वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन
लेखक- प्रियांशु सेठ, वाराणसी
नेपाली अनुवादक- अविरल डि० सी०
[आर्यवार्तका स्थापित आदर्शहरूलाई कलंकित गर्ने कुत्सित प्रयासहरूलाई क्रममा महर्षि भरद्वाजद्वारा मासु पस्किनेबारे युट्युबर्सका अनर्गल प्रवादको युवा गवेषकद्वारा यथोचित प्रामाणिक उत्तर दिइँदै छ। -सम्पादक शान्तिधर्मी]
महर्षि वाल्मीकिले आफ्नो काव्यग्रन्थ रामायणमा वैदिक संस्कृतिको वर्णन गर्दै एक अनुकरणीय जीवन पद्धतिको चित्र प्रस्तुत गर्नुुएको छ जसले विभिन्न मतावलम्बीहरूका समक्ष एक आदर्श स्थापित गर्दछ। साथै यसबाट यो पनि सिद्ध हुन्छ कि सम्पूर्ण विश्वमा वेदहरूका समान अन्य कुनै धर्म ग्रन्थ छैन। धर्मको स्वरूपलाई परिभाषित गर्नमा उनको यो काव्य पूर्णतः सक्षम छ। यस ग्रन्थमा पावन वेदकाहरू आज्ञाहरूको अनुशरण गरेर सच्चिदानन्दस्वरूप परमेश्वरलाई प्राप्त गर्नमा तपोरत अनेक महान् आदर्श पात्रहरूको उल्लेखले निश्चय नै हाम्रो बुद्धिलाई प्रगल्भ, क्रियाशील, उदयशील र मोक्षमार्गमा चल्नका लागि सक्षम बनाउँछ। रामायण विश्व संस्कृतिको इतिहासमा प्रमुख ऐतिहासिक महत्व राख्छ। यस ग्रन्थको महान् प्रतिष्ठाका लागि यसभन्दा ठुलो प्रमाण अरु के होला कि यसका रचयिता 'महर्षि', नायक 'भगवान्' र नायिका 'देवी' को पदले चिनिन्छन्।
रामायणकालमा मान्छेहरू पवित्र वेद सच्छास्त्रहरूका अनुसार आफ्नो जीवनको उत्कर्ष प्राप्त गर्थे। एक सर्वव्यापक जगदीश्वरका अतिरिक्त अन्य कुनै मूर्तिको पूजोपासना जान्दैनथे र पञ्चमहायज्ञका अतिरिक्त कुनै कब्र आदि पुजाको नित्य कर्म मान्दैनथे। षट्प्रज्ञको भाव त ती पात्रहरूको मानसिक चर्याहरूमा पनि सम्मिलित थिएनन् न त मांसाहारको कुनै गन्ध पनि थियो। (हिंसाभिरभिवर्जितः) अर्थात् अयोध्या हिंसाबाट पूर्ण मुक्त थियो (अयोध्या० १००/४४)। त्यस कालका देवता दिव्यगुणयुक्त, सत्वगुणी, शान्तात्मा, काम, क्रोध, लोभ, मोहाहंकार यी पाँच विकारहरूबाट सुरक्षित, भक्त र पुण्यमान हुने गर्थे।
दुर्भाग्ययवश अभिमानको मूर्ति लंकापति रावण जब वेदहरूबाट आफ्नो इच्छानुसार घृणित कामना पूर्ण गर्न सकेन जसकारण वेदहरूका आज्ञा उल्लंघन गर्न समेत पछि परेन। वेद-वचनहरूको उल्लंघनको मार्गले उसलाई राक्षसी प्रजातिहरूको समुहलाई हिंसा, अशिष्टता र व्यभिचारका भुमरीमा धकेलिदियो। कालान्तरमा यिनैलाई आफ्नो प्रेरणास्रोत मानेर वाममार्गीहरूले दुर्व्यसन, मद्यपान, व्यभिचार, मांसाहार जस्ता अनेक मिथ्या कल्पनाहरूको इतिहासमा प्रक्षेप गरेर विकृत गर्ने प्रयास गर्यो। यसैको आधारमा पेरियार जस्ता वाममार्गीहरूले असत्यलाई सत्यको मुखौटा लगाएर वैमनस्यको व्यापार चलाए र अन्ततः विधर्मीहरू अनेक प्रकारका आक्षेप रामायणका आदर्शहरूमाथि लगाउँन आरम्भ गरे। अबसम्म त श्रीराममाथि भिन्नभिन्न आरोप लगाएर आफ्नो मतलाई श्रेष्ठ सिद्ध गर्ने असफल प्रयास गर्ने गर्थे, तर अब त त्यही कुत्सित प्रयास श्रीरामका भाइ भरतजीमाथि लगाउँदै छन्। जब उनी श्रीरामसँग मिल्न वनमा प्रस्थान गरे, मार्गमा उनलाई भरद्वाज मुनिको दर्शन भयो। मुनि भरद्वाजले उनलाई र उनका सेनाहरूलाई भरपेट मासु खुवाए।
आउँनुहोस्, आफ्ना आदर्श भरतजी र भरद्वाज मुनि माथि लगाइएका मिथ्या आरोपहरूको निराकरण तथा त्यसका पोषकहरूको मुखमर्दन गरेर सत्यलाई पुनस्र्थापित गरौँ।
धर्मात्मा आर्य भरत
आर्य मर्यादाहरूका निष्पादक पुरुषोत्तम श्रीरामका भाइ निःस्पृह भरतजीको चरित्र अति नै विशद, आदर्श, उज्ज्वल र निष्कलंक छ। भरतजी धर्म र नीतिलाई जान्नेवाला, सत्यप्रतिज्ञ, सदाचारी, विनयका मूर्ति, सद्गुणसम्पन्न तथा भक्तिप्रधान कर्मयोगी थिए। तितिक्षा, वात्सल्य, सौम्यता, सरलता, मधुरता, क्षमा, दया, वीरता, व्यवहार-कुशलता र सहृदयता आदि गुणहरूले ती लालित्य र जाज्वल्यमान थिए । उनको वेदहरूको अध्ययनका प्रति प्रगाढ रुचिलाई वाल्मीकिजीले वर्णित गरेका छन्-
ते चापि मनुजव्याघ्रा वैदिकाध्य्यने रताः।
पितृशुश्रूषणरता धनुर्वेदे च निष्ठिताः।। -वाल्मीकि-रामायण, बालकाण्ड, सर्ग १८, श्लोक ३६-३७
अर्थात्- ती पुरुषसिंह राजकुमार प्रतिदिन वेदहरूको स्वाध्याय, पिताको सेवा तथा धनुर्वेदको अभ्यासमा दत्तचित्त रहन्थे।
भरतो वाक्यं धर्माभिजनवाञ्छुचिः। -वाल्मीकि-रामायण, अयोध्या० ७२/१६
अर्थात् भरत धार्मिक कुलमा उत्पन्न भएका थिए र उनको हृदय शुद्ध थियो।
अरण्यकाण्डमा, जब लक्ष्मण श्रीमानका समक्ष हेमन्त ऋतुको वर्णन गर्छन् र भरतको प्रशंसा गर्छन्, तब उनी भरतलाई धर्मात्मा भनेर सम्बोधित गर्छन्-
अस्मिंस्तु पुरुषव्याघ्र काले दुःखसमन्वितः।
तपश्चरति धर्मात्मा त्वद्भक्त्या भरतः पुरे।। -वा० रा०, अरण्य० १६/२७
अर्थात् पुरुषसिंह श्रीराम! यस समय धर्मात्मा भरत तपाईका लागि धेरै दुःखी छन् र तपाईमा भक्ति राख्दै नगरमा तपस्या गरिरहेका छन्।
भरतको पितृ-भक्ति-
विवाह पश्चात् दशरथजीको आज्ञा पाएर जब भरत शत्रुघ्नसहित आफ्ना मामा कैकेयनरेश युधाजित्का साथ ननिहाल गइसकेका थिए तब एक दिन यिनलाई एक अप्रिय सपना आउँछ, जसकारण यी मनमनै धेरै संतप्त भए। मित्रहरूको गोष्ठीमा हास्यविनोद गर्दा पनि प्रसन्न भएनन्। हृदयमा स्वप्नको भय नहटेका कारण यिनले पिताजीसँग जाने निश्चय गर्छन तथा बाटोमा सात रात व्यतीत गरेर आठौँ दिन अयोध्यापुरी पुगे। माता कैकेयीसँग पिताश्री दशरथको स्वर्गवासको समाचार पाउँदा शोकका कारण भरतजीको जो दशा भयो तथा पिताका लागि जसप्रकारले यिनले विलाप गरे, त्यसबाट नै उनको श्रद्धा-समन्वित सत्य पितृप्रेमको पत्तो लाग्छ। जब माताले धैर्य धारण गर्नका लागि भने, तब उत्तरमा भन्छन्-
अभिषेक्ष्यति रामं तु राजा यज्ञं नु यक्ष्यते।
इत्यहं कृतसंकल्पो हृष्टो यात्रामयासिषम्।।२७।।
तदिदं ह्यन्यथाभूतं व्यवदीर्ण मनो मम।
पितरं यो न पश्यामि नित्यं प्रियहिते रतम्।।२८।।
क स पाणिः सुखस्पर्शस्तातस्याक्लिष्टकर्मणः।
यो हि मां रजसा ध्वस्तमभीक्ष्णं परिमार्जति।।३१।। -अयोध्या०, सर्ग ७२
अर्थात् मैले त यो सोचेको थिए कि महाराज श्रीरामको राज्याभिषेक गर्नेछौँ र स्वयं यज्ञको अनुष्ठान गर्नेछौँ- यही सोँचेर मैले धेरै हर्षका साथ त्यहाँबाट यात्रा गरेको थिए।।२७।। तर यहाँ आउँदा सबै कुरा मेरो आशाको विपरीत पो पाए। मेरो हृदय चिरिएको छ, किनकी सदा आफ्नो प्रिय र हितमा लागिरहने पिताजीलाई म देखिरहेको छैन।।२८।। हाय! अनायास नै महान् कर्म गर्नेवाला मेरा पिताको त्यो कोमल हात कहाँ छ, जसको स्पर्श मेरो लागि धेरै नै सुखदायक थियो? उहाँ त्यही हातले मेरो धूलोसमान शरीर बारम्बार पुछ्नुहन्थ्यो।।३१।।
भरतको मातृ-भक्ति-
दशरथ-पुत्रहरूमा आफ्ना माताहरूप्रति अनुरक्ति र ममत्वको भाव विद्यामान थियो। ननिहालमा त्यस दुःस्वप्तका कारण भरत मानसिक अशान्ति र अस्थिरताले यति व्याकुल भइसकेका थिए कि ती वसिष्टद्वारा उनीहरूलाई अयोध्या लैजानेवाला दूतहरू (सिद्धार्थ, विजय, जयन्त, अशोक र नन्दन -अयोध्या० ६८/५) सँग सोध्छन्-
आर्या च धर्मनिरता धर्मज्ञा धर्मवादिनी।
अरोगा चापि कौसल्या माता रामस्य धीमतः।।८।।
कञ्चित् सुमित्रा धर्मज्ञा जननी लक्ष्मणस्य या।
शत्रुघ्नस्य च वीरस्य अरोगा चापि मध्यमा।।९।।
आत्मकामा सदा चण्डी क्रोधना प्राज्ञमानिनी।
अरोगा चापि मे माता कैकेयी किमुवाच ह।।१०।। -अयोध्या, सर्ग ७०
अर्थात् धर्मलाई जान्नेवाला र धर्मको चर्चा गर्नेवाली बुद्धिमान् श्रीरामकी माता धर्म परायणा आर्या कौसल्यालाई त कुनै रोग या कष्ट त छैन?।।८।। के वीर लक्ष्मण र शत्रुघ्नकी जननी मेरी माहिली आमा धर्मज्ञा सुमित्रा स्वस्थ र सुखी छिन्?।।९।। जो सदा आफ्नो नै स्वार्थ सिद्ध गर्न चाहन्छ र आफूलाई मात्र बुद्धिमति सम्झन्छिन्, ती उग्र स्वभावशाली कोपशीला मेरी माता कैकेयीलाई त कुनै कष्ट छैन?।।१०।।
कैकेयीको इच्छानुसार राजा दशरथाद्वारा श्रीरामलाई वनवास पठाउँदा माता कौसल्याको दुःखको अनुभूति भरत राम्ररी गर्न सक्थे। ती माता कैकेयीसँग भन्थे-
तथा ज्येष्ठा हि मे माता कौसल्या दीर्घदर्शिनी।
त्वयि धर्मे समास्थाय भगिन्यामिववर्तते।। -अयोध्या०, ७३/१०
अर्थात् मेरी ठुली आमा कौसल्या पनि धेरै दुरदर्शिनी हुनुहुन्छ। उहाँ धर्मको आश्रय लिएर तिमीसँग पनि बहिनीझैँ व्यवहार गर्छिन्।
भरतको भ्रातृ-स्नेह-
वेदहरूको उद्घोष 'मा भ्राता भ्रातरं द्विक्षन्' (अथर्व० ३/३०/३) को सार्थकता अयोध्या राजकुमारहरूको जीवनचरित्रमा दृष्टिगोचर हुन्छ। रामायणमा यिनको भ्रातृ-प्रेमको धेरै वर्णन छ, जो हृदयलाई आह्लादित गर्नुका साथसाथै व्यावहारिक शिक्षालाई पनि प्रकाशित गरिदिन्छ-
पिता ही भवति ज्येष्ठो धर्ममार्यस्य जानतः। -अयोध्या० ७२/३३
अर्थात् धर्मका ज्ञाता श्रेष्ठ पुरुषका लागि ठुला दाइ पिताका समान हुन्छन्।
राघवः स हि मे भ्राता ज्येष्ठः पितृसमो मतः।। -अयोध्या० ८५/९
अर्थात् श्रीरघुनाथजी मेरा ठुला दाइ हुनुहुन्छ। म उहाँलाई पिताका समान मान्छु।
भरत आफ्ना सबै भाइहरूसँग धेरै प्रेम गर्थे, तर श्रीरामसँग उनको विशेष लगाव थियो। भ्राता श्रीरामको वनवासको समाचार सुनेर भरतको मुखबाट जो गदगद वाणी निस्कन्छ, त्यो रामायणकालीन संस्कृतिको प्रेरणाप्रद श्रेष्ठता प्रकट गर्दछ-
निवर्तयित्वा रामं च तस्याहं दीप्ततेजसः।
दासभूतो भविष्यामि सुस्थितेनान्तरात्मना।। -अयोध्या० ७३/२७
अर्थात् श्रीरामलाई फर्काएर उद्दीप्त तेजवाला तिनै महापुरुषलाई नोकर बनाएर स्व्स्थचित्तले जीवन व्यतीत गर्नेछु।
रामः पूर्वो हि नो भ्राता भविष्यति महीपतिः।
अहं त्वरण्ये वत्स्यामि वर्षाणि नव पञ्च च।। -अयोध्या० ७९/८
अर्थात् श्रीरामचन्द्रजी हामीहरूका ठुला दाइ हुनुहुन्छ, अतः उहाँ नै राजा हुनुहुन्छ। उहँको साटो म नै १४ वर्ष वनवास गर्नेछु।
यदि त्वार्ये न शक्ष्यामि विनिवर्तयितुं वनात्।
वने तत्रैव वत्स्यामि यथार्यो लक्ष्मणस्तथा।। -अयोध्या० ८२/१८
अर्थात् यदि म आर्य श्रीरामलाई वनबाट नफर्काउँन सकेन भने स्व्यं पनि नरश्रेष्ठ लक्ष्मणजस्तै निवास गर्नेछु।
हेर्नुस्, कति उच्च भावना र भक्ति छ! कति पवित्र भाव छ! कति निरभिमानता र कति त्याग छ!
मुनिश्रेष्ठ भरद्वाजको दर्शन र आक्षेपको उत्तर
वाल्मीकिजीले एकतर्फ जहाँ अयोध्या राजकुमारहरूको जीवन-वृत्तान्तलाई प्रकट गरेका छन्, त्यही आफ्ना समकालीन अनेक महान् तपस्वीहरूको उल्लेख पनि गर्नुभएको छ। उहाँले प्रतिपादित गरिदिनुभएको छ कि काव्य तब मात्र विश्व-विश्रुतिका कारण बनेर कुसुमित हुन्छ, जब त्यसमा वर्णित पात्रहरूका साथसाथ तिनका मार्गदर्शकको पनि उल्लेख हुन्छ। रामायणमा मुनि भरद्वाज वाल्मीकिजीका शिष्यका रूपमा वर्णित छन् (बाल० २/४,५)। भरद्वाजको आश्रम प्रयागमा स्थित छ। त्यो नाना प्रकारको वृक्षहरू र फूलहरूबाट सुशोभित थियो (अयोध्या० ५४/४,५)। यिनैको परामर्शमा श्रीरामजीले चित्रकूटमा आफ्नो आश्रम बनाएका थिए (बाल० १/३१, अयोध्या० ५४/२८)। मुनि भरद्वाज यिनको सत्कार नाना प्रकारका अन्न, रस र फल-मूल दिएर गर्छन् (अयोध्या० ५४/१८)। अग्निपुराणको यो श्लोकले यही कुरा सिद्ध गर्दछ-
शृंगवेरं प्रयागं च भरद्वाजेन भोजितः।। -अध्याय ६, श्लोक ४६
अर्थ- शृंगवेरपुरपछि प्रयागमा भरद्वाज महर्षिले उनीहरूलाई भोजन गराए।
निर्दोष जीवहरूको मासुका भोका अधर्मी मान्छेहरू आफ्नो घाँटीमा हड्डी अट्काएर यो चित्कार लगाउँछन् कि मुनि भारद्वाजले भरत र उनका सेनाको आतिथ्य-सत्कारमा जो भोजन दिएका थियो त्यसमा मासु विद्यमान थियो। यसबाट उनीहरू यो सिद्ध गर्न चाहन्छन् कि हिन्दुहरूका पूर्वज आर्य मासुको सेवन गर्थे। आफ्ना सन्देष्टाहरूका पक्षधर्ताहरूले यो आक्षेप आंखामा बालुवा भरेर गरेका छन्। जब हामी यी मतावलम्बीहरूका ग्रन्थहरूबाट मांस भक्षणको प्रमाण दिएर प्रश्न गर्छौं तब यिनीहरू सभामा मृत्युकालको विलापझै भिख मांग्छन् किनकी यिनका ग्रन्थहरूका अनुसार मांसाहारको सम्मतिले न केवल यिनका राक्षस कोटिका पूर्वज बरु स्वयं यिनका ईश्वरले नै दिन्छन्। यिनैको पक्ष लिएर यी मतवादी हाम्रा ग्रन्थहरूमा मिथ्या दोषारोपण गरी आफ्नो मतको वकालत गर्छन्।
भरतले माँसु खाएको कुरा सम्पूर्ण वाल्मीकि-रामायणमा कतै लेखिएको छैन तथा भरद्वाजद्वारा सत्कारमा माँसु दिनेवाला प्रकरण पनि मुनि भरद्वाजको आचरण र सिद्धान्तहरूको विपरीत हो। जस्तै-
(१) जब मृत क्रौञ्च चराहरूको जोडालाई देखेर वाल्मीकिको मुखबाट करुण वाणी काव्य (श्लोक) को रुपमा प्रस्फुटित भयो, तब मुनि भरद्वाज त्यहाँ उपस्थित थिए (बाल० २/७-२१)। त्यहाँ मरेका चराहरूको माँसु खाएको कुनै उल्लेख छैन।
(२) हामी यो सिद्ध गरिसकेका छौँ कि जब राम, सीता र लक्ष्मणसहित भरद्वाजको आश्रम पुगे तब मुनि उनको सत्कार अन्न र फल-मूल दिएर गर्छन्। यो पनि ज्ञातव्य छ कि मुनिराजका चारैतर्फ मृग, चरा र मुनिजन निवास गर्थे र श्रीरामको स्वागतपूर्वक सत्कार गरेपछि भरद्वाजजी धर्मयुक्त वचन रामचन्द्रसँग बोल्छन् (अयोध्या० ५४/१९-२०)। अर्थात् भरद्वाजको आश्रमसमीप मुनि-मण्डली पनि थियो। अब बताउँनुहोस्, जसको गणना मुनिहरूको कोटीमा भइरहेको छ र जसलाई मुनि-मण्डलीमा उच्च स्थान प्राप्त छ, त्यस्तो व्यक्तिले धर्मात्मा या उसको सेनाको आतिथ्य-सत्कारमा माँसु कसरी दिन सक्छ होला?
(३) अयोध्या० ९१/३२ का अनुसार भरद्वाज मुनि भरत र उनका सेनाहरूका लागि पशुहरूको लागि शालाहरू निर्माण गर्छन्। यो उदाहरण भरद्वाजको महानतालाई प्रकट गर्दछ।
(४) धर्मज्ञ मुनिले क्रमशः वसिष्ठ र भरतलाई अर्घ्य, पाद्य र फलादि निवेदन गरेर ती दुवैका कुलको कुशल समाचार सोधे। वसिष्ठ र भरतले पनि मुनिको शरीर, अग्नि, शिष्यवर्ग, वृक्ष तथा मृग-पक्षी आदिको कुशल समाचार सोधे (अयोध्या० ९०/६,८)। यहाँ मुनिका शिष्यवर्ग (शिष्येषु) को उल्लेख प्राप्त हुन्छ। यस्तो प्रतीत हुन्छ कि त्यहाँ कुनै गुरुकुल थियो र भरद्वाजसँग विद्यार्थी शिक्षा ग्रहण गर्थे। यसबाट यो पनि पत्ता लाग्छ कि मुनि भरद्वाजको जीवहरूप्रति अत्यन्त दयापूर्ण दृष्टि थियो, अन्यथा भरत र वसिष्ठ जीवहरूको कुशल समाचार सोध्दैनथे होलान्।
भरतलाई मांसाहार भोजन कत्ति पनि अभीष्ट थिएन, अन्यथा उनी त्यही समय भरद्वाजसँग माँसुले युक्त भोजन निवेदन गर्न सक्थे। भरतको संकल्प हेर्नुहोस्-
वीर रघुनन्दन! म पनि चौध वर्षसम्म जटा र जीर धारण गरेर फल-मूलको भोजन गर्दै तपाईको आगमनको प्रतीक्षामा नगरबाट बाहिर नै रहनेछु। -अयोध्या० ११२/२३,२४
यी उदाहरणबाट सिद्ध हुन्छ कि भरद्वाज मुनिको मनको संसारमा जीवहरूप्रति करुणा तथा स्नेहयुक्त भाव भरिएको थियो। उपर्युक्त तथ्यहरूको आलोकमा हाम्रा पूर्वजहरू, आर्य भरत र मुनि भरद्वाज आदि वैदिक पथानुगामीहरूमािथ मांसाहारको दोषारोपण गर्नु अज्ञानता र अनर्गल प्रलाप नै हो।
[स्रोत- शान्तिधर्मी मासिक पत्रिकाको मे २०१९ को अंक]
No comments:
Post a Comment