वैदिक संस्कृतिका मूलाधार - वेद, रामायण र महाभारत
-डा० जयदत्त उप्रेती
नेपाली अनुवादक/सम्पादक- अविरल डि० सी०
प्राचीन कालदेखि चलिआएको विश्वविख्यान वैदिक संस्कृतिका तीन मूल आधार छन्- ऋग्वेदादि चार वेद, वाल्मीकि रामायण र महर्षि कृष्णद्वैपायन व्यास रचित महाभारत। यिनमा वेदहरूलाई त देवकाव्य वा अपौरुषेय काव्य पनि भनिन्छ। स्वयं वेदमा पनि भनिएको छ कि, सनातन देवकाव्य (ईश्वरी काव्य) लाई हेर जो न कहिल्यै जीर्ण (अर्थात् पुराना) हुन्छन् न त कहिल्यै नष्ट नै हुन्छन्- ‘‘देवस्य पश्य काव्यं न ममार न जीर्यति”। मानव सृष्टिको आरम्भमा उत्पन्न अग्नि, वायु, आदित्य, अंगिरा नामक चार अमैथुनी सृष्टिका आदि ऋषिहरूको अत्यन्त पवित्र अन्तःकरणहरूमा शब्द, अर्थ, सम्बन्ध सहित ब्रह्मा नमक देवर्षिले वेदहरूलाई प्राप्त गर्नुभयो। पछि उहाँले आफ्नो दिव्य योग्यताले लिपिको आविष्कार गरेर, त्यसद्वारा आफ्ना पुत्रादि एवं पछिका ऋषिहरूलाई वेद पढाउँनुभयो तथा सुस्तरी सुस्तरी वेदज्ञान समस्त भूमण्डलमा फैलिँदै गयो। यो कुरा व्याकरण, निरुक्तादि वेदांगहरू, ऐतरेय - शतपथ आदि ब्राह्मण ग्रन्थहरू र उपनिषदहरूमा वर्णित छ। ऋग्वेदादि चारै वेदहरूलाई कण्ठस्थ गरेका कारण ब्रह्मा चतुर्मुख उपाधिलाई प्राप्त भए।
जसरी वेदहरूलाई अपौरुषेय देवकाव्य भनिन्छ, त्यसै प्रकारले लोकभाषा संस्कृतमा सर्वप्रथम काव्यको रचना गर्ने महर्षि वाल्मीकि भए, जसले रामकथामा आधारित रामायण नामक महाकाव्यको प्रणयन गरे। यसैकारण उनलाई आदिकवि र रामायणलाई संस्कृत साहित्यमा आदि महाकाव्य पनि भनिन्छ।
वैदिक वाङ्मय पछि अगल अलग युगहरूमा अनेक महर्षिहरू भए जसले आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र अर्थवेद नामक चार उपवेदहरू, शिक्षा, व्याकरण, निरुक्त, कल्प, छन्द, ज्योतिष नामक ६ वेदांग शास्त्रहरू, मनुस्मृति आदि धर्मशास्त्रहरू, न्याय, वैशेषिक, सांख्य, योग, पूर्व मीमांसा, वेदान्द लगायतका ६ वेदोपांग नामक दर्शनशास्त्रहरूको रचना गरे। यसै प्रकारले त्रेतायुग र द्वापरय्गको प्रमुख ऐतिहासिक घटनाहरूमा आधाति क्रमशः महर्षि वाल्मीकि रचित रामायण नामक महाकाव्य र महर्षि कृष्णद्वैपायन व्यास रचित महाभारत नामक महाकाव्य संस्कृत साहित्यको क्षेत्रमा अति प्रसिद्ध छ। यस लेखमा यी दुवै महाकाव्यका केही समानता र विशेषताहरूको दिग्दर्शन गराइनेछ जो यस प्रकार छ।
पहिले वाल्मीकि रामायणको चर्चा गरौँ वाल्मीकि रामायणको विषयमा ज्ञातव्य छ कि त्यसलाई चतुविंशतिसाहस्त्री संहिता पनि भनिन्छ। यसको कारण यो हो कि यो महाकाव्य चौबिस हजार अनुष्टुप् छन्दका श्लोकहरूमा पूर्ण भएको छ। यसका प्रत्येक हजारको पहिलो श्लोक गायत्री मन्त्रको एक एक अक्षरबाट आरम्भ हुन्छ। जसतो कि गायत्री मन्त्र जो तत् शब्दले आरम्भ हून्छ (महाव्याहृतिहरू भूर्भुवः स्वः लाई छोडेर) त्यसैप्रकार वाल्मीकि रामायणको बालकाण्डको आरम्भ पनि “त” अक्षरबाट हुन्छ र अन्मि युद्ध काण्ड वा उत्तरकाण्डको अन्तिम चौबिस हजारौँ श्लोकको प्रथम अक्षर या ले हुन्छ कि नाई, यसको पुष्टि कुल श्लोकहरूको गणनाको आधारमा गर्न सकिन्छ। युद्ध काण्डमा नै रामायणलाई पूणं मानिन्छ वा उत्तरकाण्डको समाप्तिमा - यस विषयमा विद्वानहरूमा मतभेद छ। यसैकारण तदनुसार गणना नै वैकल्पिक हुन्छ। यसो त युद्धकाण्डको पुष्पिका (जो प्रत्येक काण्डको अन्तिमा समानरूपले पढिन्छ) त्यो यस प्रकार छ-
‘‘इत्यार्षे श्रीमद् रामायणे वाल्मीकीये आदिकाव्ये चतुर्विंशतिसाहस्त्रयां युद्धकाण्डे सर्वजनपरिवृतस्य राजाधिराजस्य श्रीमद् रामचन्द्रस्य पट्टाभिषेकभद्राण्यं नाम त्रिंशदधिकशततमः सर्गः।130।। ---वर्तमानकथाप्रसंगः समाप्तः।।”
यस प्रकार युद्धकाण्डको अन्तमा रामायणको मुख्य कथा समाप्त भएका कारण, तथा उत्तरकाण्डमा पुराणहरूका समान अनेक उपाख्यानहरूको समावेश भएका कारण त्यसलाई कतिपय विद्वानहरू प्रक्षिप्त मानेका छन् भने कतिले मानेका छैनन्।
वाल्मीकि रामायणमा रामकथाको आरम्भ महर्षि वाल्मीकिद्वारा मुनिश्रेष्ठ उत्तम विद्वान् नारदमुनिसँग यस प्रकार प्रश्न सोधेर भएको छ, कि हे मुनिजी! तपाई बताउँनुहोस् कि वर्तमान समयमा सर्वश्रेष्ठ धर्मात्मा, सत्यवादी, सदाचारवान्, आत्मवान्, शूरवीर, दृढप्रतिज्ञ, विद्वान्, सबै जनहरूका हितैषी को हुन्? यसमा नारद मुनि उत्तर दिन्छन्, हे मुनिजी! यी धेरै दुर्लभ गुणहरूवाला व्यक्तिको बारेमा तपाईले सोध्नुभएको छ। सो, म बताउँछु। ती हुन् इक्ष्वाकु वंशमा उत्पन्न सर्वलोक प्रसिद्ध श्रीरामचन्द्र। जो संयमी, सदाचारवान्, बलवान्, धैर्यवन्, बुद्धिमान्, नीतिमान्, ईर्ष्या-द्वेषरहित, तेजस्वी, जितेन्द्रिय, संग्राममा शत्रुहरूलाई विनष्ट गर्नेवाला एवं यशस्वी छन्।
‘‘तपः स्वाध्यायनिरतं तपस्वी वाग्विदां वरम्। नारदं परिप्रच्छ वाल्मीकिर्मुनिनिपुंगवम्।।
को न्वस्मिन् साम्प्रतं लोके गुणवान् कश्च वीर्यवान्। धर्मश्च कृतज्ञश्च सत्यवाक्यो दृढव्रतः।।
चारित्रेण को युक्तः सर्वभूतेषु को हितः। विद्वान् कः समर्थश्च कश्चैकप्रियदर्शनः।।
आत्मवान् को जितक्रोधो द्युतिमान् कोऽनसूयकः। कस्य बिभ्रति देवाश्च ताजरोषस्य संयुगे।।
बहवो दुर्लभाश्चैव ये त्वया कीर्तिता गुणाः। मुने! वक्ष्याम्यहं बुदध्वा तैर्युक्तः श्रूयतां नरः।।
इक्ष्वाकुवंशप्रभवो रामो नाम जनैः श्रुतः। नियतात्मा महावीर्यो द्युतिमान् धृतिमान् वशी।।
बुद्धिमान् नीतिमान् वाग्मी श्रीमान् शत्रुनिवर्हणः।।”
सम्पूर्ण रामायणमा रस छन्द अलंकारादि काव्यगुण हुँदै, श्रीरामका यी गुण पद पदमा वाल्मीकि महाकविद्वारा वर्णित भएका छन् जसकारण रामायण महाकाव्यहरूमा सर्वोत्तम महाकाव्यका रूपमा लोक प्रसिद्ध छ। अतः एव कविले यसको प्रशस्तिमा स्वयं लखेका छन्- यो काव्य वेदहरूका समान पवित्रत्र, पापनाशक, आयुर्वर्धक एवं पुण्यप्रद छ। यसलाई पढ्नेहरू सबै पापहरूबाट मुक्त हुनेछन्। उसको आयु बढ्नेछ र ऊ जन्मान्तरमा सुपुत्रपौत्र तथा सेवकहरूका सहित सुखी हुनेछ। ब्राह्मण यसलाई पढ्यो भने उत्तम विद्वान बन्नेछ, क्षत्रियले पढेपछि भूपति बन्नेछ, वैश्यले पढ्यो भने उत्तम धनवान् बन्नेछ एवं शुद्रले पढ्यो भने ऊ पनि महान् बन्नेछ। जबसम्म पृथ्वीतलमा पर्वत र नदीहरूमा रहनेछ तबसम्म रामायणको कथाको संसारमा प्रचार भइरहनेछ।
इदं पवित्रं पापघ्नं पुण्यं वेदैश्चसंमितम्। यः पठेद् रामचरितं सर्वणपैप्रमुच्यते।।
एतदाख्यानमायुष्यं पठन् रामायणं नरः सपुत्रपौत्रः सगणः प्रेत्य स्वर्गे महीयते।।
पठन् द्विजो वागृषभत्वमीयात्। स्यात् क्षत्रियो भूमिपतित्वमीयात्।।
वणिग्जनः पुण्यफलत्वमीयात् जनश्च शूद्रोऽपि महत्वमीयात्।। (वा०रा०, 1-1-98, 99, 100)
लगभग सात काण्डहरू, साढे छ सय सर्गहरू, अनेक अध्यायहरू र हजारौ श्लोकहरूमा विभक्त छ रामायण जसमा परिवार, समाज, राष्ट्र र विश्वका लागि सबै हितकर नियमहरू र सुशासनका साथ साथै धर्म, अर्थ, काम र मोक्ष नामक चारै पुरुषार्थहरूमा वर्णन छ। कर्तव्य कर्महरूको प्रेरणा र त्याज्य कर्महरूको निषेध एवं देशकालगत प्रकृतिको सुन्दर मनोहारी चित्रण रामायण काव्यको विशेषता हो। यसद्वारा प्राचीन वैदिक संस्कृति, कला, धर्म र विज्ञानको सुन्दर परिचय प्राप्त हुन्छ।
ठिक यसै प्रकार, महर्षि कृष्णद्वैपायन व्यासद्वारा रचित महाभारत नामक महाकाव्यद्वारा हामीलाई तत्कालीन भारतीय संस्कृतिको परिज्ञान हुन्छ। जो प्रायः वैदिक तथा रामायण कालिक संस्कृतिसँग मिल्दो जुल्दो भएर पनि अनेक अंशमा भिन्न प्रतीत पनि हुन्छ।
जसरी वाल्मीकि रामायण चौबिस हजार श्लोक भएकाले त्यसलाई चतुर्विंशतिसाहस्री संहिता पनि भनिन्छ, त्यसरी नै महाभारतमा एक लाख श्लोक भएकाले महाभारतलाई शतसाहस्री संहिता भनिन्छ। वाल्मीकि रामायण जहाँ काण्ड, सर्ग, अध्याय र अनुष्टुप् छन्दका श्लोकहरूमा निबद्ध छ, त्यहाँ महाभारत पर्वहरू, अध्याय र अनुष्टुप् श्लोकहरूमा विभक्त छ। विशाल ग्रन्थ महाभारतमा अठार पर्वहरू छन्, जसको नाम क्रमशः यस प्रकार छ- आदि, सभा, वन, विराट, उद्योग, भीष्म, द्रोण, कर्ण, शल्य, सौप्तिक, स्त्री, शान्ति, अनुशासन, आश्वमेधिक, आश्रमवासिक, मौसल, महाप्रस्थान, स्वर्गारोहण। यी मुख्य जड पर्वहरूमा प्रत्येकका अन्तर्गत साना साना पर्वहरू पनि छनु जो भिन्न भिन्न नामहरूले उपाख्यान पर्व पनि भनिन्छन्। यिनैमध्ये एक वनपर्वान्तर्गत २७३ औ अध्याय बाट २९१ अध्याय पर्यन्त १९ अध्यायहरूको रामोख्यान पर्व पनि छ जसमा रामायणमा वर्णित रामकथाको सार पनि वर्णित छ। सुप्रसिद्ध भगवद्गीता पनि भीष्मपर्वको एक अंश हो। महाभारतको आरम्भिक नाम जय थियो। त्यसपछि उपाख्यानहरूले रहित केवल चौबिस हजार श्लोकहरूको ग्रन्थको नाम भारत भयो। तथाजब त्यो एक लाख श्लोकको ग्रन्थ बन्यो तब त्यसको नाम महाभारत भयो। यस विशाल ग्रन्थलाई महर्षि कृष्ण द्वैपायनले नित्य प्रातः उठेर तीन वर्षहरूमा पूर्ण गरे। यो वर्णन महाभारतको आदि पर्वमा दिइएको छ। तद्यथा,
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।
मुच्यते सर्वपापेभ्यो राहुणा चन्द्रमा यथा।
जयो नामेतिहासोऽयं श्रोतव्यो विजिगीषुणा।।
चतुर्विंशतिसाहस्रीं चक्रे भारतसंहिताम्।
उपाख्यानैर्विना तावद् भारतं प्रोच्यते बुधैः।।
इदं शतसहस्रं हि श्लोकानां पुण्यकर्मणाम्।
सत्यवत्यात्मजेनेह व्याख्यातममितौजसा।। महाभारत आदि पर्व।।
वाल्मीकि रामायणझैँ महाभारतलाई पनि वेदहरूका समान अत्युत्तम महाकाव्य मानिएको छ। यसलाई पढने सुन्नेवालाको सबैप्रकारको कल्याण र उन्नति हुन्छ। यो धर्मशास्त्र, अर्थशास्त्र र मोक्षशास्त्रको पुण्य ग्रन्थ हो। चार पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्षको विषयमा जो महाभारतमा भनिएको छ त्यो अन्यत्र कतै पनि छैन र जो महाभारतमा छैन त्यो अन्यत्र पनि छैन।
इदं हि वेदैः संमितं पवित्रमपि चोत्तमम्।
श्राव्याणामुत्तमं चेदं पुराणमृषिसंस्तुतम्।।
इतिहासमिमं श्रुत्वा पुरुषोऽपि सुदारुणः।
मुच्यते सर्वपापेभ्यो राहुणा चन्द्रमा यथा।।
धर्मशास्त्रमिदं पुण्यमर्थशास्त्रमिदं परम्।
मोक्षशास्त्रमिदं प्रोक्तं व्यासेनामितबुद्धिना।।
धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ।
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित्।। (महाभारत, आदिपर्व, अध्याय 62, श्लोक 14, 16, 19, 20, 23, 52, 53)
यस प्रकार ऋषिकृत भएकाले रामायण र महाभारत दुवैलाई आर्ष महाकाव्य पनि भनिन्छ जसका अनेक शिक्षाहरू श्रेष्ठ, धर्मानुसार भएकाले प्रामाणिक र पालन गर्न योग्य मानिएको छ। ती सबै प्रकारले मानवहरूका लागि सुख र कल्याणप्रद हुनेगर्छ। वैदिक संस्कृतिमा यसैकारण सरहस्य सांगोपांग वेदहरू, वाल्मीकि रामायण र महाभारतलाई सर्वश्रेष्ठ ग्रन्थका रूपमा मानिएको छ र सदैव जिज्ञासु धार्मिक जनता यिनलाई आदर एवं श्रद्धाका साथ पढ्छन्।
।। इति शुभमस्तु ।।
No comments:
Post a Comment