Saturday, March 3, 2018

होली पर्वको महत्व



होली पर्वको महत्व

सहदेव समर्पित

होली एक सांस्कृतिक उत्सव हो । हाम्रो संस्कृति यज्ञीय रहेको छ । यज्ञको संस्कार मानव मात्रको हृदयमा रहेको छ चाहे त्यो दबेको अवस्थामा नै किन नहोस् । मनुष्य जीवनको यो श्रेष्ठता नै हो कि ऊ आफू बसेको स्थानलाई सुगन्धियुक्त , योग्य र श्रेष्ठ बनाइराख्नको लागि श्रम गरोस् । त्यो स्थान हाम्रो घर हो , हाम्रो समाज हो , हाम्रो पर्यावरण हो । र अलिकति विस्तार पाएर हेर्ने हो भने त्यो स्थान हाम्रो पुरै सृष्टि हो । यसमा जड , चेतन सबै पदार्थ पर्दछन् । परमात्माले सबै प्राणीहरुलाई यो सृष्टि बिना शुल्क सबैलाई उपयोग गर्न दिएका छन् । अन्य प्राणीले यस सृष्टिलाई त्यति दुषित गरेका छैनन् जति कि मनुष्यले यसलाई दुषित गरेको पाइन्छ । मनुष्यले सृष्टिलाई नै विकृत गराएको छ । यस संसारलाई रहन योग्य बनाउने दायित्व नै मनुष्यको हो । यो कार्य मनुष्यकै सामथ्र्यमा रहेको छ । यसलाई स्वच्छ , शुद्ध बनाइराख्नको लागि जति पनि उपाय छन् , तिनको नाम नै यज्ञ हो । त्यसैले हाम्रा विद्वान् पुर्खाले जति पनि सांस्कृतिक पर्व छन् , जति पनि पारिवारिक उत्सव छन् , जति पनि मांगलिक कार्य छन् तिनलाई यज्ञसँग जोडिदिए । ताकि हामी यस संसारको , संसारका समस्त पदार्थहरुको र आफ्नो जीवनको उपयोग पूर्णताका साथ गर्न सकौँ ।
जसरी जसरी कथित प्रयोगहरु भइरहेका छन् , त्यति नै मनुष्य विलासी हुँदै गइरहेको छ । विलास नै विनाशको कारण बनिरहेको छ । यसको अर्थ यो होइन कि भौतिक उन्नति हुनुहुँदैन , अपितु सन्तुलनको आवश्यकता भने रहेको छ । मुनष्यलाई यो ज्ञान हुन आवश्यक छ कि यो सांसारिक उन्नति उसको सहायताको लागि हो । सुविधाको साधन कसका लागि हो ? र जसका लागि हो , उसले के गर्नु पर्छ ? उसको बाँच्ने उद्देश्य के हो ? यो नजानेर नै सुविधाको साधन मनष्यको मित्र होइन शत्रु बन्दछन् । यस सन्तुलनलाई यज्ञको परिभाषामा संगतीकरण भनिन्छ । जसरी नदी–नालाको अन्तिम समायोजन समुद्रमा गएर हुन्छ , त्यसरी नै हाम्रा सबै क्रियाकलापहरुको समायोजन हाम्रो लक्ष्यमा हुन आवश्यक छ । उदाहरणको रुपमा हेर्दा , हामी जे पनि कमाउछौँ , त्यसको उद्देश्य शरिरको पालन पोषण गर्नमा , शरीरद्वारा धर्म ,अर्थ ,काम र मोक्षको लागि पुरुषार्थ गर्नमा हुनपर्छ । तब त्यो कमाइलाई नै यज्ञ भन्न सकिन्छ र यसैलाई नै संगतीकरण भनिन्छ । यो संगतीकरण पाँचवटै यज्ञहरुमा हुन्छ ।
यस सृष्टिको कण कण नै उपयोगी छ । तिनलाई देव नाम दिइएको छ । समयको प्रवाहमा शब्द बद्लिन्छन् र उनको मानी अर्थ पनि बद्लिन्छ । आज देवको सामान्य अर्थ यो बनिसक्यो कि देव भए उसका अगाडि हात जोडेर निस्कनै पर्छ । यो देव शब्द दिवु धातुबाट बनेको छ र त्यसका दश अर्थ रहेका छन् । मोटामोटी रुपमा संसारमा जति पनि उपयोगी पदार्थ छन् , तिनको नाम देव हो । अब यी देव जड पनि छन् , चेतन पनि छन् । सजीव पनि छन् निर्जीव पनि छन् । आज यी सारा देवहरु रिसाएका छन् । हाम्रा भाइहरुलाई लाखौ किलोमिटर टाढा घुमिरहेका ग्रह रिसाएको त चिन्ता हुन्छ परन्तु आफ्ना वरपरका देवता रिसाएको भने पत्तो हुँदैन । भौतिक उन्नति यी देवताहरुलाई कुपित त बनाइरहेको छ । प्रगतिको अन्धो दौडमा भूमि विकृत हुँदै छ , हावा विकृत हुँदै छ , जल दुषित हुँदै छ । हो यो सन्तोषको कुरा हो कि बुद्धिमान् जनहरुलाई यो चिन्ता हुँदै छ कि यी जति पनि विकृति आएको छ , त्यसलाई यदि नसुधार्ने हो भने निश्चय नै विनाश हुनेछ । परन्तु पर्यावरणको शुद्धि वृक्षका पातहरुलाई पानी दिएर होइन , जडाहरुलाई पानी दिएर हुन्छ । पर्यावरणलाई शुद्धि गर्ने महत्वपूर्ण साधन हो हवन । जड देवताहरुका नेता अग्निलाई सबै देवताहरुका नेता अग्निलाई श्रेष्ठ पदार्थ दिनाले त्यो सबै देवताहरुलाई प्राप्त हुन्छ । अग्निलाइ दिए बिना उनीहरु हवीको ग्रहण गर्न सक्दैनन् । यो व्यावहारिक विधि हो । जसँग जे चिजको कमि छ , उसलाई त्यो वस्तु दिनुहोस् । बच्चाले पनि यो कुरालाई जानेको छ । पुष्टि चाहिए पुष्टिकारक पदार्थ दिनुहोस् । दुर्गन्ध हटाउनेभए सुगन्धित पदार्थ दिइयोस् ।
चेतन देवता पनि रिसाएका छन् । बुढापाकाहरुको दुर्गति हुँदै छ । तपाईले कहिल्यै बाँदर देख्नुभएको छ ? खाने चिजहरुका एक ठुलो बाँदरले कब्जा गर्दछ र अरु बसेर हेरिरहन्छन् । के मनुष्य पनि बाँदरको सन्तान हो ? कोही भोकले मर्दै छ र तपाई पकवान बनाएर खाँदै हुनुहुन्छ । कसैको तनमा कपडा छैन , बस्नको लागि झोपडी छैन र तपाई पूर्ण विलासितामा बस्नु भएको छ । यसको समाधान कुनै साम्यवाद होइन , अपितु समाधान यज्ञीय भावना हो । केवलाघो भवति केवलाधी । एक्लै खानेवाला पापी हो । यज्ञ भन्दछ अरुलाई खुवाएर खाऊ । अन्न नै त हो सम्पत्ति ! त्यसैले हाम्रा पूर्वजहरु दुई प्रमुख अन्नको आगमनमा यज्ञको विधान गरेका थिए । दीपावली र होली । पहिला यज्ञ गर र जड देवताहरुलाई खुवाऊ । त्यसपछि चेतन देवताहरुलाई खुवाऊ । तब मात्र सबै देवहरु सन्तुष्ट हुन्छन् । कतै अज्ञान , अभाव र अविद्याको नाम नै रहँदैन र यो सृष्टि हामी बस्नको लागि सुन्दर , पवित्र बनिरहनेछ ।
साभार– शान्तिधर्मी मासिक पत्रिका

(शान्तिधर्मी हिन्दी मासिक पत्रिका स्वामी दयानन्दको वैदिक सिद्धान्तहरुलाई समाजमा प्रचारित गर्ने एक अभियान हो । तपाई पनि यस महान् यज्ञको हिस्सा बन्नु होस् । शान्तिधर्मीक पत्रिकाको सदस्य बन्नको लागि संपर्क गर्नुहोस् । –सहदेव शास्त्री (९४१६२५३८२६) )

No comments:

Post a Comment