Friday, July 26, 2019

के स्त्रीहरुलाई गायत्री जपको अधिकार छ?



के स्त्रीहरुलाई गायत्री जपको अधिकार छ?

प्रियांशु सेठ

आजको युगमा हिन्दु समाजमा एक भ्रान्ति फैलिएको छ कि गायत्री मन्त्रको जपको अधिकार स्त्रीहरुलाई छैन। यो हाम्रो शास्त्र विरुद्ध छ। प्राचीन कालमा सबै स्त्रीहरु तथा पुरुषहरु नित्य गायत्रीको उपासना गर्दथे किन्तु आज यो हुँदैन। आजभोलि पौराणिक गुरु आफ्ना चेला तथा चेलीहरुलाई नयाँ नयाँ मन्त्रहरु दिन्छन् जस्तै “रां रामाय नमः” या “नमो नारायणाय” अथवा “सो अहं” आदि मन्त्रहरु। यी मन्त्रहरुमा द्वादशाक्षरी मन्त्र अत्यन्त प्रसिद्ध छ। उक्त तथा कथित मन्त्र यस प्रकारको छ- “ओं नमो भगवते वासुदेवाय”।

यस मन्त्रको सम्बन्धमा पहिलो कुरा त यो हो कि यो कुनै मन्त्र नै होइन। कुनै पनि वेदमा यसको उल्लेख छैन। अर्को कुरा यो द्विजहरुको लागि होइन।

द्वादशाक्षरकं मन्त्रं स्त्रीशूद्रेषु विधीयते। -विष्णुधर्मो० प्रथम खण्ड १५५/२८
अर्थात् द्वादशाक्षरको मन्त्र स्त्री र शूद्रहरुको लागि हो।

जब स्त्रीहरुलाई वेदाधिकारबाट वञ्चित गरियो तथा यस किसिमका मन्त्रहरुको निर्माण गरिएको थियो। कुनै पनि पौराणिक आफ्ना शिष्यलाई गायत्री मन्त्रको जापको विधान भन्दैन। केही पौराणिकहरुको त यहाँ सम्मको कथन छ कि स्त्रीहरुलाई गायत्री जापको अधिकार नै छैन।

यो अनर्थ हो जसको समाधान अत्यन्त आवश्यक छ। वेद भगवानदेखि पुराणहरु र स्मृतिहरुमा पनि सबैले वेदहरुमा स्त्रीहरुको अधिकार मानेका छन्। जब वेदमन्त्रको द्रष्टा ऋषिकाहरु पनि भए भने यिनको अध्ययनको अधिकारप्रति कसले औला ठड्याउन सक्छ? अनेक ब्रह्मवादिनी देवीहरुको इतिहासको वर्णन पुराणादि शास्त्रहरुमा नै प्राप्त छ।

“महाभारत” को शल्यपर्वमा एक तपस्विनीको इतिहास आएको छ जो वेदाध्ययन गर्नेवाली तथा योग सिद्धिलाई प्राप्त थिइन्। उनको नाम सिद्धा थियो। भरद्वाजकी पुत्री श्रुतावली वेदकी पण्डिता थिइन्। भक्त शाण्डिल्यकी पुत्री “श्रीमती” निरन्तर वेदाध्ययनमा प्रवृत्त रहन्थिन्। “शिवा” नामक ब्राह्मणी वेदहरुमा पारंगत थिइन्। यसै प्रकार भारती, मैत्रेयी, गार्गी, सुलभा, द्रौपदी, वयुना, धारिणी, वेदवती आदि कति नै देवीहरुको वर्णन आउँछ जो वेदको अध्ययनमा प्रवृत्त थिए। वेदवतीलाई त चारै वेद कण्ठस्थ नै थियो। यति मात्र होइन, देवीहरुलाई ब्रह्माको पदवी पनि प्राप्त हुन्थ्यो। जब चारै वेद पढ्ने अधिकार देवीहरुलाई प्राप्त थियो भने गायत्री मन्त्र के वेदहरुबाट बाहिर छ?

पुराणहरुमा पनि स्त्रीहरुलाई वेद मन्त्र ग्रहणको अधिकार दिइएको छ। “भविष्यपुराण” को उत्तरपर्व ४/१३ मा लेखिएको छ-

या स्त्री भत्र्रा वियुक्तापि त्वाचारे संयुता शुभा।
सा च मन्त्रान् प्र गृह्णात् सभर्त्रा स्वनुज्ञया।।

अर्थात्- “उत्तम आचरणवाली विधवा स्त्री वेदमन्त्रहरुको ग्रहण गरून् र सधवा स्त्री आफ्ना पतिको अनुमतिले मन्त्रहरुको ग्रहण गरून्।”

वशिष्ठ स्मृति २१/७ मा लेखिएको छ-

"यदि स्त्रीको मनमा पतिको प्रति दुर्भाव आयो भने त्यस पापको प्रायश्चितका साथ १०८ पल्ट गायत्रीको जाप गरेर पवित्रतालाई प्राप्त गर्नु पर्छ।"

भविष्यपुराणमा भनिएको छ-

वृथा जाप्यमवैदिकम्। -भविष्यपुराण उत्तर० १२२/९
अवैदिक मन्त्रहरुको जप निरर्थक छ।

यस्ता अनेकौँ प्रमाण छन् जसबाट सिद्ध हुन्छ कि नाना मठधारी देवीहरुलाई गायत्रीको जपबाट रोक्दछन् जो वेद, शास्त्त, पुराण, इतिहास आदिबाट कोल्टे फेर्छन्।

यस पवित्र मन्त्रको व्याख्यामा कति ग्रन्थ नै लेखिएका छन् र अझै कति लेखिने हुने परन्तु यसको पूर्ण व्याख्या हुने छैन किनकी यो चार वेदको सार हो। जो साधकले यसको जाप गर्दछन् उनीहरुले ठुला ठुला ग्रन्थहरु अगाडि राख्दैनन् र बिना भावार्थको ज्ञान यसको अधिक लाभ छैन। जप गर्नेवालालाई ज्ञान हुनुपर्छ कि म भगवानको समक्षमा बसेको छु र के गर्दैछु, के माग्दैछु आदि।

म त गायत्री मन्त्रलाई आत्म समर्पणको मन्त्र मान्छु। जस प्रकार एक युवती यो कुरा राम्ररी जान्दछे कि विवाह मण्डपमा पवित्र अग्निको सामुन्ने बसेर पूर्ण निश्चयका साथ आफूलाई पतिदेवको अगाडि समर्पण गर्दै, पतिलाई आफ्नो वर बनाउने भाव जस्तै गायत्री मन्त्रको जापकर्ता आफ्ना प्रियतमसँग भन्छ कि “हे प्रिय, म तिम्रो सुन्दर शुद्ध तेजको ध्यान गर्दछु। तिमी वरणयोग्य छौ। तिमी, जो सम्पूर्ण जगतका उत्पादक हौँ, सबैका प्रकाशक हौ, प्राण प्रिय हौ , हे स्वामिन्, आफ्नो बुद्धि म तिमीमा अर्पण गर्दछु। यसलाई आफूतिर लगाऊ।”


जब एक पल्ट स्त्रीले पतिको वर लिन्छिन् तब उनी सदाको लागि पतिकै हुन्छिन्। गायत्री मन्त्रमा साधक या उपासक पनि भगवानलाई आफ्नो वर वरण गर्दछन् र आफूलाई उहाँ समर्पण गरिदिन्छ। अब उसको हृदयरूपी सिंहासनमा उसका प्रभु बाहेक अरु कसैको आसन रहदैन। यदि प्रभुका अतिरिक्त अरु कोइ आए भने जसरी स्त्रीको पतिव्रत धर्म अपवित्र हुन्छ, त्यस्तै भक्तको भक्ति पनि कलंकित हुन जान्छ।

गायत्री मन्त्रको जप गर्दा गर्दै भक्त बारम्बार ईश्वरसँग याचना गर्दछ कि म तिम्रो भइसके। मेरो बुद्धिको स्वामित्व तिमीसँग छ। हे प्रभो, आफूतर्फ यसलाई सञ्चालन गर। जब यो प्रभुको निम्ति भेँट दिइयो भने यो अरु कहाँ दौडन्छ होला? कबीर भन्छन्-

कबिरा यह मन एक है, चाहे जहाँ लगाय।
भावे प्रभुकी भक्ति कर, भावे विषय कमाय।।

जब गायत्री मन्त्रद्वारा यसलाई इश्वरमा लगाइयो भने, उसैको निम्ति सबै भयो। अनि त उसैको भएर हर समय उसैसँग यो भन्नु पर्छ कि-
नैनोँ की कर कोठरी, पुतली पलँग बिछाय।
पलकोँ की चिक डालकर, पिय को लेउँ रिझाय।।

जब एक पल्ट आफ्नो बुद्धि तथा मन ईश्वरलाई अर्पण गरिन्छ तब फेरि प्रभुको आज्ञाको बिना ऊ कुनै अरु विचार आफू भित्र ल्याउनै सक्दैन। जब गायत्रीको पाठ गर्दै भगवानलाई 'भूः'- प्राण-प्रिय भनियो, अनि त ईश्वरको बिना हाम्रो प्राण कसरी रहला?
जब कसैको प्राणप्रिय हराउँछन्, अनि उसको विरहमा जस्तो अवस्था उसको प्रेमीको हुन्छ, त्यही अवस्था भगवानको भावनाबाट क्षणमात्र टाढा हुने भक्तको हुने गर्छ। विरहको अर्थ हो आफ्ना प्रियतमको प्रेममा मरिमिट्ने तृष्णा।
एक कविको कथन छ-

उर में दाह, प्रवाह दृग, रह-रह निकले आह।
मर मिटने की चाह हो, यही विरह की राह।।

परन्तु गायत्रीको साधना गर्नेवालालाई मर्ने कुनै आवश्यकता नै पर्दैन अपितु उनीहरुमा गायत्रीजपद्वारा तथा तदनुकूल आचरण गर्नाले एक नयाँ जीवनको सञ्चार हुन्छ।


  1. (अब त महर्षि दयानन्दको अपार दयाबाट स्त्रीहरुलाई वेदाधिकार पनि प्राप्त भयो, अतः यिनी अवैदिक तथाकथित मन्त्रहरुलाई तिलाञ्चलि दिनुपर्छ र गायत्रीको नित्य जप गर्नु पर्छ)

No comments:

Post a Comment