Saturday, August 15, 2020

मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र



मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र

वैदिक संस्कृति राष्ट्र रक्षालाई मनुष्य जातिको अस्तित्वको आधार घोषित गर्दछ। हाम्रा पवित्र ग्रन्थ वेदमा राष्ट्र रक्षाका प्रति आदर्श कर्तव्यहरूको उद्घोषणा यस प्रकारले गरिएको छ-

• मा व स्तेनऽईशत। -यजु० १/१
भ्रष्ट तथा चोर हामीमाथि शासन नगरून्।

• वयं तुभ्यं बलिहृतः स्याम। -अथर्व० १२/१/६२
हामी सबै मातृभूमिका लागि बलिदान दिनेवाला होवौँ।

• यतेमहि स्वराज्ये। -ऋ० ५/६६/६
हामी स्वराज्यका लागि सदा यत्न गरौँ।

• धन्वना सर्वाः प्रदिशो जयेम। - यजु० २९/३९
हामी धनुष अर्थात् युद्धसामग्रीद्वारा सबै दिशामा विजय प्राप्त गरौँ।

• सासह्याम पृतन्यतः। - ऋ० १/८/४
आक्रमण गर्नेवाला शत्रुलाई हामी पछि पारौँ।

• माता भूमिः पुत्रो अहं पृथिव्याः। -अथर्व० १२/१/१२
भ्रूमि मेरी माता हुन् र म त्यस मातृभूमिको पुत्र हुँ।

• उप सर्प मातरं भूमिमेताम्। -ऋ० १०/१८/१०
हे मनुष्य! तिमी यस मातृभूमिको सेवा गर।

• नमो मात्रे पृथिव्यै नमो मात्रे पृथिव्या। -यजुर्वेद ९/२२
मातृृभूमिलाई हाम्रो नमस्कार छ। हाम्रो बारम्बारको नमस्कार छ।

अथर्ववेदको १२ औँ काण्डको पहिलो सूक्तमा मनुष्य समाजलाई राष्ट्रका प्रति समर्पित हुनका लागि प्रेरणा दिइएको छ जो मनुष्यका राष्ट्रिय कर्तव्यहरूको सूचक हो। हेर्नुृहोस्-

• ये ग्रामा यदरण्यं या: सभा अधि भूम्याम्।
ये संग्रामा: समितयस्तेषु चारु वदेम ते।। -अथर्व० १२/१/५६
अर्थात् हे मातृभूमि! जो तिम्रा गाउँहरू छन्, जो जंगल छन्, जो सभा समिति (काउन्सिल) अथवा संग्राम स्थल छन् हामी तिनीमध्ये कुनै पनि स्थानमा किन नहोऔँ तिम्रो विषयमा उत्तम विचार तथा भाषण आदि गरौँ। तिम्रो हितको विचार हाम्रो मनमा बनिरहोस्।

• उपस्थास्ते अनमीवा अयक्ष्मा अस्मभ्यं सन्तु पृथिवि प्रसूता:।
दीर्घं न आयु: प्रतिबुध्यमाना वयं तुभ्यं बलिहृत: स्याम।। -अथर्व० १२/१/६२
अर्थात् हे मातृभूमि! हामी सबै रोगरहित र स्वस्थ भएर तिम्रो सेवामा उपस्थित हुन सकौँ। तिमीमा उत्पन्न र तैयार गरिएका स्वदेशी पदार्थ नै हाम्रो उपयोगमा सदा आउँछन्। हाम्रो आयु दीर्घ होओस्। हामी ज्ञानसम्पन्न भएर आवश्यकता पर्दा तिम्रा लागि प्राण सम्म बलि दिन सक्ने होऔँ।

कति मार्मिक उपदेश छ। यसभन्दा उत्तम राष्ट्रि धर्मको उपदेश अरु के हुन सक्ला! राष्ट्रको ऐश्वर्यलाई खुब बढाउँने यत्न गर्नुपर्छ, यस कुराको उपदेश वेदहरूमा पाइन्छ।
वेदहरूमा जहाँ ईश्वरसँग वैयक्तिक, पारिवारिक र सामाजिक कल्याणका लागि प्रार्थना गरिन्छ त्यहाँ प्रत्येक देशभक्तले यो पनि प्रार्थना नित्य गर्नुपर्छ र यसका लागि नित्य प्रयत्न पनि गर्नुपर्छ-
 
• स नो रास्व राष्ट्रमिन्द्रजूतं तस्य ते रातौ यशस: स्याम। -अथर्व० ६/३९/२
हे ईश्वर! तपाई हामीलाई परम ऐश्वर्य सम्पन्न राष्ट्र प्रदान गर्नुहोस्। हामी तपाईका शुभ दानमा सदा यशस्वी भएर बस्न सकौँ। 
राष्ट्रोन्नति कस्ता गुणहरूको धारण गरेर हुन्छ, यस कुरालाई वेदमा निम्न शब्दले स्पष्ट गरिएको छ-

• सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञ: पृथिवीं धारयन्ति। -अथर्व० १२/१/१
अर्थात् सत्य, विस्तृत अथवा विशाल ज्ञान, क्षात्र बल, ब्रह्मचर्य आदि व्रत, सुख-दुःख, शीत ताप, मान-अपमान आदि द्वन्द्वहरूको सहन, धर्न र अन्न, स्वार्थ त्याग, सेवा र परोपकारका भावना यी गुणहरू हुन् जो पृथ्वी धारण गर्नेवाला हुन्। यी सबै भावनाहरूलाई एक शब्दमा धर्मद्वारा धारण गर्न सकिन्छ।

आउँनुहोस्, वेदमा निर्दिष्ट राष्ट्रहित आज्ञाहरूको पालन गरेर राष्ट्र सेवा रुपी यज्ञमा आहुति देऔँ र यस देशलाई स्वर्गतुल्य बनाऔँ।

No comments:

Post a Comment