Saturday, March 3, 2018

‘नमस्कार’ र ‘नमस्ते’ शब्द बीचको विश्लेषण ।



‘नमस्कार’ र ‘नमस्ते’ शब्द बीचको विश्लेषण ।

‘नमस्कार’ र ‘नमस्ते’ मुख्यतः एक अर्कासँग भेट हुँदाखेरि अभिवादन र विनम्रता प्रदर्शित गर्नका लागि प्रयुक्त शब्द हुन् । यस भावको अर्थ यो हो कि- सबै मानिसहरूका हृदयमा दैवीय चेतना र प्रकाश हुन्छ जुन अनाहत चक्र (हृदय चक्र) मा स्थित रहेको हुन्छ । यो शब्द संस्कृतको ‘नमस’ शब्दबाट निस्किएको हो । प्रत्येक व्यक्तिभित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छ जसलाई हामीले आत्मा भन्ने गर्छौं । नमस्कार अथवा नमस्ते गर्दाखेरि एक व्यक्तिले अर्को व्यक्तिको आत्माको अभिनन्दन र नमस्कार गर्दछ । ‘नमस्ते’ र ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि यी दुबैका बीचमा आध्यात्मिक अन्तर देखिन्छ । नमस्कार शब्द चाहिं नमस्ते शब्द भन्दा अधिक सात्विक भएको आभास जस्तो हुन्छ । दैनिकी जीवन यापनमा यी दुबै शब्दहरू भेट हुँदा, बिदा लिंदा, शुभकामनाहरू प्रदर्शित गर्दा अथवा अभिवादन गर्नका लागि प्रयोग हुन्छन्, यसको अतिरिक्त प्रणाम शब्द पनि प्रयोग हुने गर्छ ।

अभिवादन वा आदर पाँच प्रकारबाट गरिन्छ—

प्रत्युथान – कसैको स्वागतमा उठेर उभिनु ।

नमस्कार – दुई हात जोडेर सत्कार गर्नु ।

उपसंग्रहण – मान्यजन, बुजुर्ग, गुरु अथवा शिक्षकको चरण छुनु ।

साष्टांग – खुट्टा, घुँडा, पेट, टाउको र हातको बलले भूमिमा पुरै सुतेर सम्मान गर्नु ।

प्रत्याभिवादन – अभिनन्दनको अभिनन्दनले नै जवाब दिनु ।

‘नमः, नमो, नमोभिः, नमस्ते, नमसः, नमसा’ इत्यादि वचनहरू चारै वेदमा सर्वत्र वैदिक वाङ्गमयको आभूषण बनेर रहेका छन् ।

चारै वेदको ७९ स्थलमा ‘नमसा’ शब्द प्रयोग भएको पाइन्छ । जसको यौगिक अर्थ ‘नमस्कार गर्नु, सत्कार सत्कार गर्नु, आतित्थ्य गर्नु, अन्नपानी दिनु’ भन्ने अर्थ लाग्दछ ।

ऋग्वेदको ६९ स्थलमा, यजुर्वेदको १ स्थलमा, सामवेदको ४ स्थलमा र अथर्ववेदको ५ स्थलमा ‘नमसा’ शब्द प्रयोग भएको छ । चारै वेदका आ-आफ्ना ब्राह्मण ग्रन्थहरू छन् । ऋग्वेदको ऐतरेय ब्राह्मण, यजुर्वेदको शतपथ ब्राह्मण, सामवेदको साम ब्राह्मण र अथर्ववेदको गोपथ ब्राह्मणका नामले चिनिन्छन् । वेद मन्त्रभाग हुन् भने ब्राह्मण ग्रन्थ चाहिं वेदका व्याख्याभाग हुन् । वैदिक कालमै ऋषि-महर्षिहरूले ब्राह्मण ग्रन्थमा वेदका व्याख्यान गरेका हुनाले ब्राह्मण ग्रन्थ विशुद्ध वैदिक वाङ्गमय हुन् । यिनै वैदिक वाङ्गमय ब्राह्मण ग्रन्थमै वेदको व्याख्यान गर्दा ‘नमस्कार’ शब्दलाई विभिन्न तरिकाले प्रयोग गरिएका छन् । ब्राह्मण ग्रन्थ भनेका विशुद्ध वैदिक प्रमाण हुन् ।

ऋग्वेदको ऐतरेय ब्राह्मणमा यसरी लेखिएको छ—

य एवं वेदेदम्पितृभ्यो नमो अस्त्वद्येति नमस्कारवतीमन्ततः शंसति तस्मादन्ततः पितृभ्यो नमस्क्रियते... ॥३७॥
—ऐतरेय ब्राह्मण (पञ्चिका ३/कण्डिका ३७) ॥

त्यसै गरी गोपथ ब्राह्मणको पूर्वभागमा यसरी लेखिएको छ—

प्रजापतिर्वेदानुवाच.....आशीर्य्यन्त सोऽश्वस्तुष्टो नमस्कारं चकार नमः शंयुमाथर्वणाय.....ब्राह्मणम् ॥१८॥
—गोपथ ब्राह्मण (पूर्वभाग/प्रपाठक २/कण्डिका १८) ॥

त्यसै गरी गोपथ ब्राह्मणको उत्तरभागमा यसरी लेखिएको छ—
तान् सदः प्रसृप्स्यन् नमस्करोति, नमो नम इति । न हि नमस्कारमतिदेवाः, ते ह नमसिताः कर्त्तारमतिसृजन्तीति । तत एतं प्रजापतिं यज्ञं प्रपद्यते, नमो नम इति । न हि नमस्कारमतिदेवाः, स.....सर्वान् कामानाप्नोति ॥१८॥
—गोपथ ब्राह्मण (उत्तरभाग/प्रपाठक २/कण्डिका १८) ॥

त्यसै गरी शतपथ ब्राह्मणको दोस्रो काण्डमा यसरी लेखिएको छ—

अथ नीविमुद्वृह्य नमस्करोति । पितृदेवत्या वै नीविस्तस्मान्नीविमुद्वृह्य नमस्करोति यज्ञो वै नमो यज्ञियानेवैनानेतत्करोति षट्कृत्वो नमस्करोति षड्वा ऋतव ऋतवः पितरस्तस्मात्षट्कृत्वो नमस्करोति...॥
—शतपथ ब्राह्मण (काण्ड २/अध्याय ४/ब्राह्मण २/वचन २४) ॥

त्यसै गरी शतपथ ब्राह्मणको सातौं काण्डमा यसरी लेखिएको छ—

यो वै.....विद्वांसमिच्छेत्येतन्नमो देवि निर्ऋते तुभ्यमस्त्विति नमस्कारेणैवैनामपहते ॥
—शतपथ ब्राह्मण (काण्ड ७/अध्याय २/ब्राह्मण १/वचन ९) ॥

त्यसै गरी शतपथ ब्राह्मणको नवौं काण्डमा यसरी लेखिएको छ—
तेषां वा उभयतोनमस्कारा अन्ये । ऽन्यतरतोनमस्कारा अन्ये ते ह ते घोरतरा अशान्ततरा य उभयतोनमस्कारा उभयत एवैनानेतद्यज्ञेन नमस्कारेण शमयति ॥
—शतपथ ब्राह्मण (काण्ड ९/अध्याय १/ब्राह्मण १/वचन २०) ॥

त्यसै गरी शतपथ ब्राह्मणको तेह्रौं काण्डमा यसरी लेखिएको छ—
ब्रह्माऽकृष्णश्च नोऽवत्विति चन्द्रमा वै ब्रह्माऽकृष्णश्चन्द्रमस एवैनम्परिददाति नमोऽग्नय इत्यग्नय एव नमस्करोति ॥
—शतपथ ब्राह्मण (काण्ड १३/अध्याय २/ब्राह्मण ७/वचन ७) ॥

त्यसै गरी प्रामाण्य ग्रन्थमा षड्दर्शन शास्त्रका प्रणेताहरू मध्ये महर्षि जैमिनि प्रणीत ‘मीमांसा दर्शन’ मा लेख्नुहुन्छ—

स्वाहाकार वषट्कार नमस्काराः प्रदानार्था यथान्यत्र ॥५७॥
—कर्ममीमांसा दर्शन (संकर्षणकाण्ड/अध्याय २/पाद २/वचन ५७) ॥

त्यसै गरी महर्षि पतञ्जलि प्रणीत योग दर्शन शास्त्रको सूत्रको व्याख्यामा ‘सूर्य नमस्कार’ को बारेमा त सम्पूर्ण जगत्‌लाई थाहा भएकै कुरो हो ।

त्यसै गरी निरुक्तशास्त्रमा लेखिएको छ—

पदं देवस्य नमसा व्यन्तः ॥
—निरुक्तशास्त्र (४/१९) ॥

त्यसै गरी आश्वलायन गृह्यसूत्रमा लेखिएको छ—

यो नमसा स्वध्वर इति नमस्कारेण वै खल्वपि न वै देवा नमस्कारमति यज्ञो वै नम इति हि ब्राह्मणं भवति ॥
—आश्वलायन गृह्यसूत्र (१/५) ॥

त्यसै गरी महर्षि दयानन्दले सत्यार्थ प्रकाशभित्र प्रथम समुल्लासमै ओंकारको अर्थको व्यख्या गर्ने क्रममा लेख्नुहुन्छ कि—

(वायो ते ब्रह्मणे नमोऽस्तु) ‘बृह, बृहि, वृद्धौ’ यी धातुहरूबाट ‘ब्रह्म’ शब्द सिद्ध भएको छ । जो सबैका माथि विराजमान, सबै भन्दा ठूला, अनन्तबलयुक्त परमात्मा हुन्, उस ब्रह्मलाई हामी नमस्कार गर्दछौं ।

त्यसै गरी एघारौं समुल्लासको वैष्णवमतको समीक्षा अन्तर्गत रुद्रको व्याख्या गर्ने क्रममा लेख्नुहुन्छ— “जो मंगलकारी सबै संसारलाई कल्याण गर्नेवाला हो, उस परमात्मालाई नमस्कार गर्नुपर्दछ ।
त्यसै गरी महर्षिले ऋग्वेदादि भाष्य भूमिकामै पनि संस्कृतमै नमस्कार शब्द प्रयोग गर्नुभएको छ-

उपासनाप्रदोपासनाग्रहीतारौ प्रति परमेश्वरः प्रतिजानीते— (ब्रह्म पूर्व्यम्) यदा तौ पुरातनं सनातनं ब्रह्म (नमोभिः) स्थिरेणात्मना सत्यभावेन नमस्कारैरुपासते, तदा तद् ब्रह्म ताभ्यामाशीर्ददाति— (श्लोकः) सत्यकीर्तिः (वां) (वि) (एतु) व्येतु व्याप्नोतु ।
—ऋग्वेदादिभाष्यभूमिका (उपासना विषय/मन्त्र ५ को व्याख्यामा) ॥

यसै गरी सम्पूर्ण ऋग्वेदादि भाष्यभूमिका भित्र महर्षिले भाषामा २८ चोटि ‘नमस्कार’ शब्दको प्रयोग गर्नुभएको छ ।
त्यसै गरी वेदभाष्य लेखन आरम्भ गर्ने शुरुवातका दिनमै महर्षिले लेख्नुहुन्छ—

“(ब्रह्मानन्त.) जो ब्रह्म अनन्त आदि विशेषणहरूले युक्त छ, जसको वेद विद्या सनातन छ, उसैलाई अत्यन्त प्रेम भक्तिले म नमस्कार गरेर यस वेदभाष्य बनाउनको लागि आरम्भ गर्दछु ।”

त्यसै गरी महर्षि दयानन्दले ऋग्वेदको भाष्य गर्ने क्रममै ‘नमसा’ शब्दको अर्थ गर्दाखेरि पनि ‘नमस्कार’ नै ग्रहण गर्नुभएको छ, हेरौं—

स॒ना॒यु॒वो॒ नम॑सा॒ नव्यो॑ अ॒र्कैर्व॑सू॒यवो॑ म॒तयो॑ दस्म दद्रुः ।
पतिं॒ न पत्नीरु॑श॒तीरु॒शन्तं॑ स्पृ॒शन्ति॑ त्वा शवसावन्मनी॒षाः ॥११॥
—ऋग्वेद (मण्डल १/सूक्त ६२/मन्त्र ११) ॥

पदार्थाः— (सनायुवः) सनातनस्य कर्मणः कर्त्तार इवाचरन्तः (नमसा) नमस्कारेण युक्त्वाः (नव्यः) नवीना युवतयः । अत्र सुपां सुलुक् इति जसः स्थाने सुः । (अर्कैः) मन्त्रैर्विचारैः सह (वसूयवः) आत्मनो वसूनि विद्याधनानीच्छन्तः (मतयः) मन्यन्ते जानन्ति ये ते विद्वांसः (दस्म) अन्धकारोपक्षेतः (दद्रुः) द्रान्ति......अत्र शकन्ध्वादित्वात् पररूपम् ॥११॥

ताँ इ॑या॒नो महि॒ वरू॑थमू॒तय॒ उप॒ घेदे॒ना नम॑सा गृणीमसि । त्रि॒तो न यान् पञ्च॒ होतॄ॑न॒भिष्ट॑य आव॒वर्त॒दव॑राञ्च॒क्रियाव॑से ॥१४॥

पदार्थः— (तान्) (इयानः) प्राप्नुवन् (महि) महत् (वरूथम्) वरं गृहम् (ऊतये) रक्षणाद्याय (उप) (घ) अपि (इत्) एव (एना) एनेन (नमसा) नमस्कारेण (गृणीमसि) स्तुमः (त्रितः) यस्त्रीणी......(अवसे) कामनायै ॥१४॥
—ऋग्वेद (मण्डल २/सूक्त ३४/मन्त्र १४) ॥

त्यसै गरी वाल्मीकि रामायणको अधिकांश स्थलमा ‘नमस्कृताम्, नमस्कृते, नमस्कृतः’ शब्द प्रयोग भएका छन्, जसको सर्वसम्मत अर्थ ‘नमस्कार’ नै सिद्ध हुन्छ ।

तामिमां सर्वभूतानां नमस्कार्यां यशस्विनीम् ॥
—वाल्मीकीय रामायण (अयोध्याकाण्ड/सर्ग ११७/श्लोक १३) ॥

त्यसै गरी महाभारतमा त अनेकौं स्थलमा ‘नमस्कार’ शब्द प्रष्ट रूपमै लेखिएको छ, जस्तै-

वाचा च मनसा चैव नमस्कारं प्रयुज्य सा । देवेभ्यः प्राञ्जलिर्भूत्वा वेपमानेदमब्रवीत् ॥१६॥
—महाभारत (वनर्व/नलोपाख्यानपर्व/अध्याय ५७/श्लोक १६) ॥

त्यसै गरी भगवद्गीताको ९/३४, ११/३१-४० र १८/६५ स्थलमा ‘नमस्कार’ शब्द प्रयोग भएकै छ ।

यी सम्पूर्ण प्रमाणहरूबाट ‘नमस्कार’ र ‘नमस्ते’ शब्द विशुद्ध वैदिक वाङ्गमय हुन् भन्ने कुरा पूर्ण रूपले सिद्ध हुन्छ ।

विश्लेषण :- आर्य सुदर्शन अधिकारी

No comments:

Post a Comment