परमेश्वरको वाणी – वेदोपदेश
अनुवादक एवं प्रस्तोता – अविरल डि.सी.
वेदहरू विविध र गहन विषयहरूलाई समाहित गर्दछन् जो मनुष्य जीवनलाई उच्चतम सोपानसम्म लैजानका लागि अति आवश्यक छ । सत्य र आनन्द प्राप्तिका यो एकान्त बाटो हो । अरु पन्थ र सम्प्रदायहरूमा जो राम्रोपन देखिन्छ त्यसको मूल स्रोत वेद नै हो –
१. ऋग्वेद १०.१९१.२ तिमी सबै अन्याय र पक्षपातबिना सहनशीलताका साथ सत्य मार्गमा हिँड । विद्या , ज्ञान र स्नेहलाई बढाउँनका लागि घृणा र द्वेष रहित भएर एक आपसमा संवाद गर । ज्ञान र आनन्दलाई बढाउँनका लागि मिलेर काम गर , जसरी श्रेष्ठ जन सत्य र पक्षपात रहित आचरण गर्दछन् त्यसरी नै तिमीहरू पनि कार्य गर ।
२. ऋग्वेद १०.१९१.३ तिम्रो सत्य र असत्यको विवेचन पक्षपात रहित होओस् , कुनै एक समुदायका लागि मात्र नहोस् । तिमी संगठित भएर स्वास्थ्य , विद्या र समृद्धिलाई बढाउँनका लागि सबैलाई सहयोग गर । तिम्रो मन विरोध रहित होओस् र सबैको प्रसन्नता तथा उन्नतिमा तिमी आफ्नो स्वयंको प्रसन्नता र उन्नति जान । सत्य सुखको वृद्धिमा तिमी पुरुषार्थ गर । तिमी सबै मिलेर सत्यको खोज गर एवं असत्यलाई मेटाऊ ।
३. ऋग्वेद १०.१९१.४ तिम्रो उत्साहले पूर्ण पुरुषार्थ सबैको सुखका लागि होस् । तिम्रो मन अर्थात् सबै भावनाहरू प्रेम सहित र विरोध रहित होस् । सबैसँग त्यस्तै प्रेम गर जस्तो कि तिमी आफूसँग गर्दछौ । तिम्रा इच्छाहरू , संकल्प , विश्लेषण , श्रद्धा , संयम , धर्म , जिज्ञासा , ध्यान र अनुकूलता आदि सबै केवल सत्य र सबैको कल्याण लागि होओस् तथा असत्यबाट पर होस् । सुख र विद्याको वृद्धिका लागि तिमी सबै मिलेर काम गर ।
४. यजुर्वेद १९.७७ हे मनुष्यहरू ! तिमी सदा नै जो केही पनि असत्य पाउँछौ त्यसमा श्रद्धा नराख र जो केही विश्लेषण , तर्क , तथ्य र प्रमाण आदिबाट सत्यलाई जान , त्यसलाई श्रद्धापूर्वक अपनाऊ ।
५. यजुर्वेद ३६.१८ मनुष्य कहिल्यै कुनै प्राणीसँग वैरभाव नराखोस् र एक अर्कासँग प्रेमभावमा बसोस् । मनुष्य सबै प्राणीहरूलाई आफ्नो मित्र सम्झोस् र प्रत्येकको सुख–समृद्धिका लागि कार्य गरोस् ।
६. यजुर्वेद ३६.१८ सबै मनुष्यहरूले दृढताका साथ केवल सत्यलाई स्वीकार र असत्यलाई त्याग गििरदिनुपर्छ । ईश्वरसँग प्रार्थनामा पनि सत्य अपनाउँने र असत्यलाई त्याग गर्ने प्रार्थना गर्नुपर्छ ।
७.यजुर्वेद १९.३० मनुष्य जब सत्यको पालन दृढताका साथ गर्दछ तब ऊ सत्य र सुखको अधिकारी बन्दछ । ती उत्तम गुणहरूले युक्त भएपछि उसलाई ज्ञान र सन्तोष प्राप्त हुन्छ , जसबाट सत्यको पालनमा उसको विश्वास अझ दृढ हुन्छ तथा उसको श्रद्धा पनि बढिरहन्छ । जति अधिक श्रद्धा बढ्दछ त्यति नै अधिक ज्ञान र सुख प्राप्त भइरहन्छ तथा अन्ततः यसबाट नै परमानन्द या मोक्ष मिल्दछ ।
८. अथर्ववेद १२.५.१,२ श्रम अर्थात् परम प्रयत्न र तप अर्थात् लक्ष्यको प्राप्तिका लागि चुनौतिहरू र बाधाहरूको सहर्ष सहनू , ईश्वर प्रदत्त यी गुणहरूको त्याग मनुष्यले कहिल्यै पनि नगरोस् । श्रम र तपले नै मनुष्य विश्वका महान् रहस्यहरू जान्न सक्छ – ब्रह्म वा परमेश्वरको ज्ञान पनि पाउँन सक्छ । मनुष्य श्रम र तप गरेर आफ्नो सम्पत्तिलाई बढाऊ र राष्ट्रलार्य पनि समृद्ध गर । श्रम र तपको ग्रहण गरेर सत्य आचरणले मनुष्य उत्तम कीर्तिलाई प्राप्त गरोस् ।
९. अथर्ववेद १२.५.३ सबै मनुष्यहरू आफ्ना वस्तुहरूको उपयोग गरून् अन्यको नलेऊन् । सबै एक–अर्काप्रति पूर्ण विश्वास गरून् । सत्यका बिना विश्वास हुन सम्भव हुँदैन अतः सदा सत्यप्रति अचल रहून । मनुष्यहरू सत्यविद्या , विद्वानर निर्दोषहरूको रक्षाका लागि पूर्ण प्रयत्न गरून् । मनुष्य यज्ञले उत्तम लाभ प्राप्त गरून् – सबैका लागि हितकारी निःस्वार्थ कार्य , सत्यको ग्रहण तथा सत्य विद्याको प्रचार – प्रसार । यज्ञका लागि सधै पुरुषार्थ गर्दै गर , यसमा प्रमाद नगर ।
१०. अथर्ववेद १२.५.७–१० का यी मन्त्रहरूमा वैदिक धर्मका सम्पूर्ण तत्वहरू संक्षेपमा हेर्नुहोस् – ओजश्च – सत्य पालनले युक्त पराक्रम । तेजश्च – भय रहितता । सहश्च – सुखदुःख , हानी लाभको वास्ता नगरेर , सत्यको पालन गर्नु । बलं च – विद्या , ब्रह्मचर्य , अनुशासन र व्यायाम आदि राम्रा नियमहरूद्वारा बौद्धिक र शारीरिक क्षमता बढाउनु । वाक् च – सत्य र मधुर बोल्नु । इन्द्रियं च – पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियहरू तथा मनलाई पाप कर्महरूबाट रोेकेर सदा सत्य र पुरुषार्थमा लगाउनु । श्रीश्च – सबै प्रयत्नहरूले भ्रष्ट , दुर्बल , स्वाभिमान रहित स्वार्थी शासकरूलाई निकालेर सत्य , न्याय र सम्मानमा आधारित शक्ति संपन्न राष्ट्रको निर्माण गर्नु । धर्मश्च – सदा नै सत्यलाई स्वीकार र असत्यको त्याग गर्नु र यसद्वारा सबै जीवहरूको उपकार गर्नु तथा सबैलाई आनन्द दिनु । ब्रह्म च – विद्या र ज्ञानको प्रचारका लागि विद्वान र श्रेष्ठ पुरुषहरूलाई प्रोत्साहित गर्नु । क्षत्रं च – राष्ट्र र समाजको रक्षा गर्नेवाला शूरवीरहरूलाई बढाउँनर दुष्टहरूलाई दण्ड दिन । विश्श्च – आफ्नो राष्ट्रको व्यापार – वाणिज्यलाई विश्वस्तरमा फैलाउँनु , जसबाट विश्वमा राम्रा पदार्थहरूको वृद्धि हुन्छ । त्विषिश्च – केवल सत्य र उत्तम गुणहरूको प्रचार–प्रसार । यशश्च – उत्तम कामहरूले विश्वमा श्रेष्ठ कीर्ति पाउँनु । वर्चश्च – सबै सत्य विद्याहरूले युक्त उत्तम शिक्षा पद्धतिको स्थापना गर्नु । द्रविणं च – मनुष्यहरूलाई पूर्वोक्त धर्मद्वारा सदा पुरुषार्थ गर्दै धन – सम्पत्तिलाई प्राप्त गर्नु पर्छ , प्राप्त पदार्थको रक्षा गर्नुपर्छ , रक्षित पदार्थहरूको वृद्धि गर्नुपर्छ तथा विद्या एवं सद्गुणहरूको प्रचारमा धन सम्पत्तिको यथावत उपयोग गर्नुपर्छ । आयुश्च – सबै राम्रा नियमहरूको पालनले स्वास्थ्य र आयुलाई बढाउँनु । रुपं च – शुद्ध वस्त्रहरूलाई धारण गरेर शरीरको स्वरूप राम्रो राख्नु । नाम च – उत्तम कर्महरूको आचरणले नामको प्रसिद्धि गर्नुपर्छ जसबाट मनुष्यहरूलाई पनि श्रेष्ठ कर्म गर्नमा उत्साह मिलोस् । कीर्तिश्च – सत्य ज्ञानको प्रचारले यश प्राप्त गर्नु । प्राणश्चापानश्च – श्वास प्रश्वासको नियन्त्रणले स्वास्थ्य र आयुको वृद्धि गर्नु । चक्षुश्च श्रोत्रं च – ज्ञानेन्द्रियहरूद्वारा सदा सत्यको ग्रहण र असत्यको त्याग गर्नु । पयश्च रसश्च – दूध , जल , औषध आदिको यथावत् सेवनले स्वास्थ्य र आयुको वृद्धि गर्नु । अन्न चान्नाद्यं च – वैद्यक शास्त्रहरूको रीतिले स्वास्थ्यप्रद उत्तम भोजनको सेवन गर्नु । ऋतं च – केवल सर्वोच्च परमात्माको उपानना गर्नु । सत्यं च –मन , वचन र कर्ममा समानता राख्नु । इष्टं च – परम आनन्दको प्राप्तिका लागि उपर्युक्त श्रेष्ठ कर्महरूद्वारा एक मात्र ईश्वरको नै उपासना गर्नु । पूर्तं च – इष्टको सिद्धिका लागि उचित कर्म गर्नु । प्रजा च – साधारण मनुष्यहरू र नयाँ पुस्ताको विद्या र कर्मलाई सही शिक्षा दिनु । पशवश्च– पशुहरूको उचित हेरविचार गर्नु । यी मन्त्रहरूमा प्रयुक्त अनेक चकार (च ) को अर्थ हो “र ” जो यो संकेत दिन्छ कि सत्य र न्यायलाई बढाउँनेवाला तथा असत्य र दुःखको नाशक अन्य पनि जो गुणहरू छन् , तिनलाई पनि मनुष्यले अपनाओस् ।
११.धर्मका बारेमा विस्तारले उत्तम जानकारी ऐतरेय आरण्यक , मण्डकोपनिषद् ३.१.५,६ आदिमा उपलब्ध छ । पूर्व मीमांसा १.१.२ – का अनुसार ईश्वरले वेदहरूहरूमा मनुष्यहरूका लागि जे गर्ने आज्ञा दिन्छ , त्यो नै धर्म हो ।
१२. वैशेषिक दर्शन धर्मको व्याख्या गर्दै उल्लेख गर्दछ कि जुन आचरणले संसारमा उत्तम सुख र निःश्रेयस अर्थात् मोक्ष , सुखको प्राप्ति हुन्छ , त्यसैको नाम धर्म हो ।
सबै मनुष्यका लागि धर्म एक छ , अतः सबैले त्यही सत्य धर्म धारण गर्नुपर्छ ।
अग्ने॒ वाज॑स्य॒ गोम॑त॒ ईशा॑नः सहसो यहो।
अ॒स्मे धे॑हि जातवेदो॒ महि॒ श्रवः॑॥४॥
– ऋग्वेद १-७९-४॥
भावार्थ – जो मनुष्य विद्वान मातापिताका सन्तान भएर माता , पिता र आचार्यबाट शिक्षालाई प्राप्त गर्दछन् , तथा धेरै अन्नादि ऐश्वर्य र विद्याहरूलाई प्राप्त हुन्छ , ऊ अन्य मनुष्यहरूमा पनि त्यसको वृद्धि गरोस् ।
No comments:
Post a Comment