेला तेरो जन्म भयो । त्यसैले मलाई तेरो गोत्रको ज्ञान छैन । तब मुनिसमक्ष यस किसिमको पूर्ण वृत्तान्त सुनाउँदा मुुनिले भने कि – जो ब्राह्मण होइन त्यसले यस्तो सत्य कुरा भन्न सक्दैन ।


सन्दर्भ – छान्दोग्य उपनिषद् ३.४


महाभारतमा यक्ष – युधिष्ठिर संवाद ३१३.१०८ – १०९ मा युधिष्ठिरका अनुसार व्यक्ति कुल , स्वाध्याय तथा ज्ञानबाट द्विज बन्दैन अपितु आचरणले बन्दछ ।


कर्ण सुत पुत्र भएर स्वयंवरमा अयोग्य ठहराइदा भनेको थियो कि – जन्म दिन त ईश्वरको अधीनमा छ परन्तु पुरुषार्थले केही न केही बन्नु मनुष्यको वशमा छ ।


आपस्तम्ब धर्मसूत्र २.५.११.१०–११ जसरी धर्म आचरणले निकृष्ट वर्ण आफुभन्दा उत्तम वर्णलाई प्राप्त हुन्छ जसको ऊ योग्य हुन्छ त्यसरी नै अधर्म आचरणले उत्तम वर्णवाला मनुष्य आफूभन्दा नीच वर्णलाई प्राप्त हुन्छ ।


जो शुद्र कुलमा उत्पन्न भएर ब्राह्मणको गुण–कर्म–स्वभाव अन्तर्गतको हुन्छ ऊ ब्राह्मण बन्दछ । त्यसैप्रकारले ब्राह्मण कुलमा उत्पन्न भएर जसको गुण–कर्म–स्वभावको सदृश हुन्छ ऊ शुद्र बन्दछ ।
–मनुस्मृति १०.६५


चारै वेदहरुको विद्वान् किन्तु चरित्रहीन ब्राह्मण शुद्रभन्दा पनि निकृष्ट हुन्छ , अग्निहोत्र गर्नेवाला जितेन्द्रिय नै ब्राह्मण कहलिन्छ । – महाभारत वन पर्व ३१३.१११


ब्राह्मण , क्षत्रिय , वैश्य र शुद्र सबै तपस्याको द्वारा स्वर्ग प्राप्त गर्दछ । – महाभारत अनुगीता पर्व ९१.३७


सत्य , दान , क्षमा , अनुशीलता , तप र दया जसमा हुन्छ ऊ ब्राह्मण हो र जसमा यी हुँदैनन् ऊ शुद्र हो । वन पर्व १८०.२१–२६


श्री रामचन्द्रजी महाराजको चरित्र


वाल्मीकि रामायणमा श्री रामचन्द्रजी महाराजद्वारा वनवास कालमा निषादराजद्वारा ल्याइएको भोजन ग्रहण गर्नु ( बालकाण्ड १.३७–४० ) एवं शबर ( कोल÷भील ) जातिकी शबरीले ल्याएका बयर खानु ( अरण्य काण्ड ७४.७ ) यो सिद्ध गर्दछन् कि शुद्र वर्णसँग त्यसकालमा कुनै भेदभावको वातावरण थिएन ।


श्री रामचन्द्रजी महाराज वनमा शबरीसँग भेट्न गए । शबरीको विषयमा वाल्मीकि मुनि लेख्नुहुन्छ कि शबरी सिद्ध जनहरुबाट सम्मानित तपस्विनी थिइन् । अरण्यक ७४.१०


यसबाट यो सिद्ध हुन्छ कि शुद्रलाई रामायण कालमा तपस्या गर्दैमा कसैलाई कुनै प्रकारको रोक थिएन ।


नारद मुनि वाल्मीकि रामायणमा ( बालकाण्ड ) भन्नुहन्छ कि राम श्रेष्ठ , सबैसँग समान व्यवहार गर्नेवाला र सबैसँग समान दृष्टि राख्नेवाला हुनुहुन्थ्यो ।


अब पाठक गण स्वयं निर्णय गर्नुहोस् कि श्री रामजी कसरी तपस्यामा लीन कुनै पनि शुद्र कुलमा उत्पन्न शम्बुकको हत्या गर्नसक्नुहुन्छ ?
जब वेद , रामायण , महाभारत , उपनिषद् , गीता आदि सबै धर्म शास्त्रहरु शुद्रलाई तपस्या गर्नको , विद्या ग्रहणले एवं आचरणले ब्राह्मण बन्ने , समान व्यवहार गर्ने सन्देश दिन्छ भने यो वेद विरोधी कथन तर्कशास्त्रको कसौटीमा स्वतः असत्य सिद्ध हुन्छ ।
नारद मुनिको कथन कि द्वापर युगमा शुद्रले तप गर्न निषेध छ , यो एक असत्य कथन मात्र हो ।


श्री राम पुष्पक विमान लिएर शम्बुकको खोजीमा जानु यौटा अर्को असत्य कथन हो किनकी पुष्पक विमान त श्री रामजीले अयोध्या फर्किदा त्यसका असली मालिक कुबेरलाई फिर्ता पठाइदिनुभएको थियो ।


सन्दर्भ – युद्ध काण्ड १२७.६२


जसरी कुनै पनि कर्म गर्दा त्यो कर्म गर्नेवाला व्यक्तिलाई त्यसको फल प्राप्त हुन्छ , त्यसै प्रकारले व्यक्तिले तप गर्दा त्यसको फल पनि त्यस तप गर्नेवाला व्यक्तिले नै पाउँदछ । त्यसैले शम्बुकको तपले कुनै ब्राह्मणको पुत्रको मृत्यु हुनु पनि यौटा असत्य कथन मात्र हो ।


सत्य यो हो कि मध्यकालमा जब वेद विद्याको लोप हुन लाग्यो , त्यसकालमा ब्राह्मण व्यक्ति आफ्नो गुणले होइन आफ्नो जन्मले मानिन थाले , त्यसकालमा शुद्रहरु तल्लो मानिन थाले , त्यसकालमा नारीलाई नरकको द्वार मानिन थाल्यो , त्यसकालमा मनुस्मृतिमा पनि वेदविरोधी र जातिवादी पोषक कुराहरुको मिश्रण गराइन थाले , त्यसकालमा रामायणमा अशुद्ध पाठहरु मिलाइन थाले जसको नाम उत्तरकाण्ड हो ।


यस प्रकार असत्यको प्रचारले न केवल अवैदिक विचारधारालाई प्रोत्साहन मिल्यो अपितु श्री रामलाई जाति विरोधी भनेर केही अज्ञानीहरुले आफ्नो स्वार्थपूर्तिको लागि हिन्दुजातिलाई धेरै संख्यामा विधर्मी अथवा नास्तिक बनाउनमा सफल पनि भए ।


त्यसैले सत्यको ग्रहण र असत्यको त्यागमा सदा तत्पर हुँदै हामीले श्रीरामचन्द्रजी महाराज प्रति जो अन्याय गरेको विषवमन गर्ने गरिन्छ त्यसको प्रतिकार गर्नुपर्छ तब नै रामराज्यलाई सार्थक र सिद्ध गर्नसकिन्छ ।



No comments:

Post a Comment