निराकार ब्रह्मको उपासना कसरी गर्ने
लेखक- स्वामी वेदानन्द सरस्वती
यस शंकाको समाधान हामीलाई वेदहरुमा नै प्राप्त हुन्छ। यसलाई पढौँ र मनन गरौँ।
ओ३म् तं यज्ञं बर्हिषि प्रौक्षन् पुरुषं जातमग्रतः।
तेन देवा अजयन्त साध्या ऋषयश्च ये। -यजुर्वेद ३१/९
अर्थात्- (तम्) ती (यज्ञम्) पूजनीय (पुरुषम्) परमेश्वरलाई जो (अग्रतः जातम्) सृष्टिको पूर्वदेखि नै विद्यमान छन् तथा (ये) जो (देवाः) ज्ञानी (साध्याः) साधक (च) र (ऋषयः) ऋषिजन थिए (तेन) उनीहरुले (बर्हिर्षि) मानव ज्ञानयज्ञमा (प्रौक्षन्) धारण गरेर (अजयन्त) उसको उपासना गर।
भावार्थ- ज्ञानी, साधक र ऋषिगण सबै ती परमात्मालाई आफ्नो अन्तर् हृदयमा ध्यान गर्दछन्। ज्ञान स्वरुप ती परमात्माको आज्ञानुसार आफ्नो आचरणलाई पवित्र बनाउँछन्। ती परमात्माको आज्ञा पालन नै तिनको पूजा हो।
ती परमात्मा ज्ञान स्वरुप छन्। मानव मात्रको कल्याणको लागि उहाँ ज्ञानलाई वेदहरुको स्वरुपमा श्रद्धालु भक्तहरुको हृदयमा प्रकाश गर्नुहुन्छ।
तस्मात् यज्ञात्सर्वहुतः ऋचः सामानि जज्ञिरे।
छन्दांसि जज्ञिरे तस्मात् यजुस्तस्मादजायत। -यजुर्वेद ३१/७
अर्थात्- ती (सर्वहुतः यज्ञात्) सबैको कल्याण गर्नेवाला पूजनीय परमेश्वरबाट नै ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेदको उत्पत्ति हुन्छ। उहाँ नै ज्ञान, विज्ञान, कर्म र उपासनाको प्रकाशक हुनुहुन्छ। ज्ञानहीन, अज्ञानी व्यक्ति न त सत्कर्म नै गर्न सक्छ न त उपासना नै गर्न सक्छ। कर्म र उपासनापूर्व ज्ञानको उपलब्धि अनिवार्य छ। ज्ञानको उपलब्धि ध्यानबाट तथा वेदहरुबाट नै सम्भव छ।
देश-देशान्तरहरुमा मान्छेहरु गंगा, यमुना, गोदावरी आदि नदीहरुको उद्गमस्थलको खोजीमा निस्कन्छन्। उनीहरु ती जलस्रोतहरु देखेर खुसी हुन्छन्। किन्तु ज्ञान गंगाको उद्गम कहाँ हो? यो जिज्ञासा भने विरलैलाई मात्र हुनेगर्छ। जब यस विषयमा विचार गरिन्छ तब पत्तो लाग्छ कि ज्ञान गंगाको उद्गम मनुष्यको मस्तिष्क नै हो। संसारका ज्ञानी हुन् या अज्ञानी, सबै मान्छेहरु सोच्ने र विचार्ने काम मस्तिष्कबाट नै लिने गर्छन्। किन्तु मस्तिष्क त शरीरको एक मासुको पिण्ड न हो। त्यसमा ज्ञान कहाँबाट आउँछ? ज्ञान त चेतनको गुण-धर्म हो।
यस शंकाको समाधान पनि वेदहरुमा नै छ-
तस्मिन् हिरण्यमये कोषे त्र्यरे त्रिप्रतिष्ठिते।
तस्मिन् यद् यक्षमात्मन्वत् तद्वै ब्रह्मविदो विदुः।। -अथर्ववेद १०/२/३१
अर्थात्- त्यस हिरण्यमय कोषमा जो तीर अरहरु माथि उपस्थित छन् त्यसमा नै पूजनीय जीवात्माको वास छ। उसको अस्तित्वको ज्ञान ब्रह्मविद् व्यक्तिलाई हुन्छ। सामान्यजन आफ्नो आत्मविस्मृतिमा नै जीवनयापन गर्दछन्। यो अज्ञानता नै जीवात्मालाई जन्ममरणको चक्रमा हाल्दछ। योगाभ्यासद्वराा जब जीवात्मा आफ्नो स्वरुपलाई जान्दछ, तब मात्र ऊ जन्ममरणको चक्रबाट निस्कन्छ।
ज्ञान चेतनको नै गुण हो। जड पदार्थहरुमा ज्ञान हुँदैन। आत्मा र परमात्मा दुवै चेतन हुन्। दुबै नै यो ज्ञानतत्व नै गुण हो। उनीहरुमा केवल यो भेद छ कि जीवात्मा एकदेशी छ भने परमात्मा सर्वव्यापी छ। जीवात्मा व्याप्य छ भने परमात्मा सर्वव्यापक छ। मस्तिष्कको हृदयगुफामा जो जीवात्मा विराजमान छ त्यसमा सर्वज्ञ, सर्वव्यापक परमात्माको पनि आवास छ। त्यहीबाट नै यो ज्ञानको गंगा निःसृत हुन्छ। जो व्यक्ति जति एकाग्रचित्त भएर त्यस परमात्माको भक्तिमा निमग्न हुन्छ, त्यति नै ऊ अधिकाधिक ज्ञान ज्योतिबाट प्रकाशित हुन जान्छ। परमात्मा आफ्नो ज्ञानलाई पहाडका पत्थरहरुमा फ्याक्नुहुन्न। उहाँ त्यस ज्ञानरुपी अनमोल धन सत्पात्रहरुलाई मात्र प्रदान गर्नुहुन्छ। योगनिष्ठ तपस्वी आत्मा नै त्यस ज्ञानलाई प्राप्त गर्दछ। ज्ञान सम्पन्न भएर जीवात्मा आफ्नो मन, बुद्धि, शरीर, इन्द्रियहरुद्वारा ज्ञानलाई कर्मरुपमा अवतरित गर्दछ। उत्तम ज्ञानबाट नै उत्तम कर्म निष्पन्न हुन्छ। जब ज्ञान र कर्म यी दुवै नै व्यक्तिका पवित्रतम हुन्छन्, तब व्यक्तिको सम्पूर्ण जीवन नै यज्ञमय हुन जान्छ। ज्ञानज्योतिको प्रकाशमा जीवात्मा आफ्नो स्वरुपलाई प्रत्यक्ष गर्दछ तथा शरीर, मन, बुद्धिबाट जो कर्म गर्दछ ती सबै निष्काम भावले नै पुरा गर्दछ। निष्काम कर्म बन्धनको कारण हुँदैन। याज्ञिक भावनाले गरिएका निष्काम कर्म ईश्वरको पूजामा समर्पित गरिन्छन् तथा तिनै ईश्वर उपासनाका सर्वोत्तम रुप हुन्।
यजुर्वेदको मन्त्र यसै उपासनामा प्रकाश पार्दछ-
यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन्।
ते ह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः।। -यजुर्वेद ३१/१६
अर्थात्- (देवाः) ज्ञानी विद्वान् व्यक्तिहरु (यज्ञेन) आफ्नो जीवनयज्ञद्वारा (यज्ञम् ) त्यस पूजनीय यज्ञस्वरुप परमात्माको (अजयन्त) पूजा गर्दछ। उसका पूजाका (तानि धर्माणि) ती धर्मकृत्य नै (प्रथमानि) प्रधान साधन (आसन्) हुन्। त्यसै पूजामा (पूर्वे) पूर्वकालका (साध्याः) साधकहरु र (देवाः) ज्ञानी विद्वान् (यत्र) जहाँ अमृत सुख भोग्दै (सन्ति) विराजमान छन्, त्यही आफ्नो जीवनलाई यज्ञमय बनाउनेवाला धीर पुरुष पनि (महिमानः) महानतालाई प्राप्त गर्दै (ते) तिनीहरु पनि (ह) निश्चय नै (नाकम्) मोक्षको आनन्दलाई (सचन्त) प्राप्त गर्दछन्। यज्ञ नै ईश्वरपूजाको श्रेष्ठतम उपाय हो। यो यज्ञ के हो? यसबारे वेदबाट नै जानौँ-
व्रतेन दीक्षामाप्नोति दीक्षयाप्नोति दक्षिणाम्।
दक्षिणया श्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते।।
एतावद्रूपं यज्ञस्य यद्देवैब्र्रह्मणा कृतम्।
तदेतत्सर्वमाप्नोति यज्ञे सौत्रामण सुते।। -यजुर्वेद १९/३१
परमात्मा सत्य स्वरुप हुनुहुन्छ। ती सत्य स्वरुप परमात्माको साक्षात्कार गर्नु नै साधक व्यक्तिको जीवन लक्ष्य हो। यस जीवन लक्ष्यलाई प्राप्त गर्न साधक व्यक्तिले सिढी पार गर्नु पर्छ। तिनमा प्रथम सोपान हो, सत्यको प्राप्ति र अमृतको त्यागको व्रत लिनु। यस्तो प्रतिज्ञा लिनु पर्छ कि चाहे बाँचू या मरूँ तर सत्यको प्राप्ति जसरी भए नि गरूँ। यो प्रतिज्ञा नै अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधानको पूर्णरूपले पालन गर्दै, माता-पिता, गुरु, अतिथि, विद्वत्जनहरुको सेवा-शुश्रुषा यो सबै दीक्षारुप नै छ। यिनको पालन गर्नेवाला व्यक्तिको शारीरिक, मानसिक, आत्मिक उन्नति हुन्छ। जनसमाजको सेवाको पनि ऊ पात्र हुन्छ। यही उसको दक्षिण हो। यस दक्षिणालाई पाएर नै सत्य धर्म प्रति उसको आस्था बढेर जान्छ। अन्ततः उक्त श्रद्धा सत्य स्वरुप परमात्मा प्राप्तिको साधन बन्छ। जुन जीवनमा व्रत, दीक्षा, दक्षिणा, श्रद्धा र सत्य अवतरित हुन्छ त्यो जीवन यज्ञमय हुनजान्छ। यही जीवनको वास्तविक स्वरुप हो। यसैमा जीवनको सार्थकता छ। यही ईश्वर पूजाको सर्वोत्तम उपाय हो। अरु उपाय व्यक्तिलाई भटकाउने मार्ग मात्र हुन्। उत्तम ज्ञान र उत्तम कर्म नै सबै प्रभु चरणमा अर्पित गर्नु पर्छ। यही सेवा हो। यिनै यज्ञरुप प्रभुको जीवनयज्ञद्वारा पूजाको सर्वोत्तम उपाय हो। यही ती निराकार ईश्वरोपासनाको वैदिक उपाय हो।
No comments:
Post a Comment