Thursday, July 19, 2018

एघार हजार वर्ष सम्म चलेको रामराज्य



एघार हजार वर्ष सम्म चलेको रामराज्य

आर्यावर्तका यशश्वी महाराज मर्यादा पुरुषोत्तम श्रीरामको रामराज्य यसरि बनेको थियो:

महर्षि बाल्मीकिले रामराज्यको वर्णन निम्नलिखित शब्दमा गरेका छन्:-
न पर्यदेवन् विधवा न च व्यालकृतं भयम् ।
न व्याधिजं भयं वापि रामे राज्यं प्रशासति ।।
निर्दस्युरभवल्लोको नानर्थः कं चिदस्पृशत् ।
न च स्म वृद्धा बालानां प्रेतकार्याणि कुर्वते ।।
सर्वं मुदितमेवासीत्सर्वो धर्मपरोऽभवत् ।
राममेवानुपश्यन्तो नाभ्यहिंसन् परस्परम् ।।
आसन् वर्षसहस्राणि तथा पुत्रसहस्रिणः ।
निरामया विशोकाश्च रामे राज्यं प्रशासति ।।
नित्यपुष्पा नित्यफलास्तरवः स्कन्धविस्तृताः ।
कालवर्षी च पर्जन्यः सुखस्पर्शश्च मारुतः ।।
स्वकर्मसु प्रवर्तन्ते तुष्ठाः स्वैरेव कर्मभिः ।
आसन् प्रजा धर्मपरा रामे शासति नानृताः ।।
सर्वे लक्षणसंपन्नाः सर्वे धर्मपरायणाः ।
दशवर्षसहस्राणि रामो राज्यमकारयत् ।।
- (रामायण: युद्धकाण्ड: १३१/ ८४-९०)

श्रीरामको राज्यमा स्त्रिहरु विधवा हुँदैनथे, सर्पबाट कसैलाई भय थिएन र रोगको आक्रमण पनि हुँदैनथ्यो।
 राम-राज्यमा चोर र डाँकाको नाम सम्म थिएन। अर्काको धन लिने कुरो त के कसैले पर धनलाई छुदैनथ्यो। राम राज्यमा बृद्धले
बालकको मृतक-कर्म गर्दैनथे अर्थात् बाल-मृत्यु हुँदैनथ्यो।
रामराज्यमा सबै वर्णानुसार आ-आफ्ना धर्मकृत्यहरुको अनुष्ठान गर्ने हुनाले प्रसन्न रहन्थे। श्रीराम उदास होलान भन्ने सोंचेर कसैले पनि कसैको ह्रदय दुख्ने व्यवहार गर्दैनथे।
राम-राज्यमा वृक्ष सदा पल्लवित तथा पुष्पित हुन्थे र सदा फलले भरिएका हुन्थे। तिनका हाँगाहरु विस्तृत हुने गर्दथे। यथासमय वृष्टि हुन्थ्यो र सदा सुखस्पृशी वायु चल्ने गर्दथ्यो।
ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रहरु कोहि पनि लोभी थिएनन्। सब आ-आफ्ना कार्यमा सदा सन्तुष्ट रहन्थे। राम-राज्यमा सारा प्रजा धर्मरत थिए र झुट देखि टाढा रहन्थे। सब मानिस शुभ लक्षणले युक्त र धर्म परायण थिए।
यसरि श्रीरामले ११,००० (एघार हजार) वर्ष सम्म पृथ्वीमा शासन गरे।
एघार हजार भनेको सुनेर आश्चर्यमा पर्नु भयो होला ..! कुरो सत्य हो तर जुन अर्थमा तपाइले बुझ्नु भयो, त्यो भने हैन, एघार हजारको अर्थ हो- तीस वर्ष एक महिना र बीस दिन। यसमा प्रश्न आउन सक्छ कि कसरि?
यसरि हुन्छ हेर्नुस्:
मीमांसा दर्शनमा हजारौं वर्ष सम्म यज्ञ गर्ने वर्णन छ। त्यहाँ शंका गरिएको छ कि यतिका वर्षको यज्ञ कसरि हुन सक्छ किनकि मनुष्यको आयु त त्यति हुँदैन ?

त्यहाँ यसरि उत्तर दिइएको छ:
संवत्सरो विचालित्वात्। (मी. द. ६/७/३८)
संवत्सर केवल वर्षको मात्र वाचक हुँदैन, कहीं यो ऋतुको अर्थमा आउँछ र कहीं अन्यार्थ (दिन) मा पनि।
अहानि वाभिसंख्यत्वात्।। (मी. द. ६/७/४०)
दिन वाचक पनि संवत्सर आदि शब्द हुने गर्दछन्।
अतः श्रीरामले लगभग (११,००० दिन) तीस वर्ष सम्म राज्य गरेका थिए।
आउनुहोस्, अब महाराज दशरथको राज्यको अवलोकन गरौँ
महाराज दशरथको राज्यको वर्णन:
(बालकाण्ड: १/६-१८)
तस्मिन् पुरवरे हृष्टा धर्मात्मनो बहुश्रुताः ।
नराः तुष्ठाः धनैः स्वैः स्वैः अलुब्धाः सत्यवादिनः ॥१-६-६॥

न अल्प संनिचयः कश्चिद् आसीत् तस्मिन् पुरोत्तमे ।
कुटुंबी यो हि असिद्धर्थः अगवा अश्व धन धान्यवान् ॥१-६-७॥

कामी वा न कदर्यो वा नृशंसः पुरुषः क्वचित् ।
द्रष्टुम् शक्यम् अयोध्यायाम् न अविद्वान् न च नास्तिकः ॥१-६-८॥

सर्वे नराः च नार्यः च धर्मशीलाः सु संयताः ।
मुदिताः शील वृत्ताभ्याम् महर्षय इव अमलाः ॥१-६-९॥

न अकुण्डली न अमुकुटी न अस्रग्वी न अल्पभोगवान् ।
न अमृष्टो न अलिप्ताङ्गो न असुगन्धः च विद्यते ॥१-६-१०॥
न अमृष्ट भोजी न अदाता न अपि अनङ्दनिष्कधृक् ।
न अहस्ताभरणो वा अपि दृश्यते न अपि अनात्मवान् ॥१-६-११॥

न अनाहित अग्नीः न अयज्वा न क्षुद्रो वा न तस्करः ।
कश्चित् असीत् अयोध्यायाम् न च आवृत्तो न संकरः ॥१-६-१२॥

स्व कर्म निरता नित्यम् ब्राह्मणा विजितेन्द्रियाः ।
दान अध्यन शीलाः च संयताः च प्रतिग्रहे ॥१-६-१३॥

नास्तिको न अनृती वा अपि न कश्चित् अबहुश्रुतः ।
न असूयको न च अशक्तो न अविद्वान् विद्यते क्वचित् ॥१-६-१४॥

न अषडंग वित् न अस्ति न अव्रतो न असहस्रदः ।
न दीनः क्षिप्त चित्तओ वा व्यथितो वा अपि कश्चन ॥१-६-१५॥

कश्चिन् नरो वा नारी वा न अश्रीमान् न अपि अरूपवान् ।
द्रष्टुम् शक्यम् अयोध्यायाम् न अपि राजन्य अभक्तिमान् ॥१-६-१६॥

वर्णेषु अग्र्य चतुर्थेषु देवता अतिथि पूजकाः ।
कृतज्ञाः च वदान्यः च शूरा विक्रम संयुताः ॥१-६-१७॥

दीर्घ आयुषो नराः सर्वे धर्मम् सत्यम् च संश्रिताः ।
सहिताः पुत्र पौत्रैः च नित्यम् स्त्रीभिः पुरोत्तमे ॥१-६-१८॥

उक्त श्रेष्ठ नगरीमा समस्त मनुष्य प्रसन्न, धर्मात्मा, महाविद्वान, आ-आफ्नो धनसम्पत्तिमा सन्तुष्ट, अलोभी र सत्यवक्ता थिए।
त्यहाँ कोहि यस्तो गृहस्थी थिएन, गरीब तथा असन्तुष्ट होस् प्रत्येक संग पर्याप्त धन-सम्पत्ति थियो, कुनै यस्तो गृहस्थी थिएन जसको दैनिक आवश्यकताहरुको पूर्ति नहुँदो हो र यस्तो पनि कुनै घर थिएन जो गौ, अश्व र धन-धान्यले भरपूर नहोस्।
अयोध्यामा कुनै पनि पुरुष यस्तो थिएन जो कामासक्त होस्, कुनै व्यक्ति यस्तो थिएन जो कंजूस होस्, दान नदिँदो हो। क्रूर, मूर्ख र नास्तिक (ईश्वर तथा वेद निन्दक) व्यक्ति त अयोध्यामा कहीं पनि देखाई दिंदैनथ्यो।
समस्त स्त्री-पुरुष धर्मात्मा, इन्द्रियजयी, सदा प्रसन्न रहने तथा शील र सदाचारका दृष्टिले ऋषि-मुनि समान निर्मल थिए।
अयोध्यामा कुनै पनि व्यक्ति यस्तो थिएन जो कानमा कुण्डल, सिरमा मुकुट र घाँटीमा माला धारण नगरेको होस्। अल्पभोगी, मैलो अंग भएको, शुन्गन्धित चन्दन, अत्तर, तेल, नलगाउने पनि त्यहाँ कोहि थिएन।
अयोध्यामा कुनै मनुष्य यस्तो थिएन जसले प्रतिदिन अग्निहोत्र नगर्दो हो, जो क्षुद्र-ह्रदय हो, कुनै चोर थिएन र न कुनै वर्णसंकर थियो।
अयोध्यामा कुनै यस्तो व्यक्ति पनि थिएन जसले छ अंग (शिक्षा,कल्प,ज्योतिष,व्याकरण,निरुक्त र छन्द) सहित वेदको बारेमा

नजान्ने होस्। जुन उत्तम व्रतले रहित होस्, जुन महाविद्वान नहोस्, जुन निर्धन होस्, जसलाई शारीरिक या मानसिक पीपिडा होस् यस्तो पनि कुनै थिएन।
अयोध्यामा कुनै पुरुष यस्तो थिएन जो कामासक्त होस्, कुनै व्यक्ति यस्तो थिएन जो कंजूस होस्, दान नदिंदो होस्। क्रूर, मूर्ख र नास्तिक (ईश्वर तथा वेद निन्दक) व्यक्ति त अयोध्यामा कुनै पनि देखिन्नथ्यो।
अर्थात्, अयोध्याका समस्त निवासी दीर्घ-जीवी, धर्म र सत्यको आश्रय लिने, पुत्र, पौत्र र स्त्रि सहित उस नगरमा रहन्थे।

महाराज दशरथ र श्रीरामको आदर्श राज्य-व्यवस्था उनको शेष पछी पनि पर्याप्त समय सम्म चलीरह्यो।
महाराज अश्वपतिले आफ्नो राज्यको सम्बन्धमा गर्वपूर्वक घोषणा गरेका थिए कि-
न मे स्तेनो जनपदे न कदर्यो न मद्यपः ।
नानाहिताग्निर्नाविद्वान् न स्वैरी स्वैरिणी कुतः ।।--(छन्दोग्य: ५/११/५)
अर्थात्, मेरो राज्यमा कुनै चोर छैन, कुनै कन्जूस छैन, कुनै नशाखोरी छैन, कुनै यस्तो व्यक्ति छैन जसले दैनिक अग्निहोत्र नगर्दोहो। कुनै मूर्ख छैन, कुनै पनि व्यभिचारी पुरुष नै छैन भने फेरी व्यभिचारिणी स्त्री कसरि हुन सक्छे ?
तर आज समाजमा यसको ठिक उल्टो स्थिति भएको छ, अर्थात् ठगी, चोरी, झुट, कृपण, मदिरा सेवी, नशाखोरी, अनाहिताग्नि, परस्त्रीगामी र वेश्यावृत्ति नै प्रमुख परिचय भैसकेको छ।
लीलाको नाममा अनैतिकता र व्यभिचार तथा धर्मको नाउमा निर्दोष पशु-पंक्षीहरुलाई बलि चढाउने जस्तो दुष्कर्मको महिमामण्डन गर्नेहरुले समयमै सम्झनु पर्नेछ कि व्यभिचार, हिंसा र चोरी यी तीन दुष्कर्म बढ्नुको परिणाम समाजमा अति भयंकर हुनेछ। कति भयंकर हुनेछ यसको अनुमान हामीले गर्न सक्दैनौं।

अतः सत्याचरण, सदाचार र वेदाध्ययनबाट नै रामराज्य सम्भव छ। अस्तु..
नमस्ते..!

Tuesday, July 17, 2018

के मदर टेरेसा संत थिई?



के मदर टेरेसा संत थिई?

मूल लेखक: डा. विवेक आर्य
अनुवाद: प्रेम आर्य

मदर टेरेसाको नाम सुन्ने बित्तिकै प्रायः सबैको मन-मस्तिष्कमा एक नीलो किनारा भएको सेतो धोतिले सिर देखि पाउ सम्म ढाकिएकी, गाला चाउरी परेकी एक वृद्ध महिलाको आकृति झल्किन्छ, जसले मानव मात्रको सेवाका लागि आफ्नो जन्मस्थान त्यागेर जीवन सेवा मै समर्पित गरिदिई। जो रोगी, गरीब तथा असहायहरुको सहारा बनेर हजारौं अनाथ तथा दीन-दुःखी र निराश्रयहरुलाई सहारा दिई। जसलाई यहि सेवाका लागि विश्व शांतिको नोबल पुरस्कार प्राप्त भएको थियो। मदर टेरेसाको बारेमा हामि सबैलाई यत्ति नै थाहा छ किनकि हामीलाई यहि नै जानकारी दिइयो। दिन-दुःखीको सेवा गर्नु अत्यन्त सराहनीय तथा उत्तम कर्म हो, मानव मात्रको नभएर समस्त प्राणीहरुको सेवा गर्नु हरेक मनुष्यको परम कर्तव्य हो, यहि वेदको आदेश पनि छ तर उसको जीवनको पर्दा पछाडीको सत्य भने अर्कै छ, त्यस बारे हामी सबै अहिले सम्म अनभिज्ञ नै छौं। त्यहि सत्यलाई उजागर गर्नु नै यो छोटो लेखको मुख्य उद्देश्य हो।

सत्य जति तितो या टर्रो भए पनि त्यो सत्य नै हुन्छ चाहे त्यो कसै-कसैलाई मन परोस् या नपरोस्। भारत तथा नेपालमा कार्यरत ईसाई संस्थाहरुको मुखौटो सेवा हो भने त्यो मुखौटो भित्रको असली अनुहार भने प्रलोभन, लोभ, लालच, भय र दबाव द्वारा ईसाईकरण गर्नु हो। यसबाट त यही प्रतीतहुन्छ कि जुन सेवा कार्यको नाम मा मिशनरी द्वारा गरिदैछ, त्यसको मूल उद्देश्य ईसामसीहको लागि भेडाहरुको हुल बढाउनु नै हो। संत त्यो हुन्छ जो पक्षपात रहित एवं जसको उद्देश्य मानव मात्र नभएर समस्त प्राणिको भलाई होस्। ईसाई मिशनरीहरुको पक्षपात पूर्ण कर्म यसैबाट बुझ्न सकिन्छ कि तिनीहरुले केवल तिनै रोगि, गरीब, असाहयहरुको मात्र सेवा गर्न चाहन्छन् जसले ईसाई मत ग्रहण गर्न तयार हुन्छन् या तिनलाई उक्त मत स्वीकार गर्न वाध्य पारिन्छ।

मदर टेरेसाको जन्म २६ अगस्त, १९१०मा स्कोप्जे, मेसेडोनियामा भएको थियो। १२ वर्षको कलिलो आयुमा उसलाई “ईश्वरले पुकार्दै छ” भन्ने महसूस गरी रे..! २४ मई १९३१मा ऊ भारतको कलकत्ता शहरमा आई र यहींकी भएर रहन थाली। कलकत्ता आएपछी धन कमाउनको लागि उसले आफ्नै दुकान आरम्भ गरी। दुकान थियो- कलकत्तालाई रोगी र गरीबहरुको शहरको रूपमा बद्नाम गरेर स्वयंलाई तिनीहरुको सेवा गर्ने सेविकाको रूपमा चर्चित गर्नु। यसमा ऊ अंतराष्ट्रीय स्तरमा सुनियोजित ख्याति प्राप्त गर्न सफल पनि भई। ऊ केहि वर्षमा नै “करुणा र सेवाकी देवी”, "दयाकी देवी", "मानवताकी सेविका", "असाहय र गरीबहरुकी उद्धारक", “लार्जर देन लाईफ” भएको छविले प्रसिद्द भई। हुनत उसलाई सदा वेटिकन र मिशनरीज अफ च्यारिटीको सहायताले गरिब तथा विवशतामा पिल्सिएकाहरुलाई प्रलोभनमा पारेर “ईसाई करण” गरेको आरोप नलागेको पनि हैन। सत्य तथ्य त यो छ कि आरोप लगाउनेहरु पनि कुनै हिन्दु संघसंस्था नभएर धेरैजसो पश्चिमा प्रेस या ईसाई पत्रकारहरु नै थिए। यसबाट संदेह अरु अधिक गहीरो भएर जान्छ। आफ्नै देशका गरीब ईसाईहरुको सेवा गर्नुको सट्टा मदर टेरेसालाई भारतका गरीब तथा गैर ईसाईहरुको उत्थानमा यति अधिक रूचि हुनु के सङ्केत गर्दछ? तपाइँहरु स्वयं अनुमान गर्न सक्नुहुन्छ।

मदर टेरेसालाई विश्वका अनेकौं ज्ञात तथा अज्ञात स्रोतहरुबाट निक्कै ठूलो धनराशि दान या चन्दाको रुपमा प्राप्त हुने गर्दथ्यो। सबभन्दा आश्चर्यको कुरो यो छ कि मदर टेरेसाले यस विषय कहिले पनि सोंच्ने कष्ट गरिन कि उसका धनदाताहरुको आयको स्रोत्र तथा प्रतिष्ठा कस्तो थियो । उदहारणको लागि अमेरिकाको एउटा निक्कै नाम चलेको प्रकाशक रबर्ट मेक्सवेल जसले आफ्ना कर्मचारिहरुको भविष्यनिधि कोषमा ६५० मिलियन डलरको घोटाला गरेर त्यसमध्ये मदर टेरेसालाई १.२५ मिलियन डलर चन्दा दियो। मदर टेरेसाले मेक्सवेलको पृष्ठभूमि जान्दथी।
एक पटक हैटीको तानाशाह जीन क्लाऊड डुवालियेले मदर टेरेसालाई सम्मानित गर्नको लागि निमन्त्रण पठायो। मदर टेरेसा कलकत्ता देखि हैटी सम्मान लिन गई। जुन व्यक्तिले हैटीको भविष्य चकनाचुर पारेको थियो। गरीबहरु माथि भयङ्कर अत्याचार गरेको थियो र देशलाई लुटेको थियो। तर टेरेसाले उसलाई “गरीबहरुको उद्धारक ” भनेर प्रसंशाको माला लगाइदिएकि थिई। त्यस्तै मदर टेरेसालाई अर्को चार्ल्स कीटिंग नाम गरेको व्यक्ति बाट १.२५ मिलियन डलरको चन्दा प्राप्त भएको थियो। यो कीटिंग महाशय त्यहि थियो जसले “कीटिंग सेविंग्स एन्ड लोन्स” नामक कम्पनी १९८०मा बनाएको थियो र सर्वसाधारण जनता तथा मध्यमवर्गको लाखौँ डलर हिनामिना गरेको आरोपमा कारागारको दण्ड भोगेको थियो । न्यायालयमा मुद्दाको वहस हुँदा मदर टेरेसाले न्यायाधिस संग कीटिंगलाई क्षमादान दिनको लागि अपील गरेकी थिई। त्यस बेला न्यायधिसले ऊसँग सोधेका थिए कि जुन धन कीटिंगले हिनामिना गरेको छ त्यो धन के तिमीले जनतालाई फिर्ता दिन सक्छ्यौ ? ताकि निम्न-मध्यमवर्गका हजारौं मानिसहरुलाई केहि राहत प्राप्त होस् तर टेरेसा चुपचाप भएकी थिई।
मदर टेरेसाको जीवनको अन्तिम समयमा सुजान शील्ड्सलाई न्युयोर्कको एक बैंकमा पचास मिलियन डलरको रकम जम्मा भएको पाइयो। सुजान शील्ड्सले मदर टेरेसाका साथ सहायकको रूपमा नौ वर्ष सम्म काम गरेकी थिइ। सुजानले नै च्यारिटीमा आएको दान तथा चन्दाको हिसाब-किताब राख्ने गर्दथी। जुन लाखौँ रुपैयाँ गरीब तथा दीन-हीनहरुको सेवामा लगाउनु पर्ने थियो त्यो न्यूयोर्कको बैंकमा त्यतिकै अचल थियो किन?
दान तथा चन्दाबाट प्राप्त हुने पैसाको प्रयोग सेवा कार्यमा शायदै हुँदोहो ! यस बारेमा कलकत्ताका निवाशी अरूप चटर्जीले आफ्नो पुस्तक "द फाइनल वर्डिक्ट" मा राम्रो संग लेखेका छन् । उनि लेख्छन् – ब्रिटेनको प्रसिद्ध मेडिकल पत्रिका Lancet का सम्पादक डा. रबिन फक्सले १९९१ मा एक पटक टेरेसाको कलकत्ता स्थित च्यारिटी अस्पतालहरुको भ्रमण गरेका थिए। उनले भ्रमण गर्दा के पाए भने – बालबालिकाहरुको लागि साधारण एनल्जेसिक औषधि सम्म पनि त्यहाँ उपलब्ध थिएन र स्टर्लाइज्ड सिरिंज को पनि उपयोग भैरहेको थिएन। जब यसबारेमा टेरेसा संग सोधियो, उसको उत्तर सुनेर डाक्टरको होसै उड्यो, उसले भनि कि “यी बालबालिकाहरु त केवल मेरो प्रार्थनाले नै ठीक हुन्छन्"। मिशनरीमा भर्ती भएका आश्रितहरुको अवस्था पनि त्यतिका धन पाउँदा पनि उनको स्थितिमा कुनै सुधार भएको थिएन। मिशनरीमा काम गर्ने नन पनि अरुका लागि औषधि भन्दा अधिक प्रार्थनामा विश्वास राख्दथे तर स्वयं भने कलकत्ताका महँगा र सुविधा युक्त अस्पतालमा उपचार गराउन जाने गर्दथे। मदर टेरेसा स्वयं पाटेघरको क्यान्सरले पिडित थिई, जसको उसले अमेरिकामा गएर अप्रेसन गराएकी थिई। मिशनरीको एम्बुलेन्स पनि बिरामीहरुको लागी भन्दा अधिक नन आदिलाई एक स्थानबाट अर्को स्थानमा आउन-जानको लागि प्रयोग हुने गर्दथ्यो। सायद यिनै केहि कारणले गर्दा होला मदर टेरेसाको शवयात्रामा कलकत्ताका स्थानीय निवाशीहरुको उपस्थिति शून्य बराबर थियो।
मदर टेरेसा आफ्नो रुढीवादी विचारको लागि सदा चर्चित रहन्थी। सन् १९७१ मा ‘बङ्गलादेश मुक्ति सङ्ग्राम’ का बेला लगभग साढे चार लाख महिलाहरु बेघर भएका थिए र ति भागेर कलकत्ता आइपुगेका थिए। ति मध्ये धेरैजसो महिलाहरु पाकिस्तानी र तिनका समर्थकहरु द्वारा बलात्कृत भएका थिए जसको कारणले ति गर्भवती भएका थिए। मदर टेरेसाले ति महिलाहरुको गर्भपातको विरोध गर्दै भनेकी थिई कि “जुनसुकै अवस्थामा पनि गर्भपात क्याथोलिक परम्पराको विरुद्ध छ र यी महिलाहरुको गर्भावस्था परम प्रभूको एक ‘पवित्र आशीर्वाद’हो।” मदर टेरेसाको यसै कारणले निक्कै आलोचना पनि भएको थियो।
मदर टेरेसाले भारतमा सन् १९७५-१९७७ का विच इन्दिरा गाँधी द्वारा लगाइएको अमानवीय, अलोकतान्त्रिक एवं असंबैधानिक कदम सङ्कटकालको जमेर प्रशंसा गर्दै भनेकी थिई कि “सङ्कटकाल लगाउनाले जनता खुशी भएका छन् र बेरोजगारीको समस्या हल भएको छ ।” गाँधी परिवारले उसको यहि चाटुकारिताका लागि “भारत रत्न”को सम्मान दिएर उसको “ऋण” उतारेको थियो। ३ डिसेम्बर सन् १९८४ मा भएको भारतको भोपाल ग्यास त्रासदी इतिहासकै सबभन्दा भयानक तथा विभत्स औद्योगिक दुर्घटना थियो, जसमा तत्कालिन सरकारी अत्थ्यांक अनुसार ४००० भन्दा अधिक मानिसहरु मारिएका थिए तर यथार्थ यो भन्दा अधिक विभत्स थियो, ८००० मानिसहरुको मृत्यु त दुई सप्ताह भित्रै भएको थियो र लगभग ८००० मानिसहरु उक्त ग्यासको कारणले फैलिएको रोगका कारणले मरेका थिए ५,५८,१२५ जना मानिसहरु यसबाट सिधा प्रभावित भएका थिए। अझैं पनि त्यस दुर्घटनाको कुप्रभाव त्यहाँका जनताले अप्रत्यक्ष रुपमा झेल्दै छन्, त्यो प्रष्ट संग देख्न सकिन्छ। त्यसबेला मदर टेरेसाको फटाफट कलकत्ताबाट भोपाल सवारी भएको थियो केका लागि? के प्रभावितहरुको सहायता गर्नका लागि? अहँ, ति बेसहारा, विवस तथा विषाक्त ग्यासको पिडामा छटपटाइ रहेकाहरुको सहायता गर्न हैन कि उक्त दुर्घटनाका लागि जिम्मेवार कम्पनि - यूनियन कार्बाईड परिवार र त्यसको संचालक वारेन एन्डरसनलाई क्षमादान दिनको लागि दवाफ सिर्जना गर्न आएकी थिई। र अन्ततः यहि भयो पनि वारेन एंडरसनले आफ्नो बाँकी जीवन अमेरिकामा २९ सेप्टेम्बर, २०१४ सम्म आराम संग बितायो। भारत सरकारले यसका कुनै पनि दोषीलाई दण्ड दिन सकेन, छैन त विडम्बना..?
अंतर्राष्ट्रीय ख्याति प्राप्त पत्रकार बेलायति नागरिक क्रिस्टोफर हिचेन्सले सन् १९९४मा ‘नर्क की देवी’ (Hell’s Angel) नामक एउटा लघु चलचित्र बनाएका थिए जसमा मदर टेरेसाका सबै क्रियाकलापहरुका बारेमा विस्तार पूर्वक प्रकाश पारिएको छ। यो चलचित्र ब्रिटेनको एक टिभी प्रशारण-च्यानल फोर मा प्रदर्शित पनि भएको थियो र यसले निक्कै लोकप्रियता आर्जित गरेको थियो। पछी आफ्नो कलकत्ता प्रवासको अनुभव सँगालेर उनले एउटा पुस्तक पनि लेखेका छन् जसमा उनले भनेका छन् कि “क्याथोलिक समुदाय विश्वको सबभन्दा शक्तिशाली समुदाय हो। यसलाई पोपले नियन्त्रित गर्दछ, च्यारिटी चलाउनु, मिशनरिहरु चलाउनु र तथाकथित् धर्मान्तरण गराउनु आदि यिनका प्रमुख काम हुन् ।” सर्वविदित नै छ कि मदर टेरेसालाई टेम्पलटन सम्मान, नोबल सम्मान, मानार्थ अमेरिकी नागरिकता जस्ता कैयौं सम्मान यहि कारणले प्राप्त भएका हुन् ।”
यही मदर टेरेसा सन् १९९४मा दिल्लीमा दलित ईसाईहरुका लागि आरक्षणको समर्थन गर्नको लागि धर्नामा बसेकी थिई। तब तत्कालीन मंत्री सुषमा स्वराजले ऊसँग प्रश्न गरेकी थिइन् कि के टेरेसाले दलित ईसाई जस्ता उद्बोधनको रूपमा चर्चमा जातिवादको प्रवेश गराउन चाहन्छे? सन् १९४७ मा भारत स्वाधीन हुँदा महाराष्ट्रमा अनेकौं मिशनका चर्चहरु आर्यसमाजले खरीद गरेको थियो किनकि तिनको सञ्चालन गर्ने जति सबै ईसाईहरु बेलायत फर्केका थिए। केहि दशक पश्चात ईसाईहरुले उक्त सम्पत्तिलाई पुनः प्राप्त गर्नको लागि आर्यसमाज संग खरिद गर्न दबाव दिएका थिए। आर्यसमाजका पदाधिकारीहरुले बेच्न मानेनन् र मदर टेरेसाले आर्यसमाजका पदाधिकारिहरुलाई पछी हेरौंला भन्ने धम्कि दिएकी थिई; कस्ती चमत्कारिक संत थिई ऊ, हैन ?
मदर टेरेसा जहिले पनि बिरामी हुँदा उसलाई अत्याधुनिक सुविधा सम्पन्न कर्पोरेट अस्पतालमा नै भर्ती गर्ने गरिन्थ्यो। उसलाई सधै अति महँगो उपचार उपलब्ध गराइन्थ्यो। यही उपचार यदि उसले ति अनाथ र गरीब बालबालिकाहरु (जसको नाउमा उसलाई लाखौँ डलरको चन्दा प्राप्त हुने गर्दथ्यो) का लागि पनि उपलब्ध हुन्थ्यो भने कुनै कुरो थिएन तर विडम्बना नै भनौं यस्तो कहिले पनि भएन। एक पटक क्यान्सरको भयङ्कर पीडाले छटपटाइ रहेको एउटा रोगि संग उसले भनी “तिम्रो पिडा ठीक त्यस्तै छ जस्तो ईसा मसीहलाई सूलीमा चढ्दा भएको थियो, शायद महान मसीहले तिमीलाई मायाँले चुम्दै छन् ।” तब उक्त रोगीले भने कि “प्रार्थना गर्नुस् कि जति हुन्छ सिघ्र ईसाले मलाई चुम्न बन्द गरुन”।
मदर टेरेसाको इहलिला समाप्त भए पश्चात पनि चन्दाको व्यापार चल्दैछ र लाटा-सोझा ति विवश हिन्दुहरुलाई धर्मान्तरण गर्नको लागि सहायता मिलोस् भनेर अर्को एउटा नयाँ नाटक रचियो। पोपजोनपोल द्वारा टेरेसालाई “सन्त” घोषित गर्नमा निक्कै हतार गरियो। सामान्य रूपले संत घोषित गर्नको लागि जुन पाँच वर्षको समय (चमत्कार र पवित्र असरका लागि) आवस्यक हुन्छ, पोपले त्यसमा पनि भारि छुट दियो। पश्चिम बंगालकी एक क्रिश्चियन आदिवासी महिला जसको नाम मोनिका बेसरा थियो। उनलाई क्षय रोग र पेटमा ट्यूमर भएको थियो। बेलूरघाटका सरकारी अस्पतालमा कार्यरत डा. रंजन मुस्ताफ उनको उपचारमा खटिएका थिए। उनको उपचारले मोनिकालाई निक्कै लाभ हुँदै थियो र एउटा रोग त लगभग ठीक पनि भएको थियो। अचानक एक दिन मोनिका बेसराले आफ्नो घाँटीमा झुन्डिएको लकेटमा मदर टेरेसाको तस्वीर देखी र उसको ट्यूमर पूर्ण रुपले ठीक भयो। मिशनरी द्वारा मोनिका बेसरा ठीक भएको चमत्कार एवं मदर टेरेसालाई संतको रूपमा प्रचारित गर्ने बहाना पाइयो। यो चमत्कारको हावादारी कुरा सबैको बुझाइ भन्दा पर छ। जुन मदर टेरेसाको जीवनमा अनेकौं पटक विलाशी अस्पताल र विशेषज्ञ चिकित्सकहरुको आवश्यकता पर्दथ्यो, त्यसैको कृपाले, त्यसैको नाममा प्रार्थना गर्नेहरुलाई बिना औषधि केवल आशिर्वाद तथा चमत्कारले ठीक हुने हावादारी गफ गर्नु र मान्नु मूर्खताको पराकाष्ठा नै हो। यदि कुनै हिन्दु बाबाले चमत्कार द्वारा कुनै रोगीको रोग ठीक पारेको र गर्ने आत्मविश्वास प्रकट गर्दछ भने यी निरपेक्षतावादी लेखक र चिन्तक तथा चाटुकारहरुले त्यसको निक्कै खिल्ली उडाउने गर्दछन्। तर जब कुनै पढे-लेखेको ईसाई समाजले ईसामसीह देखि अन्य ईसाई मिशनरिहरु द्वारा चमत्कार हुने एवं त्यस संग सम्बंधित मिशनरीलाई संत घोषित गरेको महिमा-मण्डन गर्दछ भने त्यसलाई कुनै पनि निरपेक्षतावादी लेखक तथा चिन्तकले कानेखुशीमा पनि यसकिसिमको तमाशालाई अन्धविश्वास हो भन्ने साहस गर्दैन; किन? किनकि तिनीहरु मानसिक दासतामा बाँच्दै छन्..!
जब मोरारजी देसाईको सरकारमा सांसद ओमप्रकाश त्यागी द्वारा धर्म स्वातंत्रय विधेयकको रूपमा धर्मान्तरणका विरुद्ध विधेयक पेश भयो तब यहि मदर टेरेसाले प्रधानमंत्रीलाई पत्र लेखेर यस विधेयकको विरोध गरेकी थिई र भनेकी थिई कि यदि हामीलाई आफ्नो ईसाई मतको प्रचार गर्नमा रोक लगाउने हो भने हामीले समस्त समाज सेवाका गतिविधिहरु जस्तै- शिक्षा, स्वास्थ्य, रोजगार तथा अनाथालय आदि बन्द गर्नेछौं। तब प्रधान मंत्री देसाईले भनेका थिए यसको अर्थ यो बुझ्नु पर्ने भयो कि ईसाईहरु द्वारा गरिने समाज सेवा केवल एक देखावटी मात्र हो। उनको असली प्रयोजन त धर्मान्तरण नै हो। भारतका तत्कालीन प्रधान मंत्रीको यो उत्तरले ईसाई समाजको सेवाको आडमा गरिने धर्मान्तरणलाई उजागर गर्दछ।

यो लेख पढेर हिन्दुहरुको धर्मान्तरण गर्ने र गराउनमा सहायता गर्ने नर्क कि देवी- मदर टेरेसालाई क-कसले संत मान्न चाहनु हुन्छ ?



ओ३म् शम्...

Wednesday, June 20, 2018

श्रीकृष्णको ईश्वरभक्ति



श्रीकृष्णको ईश्वरभक्ति

विवेक आर्य
श्रीकृष्ण ईश्वरोपासक हुनुहुन्थ्यो । उहाँ नित्यप्रति सन्ध्या , हवन र गायत्री–जाप गर्नुहुन्थ्यो । यदि उहाँ स्वयं ईश्वर भएको भए उहाँ कसको उपासना गर्नुहुन्थ्यो होला त ? दूतकर्ममा जाँदाताक उहाँले रथलाई रोक्न लगाएर सन्ध्या गर्नुभयो ।
अवतीर्य रथात् तुर्णं कृत्वा शौचं यथाविधि ।
रथमोचनमादिश्य सन्ध्यामुपविवेश ह ।। –महाभारत , उद्योगपर्व ८४÷२१
भावार्थ – जब सूर्यास्त हुनथाल्यो तब श्रीकृष्णले शीघ्र नै रथबाट अवतरित भएर रथ खोल्ने आदेश दिनुभयो र पवित्र भएर सन्ध्योपासनामा लाग्नुभयो ।
विदुरजीको घरमा पनि उनको सन्ध्यावन्दन गर्ने गरेको वर्णन पाइन्छ –
कृतोदकानुजप्यः स हुताग्निः समलङ्कृतः ।
ततश्चादित्यमुद्यन्तमुपातिष्ठत् माधवः ।।
भावार्थ – स्नान , सन्ध्या तथा जप पश्चात् अग्निहोत्र गरेर श्रीकृष्णले समलङ्कृत भएर सूर्यको उपस्थान गर्नुभयो ।
भागवत् पुराणमा पनि उनको ईश्वरभक्तितर्फ सङ्केत गरिएको छ –
ब्राह्ममुहूत्र्ते उत्थाय वायुं पस्पृश्य माधव ।
दध्यौ प्रसन्नकरण आत्मानं तमसः परम् ।। – भागवत , १०÷७०÷६
भावार्थ – श्रीकृष्ण ब्राह्ममुहूर्तमा उठेर पवित्र जलले हातमुख धोएर अत्यन्त पवित्र भएर हृदयमा प्रकृतिभन्दा परका ज्योति स्वरुप परमेश्वरको ध्यान गर्न लागे ।
अथाप्लुतोऽम्भस्यमते यथाविधि क्रियाकलापं परिधाय वाससी ।
चकार सन्ध्योपगमादि तत्तमो हुतानलो ब्रह्म जजाप वाग्यतः ।। – भागवत , १०÷७०÷६
भावार्थ – भगवान् श्रीकृष्णले स्वच्छ एवं पवित्र जलमा डुबुल्की लगाएर स्नान गर्नुभयो अनि स्वच्छ धोती पहिरेर एवं बर्खी ओढेर अति श्रद्धाका साथ विधिपूर्वक सन्ध्योपासनादि नित्यकर्म गर्नुभयो ।

Saturday, March 3, 2018

होली पर्वको महत्व



होली पर्वको महत्व

सहदेव समर्पित

होली एक सांस्कृतिक उत्सव हो । हाम्रो संस्कृति यज्ञीय रहेको छ । यज्ञको संस्कार मानव मात्रको हृदयमा रहेको छ चाहे त्यो दबेको अवस्थामा नै किन नहोस् । मनुष्य जीवनको यो श्रेष्ठता नै हो कि ऊ आफू बसेको स्थानलाई सुगन्धियुक्त , योग्य र श्रेष्ठ बनाइराख्नको लागि श्रम गरोस् । त्यो स्थान हाम्रो घर हो , हाम्रो समाज हो , हाम्रो पर्यावरण हो । र अलिकति विस्तार पाएर हेर्ने हो भने त्यो स्थान हाम्रो पुरै सृष्टि हो । यसमा जड , चेतन सबै पदार्थ पर्दछन् । परमात्माले सबै प्राणीहरुलाई यो सृष्टि बिना शुल्क सबैलाई उपयोग गर्न दिएका छन् । अन्य प्राणीले यस सृष्टिलाई त्यति दुषित गरेका छैनन् जति कि मनुष्यले यसलाई दुषित गरेको पाइन्छ । मनुष्यले सृष्टिलाई नै विकृत गराएको छ । यस संसारलाई रहन योग्य बनाउने दायित्व नै मनुष्यको हो । यो कार्य मनुष्यकै सामथ्र्यमा रहेको छ । यसलाई स्वच्छ , शुद्ध बनाइराख्नको लागि जति पनि उपाय छन् , तिनको नाम नै यज्ञ हो । त्यसैले हाम्रा विद्वान् पुर्खाले जति पनि सांस्कृतिक पर्व छन् , जति पनि पारिवारिक उत्सव छन् , जति पनि मांगलिक कार्य छन् तिनलाई यज्ञसँग जोडिदिए । ताकि हामी यस संसारको , संसारका समस्त पदार्थहरुको र आफ्नो जीवनको उपयोग पूर्णताका साथ गर्न सकौँ ।
जसरी जसरी कथित प्रयोगहरु भइरहेका छन् , त्यति नै मनुष्य विलासी हुँदै गइरहेको छ । विलास नै विनाशको कारण बनिरहेको छ । यसको अर्थ यो होइन कि भौतिक उन्नति हुनुहुँदैन , अपितु सन्तुलनको आवश्यकता भने रहेको छ । मुनष्यलाई यो ज्ञान हुन आवश्यक छ कि यो सांसारिक उन्नति उसको सहायताको लागि हो । सुविधाको साधन कसका लागि हो ? र जसका लागि हो , उसले के गर्नु पर्छ ? उसको बाँच्ने उद्देश्य के हो ? यो नजानेर नै सुविधाको साधन मनष्यको मित्र होइन शत्रु बन्दछन् । यस सन्तुलनलाई यज्ञको परिभाषामा संगतीकरण भनिन्छ । जसरी नदी–नालाको अन्तिम समायोजन समुद्रमा गएर हुन्छ , त्यसरी नै हाम्रा सबै क्रियाकलापहरुको समायोजन हाम्रो लक्ष्यमा हुन आवश्यक छ । उदाहरणको रुपमा हेर्दा , हामी जे पनि कमाउछौँ , त्यसको उद्देश्य शरिरको पालन पोषण गर्नमा , शरीरद्वारा धर्म ,अर्थ ,काम र मोक्षको लागि पुरुषार्थ गर्नमा हुनपर्छ । तब त्यो कमाइलाई नै यज्ञ भन्न सकिन्छ र यसैलाई नै संगतीकरण भनिन्छ । यो संगतीकरण पाँचवटै यज्ञहरुमा हुन्छ ।
यस सृष्टिको कण कण नै उपयोगी छ । तिनलाई देव नाम दिइएको छ । समयको प्रवाहमा शब्द बद्लिन्छन् र उनको मानी अर्थ पनि बद्लिन्छ । आज देवको सामान्य अर्थ यो बनिसक्यो कि देव भए उसका अगाडि हात जोडेर निस्कनै पर्छ । यो देव शब्द दिवु धातुबाट बनेको छ र त्यसका दश अर्थ रहेका छन् । मोटामोटी रुपमा संसारमा जति पनि उपयोगी पदार्थ छन् , तिनको नाम देव हो । अब यी देव जड पनि छन् , चेतन पनि छन् । सजीव पनि छन् निर्जीव पनि छन् । आज यी सारा देवहरु रिसाएका छन् । हाम्रा भाइहरुलाई लाखौ किलोमिटर टाढा घुमिरहेका ग्रह रिसाएको त चिन्ता हुन्छ परन्तु आफ्ना वरपरका देवता रिसाएको भने पत्तो हुँदैन । भौतिक उन्नति यी देवताहरुलाई कुपित त बनाइरहेको छ । प्रगतिको अन्धो दौडमा भूमि विकृत हुँदै छ , हावा विकृत हुँदै छ , जल दुषित हुँदै छ । हो यो सन्तोषको कुरा हो कि बुद्धिमान् जनहरुलाई यो चिन्ता हुँदै छ कि यी जति पनि विकृति आएको छ , त्यसलाई यदि नसुधार्ने हो भने निश्चय नै विनाश हुनेछ । परन्तु पर्यावरणको शुद्धि वृक्षका पातहरुलाई पानी दिएर होइन , जडाहरुलाई पानी दिएर हुन्छ । पर्यावरणलाई शुद्धि गर्ने महत्वपूर्ण साधन हो हवन । जड देवताहरुका नेता अग्निलाई सबै देवताहरुका नेता अग्निलाई श्रेष्ठ पदार्थ दिनाले त्यो सबै देवताहरुलाई प्राप्त हुन्छ । अग्निलाइ दिए बिना उनीहरु हवीको ग्रहण गर्न सक्दैनन् । यो व्यावहारिक विधि हो । जसँग जे चिजको कमि छ , उसलाई त्यो वस्तु दिनुहोस् । बच्चाले पनि यो कुरालाई जानेको छ । पुष्टि चाहिए पुष्टिकारक पदार्थ दिनुहोस् । दुर्गन्ध हटाउनेभए सुगन्धित पदार्थ दिइयोस् ।
चेतन देवता पनि रिसाएका छन् । बुढापाकाहरुको दुर्गति हुँदै छ । तपाईले कहिल्यै बाँदर देख्नुभएको छ ? खाने चिजहरुका एक ठुलो बाँदरले कब्जा गर्दछ र अरु बसेर हेरिरहन्छन् । के मनुष्य पनि बाँदरको सन्तान हो ? कोही भोकले मर्दै छ र तपाई पकवान बनाएर खाँदै हुनुहुन्छ । कसैको तनमा कपडा छैन , बस्नको लागि झोपडी छैन र तपाई पूर्ण विलासितामा बस्नु भएको छ । यसको समाधान कुनै साम्यवाद होइन , अपितु समाधान यज्ञीय भावना हो । केवलाघो भवति केवलाधी । एक्लै खानेवाला पापी हो । यज्ञ भन्दछ अरुलाई खुवाएर खाऊ । अन्न नै त हो सम्पत्ति ! त्यसैले हाम्रा पूर्वजहरु दुई प्रमुख अन्नको आगमनमा यज्ञको विधान गरेका थिए । दीपावली र होली । पहिला यज्ञ गर र जड देवताहरुलाई खुवाऊ । त्यसपछि चेतन देवताहरुलाई खुवाऊ । तब मात्र सबै देवहरु सन्तुष्ट हुन्छन् । कतै अज्ञान , अभाव र अविद्याको नाम नै रहँदैन र यो सृष्टि हामी बस्नको लागि सुन्दर , पवित्र बनिरहनेछ ।
साभार– शान्तिधर्मी मासिक पत्रिका

(शान्तिधर्मी हिन्दी मासिक पत्रिका स्वामी दयानन्दको वैदिक सिद्धान्तहरुलाई समाजमा प्रचारित गर्ने एक अभियान हो । तपाई पनि यस महान् यज्ञको हिस्सा बन्नु होस् । शान्तिधर्मीक पत्रिकाको सदस्य बन्नको लागि संपर्क गर्नुहोस् । –सहदेव शास्त्री (९४१६२५३८२६) )

‘नमस्कार’ र ‘नमस्ते’ शब्द बीचको विश्लेषण ।



‘नमस्कार’ र ‘नमस्ते’ शब्द बीचको विश्लेषण ।

‘नमस्कार’ र ‘नमस्ते’ मुख्यतः एक अर्कासँग भेट हुँदाखेरि अभिवादन र विनम्रता प्रदर्शित गर्नका लागि प्रयुक्त शब्द हुन् । यस भावको अर्थ यो हो कि- सबै मानिसहरूका हृदयमा दैवीय चेतना र प्रकाश हुन्छ जुन अनाहत चक्र (हृदय चक्र) मा स्थित रहेको हुन्छ । यो शब्द संस्कृतको ‘नमस’ शब्दबाट निस्किएको हो । प्रत्येक व्यक्तिभित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छ जसलाई हामीले आत्मा भन्ने गर्छौं । नमस्कार अथवा नमस्ते गर्दाखेरि एक व्यक्तिले अर्को व्यक्तिको आत्माको अभिनन्दन र नमस्कार गर्दछ । ‘नमस्ते’ र ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि यी दुबैका बीचमा आध्यात्मिक अन्तर देखिन्छ । नमस्कार शब्द चाहिं नमस्ते शब्द भन्दा अधिक सात्विक भएको आभास जस्तो हुन्छ । दैनिकी जीवन यापनमा यी दुबै शब्दहरू भेट हुँदा, बिदा लिंदा, शुभकामनाहरू प्रदर्शित गर्दा अथवा अभिवादन गर्नका लागि प्रयोग हुन्छन्, यसको अतिरिक्त प्रणाम शब्द पनि प्रयोग हुने गर्छ ।

अभिवादन वा आदर पाँच प्रकारबाट गरिन्छ—

प्रत्युथान – कसैको स्वागतमा उठेर उभिनु ।

नमस्कार – दुई हात जोडेर सत्कार गर्नु ।

उपसंग्रहण – मान्यजन, बुजुर्ग, गुरु अथवा शिक्षकको चरण छुनु ।

साष्टांग – खुट्टा, घुँडा, पेट, टाउको र हातको बलले भूमिमा पुरै सुतेर सम्मान गर्नु ।

प्रत्याभिवादन – अभिनन्दनको अभिनन्दनले नै जवाब दिनु ।

‘नमः, नमो, नमोभिः, नमस्ते, नमसः, नमसा’ इत्यादि वचनहरू चारै वेदमा सर्वत्र वैदिक वाङ्गमयको आभूषण बनेर रहेका छन् ।

चारै वेदको ७९ स्थलमा ‘नमसा’ शब्द प्रयोग भएको पाइन्छ । जसको यौगिक अर्थ ‘नमस्कार गर्नु, सत्कार सत्कार गर्नु, आतित्थ्य गर्नु, अन्नपानी दिनु’ भन्ने अर्थ लाग्दछ ।

ऋग्वेदको ६९ स्थलमा, यजुर्वेदको १ स्थलमा, सामवेदको ४ स्थलमा र अथर्ववेदको ५ स्थलमा ‘नमसा’ शब्द प्रयोग भएको छ । चारै वेदका आ-आफ्ना ब्राह्मण ग्रन्थहरू छन् । ऋग्वेदको ऐतरेय ब्राह्मण, यजुर्वेदको शतपथ ब्राह्मण, सामवेदको साम ब्राह्मण र अथर्ववेदको गोपथ ब्राह्मणका नामले चिनिन्छन् । वेद मन्त्रभाग हुन् भने ब्राह्मण ग्रन्थ चाहिं वेदका व्याख्याभाग हुन् । वैदिक कालमै ऋषि-महर्षिहरूले ब्राह्मण ग्रन्थमा वेदका व्याख्यान गरेका हुनाले ब्राह्मण ग्रन्थ विशुद्ध वैदिक वाङ्गमय हुन् । यिनै वैदिक वाङ्गमय ब्राह्मण ग्रन्थमै वेदको व्याख्यान गर्दा ‘नमस्कार’ शब्दलाई विभिन्न तरिकाले प्रयोग गरिएका छन् । ब्राह्मण ग्रन्थ भनेका विशुद्ध वैदिक प्रमाण हुन् ।

ऋग्वेदको ऐतरेय ब्राह्मणमा यसरी लेखिएको छ—

य एवं वेदेदम्पितृभ्यो नमो अस्त्वद्येति नमस्कारवतीमन्ततः शंसति तस्मादन्ततः पितृभ्यो नमस्क्रियते... ॥३७॥
—ऐतरेय ब्राह्मण (पञ्चिका ३/कण्डिका ३७) ॥

त्यसै गरी गोपथ ब्राह्मणको पूर्वभागमा यसरी लेखिएको छ—

प्रजापतिर्वेदानुवाच.....आशीर्य्यन्त सोऽश्वस्तुष्टो नमस्कारं चकार नमः शंयुमाथर्वणाय.....ब्राह्मणम् ॥१८॥
—गोपथ ब्राह्मण (पूर्वभाग/प्रपाठक २/कण्डिका १८) ॥

त्यसै गरी गोपथ ब्राह्मणको उत्तरभागमा यसरी लेखिएको छ—
तान् सदः प्रसृप्स्यन् नमस्करोति, नमो नम इति । न हि नमस्कारमतिदेवाः, ते ह नमसिताः कर्त्तारमतिसृजन्तीति । तत एतं प्रजापतिं यज्ञं प्रपद्यते, नमो नम इति । न हि नमस्कारमतिदेवाः, स.....सर्वान् कामानाप्नोति ॥१८॥
—गोपथ ब्राह्मण (उत्तरभाग/प्रपाठक २/कण्डिका १८) ॥

त्यसै गरी शतपथ ब्राह्मणको दोस्रो काण्डमा यसरी लेखिएको छ—

अथ नीविमुद्वृह्य नमस्करोति । पितृदेवत्या वै नीविस्तस्मान्नीविमुद्वृह्य नमस्करोति यज्ञो वै नमो यज्ञियानेवैनानेतत्करोति षट्कृत्वो नमस्करोति षड्वा ऋतव ऋतवः पितरस्तस्मात्षट्कृत्वो नमस्करोति...॥
—शतपथ ब्राह्मण (काण्ड २/अध्याय ४/ब्राह्मण २/वचन २४) ॥

त्यसै गरी शतपथ ब्राह्मणको सातौं काण्डमा यसरी लेखिएको छ—

यो वै.....विद्वांसमिच्छेत्येतन्नमो देवि निर्ऋते तुभ्यमस्त्विति नमस्कारेणैवैनामपहते ॥
—शतपथ ब्राह्मण (काण्ड ७/अध्याय २/ब्राह्मण १/वचन ९) ॥

त्यसै गरी शतपथ ब्राह्मणको नवौं काण्डमा यसरी लेखिएको छ—
तेषां वा उभयतोनमस्कारा अन्ये । ऽन्यतरतोनमस्कारा अन्ये ते ह ते घोरतरा अशान्ततरा य उभयतोनमस्कारा उभयत एवैनानेतद्यज्ञेन नमस्कारेण शमयति ॥
—शतपथ ब्राह्मण (काण्ड ९/अध्याय १/ब्राह्मण १/वचन २०) ॥

त्यसै गरी शतपथ ब्राह्मणको तेह्रौं काण्डमा यसरी लेखिएको छ—
ब्रह्माऽकृष्णश्च नोऽवत्विति चन्द्रमा वै ब्रह्माऽकृष्णश्चन्द्रमस एवैनम्परिददाति नमोऽग्नय इत्यग्नय एव नमस्करोति ॥
—शतपथ ब्राह्मण (काण्ड १३/अध्याय २/ब्राह्मण ७/वचन ७) ॥

त्यसै गरी प्रामाण्य ग्रन्थमा षड्दर्शन शास्त्रका प्रणेताहरू मध्ये महर्षि जैमिनि प्रणीत ‘मीमांसा दर्शन’ मा लेख्नुहुन्छ—

स्वाहाकार वषट्कार नमस्काराः प्रदानार्था यथान्यत्र ॥५७॥
—कर्ममीमांसा दर्शन (संकर्षणकाण्ड/अध्याय २/पाद २/वचन ५७) ॥

त्यसै गरी महर्षि पतञ्जलि प्रणीत योग दर्शन शास्त्रको सूत्रको व्याख्यामा ‘सूर्य नमस्कार’ को बारेमा त सम्पूर्ण जगत्‌लाई थाहा भएकै कुरो हो ।

त्यसै गरी निरुक्तशास्त्रमा लेखिएको छ—

पदं देवस्य नमसा व्यन्तः ॥
—निरुक्तशास्त्र (४/१९) ॥

त्यसै गरी आश्वलायन गृह्यसूत्रमा लेखिएको छ—

यो नमसा स्वध्वर इति नमस्कारेण वै खल्वपि न वै देवा नमस्कारमति यज्ञो वै नम इति हि ब्राह्मणं भवति ॥
—आश्वलायन गृह्यसूत्र (१/५) ॥

त्यसै गरी महर्षि दयानन्दले सत्यार्थ प्रकाशभित्र प्रथम समुल्लासमै ओंकारको अर्थको व्यख्या गर्ने क्रममा लेख्नुहुन्छ कि—

(वायो ते ब्रह्मणे नमोऽस्तु) ‘बृह, बृहि, वृद्धौ’ यी धातुहरूबाट ‘ब्रह्म’ शब्द सिद्ध भएको छ । जो सबैका माथि विराजमान, सबै भन्दा ठूला, अनन्तबलयुक्त परमात्मा हुन्, उस ब्रह्मलाई हामी नमस्कार गर्दछौं ।

त्यसै गरी एघारौं समुल्लासको वैष्णवमतको समीक्षा अन्तर्गत रुद्रको व्याख्या गर्ने क्रममा लेख्नुहुन्छ— “जो मंगलकारी सबै संसारलाई कल्याण गर्नेवाला हो, उस परमात्मालाई नमस्कार गर्नुपर्दछ ।
त्यसै गरी महर्षिले ऋग्वेदादि भाष्य भूमिकामै पनि संस्कृतमै नमस्कार शब्द प्रयोग गर्नुभएको छ-

उपासनाप्रदोपासनाग्रहीतारौ प्रति परमेश्वरः प्रतिजानीते— (ब्रह्म पूर्व्यम्) यदा तौ पुरातनं सनातनं ब्रह्म (नमोभिः) स्थिरेणात्मना सत्यभावेन नमस्कारैरुपासते, तदा तद् ब्रह्म ताभ्यामाशीर्ददाति— (श्लोकः) सत्यकीर्तिः (वां) (वि) (एतु) व्येतु व्याप्नोतु ।
—ऋग्वेदादिभाष्यभूमिका (उपासना विषय/मन्त्र ५ को व्याख्यामा) ॥

यसै गरी सम्पूर्ण ऋग्वेदादि भाष्यभूमिका भित्र महर्षिले भाषामा २८ चोटि ‘नमस्कार’ शब्दको प्रयोग गर्नुभएको छ ।
त्यसै गरी वेदभाष्य लेखन आरम्भ गर्ने शुरुवातका दिनमै महर्षिले लेख्नुहुन्छ—

“(ब्रह्मानन्त.) जो ब्रह्म अनन्त आदि विशेषणहरूले युक्त छ, जसको वेद विद्या सनातन छ, उसैलाई अत्यन्त प्रेम भक्तिले म नमस्कार गरेर यस वेदभाष्य बनाउनको लागि आरम्भ गर्दछु ।”

त्यसै गरी महर्षि दयानन्दले ऋग्वेदको भाष्य गर्ने क्रममै ‘नमसा’ शब्दको अर्थ गर्दाखेरि पनि ‘नमस्कार’ नै ग्रहण गर्नुभएको छ, हेरौं—

स॒ना॒यु॒वो॒ नम॑सा॒ नव्यो॑ अ॒र्कैर्व॑सू॒यवो॑ म॒तयो॑ दस्म दद्रुः ।
पतिं॒ न पत्नीरु॑श॒तीरु॒शन्तं॑ स्पृ॒शन्ति॑ त्वा शवसावन्मनी॒षाः ॥११॥
—ऋग्वेद (मण्डल १/सूक्त ६२/मन्त्र ११) ॥

पदार्थाः— (सनायुवः) सनातनस्य कर्मणः कर्त्तार इवाचरन्तः (नमसा) नमस्कारेण युक्त्वाः (नव्यः) नवीना युवतयः । अत्र सुपां सुलुक् इति जसः स्थाने सुः । (अर्कैः) मन्त्रैर्विचारैः सह (वसूयवः) आत्मनो वसूनि विद्याधनानीच्छन्तः (मतयः) मन्यन्ते जानन्ति ये ते विद्वांसः (दस्म) अन्धकारोपक्षेतः (दद्रुः) द्रान्ति......अत्र शकन्ध्वादित्वात् पररूपम् ॥११॥

ताँ इ॑या॒नो महि॒ वरू॑थमू॒तय॒ उप॒ घेदे॒ना नम॑सा गृणीमसि । त्रि॒तो न यान् पञ्च॒ होतॄ॑न॒भिष्ट॑य आव॒वर्त॒दव॑राञ्च॒क्रियाव॑से ॥१४॥

पदार्थः— (तान्) (इयानः) प्राप्नुवन् (महि) महत् (वरूथम्) वरं गृहम् (ऊतये) रक्षणाद्याय (उप) (घ) अपि (इत्) एव (एना) एनेन (नमसा) नमस्कारेण (गृणीमसि) स्तुमः (त्रितः) यस्त्रीणी......(अवसे) कामनायै ॥१४॥
—ऋग्वेद (मण्डल २/सूक्त ३४/मन्त्र १४) ॥

त्यसै गरी वाल्मीकि रामायणको अधिकांश स्थलमा ‘नमस्कृताम्, नमस्कृते, नमस्कृतः’ शब्द प्रयोग भएका छन्, जसको सर्वसम्मत अर्थ ‘नमस्कार’ नै सिद्ध हुन्छ ।

तामिमां सर्वभूतानां नमस्कार्यां यशस्विनीम् ॥
—वाल्मीकीय रामायण (अयोध्याकाण्ड/सर्ग ११७/श्लोक १३) ॥

त्यसै गरी महाभारतमा त अनेकौं स्थलमा ‘नमस्कार’ शब्द प्रष्ट रूपमै लेखिएको छ, जस्तै-

वाचा च मनसा चैव नमस्कारं प्रयुज्य सा । देवेभ्यः प्राञ्जलिर्भूत्वा वेपमानेदमब्रवीत् ॥१६॥
—महाभारत (वनर्व/नलोपाख्यानपर्व/अध्याय ५७/श्लोक १६) ॥

त्यसै गरी भगवद्गीताको ९/३४, ११/३१-४० र १८/६५ स्थलमा ‘नमस्कार’ शब्द प्रयोग भएकै छ ।

यी सम्पूर्ण प्रमाणहरूबाट ‘नमस्कार’ र ‘नमस्ते’ शब्द विशुद्ध वैदिक वाङ्गमय हुन् भन्ने कुरा पूर्ण रूपले सिद्ध हुन्छ ।

विश्लेषण :- आर्य सुदर्शन अधिकारी