Tuesday, March 17, 2020

महाभारतान्तर्गत चक्रवर्ती आर्य राजाहरूको परिचय



महाभारतान्तर्गत चक्रवर्ती आर्य राजाहरूको परिचय

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डी० सी०

आर्यजगत्का पुनरुद्धारक स्वामी दयानन्दजी सरस्वती आफ्नो ग्रन्थ सत्यार्थप्रकाशको एकादश समुल्लासमा चक्रवर्ती राजाहरूको विषयमा मैत्र्युपनिषद्को प्रमाण उद्धृत गर्दै लेख्नुहुन्छ- “सृष्टिदेखि महाभारतपर्यन्त चक्रवर्ती सार्वभौम राजा आर्यकुलमा नै भएका थिए। अब यिनका सन्तानहरूको अभाग्योदय भएर राजभ्रष्ट भएर विदेशीहरूका पादाक्रान्त हुँदै छन्। जस्तै यहाँ सुद्युम्न, भूरिद्युम्न, इन्द्रद्युम्न, कुवलयाश्व, यौवनाश्व, वद्ध्र्यश्व, अश्वपति, शशविन्दु, हरिश्चन्द्र, अम्बरीष, ननक्तु, शर्याति, ययाति, अनरण्य, अक्षसेन, मरुत्त र भरत सार्वभौम सबै भूमिमा चक्रवर्ती राजाहरूको नाम लेखिएको छ त्यस्तै स्वायम्भुवादि चक्रवर्ती राजाहरूको नाम स्पष्ट मनुस्मृति, महाभारतादि ग्रन्थहरूमा लेखिएको छ। यसलाई मिथ्या गर्नु अज्ञानी र पक्षपातीहरूको काम हो।” यी राजाहरूको राज्य आर्यावत्र्त देशदेखि लिएर समस्त भूमण्डलमा दियो। आर्यावर्त्त देश विद्याको आदिस्रोत भएका कारण आदिसभ्यताको प्रकाशक पनि हो। पश्चिमी विद्वानहरूमा अत्यन्त प्रतिष्ठित मातृलिंग (Maeterlinck) आफ्नो प्रसिद्ध ग्रन्थ 'Secret Heart' लेख्छन्-

"It is now hardly to be contested that the source (of knowledge) is to be found in India. Thence in all probability the sacred teaching spread in to Egypt, found its way to ancient Persia and Chaldia, permitted the Hebrew race and crept in Greece and the south of Europe, finally reaching China and even America." -Pg. 5
अर्थात्- अब यसमा विवादको कुनै स्थान छैन कि (विद्याको) मूलस्थान भारत वर्षमा पाइन्छ। सम्भवतः त्यहाँबाट नै यो शिक्षा मिश्रमा फैलियो, मिश्रभन्दा प्राचीन ईरान तथा कालडिया (अरब देश) को मार्ग पक्रेर, यहुदी जातिलाई प्रभावित गर्यो र फेरि युनान तथा युरोपको दक्षिण भागमा प्रविष्ट भएर अन्तमा चिन र अमेरिकामा पुग्यो।

फ्रांसका महान् सन्त एवं विचारक क्रूजे (Cruiser) ले बलपूर्वक लेखेका छन्-

"Is there is a country which can rightly claim the honour of being the cradle of human race or at least the scene of primitive civilisation, the successive developments of which carried in all parts of the ancient world, and even beyond, the blessings of knowledge which is the second life of man, that country assuredly is India." -J. beatie : Civilisation and Progress
अर्थात्- यदि कुनै देश वास्तवमा मनुष्य जातिको पालक भयो अथवा त्यस सभ्यताको, जसले विकसित भएर संसारको कुना कुनामा ज्ञानको प्रचार गर्यो, स्रोत हुने दाबी गर्न सक्छ भने निश्चय नै त्यो देश भारत नै हो।

यसै आर्यावर्त्त नाम नै ब्रह्मावर्त्त, बह्मर्षि देशले पनि प्रसिद्ध छ (हेर्नुहोस्– मनुस्मृति २/१७-२२ एवं पातञ्जल महाभाष्य २/४/१० र ६/३/१०९ )। वैदिक शिक्षाको प्रभावले यस देशका राजाहरूमा कुनै प्रकारको दुराचार विद्यमान थिएन जसकारण यिनका प्रजा यिनीबाट अत्यन्त प्रसन्न एवं सन्तुष्ट रहन्थे। हामी आफ्नो पक्षमा पाठकहरूका समक्ष महाभारत (अनुशासन पर्व, अध्याय १६५) मा आएको चक्रवर्ती राजाहरूको केही नाम एवं तिनको राज्यव्यवस्थाको उल्लेख गर्नेछौँ-

१. महाराजा मरुत्त- राजा मरुत्त जब यस पृथिवीको शासन गर्थे त्यस समय यो पृथिवी बिना जोतेर नै अन्न उत्पन्न गथ्र्यो र समस्त भूमण्डलमा देवालयहरूको मालाजस्तै दृष्टिगोचर हुन्थ्यो जसद्वार पृथिवीको शोभा बनेको थियो। (द्रोणपर्व ५५/४४)

२. महाराजा सुहोत्र- राजा सुहोत्रलाई पाएर पृथिवीको वसुमती नाम सार्थक हुन गयो। जुन समय उहाँ जनपदका स्वामी हुनुहुन्थ्यो ती दिन त्यहाँका नदी आफ्नो जलका साथ सुन पनि बगाउँथे। (द्रोणपर्व ५६/६)

३. महाराजा शिवि- औशीनरका सुपुत्र शिविले यस सम्पूर्ण पृथिवीलाई छालालेझैँ बेरेका थिए अर्थात् सर्वथा आफ्नो अधीन गरेका थिए। उनले आफ्नो ध्वनिले पृथिवीलाई प्रतिध्वनित गर्दै एकमात्र विजयशील रथद्वारा भूमण्डलको एकछत्र शासन गर्थे। आज संसारमा जंगली पशुहरू सहित जति पनि गाई, गोरु र घोडाहरू छन् त्यती संख्यामा उशीनर पुत्र शिविले आफ्नो यज्ञमा केवल गाईहरूको दान गर्दथे। प्रजापति बह्मा इन्द्रका तुल्य पराक्रमी उशीनर पुत्र शिवि बाहेक सम्पूर्ण राजाहरूमा भूत वा भविष्यकालका कुनै राजाहरूको यस्तो सम्मान दिएका थिएनन् जो शिविको कार्यभार वहन गर्न सकोस्। (द्रोणपर्व ५८/१,२,६,७,८)

४. सम्राट भरत- दुष्यन्त र शकुन्तलाका पुत्र महाधनी, महामनस्वी, महातेजस्वी भरतले पूर्व कालमा देवताहरूको प्रसन्नताका लागि यमुनातटमा तीन सय, सरस्वतीको तटमा बीस र गंगाका तटमा चौध सय अश्वमेध यज्ञ गरेका थिए। जसरी मनुष्य दुई भुजाद्वारा आकाशमा उड्न सक्दैनन् त्यसरी नै सम्पूर्ण राजाहरूमा भरतको जो महान् कर्म छ् त्यसको अनुकरण अरु राजाले गर्न सक्दैनन्। (द्रोणपर्व ६८/८,९)

५. पुरुषोत्तम राम- श्रीराम आफ्नो प्रजामाथि त्यस्तो कृपा राख्थे जस्तो पिता आफ्ना औरस पुत्रहरूप्रति राख्छन्। उनको राज्यमा कुनै पनि स्त्री अनाथ, विधवा थिइन। श्रीरामले जबसम्म राज्यको शासन गरे तबसम्म आफ्ना प्रजाहरूका लागि सदा कृपालु बने। बादलले समयमा वर्षा गरेर खेती राम्ररी सम्पन्न गर्थे, त्यसलाई फल्ने राम्रो अवसर दिन्थे। रामको राज्य-शासनकालमा सदा सुकाल रहन्थ्यो, कहिल्यै अनिकाल पर्दैनथ्यो। रामले राज्यशासन गर्ने समयमा कुनै पनि प्राणी जलमा डुब्दैनथ्यो, आगोले अनुचित रूपमा कसैलाई जलाउँदैनथ्यो तथा कसैलाई पनि रोगको भय हुन्नथ्यो। स्त्रीहरूमा पनि परस्पर विवाद हुन्नथ्यो भने त पुरुषहरूको त के कुरा गर्ने! श्रीरामको राज्यकालमा समस्त प्रजाहरू समधर्ममा तत्पर रहन्थे। श्रीरामचन्द्रजी जब राज्य गर्नुहुन्थ्यो तब सबै मनुष्य सन्तुष्ट, पूर्णकाम, निर्भय, स्वाधीन र सत्यव्रती थिए। सबै वृक्ष कुनै विघ्न बाधा बिना नै फल्थे एवं फुल्थे तथा समस्त गाईहरू एक-एक द्रोण दुध दिन्थे। महातपस्वी श्रीामले चौध वर्षसम्म वनमा निवास गरेर राज्य पाए उपरान्त दस यस्ता अश्वमेध यज्ञ गर्नुभएको थियो जो सर्वथा स्तुतिका योग्य थिए तथा जहाँ कुनै पनि याचकका लागि ढोका कहिल्यै बन्द थिएन। श्रीराम नवयुवक र श्याम वर्णका हुनुहुन्थ्यो। उहाँका आँखामा केही लालिमा शोभा दिन्थे। उहाँ यूथपति गजराजका समान शक्तिशाली हुनुहुन्थ्यो। उहाँका ठुला ठुला भुजाहरू घुँडासम्म लामा थिए। उहाँको मुख सुन्दर थियो एवं काँध पनि सिंहका समान थियो। (द्रोणपर्व, अध्याय ५९)

६. महाराजा भगीरथ- महाराजा भगीरथ जसको नाममा गंगालाई भागीरथी पनि भनिन्छ, तटका समीम निवास गर्नेबेला गंगाजी राजा भगीरथको प्रतापले भातवर्षतर्फ बग्न थाल्यो। विप्रपथगामिनी गंगाले पुत्रीभालाई प्राप्त भएर पर्याप्त दक्षिणा दिने इक्ष्वाकु वंशी भगीरथलाई आफ्नो पिता मानिन्। (द्रोणपर्व ६०/१,६,८)

७. महाराजा दिलीप- एकाग्रचित्त भएका महाराजा दिलीपले एक महायज्ञमा रत्न र धनले परिपूर्ण पृथिवीको धेरै ठुलो भाग ब्राह्मणहरूलाई दान दिएका थिए। उनको यज्ञमा सुनले बनेको यूपले शोभा पाउँथ्यो। यज्ञ गर्दा इन्द्रादि देवता सदा त्यसै यूपको आश्रय लिएर बस्थे। उनको यज्ञमाा साक्षात् विश्वावसुबिचमा बसेर सात स्वरहरूका अनुसार वीणा बजाउँथे। त्यस समय सबै प्राणीहरू यही सम्झन्थे कि यिनी मेरा अघि  बाजा बजाउँदै छन्। (द्रोणपर्व ६१/२,३,५,७)

८. महाराजा मान्धाता- यसै प्रसंगमा महाराजा मान्धाताको वर्णन यस प्रकारले छ कि उनी ठुला धर्मात्मा र मनस्वी थिए। युद्धमा इन्द्रका समान शौर्य प्रकट गर्थे। यो सारा पृथिवी एकै दिनमा उनको अधिकारमा आएको थियो। मान्धाताले समरांगणमा राजा अंगार, मरुत्त, असित, गय तथा अंगराज बृहद्रथलाई पनि पराजित गरिदिएका थिए। मान्धाताले रणभूमिमा जुन समय राजा अंगारसँग युद्ध गरेका थिए, त्यस समय देवताहरूले यस्तो सम्झेका थिए कि उनको धनुषको टंकारले सारा आकाश नै फाट्यो कि। (द्रोणपर्व ६२/९,१०) उनको राज्यको विस्तारको बारेमा भनिएको छ-

यत्र सूर्य उदेति स्म यत्र च प्रतितिष्ठति।
सर्वं तद् यौवनाश्वस्य मान्धातु: क्षेत्रमुच्यते।। (द्रोणपर्व ६२/११)
जहाँबाट सूर्य उदय हुन्छ त्यहाँबाट लिएर जहाँ अस्त हुन्छ त्यहाँ सम्म सारा क्षेत्र युवनाश्व-पुत्र मान्धाताको नै राज्य कहलिन्छ।

९. महाराजा ययाति- नहुष पुत्र राजा ययातिले समुद्रहरू सहित सारा पृथिवीलाई जितेर शम्यापातद्वारा सारा पृथिवीलाई नापेर यज्ञको वेदी बनाए जसबाट भूतलको विचित्र शोभा हुन थाल्यो। ती वेदीहरूमा मुख्य मुख्य यज्ञहरूमा मुख्य मुख्य यज्ञहरूको अनुष्ठान गर्दै सारा भारत भूमिको परिक्रमण गरिदिए। नहुष-पुत्र ययातिले व्यूह रचनायुक्त आसुर युद्धका द्वारा दैत्यहरू ए असुरहरूको संहार गरेर यो सारा पृथिवी आफ्ना पुत्रहरूमाँझ बाँडिदिए। (द्रोणपर्व, अध्याय ६३)

१०. महाराजा अम्बरीष- नृपश्रेष्ठ महाराज अम्बरीषलाई सारा प्रजाले आफ्नो पुण्यमय रक्षक मानेका थिए। ब्राह्मणहरूका प्रति अनुराग राख्नेवाला राजा अम्बरीषले यज्ञ गर्ने समय आफ्नो विशाल यज्ञ मण्डपमा शतशः राजाहरूलाई ती ब्राह्मणहरूको सेवामा नियुक्त गरेका थिए जो स्वयं पनि हजारौँ यज्ञ गरिसकेको थिए। ती यज्ञ कुशल ब्राह्मणहरूले नाभाग-पुत्र अम्बरीषको सराहना गर्दै भनेका थिए कि यस्तो यज्ञ न त पहिलेका राजाहरूले गरेका थिए न त भविष्यमा हुनेवाला राजाहरूले नै गर्नेछन्। (द्रोणपर्व ६४/१२,१५,१६)

११. महाराजा शशबिन्दु- यसै प्रकार चित्ररथका पुत्र शशबिन्दु, अमूत्र्तरथाका पुत्र राजा गय र संकृतिका पुत्र राजा रन्तिदेव थिए। शशबिन्दुको राज्यकालमा यो पृथ्वी हृष्टपुष्ट मनुष्यहरूले भरिएको थियो। यहाँ कुनै पनि विघ्न बाधा र रोगव्याधि थिएन (द्रोणपर्व ६५/११)। राजा गयले अश्वमेध नामक महायज्ञमा मणिमय बालुवावाला सुनको पृथ्वी बनाएर ब्राह्मणहरूलाई दान दिएका थिए (द्रोणपर्व ६६/११)। राजा रन्तिदेव ब्राह्मणहरूलाई “तपाईहरूको लागि, तपाईहरूको लागि” भन्दै हजारौ सुनका चम्किला निष्क दान दिने गर्थे (द्रोणपर्व ६७/४,५)।

१२. महाराजा पृथु- वेनका पुत्र महाराज पृथ्को पनि महर्षिहरूले महान् वनमा एकत्र भएर राज्याभिषेक गरेका थिए। ऋषिहरूले यो सोँचेर कि सबै लोकहरूमा धर्मको मर्यादा प्रथित गर्नेछन्, स्थापित गर्नेछन्, उनको नाम पृथु राखेका थिए। क्षत अर्थात् दुःखले सबैको त्राण गर्ने भएकाले क्षत्रिय कहलिए। वेद-नन्दन पृथुलाई देखेर समस्त प्रजाहरूले एकसाथ भने कि हामी यिनमा अनुरक्त छौँ। यस प्रकार प्रजाहरूको रञ्जन गरेका कारण नै उनको नाम राजा भयो। पृथुको शासनकालमा पृथिवी बिना जोतेर नै धान उत्पादन गथ्र्यो। वृक्षहरूको पुटपुटमा मह भरिएको हुन्थ्यो एवं सारा गाईहरू एक एक द्रोण दूध दिन्थे। मनुष्य निरोगी हुन्थे तथा उनीहरू सबै कामनाहरू सर्वथा परिपूर्ण हुन्थे, उनीहरूलाई कहिल्यै कसैको कुनै भय पनि थिएन। सबै मान्छे इच्छानुसार घरहरूमा या खेतहरूमा रहन्थे। जब उनीहरू समुद्रतर्फ यात्रा गर्थे तब समुद्रको जल पनि स्थिल हुन्थ्यो, नदीहरूको बाढी समाप्त हुन्थ्यो। उनको रथको ध्वजा कहिल्यै पनि भग्न हुन्नथ्यो। (द्रोणपर्व ६९/२,३,४,६,७,८,९)

सन्दर्भ ग्रन्थ-सत्यार्थ भास्कर-स्वामी विद्यानन्द एवं महाभारत

No comments:

Post a Comment