Saturday, September 1, 2018

योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी



योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी
इतिहासमा अनेकौं मनुष्यहरु उत्पन्न भए र गए पनि तर स्मरणमा भने केवल केहि विशिष्ठ गुण सम्पन्न मानिसहरु मात्र रहन्छन्। इतिहासमा केवल तिनीहरुको लागि नै स्थान हुन्छ जसले केहि अनौठो गर्दछन्। कसैले भने आँफै द्वारा गरिएको दुष्कार्यको परिणाम स्वरूप आफ्नो नाम इतिहासको कालो अध्यायमा दर्ता गर्दछन् भने कसैले आफ्ना सद्गुण, सुलक्षण तथा महान कर्तव्यले आफ्नो नाम इतिहासको सुनौलो पानामा अंकित गर्दछन्। त्यस्तै आज राम, कृष्ण र हनुमान जस्ता वीर तथा सुलक्षण नाम आफ्ना पुत्रको त जसले पनि राख्न चाहन्छ तर रावण, कंस आदि जस्ता दुराचारी र दुर्गुणिहरुको नाम भने आफ्ना पुत्रको लागि कसैले पनि राख्न चाहदैन। त्यसै कारणले राम, कृष्ण तथा हनुमान अमर छन् भने रावण तथा कंस आदि मृत छन्।
आर्यावर्तमा उत्पन्न भएका अनेकौं ऐतिहासिक महापुरषहरु मध्ये एक वीर महापुरुष, महाज्ञानी, वेदवेत्ता योगेश्वर श्री कृष्णको जन्म आजकै दिन भएको थियो। यो दिन जन्माष्टमीको नामले प्रसिद्ध छ। किनकि आज भाद्रपदको अष्टमी तिथि हो।
हामी मध्ये कै केहिले आफ्नो अज्ञानताको कारणले श्री कृष्णलाई पूर्ण अवतारी पुरुष मान्ने गर्दछौं। यहाँ हामी अवतारको अर्थ संक्षेपमा भन्न चाहन्छौं, “अवतार” को शाब्दिक अर्थ हुन्छ- “माथिबाट तल अवतरण गरेको या ओर्लेको झरेको” जे भने पनि र “पूर्ण” यस हेतुले भन्छन् कि जसमा कुनै कुराको पनि केहि अधुरो नभएको र “पुरुष” शब्दको दुईवटा अर्थ छन्:
१- पुरुष सामान्य अर्थमा अल्पज्ञ र अल्पशक्तिमान जीवात्मालाई पनि भनिन्छ। र
२- पुरुष शब्दको प्रयोग प्रसंग अनुसार सर्वज्ञ तथा सर्वशक्तिमान परमात्माको लागि पनि गरिन्छ जसले यो सम्पूर्ण ब्रह्माण्डको रचना, धारण र प्रलय आदि पुरषार्थ गर्ने गर्दछ।
हामी जस्ता सबै जीवात्माहरु जो यस धरतीमा र अन्य लोकलोकान्तरमा विचरण गर्दैछन् ति सब अवतारी हुन्। किनकि हामी सबै माथिबाट तल आएका हौँ। शरीर छोडेपछी आत्मा यमलोक- यम वायुको नाम हो अतः ईश्वरको सहायताले आत्मा वायुलोक अर्थात् अंतरिक्षमा जान्छ र त्यहाँबाट तल अवतरण गर्दछ। हामी मध्ये जो जो आत्माको उद्देश्य पूर्ण हुँदैन अर्थात मोक्ष ग्रहण गर्न योग्य गुणलाई धारण गर्न सक्दैनौं त्यसैले हामी आवागमन अर्थात् जन्म-मृत्युको चक्रमा फसिरहन्छौँ। अतः यहि कारण हो कि हामी अवतार हुँदा हुँदै पनि मृतप्रायः रहन्छौं अमर अर्थात् मोक्षत्व प्राप्त गर्न सक्दैनौं।
अब कुरो गर्दछौं श्री कृष्णलाई १६ कलाहरुले युक्त पूर्ण अवतारी पुरुष किन भनिन्छ भन्ने बारे। हाम्रा पौराणिक दाजु-भाइहरुले सर्वप्रथम यो तथ्यलाई राम्रो संग सम्झनु पर्दछ कि परमपिता परमात्मा जो पुरुष हो, त्यो अनेकौं कलाहरु र विद्याहरुले पूर्ण छ। तर जीवात्मा पुरुष अल्पज्ञ हुनाले केहि कलाहरुमा मात्र निपुण छ। यही एउटा सबभन्दा ठूलो कारण हो कि जीव कदापि कुनै पनि हालतमा ईश्वर हुन सक्दैन र त्यस्तो मान्नु पनि हुँदैन। किनकि ईश्वरका समस्त गुणहरुलाई आत्मसात गर्नु जीवको प्रमुख दायित्व हो त्यसैले योगिराज श्री कृष्णले योग र ध्यानको माध्यमले ईश्वरका यिनै १६ गुणहरु (कला) लाई प्राप्त गरेका हुनाले उनलाई १६ कलायुक्त पूर्ण अवतारी पुरुष भनिन्छ।
यी १६ कलाहरु यस प्रकार छन्:
इच्छा, प्राण, श्रद्धा, पृथ्वी, जल, अग्नि, वायु, आकाश, दश इन्द्रिय, मन, अन्न, वीर्य, तप, मन्त्र, लोक र नाम यी १६का स्वामीलाई प्रजापति भनिन्छ।
यी प्रश्नोपनिषदमा प्रतिपादित छन्।
योगेश्वर श्री कृष्णले योग र विद्याको माध्यमबाट यी १६ कलालाई आत्मसात गरेर धर्म र राष्ट्रको रक्षा गरेर आर्यवर्तका निवासिहरुका लागि उनि आदर्श महापुरष बने। ठीक त्यसै गरि जसरि उनि भन्दा पहिलेका अनेकौं महापुरषहरुले राष्ट्र, धर्म र मनुष्य जातिको रक्षा गरेका थिए। श्री कृष्णले आफ्ना उत्तम कर्म र योगको माध्यमले यी समस्त १६ गुणहरुलाई आत्मसात गरेर आत्माको उद्देश्य पूर्ण गरे त्यसैले उनलाई पूर्ण अवतारी पुरुषको संज्ञा अनेकौं विद्वानहरुले दिए तर कालांतरमा पौरणिकहरुले यिनलाई ईश्वरको नै संज्ञा दिएर उनीमाथि अन्याय तथा ईश्वरको अपमान गरिदिए जुन अत्यन्त खेदजनक छ।
ईश्वर र जीव अलग अलग कसरि हुन् भन्ने कुरो यहाँ सिद्ध गरिन्छ हेर्नुहोस्:
यस्मान्न जातः परोअन्योास्ति याविवेश भुवनानि विश्वा।
प्रजापति प्रजया संरराणस्त्रिणी ज्योतींषि सचते स षोडशी।
(यजुर्वेद अध्याय ८ मन्त्र ३६)
अर्थ : गृहाश्रमको इच्छा भएका पुरुषहरुले सदा जो सर्वत्र व्याप्त, सब लोकलोकान्तरको रचना र धारण गर्ने वाला, दाता, न्यायकारी, सनातन अर्थात सदा यस्तै बनिरहने, सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरुबाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान परमात्मा जसका समक्ष तथा जसको सामान कुनै पनि पदार्थ उत्तम छैनन्, त्यसैको उपासना गर्ने गर्नु।
यहाँ मन्त्रमा “सचते स षोडशी” पुरुषका लागि आएको छ, पुरुष जीव र परमात्मा दुवैलाई नै सम्बोधन छ र दुवैमा नै १६ गुण धारण गर्ने शक्ति छ तर ईश्वरमा यी १६ गुणका साथ अनेकौं विद्याहरु यथा: (त्रीणि) तीन (ज्योतिषी) ज्योति अर्थात सूर्य, बिजुली र अग्निलाई (सचते) सब पदार्थहरुमा स्थापित गर्दछ। यो काम जीव पुरुषको कदापि हुन सक्दैन। न त जीव पुरुषले गर्न नै सक्छ किनकि जीव अल्पज्ञ र परिछिन्न छ भने ईश्वर सर्वज्ञ र विभू छ। यहि हेतुले जीव पुरुष जो गृहाश्रमको इच्छा गर्ने वालालाई ईश्वरले १६ कलाले आत्मसात गरेर मोक्ष प्राप्तिका लागि वेद ज्ञान द्वारा प्रेरणा दिएको छ ताकि यो जीव पुरुषले उस परम पुरुषको उपासना गरिरहोस्।
ठीक त्यस्तै १६ कला पूर्ण अवतारी पुरुष योगेश्वर श्री कृष्णले उस सत, अविनाशी, चैतन्य र आनंदमय, नित्य शुद्ध बुद्ध मुक्तस्वभाव र सब पदार्थहरु बाट अलग रहने वाला, सूक्ष्म भन्दा अतिसूक्ष्म र विशाल भन्दा अत्यन्त विशाल, सर्वशक्तिमान, परम पुरुष परमात्माको उपासना गर्ने गर्दथे।
अब स्वयं सोचौं र विचार गरौँ त, जो पुरुष (जीव)ले यी १६ कला (गुण) लाई योग माध्यम द्वारा प्राप्त गर्न सफल भयो, के उसले ‘रास लिला’ गर्न सक्ला? के कुनै गोपिनीहरुका साथ अश्लील कार्य गर्न सक्ला? के कुनै कुब्जाका साथ समागम गर्न सक्ला? के आफ्नी पत्नीका अतिरिक्त कुनै अन्य स्त्रीका साथ सम्बन्ध बनाउन सक्ला? के कुनै अश्लीलता पूर्ण कार्य गर्न सक्ला? अहँ, कदापि गर्दैन किनकि जसले यी कला (गुण) हरुलाई आत्मसाथ गर्दछ तब मात्र ऊ पूर्ण मानिन्छ र जसले यी १६ कलाहरु अपनाए पछी पनि यस्ता लज्जाजनक कार्य गर्दछ भने त्यसलाई कामी तथा निर्लज्ज पुरुष नै भनिन्छ; पूर्ण अवतारी पुरुष हैन।
त्यसैले श्री कृष्णको सच्चा स्वरुप अपनाएर आफ्ना बालबालिकाहरुलाई पनि श्री कृष्ण जस्तो वैदिक धर्मी बनाउने प्रण गरौँ।
आउनुहोस्, हामी पनि यी गुणहरुलाई अपनाएर श्री कृष्ण समान स्वयंलाई अमर गरौँ। हामीले कथंकदाचित १६ कला अपनाउन नसके पनि वेद पाठी भएर केहि उन्नति अवस्य गर्न सकौं।
सदा सत्यलाई अपनाउने र असत्यलाई त्याग गर्ने साहस गरेर योगेश्वर श्री कृष्णको जन्मदिवसको पावन पर्व ‘जन्माष्टमी’ मनाऔं।
मेरा समस्त इष्ट-मित्र तथा बन्धु-बान्धवहरुलाई जन्माष्टमीको हार्दिक शुभकामना छ..!
वेदको सुखदायी तथा मोक्षमार्ग तिर लागौं..! अस्तु..
सबको मनमा अभय - वैदिक धर्मको जय..!
योगेश्वर महाराज श्री कृष्णको जय..!
धन्यवाद
नमस्ते।

Saturday, August 4, 2018

वेद र पुराण मा भिन्नता




वेद र पुराण मा भिन्नता: -
१)      वेद सनातन ईश्वरीय वाक्य हो, तर पुराण सृष्टि उत्पन्न भए पश्चात समय-समय मा मनुष्य द्वारा रचना गरिएका हुन्.
२)      वेद बुद्धि, सृष्टिक्रम र सत्य ज्ञान अनुकुल छ, तर पुराणमा हज्जारौं वाक्य, प्रसंग र घटना हरु बुद्धि, सृष्टिक्रम र सत्य ज्ञान को प्रतिकुल छन्.
३)      वेदानुसार अनुकुल ज्ञान द्वारा मात्र मोक्ष प्राप्त हुने कुरो छ, तर पुराण मा १८ पुराण, राम, कृष्ण, तुलसी, सालिग्राम आदिको केवल नामोच्चारण तथा गंगादि स्नान र हरिद्वारादी यात्रा गर्नाले मात्र मोक्ष हुने कुरो लेखीएको छ.
४)      वेदमा केवल एकेश्वरोपसना विधि को आज्ञा छ, तर पुराण मा नाना थरि देवी-देवता तथा जड वस्तुको पुजन को विधि छ.
५)      वेदानुसार मनुष्यको मृत्यु पश्चात उसको शुभ-कर्म मात्र सहायक हुन्छ, तर पुरणमा पुत्र, पौत्रादी द्वारा गया-श्राद्ध-पिण्डदान दिनु पनि सहायक मानिएको छ.. .
६)      वेदमा ईश्वरको आदेश छ, वेदाध्यन समस्त मानव को अधिकार हो, तर पुराण मा स्त्री र सुद्र लाइ वेद अध्ययन गर्ने आग्याँ छैन .
७)      वेदानुकुल ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास यी चार आश्रमद्वारा शुभ कर्म गर्दै जीवन व्यतित गर्ने व्यवस्था छ, पुराण मा यी आश्रम को चर्चा त छ तर “अष्ट वर्षा भवेत् गौरी, नव वर्षा च रोहिणी, दस वर्षा भवेत् कन्या” का अनुसार बिवाह गरेर ब्रह्म्चर्याश्रम लाइ कलंकित गरिएको छ, यसैकारण ले अन्य आश्रम को सत्यानाश भयो.. .
८)      वेद मा ब्रह्म्चर्याश्रम पश्चात गुण-कर्म-स्वभावानुसार नै बर-बधु छानेर बिबाह गर्ने परिपाटी छ तर पुराण मा ग्रह-नक्षेत्र-राशी र कुण्डली मिलाएर बिबाह गर्ने आदेश छ.. .
९)      वेदमा दैनिक पञ्च-यज्ञ गर्ने आज्ञा छ, तर पुराण मा अतिरिक्त नाना प्रकारका कपोलकल्पित मन्त्र जप र अनेकौं पूजा विधि को ठूलो महात्म्य र जटिल बिधान छ .. .
१०)  वेद मा केवल साँझ-बिहान दुई काल सन्ध्या र एक गायत्री मन्त्र को उपदेश छ..तर पुराण मा बिहान, दिउँसो र साँझ त्रिकाल सन्ध्या तथा २४ गायत्री मन्त्र को विधान छ.. .
११)  वेदमा गुण-कर्म र स्वभावानुसार वर्ण नियत गर्ने आज्ञा छ, तर पुराण मा जन्मजात वर्ण व्यवस्था कायम छ .
१२)  वेदमा मदिरा लगायत समस्त लागू पदार्थ (जुन पदार्थ ले वुद्धि भ्रष्ट गर्छ) र मांस भक्षण निषेध छ तर पौराणिक बन्धु हरु यज्ञ मा विभिन्न निर्दोष पशु-पंक्षी काटेर होम गर्ने, देवी को नाउमा बलि चढाउने र अष्टमी को प्रसाद भनेर ब्राह्मण ले पनि मासु खाने र देवता लाइ भोग लगाउने विधि छ .
१३)  वेद मा चोरी, जारि र हिंशा गर्नु दुष्कर्म मानिएको छ, तर पुराणका ठूला ठूला देवता नै यस्ता कर्म गर्न तछाड मछाड गर्छन् .
१४)  वेदमा उत्तम सत्संग गर्नु, वेदाध्ययन गर्नु, ज्ञान प्राप्त गर्नु र आचरण सुधार्नु नै तिर्थ मानिएको छ, तर पुराण मा कुनै स्थान र नदि बिशेष लाइ तिर्थ मानिएको छ. .
१५)  वेदमा सत्यादी नियम पालन गर्नुलाई नै तप मानिएको छ तर पुराणमा एकान्त मा ठूला ठूला मूढा बालेर धूनी लगाएर ताप्नु लाइ नै तप मानिएको छ.. .
१६)  वेद मा नियम पालन गर्नु लाइ नै ब्रत मानिएको छ, तर पुराण मा भोक भोकै बस्नु लाइ व्रत मानिएको छ.
१७)  वेद मा स्त्री-पुरुष एकान्त मा सम्भाषण गर्ने अनुमति छैन, तर पुराण मा स्त्री लाइ चेली बनाइ गुरुको सेवा तथा एकान्त मा लगेर तथाकथित् गुरु मन्त्र दिइन्छ .
१८)    वेदानुकुल कर्म फल सबलाई बराबर हुन्छ, पुराण अनुसार पुत्र-पौत्रादी को कर्म ले पनि पाप तर्ने विधान छ.
१९)  वेदानुसार मनुष्यको आयु सर्वाधिक ४०० वर्ष को छ, तर पुराण मा ११ अरव वर्ष सम्म को आयु लेखिएको छ.. .
२०)  वेदमा ईश्वर सच्चिदानन्दस्वरूप, निराकार, सर्वशक्तिमान, न्यायकारी, दयालु, अजन्मा, निर्विकार, अनन्त, अनादि, अनुपम, सर्वाधार, सर्वेश्वर, सर्वव्यापक, सर्वान्तर्यामी, अजर, अमर, अभय, नित्य, पवित्र, सुद्ध, वुद्ध ,मुक्त, शुभाशुभ कर्म को फल दाता आदि लक्षण युक्त मानिएको छ, तर पुराण मा ईश्वर साकार, निराकार बिकार युक्त मानिएको छ र स्वयं को रक्षार्थ कच्छ, मच्छ, र वराहादि अवतार लिने गर्छ.. .
२१)  वेदमा ईश्वरलाई सर्वशक्तिमान मान्दै आफ्नो सामर्थ्य ले सर्व कार्य स्वयं गर्छ तर पुराण मा ईश्वर को चरित्र मा दाग लगाइएको छ किनकि कतै दुस्कर्म को फल भोग्न पृथ्वीमा जन्म लिने गर्छ भने कतै आफ्नो भक्त को रक्षार्थ पृथ्वीमा बिबिध अवतार लिनु पर्छ जस्तै- प्रल्हाद को रक्षा गर्न नराशिंह. राजा बलि लाइ छल गर्न वामन, पृथ्वी लाइ रसातल बाट निकाल्न वराह र समुद्र मथ्न को लागि कक्षुवा आदि.. .
२२)  वेद मा एक पत्नी र एक पतिव्रता रहने आदेश छ तर पुराणमा कुनै सिमा छैन जस्तै कृष्ण को १६१०८ स्त्री लेखिएको छ ..
यी सबै पाखण्ड र दुराचार वेद छोडेर पुराण जस्ता दुषित ग्रन्थ को अध्ययन को परिणाम हो..त्यसैले आउनुहोस् वैदिक मार्ग मा अधि बढौं..सब असत्य छोडेर एक मन ले सत्य अपनाउँ..यसैमा सबको कल्याण छ.. .
नमस्ते..

मेरा मित्र - दलित विचारकहरु हो ! भगवान मनुलाई बुझ्ने प्रयास गर:





मेरा मित्र - दलित विचारकहरु हो ! भगवान मनुलाई बुझ्ने प्रयास गर:
भगवान स्वायम्भुव मनु मानव जातिका प्रवर्तक हुनुका साथै अखिल विश्वको प्रथम राजा थिए उनको कालजयी ग्रन्थ ‘मनिस्मृति’ संसारकै पहिलो मानवीय कृति तथा विश्वको प्रथम संविधान हो विश्वका सबै देशको शासन पद्धति मा यस महान ग्रन्थ को प्रत्यक्ष वा परोक्ष छाप रहेको छ करोडौं वर्ष सम्म सर्वमान्य यो ग्रन्थमा मध्यकाल तिर मानव का शत्रु संस्कृतज्ञहरुले अनेक यस्तो प्रक्षेप (मिलावट) गरे जसबाट विशुद्ध वैज्ञानिक कर्मणा वर्ण व्यवस्था जन्मना जाति व्यवस्था एवं घृणा,द्वेष, भेदभाव उत्पन्न भयो, आर्य समाज का संस्थापक महर्षि दयानन्द सरस्वति ले सर्व प्रथम भगवान मनु को विशुद्ध स्वरूप आफ्नो ग्रन्थ ‘सत्यार्थ प्रकाश’ मा रेखांकित गर्नुभएको छ
            आज हाम्रो देशमा कथित् दलित हितैषी, साम्यवादी एवं कथित प्रवुद्ध वर्गहरु मनुस्मृति विरुद्ध कोलाहल गर्दै छन् (हुनत ऋषि भावना देखि अनभिज्ञ तर उनैको नाम लिने केहि नक्कली ब्राह्मणहरुले जातको नाउमा निर्दोशहरुलाई निक्कै सताएका हुन् त्यसैको प्रतिशोधवश केहि ले हिन्दु समाज परित्याग गरेका हुन् र यो क्रम व्यापक जारी पनि छ)
मनुस्मृतिको क्षेत्र अत्यन्त व्यापक छ यहाँ केवल यत्ति भन्न सकिन्छ कि यदि आज सामान्य निर्धन दलित वर्गहरुलाई मनुस्मृतिको यथार्थ रुप विदित भयो भने ति आफ्ना नेताहरुको पाखण्ड ध्वस्त गरेर सर्व प्रथम मनु भगवान को पूजा गर्ने छन् हामि घोषणा गर्न चाहन्छौं कि आज महिला, दलित, शोषित ,निर्धन तथा उपेक्षित सबै वर्गको लागि मनु जस्तो हितैषी संसारमा अन्य छैन आज जो कोहि महानुभाव मनुको विरोधमा कोलाहल गर्दैछन अथवा अन्ध-समर्थन गर्दैछन्, यी मध्ये कसैले पनि न मनुस्मृति पढ्ने गर्छन्, न त बुझ्ने कोशिश नै गर्दछन् विवेकशीलहरुको लागि निम्न विन्दु विचारणीय होला:
१-      मनु प्रोक्त वेदानुमोदित वर्णव्यवस्था जन्माधारित नभएर कर्माधारित छ वर्तमान मा अध्यापक, सैनिक, प्रहरी, व्यापारी, कृषक तथा अन्य कर्मचारीहरु क्रमशः ब्राह्मण, क्षत्री, वैश्य र शूद्र कै रुप हुन्, यहि मनुकथित् वैदिक वर्णव्यवस्थाको स्थूल रुप हो यो व्यवस्था श्रम विभाजन मा आधारित थियो जो आज पनि प्रत्येक देशमा विविध नामले प्रचलित छ र सदा रहने छ
२-      वर्णव्यवस्था कर्माधारित हुने भएकोले वर्ण परिवर्तित हुन सक्थ्यो ब्राह्मण अयोग्य भयो भने शुद्र तथा शुद्र योग्य भयो भने ब्राह्मण बन्न सक्थ्यो (ब्राह्मणको कोखबाट जन्मने जस्तोसुकै भ्रष्टाचरणको भए पनि ब्राह्मण हुने र अन्य कुलमा जन्मने जति सुकै सच्चरित्रवान भएपनि त्यो अछुत नै हुने परिपाटी स्वार्थ र अज्ञानता को कारण ले सुरु भएको हो, यसमा भगवान मनु र मनुस्मृतिको कुनै दोष छैन)
३-      १ रु.को चोरि गर्ने शूद्र (श्रमिक) लाई ८ रू., वैश्य (व्यापारी-किसान) लाई १६ रू., क्षत्रिय (सेनक-प्रहरी) लाई ३२ रू., ब्राह्मण (अध्यापक-धर्मोपदेष्टा)लाई ६४ रू., देशको मन्त्रीलाई ८०० रू. र राजा (शासक) लाई १ रू. को चोरी मा १००० रू. दण्ड हुन्थ्यो यसरि भगवान मनुको दृष्टिमा शूद्र समान अपराध मा पनि सब भन्दा कम दण्डनीय हुन्थ्यो, र राजा अथवा शासक सर्वाधिक दण्डनीय आज कथित समाजवादी, दलित हितैषी कुशासन मा श्रमिक सब भन्दा अधिक पिडित हुन्छ राजा, नेता तथा शासकहरु आनन्द भोग्छन् यहि कारण हो आजका नेताहरुले मनुको विरोध गर्दछन्, यिनीहरु चाहदैनन् कि गरिब एवं दलित (शिल्पी) र श्रमिक तथा उद्देमी वर्ग माथि उठोस्
४-      देशका सबै बाल बालिकाहरु अनिवार्य रुपमा शासन कै व्यय बाट पढाइ गर्ने गर्दथे आवाशीय विद्द्यालय मा राजा देखि शूद्र, भिखारी, उद्धोगपति सबका बाल बालिका हरु समान स्तर को खान-पान , वस्त्र र समान शिक्षा प्राप्त गर्दथे निजि शिक्षा व्यवस्था कहीं पनि थिएन पुरै देशमा एक समान पाठ्यक्रम समान सुविधा भएका पाठशाला हुन्थे राजकुमार तथा शूद्र र भिखारी का बालक साथ्-साथ् समान भाव मा पढ्ने गर्थे बिद्या पूर्ण भयो भने उनको वर्णको निर्धारण गुरु द्वारा हुने गर्थ्यो राजा अथवा ऋषि को अयोग्य पुत्र शूद्र पनि घोषित हुन सक्थ्यो र कुनै सूद्र्को वा भिखारीको योग्य पुत्र ब्राह्मण क्षत्रीय वा वैश्य पनि घोषित हुन सक्थ्यो ग्रामिण-शहर, धनि-निर्धन, ब्राह्मण-क्षत्रिय-वैश्य-शूद्र आदि मा कुनै पनि भेदभाव थिएन योग्यतानुसार काम पाइन्थ्यो आजको आरक्षण व्यवस्था गरिब तथा दलितहरुको बिरुद्ध धनि तथा कथित् दलित नेताहरुको आफ्नो स्वार्थ सिद्धि गर्ने एक गम्भीर षडयन्त्र हो यहि कारण ले हो उनिहरू आर्थिक आधार मा आरक्षण हुनु पर्छ भन्ने कुरा सुन्ना साथ् आक्रोशित भएर तीनहात माथि उफ्रिन्छन् यदी मनुको व्यवस्था लागू भयो भने देशमा कुनै निर्धन, अशिक्षित, शोषित, पिडित, दलित तथा पछौटे हुने छैन सबै उत्तम विद्या, धन, मान र प्रतिष्ठाका भागीदार हुने छन् यहि कुरो आरक्षण को नाउमा राजनीति गर्ने नेताहरुले चाहदैनन् मनुको व्यवस्था मा जो वास्तवमा अयोग्य हुन्छन्, तिनै शूद्र बन्छन्, तर शूद्रको अर्थ अछुत कदापि हैन, शूद्र पनि ब्राह्मण को घरमा भोजन पकाउने काम गर्ने गर्दथे
५-      बाल-बालिकाहरु सबै पृथक्-पृथक् पाठशाला मा अनिवार्य तथा सम्पूर्ण विद्द्या प्राप्त गरेर समान अधिकार प्राप्त गर्दथे वेद ले नारीलाई घरकी साम्राज्ञी भनेको छ मनुले पूज्य भनेका छन्
यदि आज भगवान मनुको मत साकार भयो भने देश-विदेशको सम्पूर्ण समस्या को स्थायी समाधान हुन सक्छ तर के जात र साम्प्रदायिक निच सोंच बोकेका नेता तथा कथित् प्रवुद्ध वर्गले यो सत्य सम्झने प्रयास गर्लान?! अस्तु ..
नमस्ते..
(-आचार्य अग्निव्रत नैष्ठिक को हिन्दि लेख बाट अनुवादित)

आर्यसमाजको मौलिक आधार





आर्यसमाजको मौलिक आधार


-स्वामी सत्यप्रकाश सरस्वति
            सर्वश्रेष्ठ अध्येताहरुका अनुसार हिमालयको आसपास नै मनुष्यको अवतरण भएको हो त्यहींबाट नै उसको संस्कृति र मानव जातिको यात्रा प्रारम्भ हुन्छ वेदका दिव्य वाक्य मानव जातिका जीवनका आधार बने केहि काल प्रेम र आनन्द संग रहे पछी त्यहीं बाट नै मनुष्य समस्त संसारमा फैलिए
            नयाँ परिस्थितिले मनुष्य जतिलाई नयाँ भाषा, नयाँ रिति-स्थिति र नयाँ मापदण्डले सम्पन्न गरिदियो त्यसैले आज हामी विविधता युक्त संसारमा निवास गर्दैछउँ वेद समस्त मानव जातिका अटुट तथा अमूल्य निधि हुन् सृष्टिको प्रारम्भ देखि महाभारत काल सम्म वैदिक ज्ञानको आलोकले समस्त संसार आलोकित थियो
कालोपरान्त ज्ञानको यस अप्रतिहत प्रभाहमा अनेकौं विषाक्त धाराहरुका साथ् सम्मिश्रण भयो र ज्ञान विज्ञानको पावन वैदिक धारा यसरि बदलियो कि त्यसलाई  चिन्न पनि कठिन भयो  वैदिक ज्ञानको पुनरुद्धारको आवश्यकता अनुभव हुन थाल्यो यस्तो संकटमय युगमा महर्षि दयानन्द सरस्वतीको प्रादुर्भाव भयो, जसले वैदिक ज्ञानको ज्योतिर्मय परम्परालाई पुनर्जीवित गरिदिनु भयो
विक्रम संवत् १९३२ चैत्र शुक्ल प्रतिपदाका दिन (अप्रिल-१०, सन् १८७५)  महर्षि दयानन्द सरस्वतीले बम्बईमा आर्य समाजको स्थापना गरेर धार्मिक र सामाजिक क्रान्तिको शंख फुकेर नवयुगको सूत्रपात गर्नुभयो दयानन्दले वेद पठन-पाठनको अधिकार सबलाई प्रदान गर्नुभयो वेदको शिक्षालाई समान रुपले सबको लागि उपादेय भएको कुरो बताउनुभयो सन्निहित स्वार्थका कारणले संसारमा धर्मको नाउमा नयाँ-नयाँ मत-पन्थ-सम्प्रदायहरु बन्न थाले अनेकानेक मतमतान्तरहरुले जन्म लिए तिनका अन्धविश्वासहरु माथि महर्षि दयानान्दले निर्ममतापूर्वक चोटिलो प्रहार गर्नुभयो महर्षिले धर्मको स्वाभाविक, सहज, सार्वभौमिक स्वरुपको परिचय गाराउनुभयो मानव जातिको एकता एवं अखण्डतामा बल दिंदै उहाँले मानवताको मंगलमय मार्गलाई प्रशस्त गरिदिनुभयो
परमात्मा: सत्य सनातन वैदिक धर्म एकेश्वरवादी हो वेदानुसार ईश्वर एक छ, अनेक छैन ऊ सनातन हो र ज्ञानको शाश्वत स्रोत हो त्यहि ईश्वर हाम्रो आश्रय हो र सृष्टिकर्ता हो ऊ दयालू तथा न्यायाकारी छ ईश्वर सर्वज्ञ, सर्वव्यापक तथा सर्वशक्तिमान छ ऊ निराकार तथा अजन्मा छ  ऊ सत्-चित् एवं आनन्द हो यस्तै ईश्वर मान्न र पूज्न योग्य छ ईश्वर सम्बन्धि नाना थरि अनर्गल धारणाहरु देखि दयानान्दले हामीलाई मुक्त गर्नुभयो सत्य ज्ञानले, सत्यनिष्ठ कर्मले, सेवाभावले र योगाभ्यासको माध्यमले नै ईश्वरको प्राप्ति सम्भव छ भन्ने कुरो उहाँले उद्घोषणा गर्नुभयो
जीवात्मा: वैदिक मान्यतानुसार जीवात्माहरु असंख्य छन् प्रत्येक जीवात्मा आफ्नो कर्म-फलका लागि उत्तरदायी छ पशु-पंक्षीहरु भोग योनी हुन् मनुष्य एकमात्र उभय योनी हो पशु-पंक्षीहरु सहजवृत्तिले आफ्नो जीवन यापन गर्दछन् मनुष्यले बुद्धि र विवेकले काम लिन्छजन्म-मरणको चक्र अनादि काल देखि चलिरहेको छ घाम-छायाँ झैं सुख-दुःख जीवनका साथ छन् तर मनुष्य ईश्वरको शक्ति, परोपकार, सदाचार आदि द्वारा मोक्ष अवस्था प्राप्त गर्न सक्छ मोक्षावस्था शाश्वत हैन किनकि सान्त कर्महरुको फल अनन्त कदापि हुन सक्दैन
ईश्वर र जीवात्मा पृथक सत्ता हुन् ईश्वर एक छ र जीवात्मा अनेक छन् ईश्वर ज्ञान र आनन्दको स्रोत हो तर जीवात्माहरु ज्ञान र आनन्दका लागि ईश्वरमा निर्भर छन् ईश्वर सृष्टिकर्ता र जीवात्मा भोक्ता ईश्वर अशरीरी छ तर जीवात्मा शरीरी ईश्वर अजन्मा छ तर जीवात्मा शरीरको माध्यमले जन्म-मरणको चक्रमा आउने-जाने गर्दछ ईश्वर कर्माध्यक्ष हो र जीवात्मा शुभाशुभ कर्मको कर्ता र त्यसको फल भोक्ता हो ईश्वर सर्वदा मुक्त छ तर जीवात्मा मुक्ति र बन्धनमा परि रहन्छ
प्रकृति: वैदिक सिद्धान्त अनुसार परमात्मा तथा जीवात्मा सरह प्रकृति पनि अनादि हो यी तीन तत्व सदा देखि छन् र रहन्छन् आद्य प्रकृतिको कुनै रुप-रङ छैन यसको बारेमा केहि भन्न अत्यन्त कठिन छ ईश्वरको शक्तिले प्रकृतिलाई नाना रुप र नाना रङमा परिवर्तित गर्न सक्छ ईश्वरले प्रकृतिलाई प्रयोग गरेर जीवात्माका लागि सृष्टि रच्दछ ईश्वरको शक्ति द्वारा प्रकृतिले सृष्टिको संरचना गर्दछ अभाव बाट भावको उत्पत्ति सम्भव छैन प्रकृति बिना सृष्टिको कल्पना पनि गर्न सकिन्न
ईश्वरले सृजन द्वारा नै स्वयंलाई अभिव्यक्त गर्दछ सृष्टि अटल शाश्वत नियममा आश्रित छ वैदिक सिद्धान्त अनुसार प्रकृति सत् एवं उद्देश्यपूर्ण छ सृष्टिमा नियम, व्यवस्था तथा उद्देश्य द्वारा ईश्वरको महिमाको दर्शन हुन्छ सृष्टिको सृजन र संहार निरन्तर चलिरहन्छ यहि सृष्टि संग ईश्वर अहर्निश कर्ममा लागि रहन्छ
जीवन: ईश्वर सर्वोच्च नैतिक आदर्श एवं मूल्यको साकार रुप हो वैदिक ईश्वर एक अर्थमा नैतिक ईश्वर हो सत्य र दयाको मूर्तिमान रुप हो नैतिक आदर्श नाना स्वरुमा अभिव्यक्त हुन्छन् ईश्वर द्वारा रचिएको सृष्टिको ज्ञान प्राप्त गरेर उक्त ज्ञान द्वारा मानव जातिलाई सम्पन्न गर्नु हाम्रो जीवनको उद्देश्य हो सत्य, अहिंसा अस्तेय, ब्रह्मचर्य, अपरिग्रह आदि नैतिक मूल्यहरूको अभावमा जीवनको वैभव निस्तेज र निष्प्राण हुन्छ साधना, स्वाध्याय र सत्पुरुषहरुको संग, उपासना आदि द्वारा नैतिक आदर्शलाई जीवनमा उतार्न सम्भव छ, अन्यथा छैन
वेदानुसार सर्वोच्च नैतिक सत्ता हो ईश्वर एतदर्थ ईश्वरको प्राथना वैदिक उपासना पद्धतीको अविभाज्य अङ्ग हो ईश्वरलाई स्तुति-प्राथना-उपासनाको किन्चित पनि आवश्यकता छैन स्तुति-प्राथना-उपासना द्वारा जीवात्मा परम्शुद्धता प्राप्त गरेर सत्कर्म गर्ने सामर्थ्यले सम्पन्न हुन्छ स्तुतिमा हामी ईश्वरका गुणहरुको परिगाणना गर्दछौं, जस्तै- दयालूता, न्यायकारिता आदि प्रार्थनामा हामी ईश्वर संग विनम्रता माँग गर्दछौं ता कि यी समस्त गुणहरुले हाम्रो जीवनमा प्रभाव पर्न सकून उपासना द्वारा ईश्वरको समिपताले नयाँ तेज, नयाँ ओज, नयाँ जीवन उपलब्ध हुन्छ जीवात्माले स्वपुरुषार्थ द्वारा नै ईश्वर तिर अग्रसर हुन सक्छ ईश्वर र जीवात्माका बीच कुनै मध्यस्थ कर्ताको आवश्यकता छैन  
समाज: मनुष्य समाजमा रहन्छ समाजमा नै जन्मिन्छ र हुर्कन्छ समाजबाट नै उसले भाषा र संस्कृति पनि पाउँछ यहि नाताले समाज प्रति उसको जुन दायित्व छ, त्यस बाट ऊ पछी हट्न सक्दैन ईश्वरीय प्रेमको एक अर्थ समाजको निष्काम सेवा गर्नु पनि हो वर्णाश्रम व्यवस्थाले पनि मनुष्यको अधिकार भन्दा कर्तव्यमा अधिक बल दिन्छ जब समाज कर्तव्यको उपेक्षा गरेर अधिकारसक्त हुन्छ, तब अव्यवस्थाको साम्राज्य स्थापित हुन्छ कुनै पनि समाजोपयोगी कार्यलाई हीन या अधम मान्नु हुँदैन कार्यको गुरुता तथा प्रकृति भिन्न हुँदा हुँदै पनि उसको अध्यात्मिक मूल्य एक समान छ निष्ठा एवं सत्यता सम्पन्न प्रत्येक कर्मले मनुष्यलाई मोक्ष तिर लैजान्छ कम्जोर वर्गको सहायता गर्नु र उसलाई उन्नतिका लागि अवसर प्रदान गर्नु समाजमा शान्ति एवं व्यवस्थाको लागि अत्यन्त आवश्यक छ केवल शक्तिशालीलाई मात्र बाँच्ने अधिकार छ भनेर मान्नु सामाजिक सामन्जस्यको सिद्धान्त माथि निर्मम प्रहार हो महर्षि दयानन्दले स्वतन्त्रताका साथ-साथ “सर्वहितकारी” शब्दलाई पुनः-पुनः प्रयोग गर्नुभएको छ किनकि स्वच्छन्दता सर्वनाशकी जननी हुन्
सबै समाजमा कर्मकाण्डको प्रचलन हुनु आवश्यक छ वैदिक धर्ममा जीवन-निर्माणकारी सोह्र संस्कारहरुको अनुपालन एवं महत्ताको वैदिक आदर्श अनुसार जीवनको अन्तिम उद्देश्य प्राप्त गर्नमा परम सहायक छ
आर्यसमाजको मान्यता र आस्थाको बारेमा सार रुपमा भनिएको छ कि जीवनका यी आधारभूत सिद्धान्त अखिल मानव जातिका लागि उपयोगी छन् हामी सबै अमृत-पुत्र, पृथ्वी-पूत्र हौँ मानव जातिलाई मंगल गर्ने समस्त विचारक, आचार्य, चिन्तकहरु समान रुपमा हाम्रा लागि आराध्य छन्
महर्षि दयानन्दले आर्यसमाजको स्थापना द्वारा मानव महिमाको महादान गरेर मानवलाई दिव्य गरिमायुक्त गर्ने महत् प्रयत्न गर्नुभयो पिडित तथा प्रताडित मानवतालाई आह्वान गरे र आफ्नो प्रबल उद्बोधनले मानवतालाई प्रगति पथमा अग्रसर गर्नुभयो
विज्ञान: “धर्मलाई बौद्धिकता र विज्ञानलाई अध्यात्मिकताको आधार देऊ” भन्ने सूत्र नै आर्यसमाजको मौलिक आधार हो यसैमा मनुष्य जातिको मंगल छ विज्ञानले हामीलाई दैत्याकर शक्तिहरुको स्वामी बनाइदियो यदि हामीले आन्तरिक आत्मिक शक्तिको विकास गरेनौं भने त विज्ञानले हामीलाई एक दिन महाविनाश तिर लैजाने छ यसमा सन्देह नै छैन कि विज्ञानले अनेकौं तथ्यहरुलाई बुझ्न र सम्झनमा हाम्रो सहायता गरेको छ र अन्धविश्वासबाट छुटाएको पनि छ नयाँ-नयाँ सम्पन्नताहरु पनि दिएको छ विज्ञान नयाँ सृजनको नाम पनि हुन सक्छ र संहारको पनि विज्ञानले संसारलाई स्वर्ग पनि बनाउन सक्छ र नरक पनि धर्माधारित विज्ञानबाट नै मनुष्यको कल्याण अवश्य सिद्ध हुनेछ
अज्ञान र अन्धविश्वास पूरित धर्म अधर्म नै हो यस्तो धर्मले जीवनलाई दुःख प्रदान गर्दछ हामीले आजको बुद्धिमानी युगमा धर्मलाई तर्क संगत आधार दिनु पर्छ बुद्धिको राँको लिएर हामी धर्मको क्षेत्रमा पनि उत्रिनु पर्छ यदि मनुष्यलाई जीवित रहनु छ भने विज्ञानलाई अध्यात्ममा अधिष्ठित गर्नु पर्छ र धर्मलाई तर्क संगत आधार दिनु पर्दछ
परम मंगलमय शक्तिका सम्मुख विनम्रताको भाव अपनाएर निरन्तर सत्यान्वेषणमा लागिरहेर मनुष्य जातिको कल्याणका लागि निष्काम भावले कार्यरत रहौं यहि वैदिक धर्मको आदर्श र उद्देश्य हो र यहि उद्देश्य पूर्तिका लागि महर्षि स्वामी दयानन्द सरस्वतिले आर्यसमाजको स्थापना गर्नुभएको थियो अस्तु..
नमस्ते..!
सबको मनमा अभय, सत्य सनातन वैदिक धर्मको जय..!