मूल लेखक: डा. विवेक आर्य
अनुवाद: प्रेम आर्य
मदर टेरेसाको नाम सुन्ने बित्तिकै प्रायः सबैको मन-मस्तिष्कमा एक नीलो किनारा भएको सेतो धोतिले सिर देखि पाउ सम्म ढाकिएकी, गाला चाउरी परेकी एक वृद्ध महिलाको आकृति झल्किन्छ, जसले मानव मात्रको सेवाका लागि आफ्नो जन्मस्थान त्यागेर जीवन सेवा मै समर्पित गरिदिई। जो रोगी, गरीब तथा असहायहरुको सहारा बनेर हजारौं अनाथ तथा दीन-दुःखी र निराश्रयहरुलाई सहारा दिई। जसलाई यहि सेवाका लागि विश्व शांतिको नोबल पुरस्कार प्राप्त भएको थियो। मदर टेरेसाको बारेमा हामि सबैलाई यत्ति नै थाहा छ किनकि हामीलाई यहि नै जानकारी दिइयो। दिन-दुःखीको सेवा गर्नु अत्यन्त सराहनीय तथा उत्तम कर्म हो, मानव मात्रको नभएर समस्त प्राणीहरुको सेवा गर्नु हरेक मनुष्यको परम कर्तव्य हो, यहि वेदको आदेश पनि छ तर उसको जीवनको पर्दा पछाडीको सत्य भने अर्कै छ, त्यस बारे हामी सबै अहिले सम्म अनभिज्ञ नै छौं। त्यहि सत्यलाई उजागर गर्नु नै यो छोटो लेखको मुख्य उद्देश्य हो।
सत्य जति तितो या टर्रो भए पनि त्यो सत्य नै हुन्छ चाहे त्यो कसै-कसैलाई मन परोस् या नपरोस्। भारत तथा नेपालमा कार्यरत ईसाई संस्थाहरुको मुखौटो सेवा हो भने त्यो मुखौटो भित्रको असली अनुहार भने प्रलोभन, लोभ, लालच, भय र दबाव द्वारा ईसाईकरण गर्नु हो। यसबाट त यही प्रतीतहुन्छ कि जुन सेवा कार्यको नाम मा मिशनरी द्वारा गरिदैछ, त्यसको मूल उद्देश्य ईसामसीहको लागि भेडाहरुको हुल बढाउनु नै हो। संत त्यो हुन्छ जो पक्षपात रहित एवं जसको उद्देश्य मानव मात्र नभएर समस्त प्राणिको भलाई होस्। ईसाई मिशनरीहरुको पक्षपात पूर्ण कर्म यसैबाट बुझ्न सकिन्छ कि तिनीहरुले केवल तिनै रोगि, गरीब, असाहयहरुको मात्र सेवा गर्न चाहन्छन् जसले ईसाई मत ग्रहण गर्न तयार हुन्छन् या तिनलाई उक्त मत स्वीकार गर्न वाध्य पारिन्छ।
मदर टेरेसाको जन्म २६ अगस्त, १९१०मा स्कोप्जे, मेसेडोनियामा भएको थियो। १२ वर्षको कलिलो आयुमा उसलाई “ईश्वरले पुकार्दै छ” भन्ने महसूस गरी रे..! २४ मई १९३१मा ऊ भारतको कलकत्ता शहरमा आई र यहींकी भएर रहन थाली। कलकत्ता आएपछी धन कमाउनको लागि उसले आफ्नै दुकान आरम्भ गरी। दुकान थियो- कलकत्तालाई रोगी र गरीबहरुको शहरको रूपमा बद्नाम गरेर स्वयंलाई तिनीहरुको सेवा गर्ने सेविकाको रूपमा चर्चित गर्नु। यसमा ऊ अंतराष्ट्रीय स्तरमा सुनियोजित ख्याति प्राप्त गर्न सफल पनि भई। ऊ केहि वर्षमा नै “करुणा र सेवाकी देवी”, "दयाकी देवी", "मानवताकी सेविका", "असाहय र गरीबहरुकी उद्धारक", “लार्जर देन लाईफ” भएको छविले प्रसिद्द भई। हुनत उसलाई सदा वेटिकन र मिशनरीज अफ च्यारिटीको सहायताले गरिब तथा विवशतामा पिल्सिएकाहरुलाई प्रलोभनमा पारेर “ईसाई करण” गरेको आरोप नलागेको पनि हैन। सत्य तथ्य त यो छ कि आरोप लगाउनेहरु पनि कुनै हिन्दु संघसंस्था नभएर धेरैजसो पश्चिमा प्रेस या ईसाई पत्रकारहरु नै थिए। यसबाट संदेह अरु अधिक गहीरो भएर जान्छ। आफ्नै देशका गरीब ईसाईहरुको सेवा गर्नुको सट्टा मदर टेरेसालाई भारतका गरीब तथा गैर ईसाईहरुको उत्थानमा यति अधिक रूचि हुनु के सङ्केत गर्दछ? तपाइँहरु स्वयं अनुमान गर्न सक्नुहुन्छ।
मदर टेरेसालाई विश्वका अनेकौं ज्ञात तथा अज्ञात स्रोतहरुबाट निक्कै ठूलो धनराशि दान या चन्दाको रुपमा प्राप्त हुने गर्दथ्यो। सबभन्दा आश्चर्यको कुरो यो छ कि मदर टेरेसाले यस विषय कहिले पनि सोंच्ने कष्ट गरिन कि उसका धनदाताहरुको आयको स्रोत्र तथा प्रतिष्ठा कस्तो थियो । उदहारणको लागि अमेरिकाको एउटा निक्कै नाम चलेको प्रकाशक रबर्ट मेक्सवेल जसले आफ्ना कर्मचारिहरुको भविष्यनिधि कोषमा ६५० मिलियन डलरको घोटाला गरेर त्यसमध्ये मदर टेरेसालाई १.२५ मिलियन डलर चन्दा दियो। मदर टेरेसाले मेक्सवेलको पृष्ठभूमि जान्दथी।
एक पटक हैटीको तानाशाह जीन क्लाऊड डुवालियेले मदर टेरेसालाई सम्मानित गर्नको लागि निमन्त्रण पठायो। मदर टेरेसा कलकत्ता देखि हैटी सम्मान लिन गई। जुन व्यक्तिले हैटीको भविष्य चकनाचुर पारेको थियो। गरीबहरु माथि भयङ्कर अत्याचार गरेको थियो र देशलाई लुटेको थियो। तर टेरेसाले उसलाई “गरीबहरुको उद्धारक ” भनेर प्रसंशाको माला लगाइदिएकि थिई। त्यस्तै मदर टेरेसालाई अर्को चार्ल्स कीटिंग नाम गरेको व्यक्ति बाट १.२५ मिलियन डलरको चन्दा प्राप्त भएको थियो। यो कीटिंग महाशय त्यहि थियो जसले “कीटिंग सेविंग्स एन्ड लोन्स” नामक कम्पनी १९८०मा बनाएको थियो र सर्वसाधारण जनता तथा मध्यमवर्गको लाखौँ डलर हिनामिना गरेको आरोपमा कारागारको दण्ड भोगेको थियो । न्यायालयमा मुद्दाको वहस हुँदा मदर टेरेसाले न्यायाधिस संग कीटिंगलाई क्षमादान दिनको लागि अपील गरेकी थिई। त्यस बेला न्यायधिसले ऊसँग सोधेका थिए कि जुन धन कीटिंगले हिनामिना गरेको छ त्यो धन के तिमीले जनतालाई फिर्ता दिन सक्छ्यौ ? ताकि निम्न-मध्यमवर्गका हजारौं मानिसहरुलाई केहि राहत प्राप्त होस् तर टेरेसा चुपचाप भएकी थिई।
मदर टेरेसाको जीवनको अन्तिम समयमा सुजान शील्ड्सलाई न्युयोर्कको एक बैंकमा पचास मिलियन डलरको रकम जम्मा भएको पाइयो। सुजान शील्ड्सले मदर टेरेसाका साथ सहायकको रूपमा नौ वर्ष सम्म काम गरेकी थिइ। सुजानले नै च्यारिटीमा आएको दान तथा चन्दाको हिसाब-किताब राख्ने गर्दथी। जुन लाखौँ रुपैयाँ गरीब तथा दीन-हीनहरुको सेवामा लगाउनु पर्ने थियो त्यो न्यूयोर्कको बैंकमा त्यतिकै अचल थियो किन?
दान तथा चन्दाबाट प्राप्त हुने पैसाको प्रयोग सेवा कार्यमा शायदै हुँदोहो ! यस बारेमा कलकत्ताका निवाशी अरूप चटर्जीले आफ्नो पुस्तक "द फाइनल वर्डिक्ट" मा राम्रो संग लेखेका छन् । उनि लेख्छन् – ब्रिटेनको प्रसिद्ध मेडिकल पत्रिका Lancet का सम्पादक डा. रबिन फक्सले १९९१ मा एक पटक टेरेसाको कलकत्ता स्थित च्यारिटी अस्पतालहरुको भ्रमण गरेका थिए। उनले भ्रमण गर्दा के पाए भने – बालबालिकाहरुको लागि साधारण एनल्जेसिक औषधि सम्म पनि त्यहाँ उपलब्ध थिएन र स्टर्लाइज्ड सिरिंज को पनि उपयोग भैरहेको थिएन। जब यसबारेमा टेरेसा संग सोधियो, उसको उत्तर सुनेर डाक्टरको होसै उड्यो, उसले भनि कि “यी बालबालिकाहरु त केवल मेरो प्रार्थनाले नै ठीक हुन्छन्"। मिशनरीमा भर्ती भएका आश्रितहरुको अवस्था पनि त्यतिका धन पाउँदा पनि उनको स्थितिमा कुनै सुधार भएको थिएन। मिशनरीमा काम गर्ने नन पनि अरुका लागि औषधि भन्दा अधिक प्रार्थनामा विश्वास राख्दथे तर स्वयं भने कलकत्ताका महँगा र सुविधा युक्त अस्पतालमा उपचार गराउन जाने गर्दथे। मदर टेरेसा स्वयं पाटेघरको क्यान्सरले पिडित थिई, जसको उसले अमेरिकामा गएर अप्रेसन गराएकी थिई। मिशनरीको एम्बुलेन्स पनि बिरामीहरुको लागी भन्दा अधिक नन आदिलाई एक स्थानबाट अर्को स्थानमा आउन-जानको लागि प्रयोग हुने गर्दथ्यो। सायद यिनै केहि कारणले गर्दा होला मदर टेरेसाको शवयात्रामा कलकत्ताका स्थानीय निवाशीहरुको उपस्थिति शून्य बराबर थियो।
मदर टेरेसा आफ्नो रुढीवादी विचारको लागि सदा चर्चित रहन्थी। सन् १९७१ मा ‘बङ्गलादेश मुक्ति सङ्ग्राम’ का बेला लगभग साढे चार लाख महिलाहरु बेघर भएका थिए र ति भागेर कलकत्ता आइपुगेका थिए। ति मध्ये धेरैजसो महिलाहरु पाकिस्तानी र तिनका समर्थकहरु द्वारा बलात्कृत भएका थिए जसको कारणले ति गर्भवती भएका थिए। मदर टेरेसाले ति महिलाहरुको गर्भपातको विरोध गर्दै भनेकी थिई कि “जुनसुकै अवस्थामा पनि गर्भपात क्याथोलिक परम्पराको विरुद्ध छ र यी महिलाहरुको गर्भावस्था परम प्रभूको एक ‘पवित्र आशीर्वाद’हो।” मदर टेरेसाको यसै कारणले निक्कै आलोचना पनि भएको थियो।
मदर टेरेसाले भारतमा सन् १९७५-१९७७ का विच इन्दिरा गाँधी द्वारा लगाइएको अमानवीय, अलोकतान्त्रिक एवं असंबैधानिक कदम सङ्कटकालको जमेर प्रशंसा गर्दै भनेकी थिई कि “सङ्कटकाल लगाउनाले जनता खुशी भएका छन् र बेरोजगारीको समस्या हल भएको छ ।” गाँधी परिवारले उसको यहि चाटुकारिताका लागि “भारत रत्न”को सम्मान दिएर उसको “ऋण” उतारेको थियो। ३ डिसेम्बर सन् १९८४ मा भएको भारतको भोपाल ग्यास त्रासदी इतिहासकै सबभन्दा भयानक तथा विभत्स औद्योगिक दुर्घटना थियो, जसमा तत्कालिन सरकारी अत्थ्यांक अनुसार ४००० भन्दा अधिक मानिसहरु मारिएका थिए तर यथार्थ यो भन्दा अधिक विभत्स थियो, ८००० मानिसहरुको मृत्यु त दुई सप्ताह भित्रै भएको थियो र लगभग ८००० मानिसहरु उक्त ग्यासको कारणले फैलिएको रोगका कारणले मरेका थिए ५,५८,१२५ जना मानिसहरु यसबाट सिधा प्रभावित भएका थिए। अझैं पनि त्यस दुर्घटनाको कुप्रभाव त्यहाँका जनताले अप्रत्यक्ष रुपमा झेल्दै छन्, त्यो प्रष्ट संग देख्न सकिन्छ। त्यसबेला मदर टेरेसाको फटाफट कलकत्ताबाट भोपाल सवारी भएको थियो केका लागि? के प्रभावितहरुको सहायता गर्नका लागि? अहँ, ति बेसहारा, विवस तथा विषाक्त ग्यासको पिडामा छटपटाइ रहेकाहरुको सहायता गर्न हैन कि उक्त दुर्घटनाका लागि जिम्मेवार कम्पनि - यूनियन कार्बाईड परिवार र त्यसको संचालक वारेन एन्डरसनलाई क्षमादान दिनको लागि दवाफ सिर्जना गर्न आएकी थिई। र अन्ततः यहि भयो पनि वारेन एंडरसनले आफ्नो बाँकी जीवन अमेरिकामा २९ सेप्टेम्बर, २०१४ सम्म आराम संग बितायो। भारत सरकारले यसका कुनै पनि दोषीलाई दण्ड दिन सकेन, छैन त विडम्बना..?
अंतर्राष्ट्रीय ख्याति प्राप्त पत्रकार बेलायति नागरिक क्रिस्टोफर हिचेन्सले सन् १९९४मा ‘नर्क की देवी’ (Hell’s Angel) नामक एउटा लघु चलचित्र बनाएका थिए जसमा मदर टेरेसाका सबै क्रियाकलापहरुका बारेमा विस्तार पूर्वक प्रकाश पारिएको छ। यो चलचित्र ब्रिटेनको एक टिभी प्रशारण-च्यानल फोर मा प्रदर्शित पनि भएको थियो र यसले निक्कै लोकप्रियता आर्जित गरेको थियो। पछी आफ्नो कलकत्ता प्रवासको अनुभव सँगालेर उनले एउटा पुस्तक पनि लेखेका छन् जसमा उनले भनेका छन् कि “क्याथोलिक समुदाय विश्वको सबभन्दा शक्तिशाली समुदाय हो। यसलाई पोपले नियन्त्रित गर्दछ, च्यारिटी चलाउनु, मिशनरिहरु चलाउनु र तथाकथित् धर्मान्तरण गराउनु आदि यिनका प्रमुख काम हुन् ।” सर्वविदित नै छ कि मदर टेरेसालाई टेम्पलटन सम्मान, नोबल सम्मान, मानार्थ अमेरिकी नागरिकता जस्ता कैयौं सम्मान यहि कारणले प्राप्त भएका हुन् ।”
यही मदर टेरेसा सन् १९९४मा दिल्लीमा दलित ईसाईहरुका लागि आरक्षणको समर्थन गर्नको लागि धर्नामा बसेकी थिई। तब तत्कालीन मंत्री सुषमा स्वराजले ऊसँग प्रश्न गरेकी थिइन् कि के टेरेसाले दलित ईसाई जस्ता उद्बोधनको रूपमा चर्चमा जातिवादको प्रवेश गराउन चाहन्छे? सन् १९४७ मा भारत स्वाधीन हुँदा महाराष्ट्रमा अनेकौं मिशनका चर्चहरु आर्यसमाजले खरीद गरेको थियो किनकि तिनको सञ्चालन गर्ने जति सबै ईसाईहरु बेलायत फर्केका थिए। केहि दशक पश्चात ईसाईहरुले उक्त सम्पत्तिलाई पुनः प्राप्त गर्नको लागि आर्यसमाज संग खरिद गर्न दबाव दिएका थिए। आर्यसमाजका पदाधिकारीहरुले बेच्न मानेनन् र मदर टेरेसाले आर्यसमाजका पदाधिकारिहरुलाई पछी हेरौंला भन्ने धम्कि दिएकी थिई; कस्ती चमत्कारिक संत थिई ऊ, हैन ?
मदर टेरेसा जहिले पनि बिरामी हुँदा उसलाई अत्याधुनिक सुविधा सम्पन्न कर्पोरेट अस्पतालमा नै भर्ती गर्ने गरिन्थ्यो। उसलाई सधै अति महँगो उपचार उपलब्ध गराइन्थ्यो। यही उपचार यदि उसले ति अनाथ र गरीब बालबालिकाहरु (जसको नाउमा उसलाई लाखौँ डलरको चन्दा प्राप्त हुने गर्दथ्यो) का लागि पनि उपलब्ध हुन्थ्यो भने कुनै कुरो थिएन तर विडम्बना नै भनौं यस्तो कहिले पनि भएन। एक पटक क्यान्सरको भयङ्कर पीडाले छटपटाइ रहेको एउटा रोगि संग उसले भनी “तिम्रो पिडा ठीक त्यस्तै छ जस्तो ईसा मसीहलाई सूलीमा चढ्दा भएको थियो, शायद महान मसीहले तिमीलाई मायाँले चुम्दै छन् ।” तब उक्त रोगीले भने कि “प्रार्थना गर्नुस् कि जति हुन्छ सिघ्र ईसाले मलाई चुम्न बन्द गरुन”।
मदर टेरेसाको इहलिला समाप्त भए पश्चात पनि चन्दाको व्यापार चल्दैछ र लाटा-सोझा ति विवश हिन्दुहरुलाई धर्मान्तरण गर्नको लागि सहायता मिलोस् भनेर अर्को एउटा नयाँ नाटक रचियो। पोपजोनपोल द्वारा टेरेसालाई “सन्त” घोषित गर्नमा निक्कै हतार गरियो। सामान्य रूपले संत घोषित गर्नको लागि जुन पाँच वर्षको समय (चमत्कार र पवित्र असरका लागि) आवस्यक हुन्छ, पोपले त्यसमा पनि भारि छुट दियो। पश्चिम बंगालकी एक क्रिश्चियन आदिवासी महिला जसको नाम मोनिका बेसरा थियो। उनलाई क्षय रोग र पेटमा ट्यूमर भएको थियो। बेलूरघाटका सरकारी अस्पतालमा कार्यरत डा. रंजन मुस्ताफ उनको उपचारमा खटिएका थिए। उनको उपचारले मोनिकालाई निक्कै लाभ हुँदै थियो र एउटा रोग त लगभग ठीक पनि भएको थियो। अचानक एक दिन मोनिका बेसराले आफ्नो घाँटीमा झुन्डिएको लकेटमा मदर टेरेसाको तस्वीर देखी र उसको ट्यूमर पूर्ण रुपले ठीक भयो। मिशनरी द्वारा मोनिका बेसरा ठीक भएको चमत्कार एवं मदर टेरेसालाई संतको रूपमा प्रचारित गर्ने बहाना पाइयो। यो चमत्कारको हावादारी कुरा सबैको बुझाइ भन्दा पर छ। जुन मदर टेरेसाको जीवनमा अनेकौं पटक विलाशी अस्पताल र विशेषज्ञ चिकित्सकहरुको आवश्यकता पर्दथ्यो, त्यसैको कृपाले, त्यसैको नाममा प्रार्थना गर्नेहरुलाई बिना औषधि केवल आशिर्वाद तथा चमत्कारले ठीक हुने हावादारी गफ गर्नु र मान्नु मूर्खताको पराकाष्ठा नै हो। यदि कुनै हिन्दु बाबाले चमत्कार द्वारा कुनै रोगीको रोग ठीक पारेको र गर्ने आत्मविश्वास प्रकट गर्दछ भने यी निरपेक्षतावादी लेखक र चिन्तक तथा चाटुकारहरुले त्यसको निक्कै खिल्ली उडाउने गर्दछन्। तर जब कुनै पढे-लेखेको ईसाई समाजले ईसामसीह देखि अन्य ईसाई मिशनरिहरु द्वारा चमत्कार हुने एवं त्यस संग सम्बंधित मिशनरीलाई संत घोषित गरेको महिमा-मण्डन गर्दछ भने त्यसलाई कुनै पनि निरपेक्षतावादी लेखक तथा चिन्तकले कानेखुशीमा पनि यसकिसिमको तमाशालाई अन्धविश्वास हो भन्ने साहस गर्दैन; किन? किनकि तिनीहरु मानसिक दासतामा बाँच्दै छन्..!
जब मोरारजी देसाईको सरकारमा सांसद ओमप्रकाश त्यागी द्वारा धर्म स्वातंत्रय विधेयकको रूपमा धर्मान्तरणका विरुद्ध विधेयक पेश भयो तब यहि मदर टेरेसाले प्रधानमंत्रीलाई पत्र लेखेर यस विधेयकको विरोध गरेकी थिई र भनेकी थिई कि यदि हामीलाई आफ्नो ईसाई मतको प्रचार गर्नमा रोक लगाउने हो भने हामीले समस्त समाज सेवाका गतिविधिहरु जस्तै- शिक्षा, स्वास्थ्य, रोजगार तथा अनाथालय आदि बन्द गर्नेछौं। तब प्रधान मंत्री देसाईले भनेका थिए यसको अर्थ यो बुझ्नु पर्ने भयो कि ईसाईहरु द्वारा गरिने समाज सेवा केवल एक देखावटी मात्र हो। उनको असली प्रयोजन त धर्मान्तरण नै हो। भारतका तत्कालीन प्रधान मंत्रीको यो उत्तरले ईसाई समाजको सेवाको आडमा गरिने धर्मान्तरणलाई उजागर गर्दछ।
यो लेख पढेर हिन्दुहरुको धर्मान्तरण गर्ने र गराउनमा सहायता गर्ने नर्क कि देवी- मदर टेरेसालाई क-कसले संत मान्न चाहनु हुन्छ ?
ओ३म् शम्...
No comments:
Post a Comment