डॉ विवेक आर्य
वेदका विषयमा यौटा शंका साधारण जनसमुदायमा हामी के देख्छौँ भने वेदहरुमा इतिहास छ कि छैन ? केही हिन्दु सम्प्रदायहरुले वेदहरुमा श्री राम , श्री कृष्ण , श्री गणेश , विभिन्न देवी–देवता जस्नै इन्द्र , वरुण , अग्नी आदि देखि भौगोलिक पर्वत , राजाहरुको राज्य आदिको वर्णन मान्छन्् । त्यस्तै विभिन्न मत–मतान्तरहरु आ–आफ्ना मत–प्रवर्तक जस्तै जैन मत मान्नेहरुले महावीर , कबीर पंथीहरुले कबीर साहिब , इस्लामीक मत मान्नेहरुले महम्मद साहिब , ईसाई मतवाला यीशू मसीह आदिको वेदमा वर्णन भएको मान्छन् । केही लेखकहरु त वेदमा गंगा , सरस्वती आदि नदीहरुको वर्णन भएको सम्म मान्दछन् ।
शंका १ . के वेदमा इतिहास भएको कुरा मान्नुमा केही आपत्ती छ र ?
उत्तर ः वेद शाश्वत छन् । वेद परमात्माको नित्य वाणी हुन् । वेदहरुमा सृष्टि रचना , वेद रचना आदि नित्य – शाश्वत ) इतिहास हुन सक्छन् तर कुनै व्यक्ति विशेषको इतिहास हुन सक्दैन । यस सृष्टिको सु्रुवातमा चारै वेदहरु ऋषिहरुको हृदयमा प्रकाशित भयो । ज्ञानको अर्को नाम नै वेद हो । वेदहरुका माध्यमले ईश्वरद्वारा समस्त मानव जातिलाई ज्ञान प्रदान गरियो जसको माध्यमले मनुष्यले आफ्नो उत्पत्तिको लक्ष्य प्राप्त गर्न सकून् । ईश्वरद्वारा यो ज्ञान जसरी वर्तमान सृष्टिमा प्रदान गरियो , त्यसरी पूर्वमा सृष्टिहरुमा पनि प्रदान गरियो र आगामी सृष्टिहरुमा पनि प्रदान गरिनेछ । जुन ज्ञान सृष्टिको सुरुवात परमात्माद्वारा मनुष्यलाई दिइयो , त्यसमा कदापि इतिहास हुुनसक्दैन किनकी इतिहास कुनै पनि पुस्तकमा त्योभन्दा अघिका घटना र मनुष्यहरुको हुने गर्छ ।
ज–जसले वेदहरुमा श्री राम , श्री कृष्ण आदिको इतिहास भएको मान्दछन् , के उनीहरु यो पनि मान्नेछन् कि हरेक सृष्टिमा श्री रामले वनवासको कष्ट भोग्नु पर्यो ? के हरेक सृष्टिमा सीताको हरण भयो ? के हरेक सृष्टिमा कृष्णले कारागारमा जन्म लिनु पर्यो ? के हरेक युगमा यादव कुलको नाश भयो ? होइन , यो कदापि संभव छैन । ईश्वरद्वारा सबैै सांसारिक वस्तुहरुको नाम वेदहरुबाट लिएर राखिएको हो , न कि यी नामधारी व्यक्तिहरु या वस्तुुहरु पछि वेदहरुको रचना भएको हो । जसरी कुनै पुस्तकमा यदि यी पङ्क्तिहरुका लेखकको नाम आए ,त्यस लेखकको जन्म पछि उक्त पुस्तक लेखिएको ज्ञात हुन्छ । यस विषयमा मनुस्मृतिको प्रमाण छ ः
सर्वेषां तु स नामानि कर्माणि च पृथक् पृथक्
वेद शब्देभ्यः एवादौ पृथक् संस्थाश्च निर्ममे ।। – मनुस्मृति
अर्थात् ब्रह्माले सबै शरीरधारी जीवहरुको नाम तथा अन्य पदार्थहरुको गुण , कर्म , स्वभाव नामहरु सहित वेदहरुको अनुसार नै सृष्टिको प्रारम्भमा राखे तथा प्रसिद्ध गरे एवं उनीहरुको निवासार्थ पृथक् पृथक् अधिष्ठान पनि निर्माण गरे ।
शंका २ . वेदहरुमा इतिहास हुने विचार कसरी प्रचलित भयो ?
समाधान ः वेदहरुमा सर्वानुक्रमणीहरु तथा बृहद्देवता आदि ग्रन्थहरुमा तथा सूक्तहरुका छन्द , ऋषि तथा देवताहरु ऋादिको परिगणन गरिएको छ । यी ग्रन्थहरुमा अनेक वेदमंत्रहरु तथा सूक्तहरुका साथ अनेक कथाहरुको पनि सम्बन्ध जोडिएको छ । सायणाचार्य आदि भाष्यकारहरुले आफ्ना भाष्यहरुमा यिनै कथाहरुलाई आधार बनाएर वेदहरुमा इतिहासको भ्रम उत्पन्न गरिदिए । जहाँ पनि ती मन्त्रहरुमा भारतको इतिहासमा वर्णित कुनै प्राचीन ऋषि तथा राजाको नाम उल्लेख भेटियो , भाष्यकर्ता तिनै नामको आधार बनाएर यसरी कथाहरुको निर्माण गरिदिन्थे कि मानौँ वेदमन्त्रहरुमा उनीहरुको जीवनवृत्तान्त–वर्णन होस् । यी कथाहरु पढेर न केवल अनेक भ्रमहरु उत्पन्न हुन्छन् , बरु यसबाट वेदहरुप्रति अनादर एवं अश्रद्धा पनि उत्पन्न हुन्छ । विदेशी विद्वान्हरु जस्तै म्याक्स मुलर , ग्रिफ्फिथ आदिले आफ्नो पूर्वानुग्रह र अज्ञानतावश यी कथाहरुको उपयोग वेदहरुप्रति तुच्छता एवं सारहीनताको प्रचार हेतु गरेका छन् । वर्तमान भारतीय लेखकहरु पनि उनीहरुकै अनुशरण गर्र्दै वेदहरुप्रति अनास्था प्रदर्शन गर्न पछि पर्दैनन् । यो वेदहरुको दोष होइन बरु ती भारतीय वेदभाष्यकारहरुको एवं सर्वानुक्रमणीहरुका लेखकहरुको दोष हो , जसको अज्ञानताले वेदहरुमा इतिहास भएको मान्यता प्रचलित भयो ।
शंका ३ . स्वामी दयानन्दको यस विषयमा के मान्यता छ ?
समाधान ः आधुनिक भारतमा स्वामी दयानन्द प्रथम चिन्तक हुन् जो वेदहरुमा इतिहासलाई मान्दैैनन् । सत्यार्थ प्रकाशमा स्वामीजी लेख्नु हुन्छ – “इतिहास जसको हो , उसको जन्म पछि लेखिने गर्छ । त्यो ग्रन्थ पनि उसको जन्म पश्चात् हुन्छ । वेदहरुमा कसैको इतिहास छैन । तर जुन जुन शब्दले विद्याको बोध हुन्छ , त्यो त्यो शब्दको प्रयोग वेदमा गरिन्छ । कुनै विशेष मनुष्यको संज्ञा या विशेष कथाको प्रसंग वेदहरुमा छैन ।” ऋग्वेदादिभाष्यभूमिकामा पनि स्वामीजी लेख्नु हुन्छ –“ यसबाट यो सिद्ध भयो कि वेदहरुमा सत्य अर्थहरुको वाचक शब्दहरुबाट सत्य विद्याहरुको प्रकाश गरिएको छ , लौकिक इतिहासको होइन । यसबाट जो सायणाचार्य आदि कृत टीकाहरुमा जहाँ इतिहास वर्णन गरेका छन् ती सब मिथ्या हुन् । ”
यजुर्वेद ३.६२ को उदाहरण दिएर स्वामी दयानन्द सिद्ध गर्नुहुन्छ कि वेदहरुका संज्ञा यौगिक हुन् रुढ हैनन् । मंत्रहरुमा जमदग्नि , कश्यप आदि मुनिहरु र इन्द्रादि देवहरुको उल्लेख पनि पाइन्छ । अरु भाष्यकर्ताहरु यी मन्त्रमा इतिहासको खोजी गर्छन् किन्तु स्वामी दयानन्द जमदग्निबाट चक्षु , कश्यपबाट प्राण एवं देवबाट विद्वान् मनुष्यहरुको आशय प्रस्तुत गर्नुहुन्छ । स्वामीजी अर्थ गर्नुुहुन्छ कि हाम्रा चक्षु र प्राण तिनगुण आयुवाला होऊन् र देव विद्वान्हरु जस्तै ब्रह्मचर्य आदिद्वारा .दीर्घ आयुलाई प्राप्त गर्छन् , ती हामीलाई पनि प्राप्त होऊन् । यही क्रमले स्वामी दयानन्दले सबै वेदमन्त्रहरुको भाष्य गर्नुभएको छ , जसमा इतिहासको कुनै वर्णन छैन । स्वामी दयानन्दले पुराना ऋषिमुनिहरुको पद्धतिलाई अपनाउनु भयो तथा व्याकरण , निरुक्त एवं ब्राह्मण ग्रन्थहरुको आधारमा यौगिक प्रक्रियालाई अपनाएर आफ्नो वेदभाष्यमा यो स्पष्ट गरिदिनु भयो कि वेदहरुमा व्यक्तिवाचक लाग्ने शब्द वस्तुतः विशेषणवाची हुन् तथा गुण–विशेषहरुको बोध गराउँछन् ।
शंका ४ ः वेदहरुमा इतिहास छैन , केही उदाहरणहरुको माध्यमले आ–आफ्नो मान्यताको सिद्धि ।
समाधान ः वेदहरुमा इतिहास सम्बन्धि भ्रान्ति हुँदा पाठकहरुलाई योे भ्रान्ति पनि हुन्छ कि वेदहरुमा अनेक मन्त्रहरुमा अश्लीलतको वर्णन भेटिन्छ । जस्तै प्रजापतिले आफ्नी छोरीसँग सम्बन्ध , त्यस्तै इन्द्र अहिल्याको कथा , मित्र–वरुण एवं उर्वशी अप्सरा आदिको कथाको समाधान यसै पुस्तकको अन्य स्थानमा दिइएको छ ।
वेदहरुमा इतिहास सम्बन्धि कथाहरु मन्त्रहरुमा भेटिन्नन् , परन्तु पुराण र अन्य ग्रन्थहरुमा भेटिन्छन् । मन्त्रमा भेटिने एक आध शब्दहरुलाई आधार बनाएर वेदका अनुक्रमणिकाकार र उनीहरुको अनुुशरण गर्ने भाष्यकार कथा बनाइहाल्छन् । केही उदाहरण दिएर हामी यो सिद्ध गर्छौ कि वेदमा इतिहास मान्नू केवल भ्रान्ति हो ।
१. इन्द्र वृत्रासुरको कथा
मतवादी भाष्यकारहरु ऋग्वेद १.३२.१ – ७ का मंत्रहरुमा इन्द्र र वृत्रासुरको कथा बनाउछन् जसमा भनिएको छ कि त्वष्टाका पुत्र वृत्रासुरले देवहरुका राजा इन्द्रलाई युद्धमा निल्छ । तब सबै देवता भयले विष्णुको समीप पुगेर सहायता माग्छन् । तब विष्णुले उसलाई मार्ने उपाय बताउँछन् कि म समुद्रको फेनमा प्रविष्ट हुने छु । तिमीहरु त्यो फेन उठाएर वृत्रासुरलाई मार्नू , ऊ मर्नेछ ।
२. दधिचिको हड्डीहरुबाट वृत्र हननको कथा
ऋग्वेद १.८४.१३ को आधारमा यौटा कथा प्रसिद्ध छ कि एकपटक वृत्र नामक राक्षस सारा लोकमा उपद्रव मच्चायो । देवताहरु पनि उसँग थाकिसकेका थिए । तब सबै विष्णुको शरणमा गए । विष्णुले बताए कि दधीचि ऋषिको हड्डीले बनेको वज्रबाट वृत्रलाई मार्न सकिन्छ । तब देवताहरुको प्रार्थनामा दधीचिले आफ्नो शरीर त्याग गरिदिए । इन्द्रले उनको हड्डीहरुबाट वज्र तयार गरे जसबाट वृत्र मारियो ।
स्वामी दयानन्दका अनुुुुुसार यस मंत्रको आधिदैविक अर्थ यस प्रकार छ कि सूर्यलाई दधीचि भनिन्छ , उनका हड्डीहरु सूर्यका किरण तथा वृत्रको अर्थ मेघ हो । जब सारा भूमण्डलमा मेघ आच्छादित हुन्छ तब सूर्य आफ्ना किरणद्वारा मेघहरु छेदन गरेर वर्षा गराइदिन्छन् । यसको आध्यात्मिक अर्थ भने यसप्रकारको छ कि इन्द्रको अर्थ हो आत्मा , दधिचीको अर्थ हो मन , दधिचीका हड्डी हुन् उच्च मनोवृत्तिहरु र वृत्रको अर्थ हो पाप–वासनारुपी विचार । आत्मा आफ्नो मनको उच्च विचारहरुले पाप वासना आदि कुविचारहरुको नाश गरिदिन्छन् ।
३.देवापि –शन्तनुको कथा
ऋग्वेद १०.९८.७ का आधारमा एक कथा प्रचलित छ कि देवापि र शन्तनु दुई भाइ । शन्तनु साना थिए तर जसका कारण रिसाएर देवापि वन गएर तपस्या गर्न थाले , राजा शन्तनुको राज्यकालको १२ वर्षसम्म वर्षा भएन । उनले ब्राह्मणहरुसँग सोधे पछि उनलाई बताइयो कि राज्यप्रति अधिकार देवापिको थियो जसका कारण वर्षा हुन सकेको थिएन । शन्तनु वन गएर देवापिलाई फकाउने कोेशिस गरे । तर शन्तनुले मानेनन् । अन्ततः उनी यज्ञको पुरोहित हुन स्वीकार गर्छ जसबाट वर्षा हुनसकोस् । त्यसपछि शन्तनुले देवापिलाई बोलाएर वृष्टि यज्ञ गराउँछ जसबाट राज्यमा पुष्कल वर्षा भयो । निरुक्त २.१२ का आधारमा शन्तनु शब्दको अर्थ हुन्छ जो राजा यस्तो प्रयत्न गर्छ कि उसको राज्यमा सबै सुख प्राप्त गरुन् , सब शरीरले निरोगी , प्रशन्न र सुखी होऊन् । त्यसै प्रकारले प्रजाहरु पनि यो चाहून् कि हाम्रो राजा स्वस्थ , सुखी , निरोगी हुँदै युगौसम्म जीवित रहून् , त्यस राजालाई शन्तनु भनिन्छ र देवापि अर्थात् त्यस गुणवाला व्यक्ति जसमा देवता समान गुणहरु होऊन् , उसलाई यज्ञको पुरोहित बनाएर वृष्टि यज्ञ गराउँदा यज्ञ सफल हुन्छ ।
पण्डित ब्रह्मदत्त जिज्ञासु यस मन्त्रको विशिष्ट अर्थ गर्नुहुन्छ । देवापि = विद्युत् जो मरुतहरुबाट उत्पन्न हुन्छ । उसको भाइ शन्तनु ( शरीरलाई शान्ति दिनेवाला ) उदक – जल हो । यहाँ वर्षा गराउनमा विद्युत्को महत्वलाई प्रकाशित गरिएको छ । यस्ता ऐतिहासिक कथालाई जोड्नाले वेदहरुको सही अर्थको लोप भएर निरर्थक कथा प्रचलित भयो ।
वेदहरुको सही अर्थ न जानेर इतिहासको ग्रहण गर्नुले वेदहरुको उच्च शिक्षामा बाधा दिन्छ । यही वेदहरुमा इतिहास मान्नुको ठुलो दोष हो ।
शंका ५. वेदहरुमा सरस्वती , गंगा , यमुना आदि नदीहरुको वर्णन पाइन्छ । यी नदीहरु भूगोलका विषय हुन् , न कि इतिहासका । वेदहरुपमा नदीहरुको अस्तित्व मान्नुमा के कठिनाई छ ?
समाधान ः वेदहरुमा सरस्वती , गंगा , यमुना , कृष्ण आदि नदीहरुको वर्णन पाइन्छ । तर यी वस्तुहरु या वस्तुहरु या व्यक्तिहरुको नाम होइनन् । वेदहरुमा यिनीहरुको अर्थ अर्कै छ । वेदहरुको अर्थ जान्न हामीसँग ऋषिहरुका प्रमाण छन् । निघण्टुमा वाणीका ५७ नाम छन् , जसमा एक सरस्वती पनि छ । अर्थात् सरस्वतीको अर्थ वेदवाणी हो । ब्राह्मणग्रंथ वेदव्याख्याका प्राचीनतम ग्रन्थ हुन् ।
त्यहाँ सरस्वतीका अनेक अर्थ बताइएका छन् जसमध्य केही यस प्रकार छन् ः
१. वाक् सरस्वती ।। वाणी सरस्वती हुन् । – शतपथ ७.५.१.३१
२. वाग् वै सरस्वती पावीरवी ।। पावीरवी वाग् सरस्वती हुन् । – शतपथ ७.३.३९
३. जिह्वा सरस्वती ।। जिह्वालाई सरस्वती भनिन्छ । – शतपथ १२.९.१.१४
४. सरस्वती हि गौः ।। वृषा पूषा ।। गौ सरस्वती हुन् , अर्थात् वाणी , रश्मि , पृथ्वी , इन्द्रिय आदि । अमावस्या सरस्वती हुन् । स्त्री , आदित्य आदिका नाम सरस्वती हुन् । – शतपथ २.५.११
५. अथ यत् अक्ष्योः कृष्णं तर सारस्वतम् । आँखाको कालो अंश सरस्वती हो । – शतपथ १२.९.१.१२
६. अथ यत् स्फूर्जयन् वाचमिव वदन् दहति । अग्नि जब जल्दै आवाज निकाल्छ , त्यो अग्निको सारस्वत रुप हो । – ऐतरेय ३.४
७. सरस्वती पुष्टिः , पुष्टिपत्नी । सरस्वती पुष्टि हुन् र पुष्टिलाई बढाउनेवाली पनि । – तैतिरिय २.५.७.४
८. एषां वै अपां पृष्ठं यत् सरस्वती । जलको पृष्ठ सरस्वती हो । – तैतिरिय १.७.५.५
९. ऋक्सामे वै सारस्वतौ उत्सौ । ऋक् र साम सरस्वतीका स्रोत हुन् ।
१०. सरस्वतीति तद् द्वितीयं वज्ररुपम् । सरस्वती वज्रको दोस्रो रुप हो । – कौ १२.२
ऋग्वेद २६.१ सूक्तका देवता सरस्वती हुन् । स्वामी दयानन्दले यहाँ सरस्वतीको अर्थ विदुषी , वेगवती नदी , विद्यायुक्त स्त्री , विज्ञानयुक्त वाणी , विज्ञानयुक्त आर्या आदि गर्नु भएको छ । सरस्वती शब्दलाई एक विशेष नदी मानेर भाष्यकारहरु कुन भ्रममा छन् , जस्तै मानौ यौटा झुठलाई सिद्ध गर्न हजारौ झुठ बोलेजस्तै । यसको एक उदाहरण ऋग्वेद ७.९५.२ को यस मन्त्रबाट बुझ्न सकिन्छ ः
एका चेतत् सरस्वती नदीनां शुचिर्यती गिरिभ्यः आ समुद्रात् ।
रायश्चेतन्ती भुवनस्य भूरेर्घृतं पयो दुदुहे नाहुषाय ।।
सायणाचार्यले यहाँ सरस्वतीलाई एक विशेष नदी मान्दै स्वयं कल्पनाको घोडामा चढ्नु भएको छ । उहाँ यसको अर्थ यसप्रकारले गर्नुहुन्छ – (नदीनां शुचिः ) नदीहरुमा शुद्ध ( गिरिभ्यः आसमुद्रात् यती ) पर्वतहरुबाट समुद्रतिर जाँदै ( एका सरस्वती ) एक सरस्वती नदीले ( अचेतत् ) नाहुषको प्रार्थना जानिन् र ( भुवनस्य भूरेः रायः चेतन्ती ) प्राणीहरुलाई धेरै जसो धर्म सिकाउँदै ( नाहुषाय घृतं पयो ददुहे ) नाहुष राजाको एक हजार यज्ञका लागि पर्याप्त दुध दिइन् ।
यहाँ नहुषको अर्थमा विचार नगरेका कारण यस्तो इतिहासको कल्पना गर्नुपर्यो । निघण्टु २.३ का अनुसार मनुष्यका २५ पर्यायहरु छन् जसमध्ये एक नहुुष पनि हो । घृतं , पयः वेद विद्या हुन् । – शतपथ ब्राह्मण ११.५.७.५
आर्ष वेदार्थ शैलीका अनुसार यस मन्त्रको अर्थ यस प्रकार छ –
(एका नदी शुचिः गिरिभ्यः आसमुद्रात् यती ) जसरी एक नदी पर्वतहरुबाट शुद्ध जल भएकी समुद्रसम्म जाने बुुझिन्छ , त्यसै गरि ( सरस्वती एका ) एक अद्वितीय सर्वश्रेष्ठ उत्तम ज्ञानयुक्त प्रभुवाणी ( गिरिभ्यः ) ज्ञानोपदेष्टा गुरुहरुबाट ( आ समुद्रात् ) जनसमूहरुप सागरसम्म प्राप्त हुने बुझिन्छ । अर्थात् पर्वत–सागरसदृश गुरुहरुबाट मनुष्यहरुले ज्ञान प्राप्त गरुन् । ती ( भुवनस्य भूरे चेतन्ती ) संसार र जन्तु जगत्लाई प्रभूत ऐश्वर्यको ज्ञान गराउँदै ( नाहुषाय ) मनुष्य मात्रलाई ( घृतं पयः दुदुहे ) प्रकाशमय , पान गर्न योग्य रस तुल्य ज्ञानको रसलाई बढाउँछन् ।
प्रकरणवश अर्को एक मन्त्रमा विचार गर्न उचित रहन्छ , जसमा गंगा आदि
दश नदीहरुको नाम बताइएको छ ।
इमं मे गंगे यमुने सरस्वति शुतद्रि स्तोमं सचता परुष्ण्या ।
असिक्नया मरुद्वृधे वितस्तयार्जीकीये शृणुह्यासुषोमया ।। – ऋग्वेद १०.७५.५
स्वामी दयानन्दका अनुसार इडा , पिंगला , सुषुम्णा र कुर्मनाडी आदिको गंगादि संज्ञा छ रहेको छ । योगका धारणा आदिको सिद्धिको लागि र चित्तलाई स्थिर गर्नको लागि यिनीहरुको उपयोगिता स्वीकार गरिएको छ । यी नामहरुबाट परमेश्वरको पनि ग्रहण हुन्छ । उहाँको ध्यान दुःखको नाशक र मुक्ति प्रदायक हुन्छ । यस मंत्रको प्रकरणपूर्व पनि ईश्वरको अनुवृत्ति छ ।
यी प्रमाणहरुबाट सिद्ध हुन्छ कि वेदमा सरस्वती आदिको उल्लेख धर्तीको कुनै स्थान विशेषमा बग्ने नदीको रुपमा आएको छैन । न त वेदमा सरस्वती नामले कुनैै व्यक्तिगत इतिहासको व्याख्यान छ । सरस्वती नदीको ऐतिहासिकतालाई वेदद्वारा प्रमाणित गर्ने प्रयास वेदहरुको अवमूल्यन गर्नु नै हो ।
यही नियम वेदमा वर्णित विभिन्न नामहरु , विभिन्न स्थलहरु , नदीहरु आदिहरुमा पनि लागु हुन्छ , जसद्वारा केही व्यक्तिहरु वेदमा इतिहास भएको कल्पना गर्छन् ।
No comments:
Post a Comment