ब्राह्मण शब्दलाई लिएर भ्रान्तिहरु एवं तिनको निवारण
डा० विवेक आर्य
ब्राह्मण शब्दलाई लिएर धेरै भ्रान्तिहरु विद्यमान रहेका छन्। यिनीहरुको समाधान गर्न अत्यन्त आवश्यक रहेको छ किनकी हिन्दु समाजको सबैभन्दा ठुलो कमजोरी जातिवाद रहेको छ। ब्राह्मण शब्दको सत्य अर्थलाई जान्न नसकेर नै जातिवादलाई प्रोत्साहन मिलेको छ।
शंका १- ब्राह्मणको परिभाषा के हो?
समाधान- पठन-पाठन गर्नाले, ब्रह्मचर्य, अनुशासन, सत्यभाषण आदि व्रतहरुको पालनले, परोपकार आदि सत्कर्महरु गर्नाले, वेद, विज्ञान आदि पढ्नाले, कर्तव्यको पालन गर्नाले, दान गर्नाले र आदर्शहरु प्रति समर्पित रहनाले मनुष्यको यो शरीर ब्राह्मणको शरीर बन्दछ। -मनुस्मृति २/२८
शंका २- ब्राह्मण जाति हो अथवा वर्ण हो?
समाधान- ब्राह्मण वर्ण हो जाति होइन। वर्णको अर्थ हो चयन गर्नु या छान्नु र सामान्यतः शब्द वरण पनि यही अर्थ राख्दछ। व्यक्ति आफ्नो रुचि, योग्यता, र कर्म अनुसार यसको स्वयं नै वरण गर्दछ। वैदिक वर्ण व्यवस्थामा चार वर्ण रहेका छन्। ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र्र।
ब्राह्मणको कर्म हो विधिवत् पढ्नु र पढाउनु, यज्ञ गर्नु र गराउनु, दान प्राप्त गर्नु र सुपात्रहरुमा दान दिनु।
क्षत्रियको कर्म हो विधिवत् पढ्नु, यज्ञ गर्नु, प्रजाहरुको पालन पोषण र रक्षा गर्नु, सुपात्रहरुमा दान दिनु, धन ऐश्वर्यमा लिप्त नभएर जितेन्द्रिय रहनु।
वैश्यको धर्म हो कि पशुहरुको लालन पोषण, सुपात्राहरुमा दान दिनु, यज्ञ गर्नु, विधिवत् अध्ययन गराउनु, व्यापार गर्नु, धन कमाउनु, खेती गर्नु।
शुद्रको काम हो सबै चार वर्णका व्यक्तिहरुलाई सेवा भावले सहाय पुर्याउनु, श्रम गर्नु आदि।
शुद्र शब्दलाई मनु या वेदले कतै पनि अपमानजनक, तल्लो अथवा निकृष्ट मानेको छैन। मनुका अनुसार चारै वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र आर्य हुन्। -मनुस्मृति १०/४
शंका ३- मनुष्यहरुमा कति जाति छन्?
समाधान- मनुष्यहरुमा केवल एक जाति छ। त्यो हो मनुष्य जाति। अन्य कुनै जाति छैन।
शंका ४- चार वर्णहरुको विभाजनको के आधार रहेको छ?
समाधान- वर्ण विभाजनको मुख्य प्रयोजन कर्मको विभाजन रहेको छ। वर्ण विभाजनको आधार व्यक्तिको योग्यता रहेको छ। आज पनि शिक्षाको उपरान्त व्यक्ति डाक्टर, इन्जिनियर, वकिल आदि बन्दछ। जन्मले कोही पनि डाक्टर, इन्जिनियर या वकिल बन्दैन। यसैलाई नै वर्ण व्यवस्था भनिन्छ।
शंका ५- कोही पनि ब्राह्मण जन्मले हुन्छ या गुण, कर्म र स्वभावले हुन्छ?
समाधान- व्यक्तिको योग्यताको निर्धारण शिक्षाको उपरान्त नै हुने गर्छ। जन्मको आधारमा होइन। कुनै पनि व्यक्तिको गुण, कर्म र स्वभावका आधारमा उसको वर्णको चयन हुन्छ। कोही पनि अज्ञानी व्यक्तिले आफुलाई ब्राह्मण भन्नु अज्ञानता नै हो।
मनुको उपदेश पढ्नुहोस्
जसरी काठले बनेको हात्ती र छालाले बनेको हरिण केवल नामको लागि मात्र हात्ती र हरिण हुन् त्यस्तै नपढेको ब्राह्मण पनि केवल नामको लागि मात्र ब्राह्मण हुन्छ। -मनुस्मृति २/१५७
शंका ६- के ब्राह्मण पिताको सन्तान केवल यसैकारणले ब्राह्मण कहलाइन्छ कि उसका पिता ब्राह्मण हुन्?
समाधान- यो भ्रान्ति हो कि ब्राह्मण पिताको सन्तान केवल यसै कारणले ब्राह्मण कहलिन्छ किनकी उसका पिता ब्राह्मण हुन्। जस्तै एक डाक्टरको सन्तान तब मात्र डाक्टर कहलिन्छ जब उसले MBBS पास गरोस्। जसरी एक इन्जिनियरको सन्तान तब मात्र इन्जिनियर कहलिन्छ जब उसले BTech पास गरोस्। बिना पढेर यो सम्भव छैन। त्यस्तै ब्राह्मण एक आर्जन गरिने एक पुरानो उपाधि हो।
मनुको उपदेश पढ्नुुहोस्
माता पिताका सन्ततिको माताको गर्भबाट भएको जन्म साधारण जन्म हो। वास्तविक जन्म त शिक्षा पूर्ण गरिसकेर मात्र हुन्छ। -मनुस्मृति २/१४७
शंका ७- प्राचीन कालमा ब्राह्मण बन्नको लागि के गर्नु पथ्र्यो?
उत्तर- प्राचीन समयमा ब्राह्मण बन्नको लागि शिक्षित र गुणवान दुवै हुनुपथ्र्यो।
मनुको उपदेश हेरौँ
वेदहरुमा पारंगत आचार्यबाट शिष्यलाई मन्त्र दीक्षा दिएको उपरान्त वास्तविक मनुष्यको जन्म हुन्छ। -मनुस्मृति २/१४८
ब्राह्मण, क्षत्रिय र वैश्य, यी तीन वर्ण विद्याध्ययनबाट दोस्रो जन्म प्राप्त गर्छन्। विद्याध्ययन गर्न नसक्ने शुद्र चौथो वर्ण हो। -मनुस्मृति १०/४
आजभोलि केही व्यक्तिहरु यसकारण आफूलाई ब्राह्मण भनेर अभिमान गर्दछन् किनकी उनीहरुका पूर्वज ब्राह्मण थिए। यो गलत धारणा हो। योग्यता अर्जित गरेबिना कोही ब्राह्मण हुँदैन। हाम्रा प्राचीन ब्राह्मण तपले आफ्नो ज्ञानले आफ्नो विद्याले संसारको मार्गदर्शन गर्दथे। त्यसैले यो आर्यावत्र्त विश्वगुरु थियो।
शंका ८- ब्राह्मणलाई श्रेष्ठ किन मान्ने?
समाधान- ब्राह्मण एक गुणवाचक वर्ण हो। समाजमा सबैभन्दा ज्ञानी, बुद्धिमान्, शिक्षित समाजको मार्गदर्शन गराउनेवाला, त्यागी, तपस्वी व्यक्ति नै ब्राह्मण कहलिने अधिकारी छ। त्यसैले ब्राह्मण वर्ण श्रेष्ठ हो। वैदिक विचारधारामा ब्राह्मणलाई यदि सबैभन्दा अधिक सम्मान दिइएको छ भने ब्राह्मणलाई गल्ती गर्दा सबैभन्दा अधिक दण्ड पनि दिइएको छ।
मनुको उपदेश हेरौँ
यौटै अपराधको लागि शुद्रालाई सबैभन्दा कम दण्ड, वैश्यलाई दुईगुणा, क्षत्रियलाई तीन गुुणा रा ब्राह्मणलाई सोह्र या १२८ गुणा दण्ड दिइनु पर्छ। -मनुस्मृति ८/३३७ एवं ८/३३८
यी श्लोकहरुको आधारमा कोही पनि मनु महाराजलाई पक्षपाती भन्न सक्दैन।
शंका ९- के शुद्र ब्राह्मण र ब्राह्मण शुद्र बन्न सक्छन्?
समाधान- ब्राह्मण, शुद्रादि वर्ण गुण, कर्म र स्वभावको आधारमा विभाजित छन्। त्यसैले यिनमा परिवर्तन सम्भव छ। कोही पनि व्यक्ति जन्मले ब्राह्मण हुँदैन। परन्नु शिक्षा प्राप्तिको पश्चात् नै उसको वर्ण निर्धारण हुन्छ।
मनुको उपदेश हेरौँ
ब्राह्मण शुद्र बन्न सक्छ र शुद्र ब्राह्मण बन्न सक्छ। यसै प्रकारले क्षत्रिय र वैश्य पनि आफ्नो वर्ण बदल्न सक्छन्। -मनुस्मृति १०/६४
शरीर र मनले शुद्ध, पवित्र रहनेवाला, उत्कृष्ट व्यक्तिहरुको सान्निध्यमा रहनेवाला, मधुरभाषी, अहंकार रहित, आफूभन्दा उत्तम वर्णवालाको सेवा गर्नेवाला शुद्र पनि उत्तम ब्राह्मण जन्म र द्विज वर्णलाई प्राप्त गर्दछ। -मनुस्मृति ९/३३५
जो मनुष्य नित्य प्रातः र साँझ ईश्वरको आराधना गर्दैन, उसलाई शुद्र जान्नु पर्छ। -मनुस्मृति २/१०३
जब सम्म व्यक्ति वेदहरुको शिक्षामा दीक्षित हुँदैन ऊ शुद्रको नै समान छ। -मनुस्मृति २/१७२
ब्राह्मण- वर्णस्थ व्यक्ति श्रेष्ठ-अतिश्रेष्ठ व्यक्तिहरुको सँग गर्दै र नीच- नीचतर व्यक्तिहरुको सँग छोडेर अधिक श्रेष्ठ बन्दछ। यसको विपरीत आचरणले ऊ पतित भएर शुद्र बन्दछ। -मनुस्मृति ४/२४५
जो ब्राह्मण, क्षत्रिय या वैश्य वेदहरुको अध्ययनर र पालनलाई छोडेर अन्य विषयहरुमा परिश्रम गर्दछन्, उनीहरु शुद्र बन्दछन्। -मनुस्मृति २/१६८
शंका १०- के आज जो आफूलाई ब्राह्मण भन्दछन्, उनीहरु नै हाम्रा प्राचीन विद्या र ज्ञानको रक्षा गर्ने प्रहरी थिए?
समाधान- आजभोलि जो ब्राह्मण कुलमा जन्मेर प्राचीन कालका ब्राह्मणहरु झैँ वैदिक धर्मको रक्षाको लागि पुरुषार्थ गर्दैछन् भने निश्चय नै उनीहरु ब्राह्मणझैँ सम्मानका पात्र हुन्। तर यदि कोही ब्राह्मण कुलमा जन्मेर ब्राह्मण धर्मको विपरीत कार्य गर्दै छ भने ऊ कुनै पनि तरीकाले ब्राह्मण कहलिन लायक छैन। यौटा उदाहरणको रुपमा, एक व्यक्ति युनिवर्सिटीमा प्रोफेसर छ, शाकाहारी छ, चरित्रवान छ र धर्मको लागि पुरुषार्थ गर्दछ। उसको वर्ण ब्राह्मण कहलिन्छ यदि ऊ शुद्र पिताको नै सन्तान किन नहोस्। यसको विपरीत कुनै व्यक्ति अनपढ छ, मांसाहारी छ, चरित्रहीन छ तथा कुनै पनि तरिकाले समाजको हितको कार्य गर्दैन भने उसको पिता जति नै प्रतिष्ठित ब्राह्मण किन भएपनि ऊ कुनै पनि तरिकाले ब्राह्मण कहलिन लायक छैन। केवल टुप्पी पालेर, जनै लगाएर कोही पनि ब्राह्मण हुँदैन। यी दुवै वैदिक व्रतहरुसँग जोडिएका कर्म अर्थात धर्मको पालन अनिवार्य छ। प्राचीन कालमा धर्मरुपी आचरण एवं पुरुषार्थको कारणले नै ब्राह्मणहरुको मान थियो।
यस लेखका माध्यमबाट मैले ब्राह्मण शब्दलाई लिएर समाजमा व्याप्त भ्रान्तिहरुको निराकरणको प्रयास गरेको छु। ब्राह्मण शब्दको वेदमा धेरै महत्ता रहेको छ। तर यस महत्ताको कारण जन्मना ब्राह्मण होइन कर्मणा ब्राह्मण हुनु नै हो। मध्यकालमा हाम्रो वर्णव्यवस्था जाति व्यवस्थामा परिवर्तित भयो। विडम्बना त यो छ कि यस विकारलाई हामी अझैँ पनि पालन गर्दै छौँ। जातिवादले हिन्दुहरुको एकता समाप्त भयो। भाइ-भाइमा द्वेष बढेर गयो। यसै कारण हामी कमजोर भयौँ र विदेशी विधर्मीहरुको दास भयौँ। हिन्दूहरुको १२०० वर्षको दमनको यदि कुनै कारण छ भने त्यो हो जातिवाद। यही हाम्रो प्रमुख शत्रु हो। आउनुहोस्, यस जातिवाद रुपी शत्रुलाई जरैबाट नष्ट गर्ने संकल्प लिऔँ।

No comments:
Post a Comment