Tuesday, October 10, 2023

*प्रभु काो स्मरण नैं परमात्मा को अर्थात् मुक्ति द्वार को चाबी हो ...**।


 


*तीन नौजवान एक टुलो होटल मा बस्न गए ..७५औं तलामा बल्ल उनिहरुलाई कोठा मिल्यो ।

एक दिन कतै बाहिर घुम्न गएका थिए तर देरै अबेला भएको ले रात को १२ बजे लिफ्ट कुनै कारणले बन्द भएको रहेछ ।त्यसैले तिनै जना सिंढि बाट माथि चढ्दै गए ।बोर नहोस् र सिंढी चढेको नि त्यति महसुस नहोस् बनेर एक जनाले ठट्टै ठट्टा गर्दै हँसिला चुटकिला सुनायो र २५ तला सजिलै चढे , त्यस पछि अर्काले मिठा मिठा मनै हर्ने गित गायो र ५० सौं तला सम्म पनि सहजै चढे । तेस्रो साथिले जिन्दगीका तिता मिठा अनुभव, काम , रोग मोह मायाँ आदिको बारेमा सुनायो र ७५ औं तला सम्म जसो तसो आई पुगे ।त्यस पछि कोठाको चाबि खोलेर भित्र पस्न लाग्दा त झल्याँस्स यो सम्झे कि त्यो कोठाको चाबि त तल रिसेप्सनमैं भुलेर आएछन् ..त्यस पछि त्यो कहाली लाग्दो र बोर हुने चढाई सम्झेर तिनै जना त्यहिं धड्याम्मै लाचार , बेदम भएर गिरे ....॥

यसरी नैं मानिसले पनि आफ्नो जीन्दगीको २५ बर्ष खेल-कूद , हंसि मजाकमै ब्यर्थ बिताउँछ । अर्को २५ बर्ष नोकरी , ब्यबसाय,ब्याह , बच्चा बच्ची अनि फेरी तिनकै लालन पालन , बिबाह र धनआर्जन गरी उनैको लागी जिवन समर्पित गर्दै आफ्नो स्वर्णिम समय ब्यर्थ बिताउँछ । यसै गरी अर्को २५ बर्ष यदि बाँच्यो भनें बिमारी, डाक्टर, अस्पतालकै चक्कर र उनैको खटन पटनमा दुःख भोग्दै ब्यर्थमैं जिवन बिताउँछ । 
जब मर्ने बेला अर्थात मुक्ति द्वारमा पुग्छ तब चाबि ल्याउन भुल्दा अर्थात् जन्मको उद्देश्य भुल्दा फेरी कैयौं जुनीको दुःख भोग्नको लागी फेरी फेरी जन्म मृत्युको फसि रहन्छ ।

*प्रभु काो स्मरण नैं परमात्मा को अर्थात् मुक्ति द्वार को चाबी हो ...**।

अतः आउनुहोस् आफ्नो कर्तब्य गर्दै हर समय प्रभुकै सुमिरन गरौं .... अनि राम्रो कर्म गरौं ता कि भगवान को द्वार अर्थात् मुक्तिको द्वारमा पुगेर फेरी पछुताउन नपरोस् ।
आजै बाट नै ईश्वरको स्तुति प्रार्थाना र उपसना आरम्भ गर्न शुरु गरौं ।
ओ३म् सम् ।

Friday, February 4, 2022

सरस्वती पूजाको वैदिक पक्षओ३म्






सरस्वती पूजाको वैदिक पक्षओ३म्
 
(दार्शनिक विचार- डा. विवेक आर्य)

देशभरमा हिन्दु समाजले "सरस्वती पूजन"का अवसरमा सरस्वती देवीको पूजा गर्दछौँ। सरस्वती पूजाको वैदिक पक्ष आजको विषय हो । विद्यालयमा पनि सरस्वती गान गर्ने गरिन्छ।
सत्यार्थ प्रकाशको प्रथम समुल्लासमा सरस्वती को परिभाषामा स्वामी दयानन्दले लेख्नुभएको छ कि जसमा अखण्ड रूपमा विज्ञान विद्यमान छ उस परमेश्वरको नाम सरस्वती हो। जसमा विविध विज्ञान अर्थात् शब्द, अर्थ, सम्बन्ध, प्रयोगको ज्ञान यथावत हुनाले परमेश्वरको नाम सरस्वती हो ।
चारै वेदमा सय भन्दा बढि मन्त्रमा सरस्वती को वर्णन छ। वेदमा सरस्वती का चार अर्थमा प्रयुक्त भएका छन्। ती हुन- पहिलो -विद्या, वाणी, विज्ञानदाता परमेश्वर। दोश्रो- विदुषी, विज्ञानवती नारी । तेस्रो - सरस्वती नदी र चौथो वाणी ।
वेदमा सरस्वतीका लागि मुख्य रूपले पावका अर्थात् पवित्र गर्नेवाली, वाजिनीवति अर्थात् विद्या सम्पन्न, चोदयित्री अर्थात् शुभ गुणहरु ग्रहण गर्नेवाली, भारती अर्थात् श्रेष्ठ बुद्धिले युक्त, केतुना अर्थात् ईश्वर विषयणी बुद्धिले युक्त, मधुमतिम अर्थात् धेरै मधुर आदि विशेषण प्रयुक्त भएका छन्।
निघण्टुमा वाणीका २७ नामहरु छन्, ती मध्ये एक सरस्वती हो । अर्थात् सरस्वतीको अर्थ वेदवाणी हो । ब्राह्मण ग्रन्थ वेद व्याख्यानका प्राचिनतम ग्रन्थ हुन। तिनमा पनि सरस्वतीका अनेकन् अर्थ बताइएको छ । ती मध्ये केही यस प्रकार छन्,-

१. वाक् सरस्वती।। सरस्वती वाणी हुन्। (शतपथ ७।५।१।३१)
२. वाग् वै सरस्वती पावीरवी।। वाग् पावीरवी सरस्वती हुन् ।(शतपथ: ७।३।३९)
३. जिह्वा सरस्वती।। जिह्ना लाई सरस्वती भनिन्छ ।( शतपथ १२।९।१।१४)
४. सरस्वती हि गौः।। वृषा पूषा। गौ सरस्वती हुन् अर्थात् वाणी, रश्मि, पृथिवी, इन्द्रिय आदि। अमावस्या सरस्वती हुन । स्त्री, आदित्य आदि का नाम सरस्वती हुन । (शतपथ: २।५।१।११)
५. अथ यत् अक्ष्योः कृष्णं तत् सारस्वतम्।। आँखाको कालो अंश सरस्वती का रूप हुन्। (शतपथ: १२।९।१।१२)
६. अथ यत् स्फूर्जयन् वाचमिव वदन् दहति। जलिरहेको अग्निबाट जुन आवाज़ आउँछ, त्यो अग्निको सारस्वत रूप हो । ( ऐतरेय ३।४)
७. सरस्वती पुष्टिः, पुष्टिपत्नी। सरस्वती पुष्टि हुन, तथा पुष्टि बढ़ानेवाला हुन् ।( तैत्तिरीय २।५।७।४)
८. एषां वै अपां पृष्ठं यत् सरस्वती। जल को पृष्ठ सरस्वती हुन् ।(तै0 १।७।५।५)
९. ऋक्सामे वै सारस्वतौ उत्सौ। ऋक् तथा साम सरस्वती का नै स्रोत हुन्।
१०. सरस्वतीति तद् द्वितीयं वज्ररूपम्। (कौ0 १२।२)सरस्वती वज्र को दोस्रो रूप हो ।
ऋग्वेद ६।६१ का देवता सरस्वती हुन। स्वामी दयानन्दले यहाँ सरस्वती को अर्थ विदुषी, वेगवती नदी, विद्यायुक्त स्त्री, विज्ञानयुक्त वाणी, विज्ञानयुक्ता भार्या आदि गर्नुभएको छ ।
महाभारतको वनपर्वमा सरस्वती सम्वाद अध्यायमा भनिएको छ कि, सरस्वती बोली- म परापर विद्या रुपी सरस्वती हूँ । आन्तरिक भावहरु तथा श्रद्धामा मेरो बास छ जहाँ श्रद्धा र उत्तम भावना छ त्यहाँ म प्रकट हुन्छु । स्वाध्याय रूपी योगमा लागेका तथा तपलाई नै धन मान्ने योगी, व्रत,पुण्य तथा योग का साधनहरुद्वरा जुन परमपद प्राप्त गरेर शोक रहित भइन्छ। त्यो परापर ब्रह्मा म नै हूँ ।
ऋग्वेद १०। १७।४ मा ईश्वरलाई सरस्वती नामले पुकारिएको छ र दिव्य ज्ञान प्राप्तिको ईच्छावाला अखण्ड ज्ञानका भण्डार "सरस्वती" भगवानबाट नै ज्ञानको याचना गर्दछु। उनैलाई पुकार गर्दछु। तथा प्रत्येक शुभ कर्ममा उनको नै स्मरण गर्दछु। ईश्वरले प्रार्थना गर्ने हरुको इच्छा पुरा गरिदिनु हुनेछ। सबै मिलेर ज्ञानका सागर ईश्वरको महान ज्ञान रूपी गुण अर्थात् "सरस्वती " को पूजन गरौँ। वर्षको एक दिन मात्र किन? दैनिक गरौँ, पूरा जीवन गरौँ...! ओ३म् शम्...
नमस्ते...!




Tuesday, August 25, 2020

वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन


वैदिक पथानुगामी आर्य भरत र मुनिश्रेष्ठ भरद्वाजको दर्शन

लेखक- प्रियांशु सेठ, वाराणसी
नेपाली अनुवादक- अविरल डि० सी०

[आर्यवार्तका स्थापित आदर्शहरूलाई कलंकित गर्ने कुत्सित प्रयासहरूलाई क्रममा महर्षि भरद्वाजद्वारा मासु पस्किनेबारे युट्युबर्सका अनर्गल प्रवादको युवा गवेषकद्वारा यथोचित प्रामाणिक उत्तर दिइँदै छ। -सम्पादक शान्तिधर्मी]

महर्षि वाल्मीकिले आफ्नो काव्यग्रन्थ रामायणमा वैदिक संस्कृतिको वर्णन गर्दै एक अनुकरणीय जीवन पद्धतिको  चित्र प्रस्तुत गर्नुुएको छ जसले विभिन्न मतावलम्बीहरूका समक्ष एक आदर्श स्थापित गर्दछ। साथै यसबाट यो पनि सिद्ध हुन्छ कि सम्पूर्ण विश्वमा वेदहरूका समान अन्य कुनै धर्म ग्रन्थ छैन। धर्मको स्वरूपलाई परिभाषित गर्नमा उनको यो काव्य पूर्णतः सक्षम छ। यस ग्रन्थमा पावन वेदकाहरू आज्ञाहरूको अनुशरण गरेर सच्चिदानन्दस्वरूप परमेश्वरलाई प्राप्त गर्नमा तपोरत अनेक महान् आदर्श पात्रहरूको उल्लेखले निश्चय नै हाम्रो बुद्धिलाई प्रगल्भ, क्रियाशील, उदयशील र मोक्षमार्गमा चल्नका लागि सक्षम बनाउँछ। रामायण विश्व संस्कृतिको इतिहासमा प्रमुख ऐतिहासिक महत्व राख्छ। यस ग्रन्थको महान् प्रतिष्ठाका लागि यसभन्दा ठुलो प्रमाण अरु के होला कि यसका रचयिता 'महर्षि', नायक 'भगवान्' र नायिका 'देवी' को पदले चिनिन्छन्।

रामायणकालमा मान्छेहरू पवित्र वेद सच्छास्त्रहरूका अनुसार आफ्नो जीवनको उत्कर्ष प्राप्त गर्थे। एक सर्वव्यापक जगदीश्वरका अतिरिक्त अन्य कुनै मूर्तिको पूजोपासना जान्दैनथे र पञ्चमहायज्ञका अतिरिक्त कुनै कब्र आदि पुजाको नित्य कर्म मान्दैनथे। षट्प्रज्ञको भाव त ती पात्रहरूको मानसिक चर्याहरूमा पनि सम्मिलित थिएनन् न त मांसाहारको कुनै गन्ध पनि थियो। (हिंसाभिरभिवर्जितः) अर्थात् अयोध्या हिंसाबाट पूर्ण मुक्त थियो (अयोध्या० १००/४४)। त्यस कालका देवता दिव्यगुणयुक्त, सत्वगुणी, शान्तात्मा, काम, क्रोध, लोभ, मोहाहंकार यी पाँच विकारहरूबाट सुरक्षित, भक्त र पुण्यमान हुने गर्थे।

दुर्भाग्ययवश अभिमानको मूर्ति लंकापति रावण जब वेदहरूबाट आफ्नो इच्छानुसार घृणित कामना पूर्ण गर्न सकेन जसकारण  वेदहरूका आज्ञा उल्लंघन गर्न समेत पछि परेन। वेद-वचनहरूको उल्लंघनको मार्गले उसलाई राक्षसी प्रजातिहरूको समुहलाई हिंसा, अशिष्टता र व्यभिचारका भुमरीमा धकेलिदियो। कालान्तरमा यिनैलाई आफ्नो प्रेरणास्रोत मानेर वाममार्गीहरूले दुर्व्यसन, मद्यपान, व्यभिचार, मांसाहार जस्ता अनेक मिथ्या कल्पनाहरूको इतिहासमा प्रक्षेप गरेर विकृत गर्ने प्रयास गर्यो। यसैको आधारमा पेरियार जस्ता वाममार्गीहरूले असत्यलाई सत्यको मुखौटा लगाएर वैमनस्यको व्यापार चलाए र अन्ततः विधर्मीहरू अनेक प्रकारका आक्षेप रामायणका आदर्शहरूमाथि लगाउँन आरम्भ गरे। अबसम्म त श्रीराममाथि भिन्नभिन्न आरोप लगाएर आफ्नो मतलाई श्रेष्ठ सिद्ध गर्ने असफल प्रयास गर्ने गर्थे, तर अब त त्यही कुत्सित प्रयास श्रीरामका भाइ भरतजीमाथि लगाउँदै छन्। जब उनी श्रीरामसँग मिल्न वनमा प्रस्थान गरे, मार्गमा उनलाई भरद्वाज मुनिको दर्शन भयो। मुनि भरद्वाजले उनलाई र उनका सेनाहरूलाई भरपेट मासु खुवाए।
आउँनुहोस्, आफ्ना आदर्श भरतजी र भरद्वाज मुनि माथि लगाइएका मिथ्या आरोपहरूको निराकरण तथा त्यसका पोषकहरूको मुखमर्दन गरेर सत्यलाई पुनस्र्थापित गरौँ।

धर्मात्मा आर्य भरत

आर्य मर्यादाहरूका निष्पादक पुरुषोत्तम श्रीरामका भाइ निःस्पृह भरतजीको चरित्र अति नै विशद, आदर्श, उज्ज्वल र निष्कलंक छ। भरतजी धर्म र नीतिलाई जान्नेवाला, सत्यप्रतिज्ञ, सदाचारी, विनयका मूर्ति, सद्गुणसम्पन्न तथा भक्तिप्रधान कर्मयोगी थिए। तितिक्षा, वात्सल्य, सौम्यता, सरलता, मधुरता, क्षमा, दया, वीरता, व्यवहार-कुशलता र सहृदयता आदि गुणहरूले ती लालित्य र जाज्वल्यमान थिए । उनको वेदहरूको अध्ययनका प्रति प्रगाढ रुचिलाई वाल्मीकिजीले वर्णित गरेका छन्-
ते चापि मनुजव्याघ्रा वैदिकाध्य्यने रताः।
पितृशुश्रूषणरता धनुर्वेदे च निष्ठिताः।। -वाल्मीकि-रामायण, बालकाण्ड, सर्ग १८, श्लोक ३६-३७
अर्थात्- ती पुरुषसिंह राजकुमार प्रतिदिन वेदहरूको स्वाध्याय, पिताको सेवा तथा धनुर्वेदको अभ्यासमा दत्तचित्त रहन्थे।

भरतो वाक्यं धर्माभिजनवाञ्छुचिः। -वाल्मीकि-रामायण, अयोध्या० ७२/१६
अर्थात् भरत धार्मिक कुलमा उत्पन्न भएका थिए र उनको हृदय शुद्ध थियो।

अरण्यकाण्डमा, जब लक्ष्मण श्रीमानका समक्ष हेमन्त ऋतुको वर्णन गर्छन् र भरतको प्रशंसा गर्छन्, तब उनी भरतलाई धर्मात्मा भनेर सम्बोधित गर्छन्-
अस्मिंस्तु पुरुषव्याघ्र काले दुःखसमन्वितः।
तपश्चरति धर्मात्मा त्वद्भक्त्या भरतः पुरे।। -वा० रा०, अरण्य० १६/२७
अर्थात् पुरुषसिंह श्रीराम! यस समय धर्मात्मा भरत तपाईका लागि धेरै दुःखी छन् र तपाईमा भक्ति राख्दै नगरमा तपस्या गरिरहेका छन्।

भरतको पितृ-भक्ति-
विवाह पश्चात् दशरथजीको आज्ञा पाएर जब भरत शत्रुघ्नसहित आफ्ना मामा कैकेयनरेश युधाजित्का साथ ननिहाल गइसकेका थिए तब एक दिन यिनलाई एक अप्रिय सपना आउँछ, जसकारण यी मनमनै धेरै संतप्त भए। मित्रहरूको गोष्ठीमा हास्यविनोद गर्दा पनि प्रसन्न भएनन्। हृदयमा स्वप्नको भय नहटेका कारण यिनले पिताजीसँग जाने निश्चय गर्छन तथा बाटोमा सात रात व्यतीत गरेर आठौँ दिन अयोध्यापुरी पुगे। माता कैकेयीसँग पिताश्री दशरथको स्वर्गवासको समाचार पाउँदा शोकका कारण भरतजीको जो दशा भयो तथा पिताका लागि जसप्रकारले यिनले विलाप गरे, त्यसबाट नै उनको श्रद्धा-समन्वित सत्य पितृप्रेमको पत्तो लाग्छ। जब माताले धैर्य धारण गर्नका लागि भने, तब उत्तरमा भन्छन्-

अभिषेक्ष्यति रामं तु राजा यज्ञं नु यक्ष्यते।
इत्यहं कृतसंकल्पो हृष्टो यात्रामयासिषम्।।२७।।
तदिदं ह्यन्यथाभूतं व्यवदीर्ण मनो मम।
पितरं यो न पश्यामि नित्यं प्रियहिते रतम्।।२८।।
क स पाणिः सुखस्पर्शस्तातस्याक्लिष्टकर्मणः।
यो हि मां रजसा ध्वस्तमभीक्ष्णं परिमार्जति।।३१।। -अयोध्या०, सर्ग ७२

अर्थात् मैले त यो सोचेको थिए कि महाराज श्रीरामको राज्याभिषेक गर्नेछौँ र स्वयं यज्ञको अनुष्ठान गर्नेछौँ- यही सोँचेर मैले धेरै हर्षका साथ त्यहाँबाट यात्रा गरेको थिए।।२७।। तर यहाँ आउँदा सबै कुरा मेरो आशाको विपरीत पो पाए। मेरो हृदय चिरिएको छ, किनकी सदा आफ्नो प्रिय र हितमा लागिरहने पिताजीलाई म देखिरहेको छैन।।२८।। हाय! अनायास नै महान् कर्म गर्नेवाला मेरा पिताको त्यो कोमल हात कहाँ छ, जसको स्पर्श मेरो लागि धेरै नै सुखदायक थियो? उहाँ त्यही हातले मेरो धूलोसमान शरीर बारम्बार पुछ्नुहन्थ्यो।।३१।।

भरतको मातृ-भक्ति-
दशरथ-पुत्रहरूमा आफ्ना माताहरूप्रति अनुरक्ति र ममत्वको भाव विद्यामान थियो। ननिहालमा त्यस दुःस्वप्तका कारण भरत मानसिक अशान्ति र अस्थिरताले यति व्याकुल भइसकेका थिए कि ती वसिष्टद्वारा उनीहरूलाई अयोध्या लैजानेवाला दूतहरू (सिद्धार्थ, विजय, जयन्त, अशोक र नन्दन -अयोध्या० ६८/५) सँग सोध्छन्-

आर्या च धर्मनिरता धर्मज्ञा धर्मवादिनी।
अरोगा चापि कौसल्या माता रामस्य धीमतः।।८।।
कञ्चित् सुमित्रा धर्मज्ञा जननी लक्ष्मणस्य या।
शत्रुघ्नस्य च वीरस्य अरोगा चापि मध्यमा।।९।।
आत्मकामा सदा चण्डी क्रोधना प्राज्ञमानिनी।
अरोगा चापि मे माता कैकेयी किमुवाच ह।।१०।। -अयोध्या, सर्ग ७०

अर्थात् धर्मलाई जान्नेवाला र धर्मको चर्चा गर्नेवाली बुद्धिमान् श्रीरामकी माता धर्म परायणा आर्या कौसल्यालाई त कुनै रोग या कष्ट त छैन?।।८।। के वीर लक्ष्मण र शत्रुघ्नकी जननी मेरी माहिली आमा धर्मज्ञा सुमित्रा स्वस्थ र सुखी छिन्?।।९।। जो सदा आफ्नो नै स्वार्थ सिद्ध गर्न चाहन्छ र आफूलाई मात्र बुद्धिमति सम्झन्छिन्, ती उग्र स्वभावशाली कोपशीला मेरी माता कैकेयीलाई त कुनै कष्ट छैन?।।१०।।

कैकेयीको इच्छानुसार राजा दशरथाद्वारा श्रीरामलाई वनवास पठाउँदा माता कौसल्याको दुःखको अनुभूति भरत राम्ररी गर्न सक्थे। ती माता कैकेयीसँग भन्थे-

तथा ज्येष्ठा हि मे माता कौसल्या दीर्घदर्शिनी।
त्वयि धर्मे समास्थाय भगिन्यामिववर्तते।। -अयोध्या०, ७३/१०
अर्थात् मेरी ठुली आमा कौसल्या पनि धेरै दुरदर्शिनी हुनुहुन्छ। उहाँ धर्मको आश्रय लिएर तिमीसँग पनि बहिनीझैँ व्यवहार गर्छिन्।

भरतको भ्रातृ-स्नेह-
वेदहरूको उद्घोष 'मा भ्राता भ्रातरं द्विक्षन्' (अथर्व० ३/३०/३) को सार्थकता अयोध्या राजकुमारहरूको जीवनचरित्रमा दृष्टिगोचर हुन्छ। रामायणमा यिनको भ्रातृ-प्रेमको धेरै वर्णन छ, जो हृदयलाई आह्लादित गर्नुका साथसाथै व्यावहारिक शिक्षालाई पनि प्रकाशित गरिदिन्छ-

पिता ही भवति ज्येष्ठो धर्ममार्यस्य जानतः। -अयोध्या० ७२/३३
अर्थात् धर्मका ज्ञाता श्रेष्ठ पुरुषका लागि ठुला दाइ पिताका समान हुन्छन्।

राघवः स हि मे भ्राता ज्येष्ठः पितृसमो मतः।। -अयोध्या० ८५/९
अर्थात् श्रीरघुनाथजी मेरा ठुला दाइ हुनुहुन्छ। म उहाँलाई पिताका समान मान्छु।

भरत आफ्ना सबै भाइहरूसँग धेरै प्रेम गर्थे, तर श्रीरामसँग उनको विशेष लगाव थियो। भ्राता श्रीरामको वनवासको समाचार सुनेर भरतको मुखबाट जो गदगद वाणी निस्कन्छ, त्यो रामायणकालीन संस्कृतिको प्रेरणाप्रद श्रेष्ठता प्रकट गर्दछ-

निवर्तयित्वा रामं च तस्याहं दीप्ततेजसः।
दासभूतो भविष्यामि सुस्थितेनान्तरात्मना।। -अयोध्या० ७३/२७
अर्थात् श्रीरामलाई फर्काएर उद्दीप्त तेजवाला तिनै महापुरुषलाई नोकर बनाएर स्व्स्थचित्तले जीवन व्यतीत गर्नेछु।

रामः पूर्वो हि नो भ्राता भविष्यति महीपतिः।
अहं त्वरण्ये वत्स्यामि वर्षाणि नव पञ्च च।। -अयोध्या० ७९/८
अर्थात् श्रीरामचन्द्रजी हामीहरूका ठुला दाइ हुनुहुन्छ, अतः उहाँ नै राजा हुनुहुन्छ। उहँको साटो म नै १४ वर्ष वनवास गर्नेछु।

यदि त्वार्ये न शक्ष्यामि विनिवर्तयितुं वनात्।
वने तत्रैव वत्स्यामि यथार्यो लक्ष्मणस्तथा।। -अयोध्या० ८२/१८
अर्थात् यदि म आर्य श्रीरामलाई वनबाट नफर्काउँन सकेन भने स्व्यं पनि नरश्रेष्ठ लक्ष्मणजस्तै निवास गर्नेछु।

हेर्नुस्, कति उच्च भावना र भक्ति छ! कति पवित्र भाव छ! कति निरभिमानता र कति त्याग छ!

मुनिश्रेष्ठ भरद्वाजको दर्शन र आक्षेपको उत्तर

वाल्मीकिजीले एकतर्फ जहाँ अयोध्या राजकुमारहरूको जीवन-वृत्तान्तलाई प्रकट गरेका छन्, त्यही आफ्ना समकालीन अनेक महान् तपस्वीहरूको उल्लेख पनि गर्नुभएको छ। उहाँले प्रतिपादित गरिदिनुभएको छ कि काव्य तब मात्र विश्व-विश्रुतिका कारण बनेर कुसुमित हुन्छ, जब त्यसमा वर्णित पात्रहरूका साथसाथ तिनका मार्गदर्शकको पनि उल्लेख हुन्छ। रामायणमा मुनि भरद्वाज वाल्मीकिजीका शिष्यका रूपमा वर्णित छन् (बाल० २/४,५)। भरद्वाजको आश्रम प्रयागमा स्थित छ। त्यो नाना प्रकारको वृक्षहरू र फूलहरूबाट सुशोभित थियो (अयोध्या० ५४/४,५)। यिनैको परामर्शमा श्रीरामजीले चित्रकूटमा आफ्नो आश्रम बनाएका थिए (बाल० १/३१, अयोध्या० ५४/२८)। मुनि भरद्वाज यिनको सत्कार नाना प्रकारका अन्न, रस र फल-मूल दिएर गर्छन् (अयोध्या० ५४/१८)। अग्निपुराणको यो श्लोकले यही कुरा सिद्ध गर्दछ-
शृंगवेरं प्रयागं च भरद्वाजेन भोजितः।। -अध्याय ६, श्लोक ४६
अर्थ- शृंगवेरपुरपछि प्रयागमा भरद्वाज महर्षिले उनीहरूलाई भोजन गराए।

निर्दोष जीवहरूको मासुका भोका अधर्मी मान्छेहरू आफ्नो घाँटीमा हड्डी अट्काएर यो चित्कार लगाउँछन् कि मुनि भारद्वाजले भरत र उनका सेनाको आतिथ्य-सत्कारमा जो भोजन दिएका थियो त्यसमा मासु विद्यमान थियो। यसबाट उनीहरू यो सिद्ध गर्न चाहन्छन् कि हिन्दुहरूका पूर्वज आर्य मासुको सेवन गर्थे। आफ्ना सन्देष्टाहरूका पक्षधर्ताहरूले यो आक्षेप आंखामा बालुवा भरेर गरेका छन्। जब हामी यी मतावलम्बीहरूका ग्रन्थहरूबाट मांस भक्षणको प्रमाण दिएर प्रश्न गर्छौं तब यिनीहरू सभामा मृत्युकालको विलापझै भिख मांग्छन् किनकी यिनका ग्रन्थहरूका अनुसार मांसाहारको सम्मतिले न केवल यिनका राक्षस कोटिका पूर्वज बरु स्वयं यिनका ईश्वरले नै दिन्छन्। यिनैको पक्ष लिएर यी मतवादी हाम्रा ग्रन्थहरूमा मिथ्या दोषारोपण गरी आफ्नो मतको वकालत गर्छन्।
भरतले माँसु खाएको कुरा सम्पूर्ण वाल्मीकि-रामायणमा कतै लेखिएको छैन तथा भरद्वाजद्वारा सत्कारमा माँसु दिनेवाला प्रकरण पनि मुनि भरद्वाजको आचरण र सिद्धान्तहरूको विपरीत हो। जस्तै-

(१) जब मृत क्रौञ्च चराहरूको जोडालाई देखेर वाल्मीकिको मुखबाट करुण वाणी काव्य (श्लोक) को रुपमा प्रस्फुटित भयो, तब मुनि भरद्वाज त्यहाँ उपस्थित थिए (बाल० २/७-२१)। त्यहाँ मरेका चराहरूको माँसु खाएको कुनै उल्लेख छैन।

(२) हामी यो सिद्ध गरिसकेका छौँ कि जब राम, सीता र लक्ष्मणसहित भरद्वाजको आश्रम पुगे तब मुनि उनको सत्कार अन्न र फल-मूल दिएर गर्छन्। यो पनि ज्ञातव्य छ कि मुनिराजका चारैतर्फ मृग, चरा र मुनिजन निवास गर्थे र श्रीरामको स्वागतपूर्वक सत्कार गरेपछि भरद्वाजजी धर्मयुक्त वचन रामचन्द्रसँग बोल्छन् (अयोध्या० ५४/१९-२०)। अर्थात् भरद्वाजको आश्रमसमीप मुनि-मण्डली पनि थियो। अब बताउँनुहोस्, जसको गणना मुनिहरूको कोटीमा भइरहेको छ र जसलाई मुनि-मण्डलीमा उच्च स्थान प्राप्त छ, त्यस्तो व्यक्तिले धर्मात्मा या उसको सेनाको आतिथ्य-सत्कारमा माँसु कसरी दिन सक्छ होला?

(३) अयोध्या० ९१/३२ का अनुसार भरद्वाज मुनि भरत र उनका सेनाहरूका लागि पशुहरूको लागि शालाहरू निर्माण गर्छन्। यो उदाहरण भरद्वाजको महानतालाई प्रकट गर्दछ।

(४) धर्मज्ञ मुनिले क्रमशः वसिष्ठ र भरतलाई अर्घ्य, पाद्य र फलादि निवेदन गरेर ती दुवैका कुलको कुशल समाचार सोधे। वसिष्ठ र भरतले पनि मुनिको शरीर, अग्नि, शिष्यवर्ग, वृक्ष तथा मृग-पक्षी आदिको कुशल समाचार सोधे (अयोध्या० ९०/६,८)। यहाँ मुनिका शिष्यवर्ग (शिष्येषु) को उल्लेख प्राप्त हुन्छ। यस्तो प्रतीत हुन्छ कि त्यहाँ कुनै गुरुकुल थियो र भरद्वाजसँग विद्यार्थी शिक्षा ग्रहण गर्थे। यसबाट यो पनि पत्ता लाग्छ कि मुनि भरद्वाजको जीवहरूप्रति अत्यन्त दयापूर्ण दृष्टि थियो, अन्यथा भरत र वसिष्ठ जीवहरूको कुशल समाचार सोध्दैनथे होलान्।
भरतलाई मांसाहार भोजन कत्ति पनि अभीष्ट थिएन, अन्यथा उनी त्यही समय भरद्वाजसँग माँसुले युक्त भोजन निवेदन गर्न सक्थे। भरतको संकल्प हेर्नुहोस्-
वीर रघुनन्दन! म पनि चौध वर्षसम्म जटा र जीर धारण गरेर फल-मूलको भोजन गर्दै तपाईको आगमनको प्रतीक्षामा नगरबाट बाहिर नै रहनेछु। -अयोध्या० ११२/२३,२४

यी उदाहरणबाट सिद्ध हुन्छ कि भरद्वाज मुनिको मनको संसारमा जीवहरूप्रति करुणा तथा स्नेहयुक्त भाव भरिएको थियो। उपर्युक्त तथ्यहरूको आलोकमा हाम्रा पूर्वजहरू, आर्य भरत र मुनि भरद्वाज आदि वैदिक पथानुगामीहरूमािथ मांसाहारको दोषारोपण गर्नु अज्ञानता र अनर्गल प्रलाप नै हो।

[स्रोत- शान्तिधर्मी मासिक पत्रिकाको मे २०१९ को अंक]

ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त



ईश्वर, जीवात्मा एवं प्रकृति विषयक वैदिक सिद्धान्त

लेखक- प्रियांशु सेठ
नेपाली अनुवादक- अविरल डि० सी०

ईश्वर
१. ईश्वर एक छन् र तिनको मुख्य नाम 'ओ३म्' हो। आफ्ना विभिन्न गुण-कर्म-स्वभावका कारण उनी अनेक नामहरूले जानिन्छन्।
२. ईश्वर 'निराकार' छन् अर्थात् उनको कुनै मूर्ति छैन र न बन्न सक्छ। न त उनको कुनै लिंग या निशान नै छ।
३. ईश्वर 'अनादि, अजन्मा र अमर' छन्। उनी न त कहिल्यै जन्मिन्छन् न त कहिल्यै मर्छन्।
४. ईश्वर 'सच्चिदानन्दस्वरूप' छन् अर्थात् उनी सदैव आनन्दमय रहन्छन्, तर कहिल्यै क्रोधित हुन्न।
५. जीवहरूलाई उनीहरूको कर्म अनुसार यथायोग्य न्याय दिने हेतुले उनी 'न्यायकारी' कहलिन्छन्। यदि ईश्वर जीवहरूका कुकर्मका लागि उनीहरूलाई दण्ड नदिए उनी अन्यायकारी सिद्ध हुन्छन्।
६. ईश्वर न्यायकारीका साथ-साथ 'दयालु' पनि छन् अर्थात् उनी जीवहरूलाई यसकारण दण्ड दिन्छन् ताकि जीव अपराध गर्नबाट बचेर दुःखको भागी नबनोस्, यही ईश्वरको दया हो।
७. कण-कणमा व्याप्त भएकाले उनी 'सर्वव्यापक' पनि हुन् अर्थात् सबै स्थानमा उपस्थित।
८. ईश्वरलाई कसैसँग भय छैन, जसकारण उनी 'अभय' पनि हुन्।
९. ईश्वर 'प्रजापति' र 'सर्वरक्षक' हुन्।
१०. ईश्वर सदैव 'पवित्र' छन् अर्थात् उनको स्वभाव 'नित्यशुद्धबुद्धमुक्त' छन्।
११. ईश्वरलाई आफ्ना कार्य गर्नका लागि कसैको सहायताको आवश्यकता पर्दैन। ईश्वर 'सर्वशक्तिमान्' हुन् अर्थात् उनी आफ्नो सामर्थ्यले सृष्टिको उत्पत्ति, पालन र प्रलय गर्छन्। उनी आफ्नो कुनै कार्य अधुरो छोड्दैनन्।
१२. ईश्वर अवतार लिँदैनन्। श्रीरामचन्द्र तथा श्रीकृष्ण आदि महात्मा थिए, ईश्वरका अवतार होइनन्।
१३. ईश्वर 'सर्वज्ञ' छन् अर्थात् उनका लागि सबै काल एक हो। भूत, वर्तमान र भविष्यत्, यो काल त मनुष्यका लागि हो। ईश्वर त 'नित्य' छन्, उनी सबै कालमा स्थित छन्।

जीवात्मा
१. जीवात्मा, ईश्वरबाट अलग एक चेतन सत्ता हो।
२. जीवात्मा अनादि, अजन्मा र अमर छ। ऊ न जन्म लिन्छ न त त्यसको मृत्यु नै हुन्छ।
३. जीवात्मा अनेक र अन्तवान् छ। यिनको शक्ति र ज्ञानमा अल्पता हुन्छ।
४. जीवात्मा आकार रहित छ, र उसको कुनै लिंग छैन।
५. शरीरले मृत्यु अवस्थालाई प्राप्त गर्दा जीवात्मा एक शरीर छोडेर अर्को शरीरमा संचारित भइहाल्छ।
६. जीवात्मा कर्म गर्नमा स्वतन्त्र छ। जीवात्माको कमहरूको न्याय ईश्वरको न्याय व्यवस्थामा हुन्छ।
७. यदि जीवात्मा अल्पज्ञताले मुक्त भएर नित्य आनन्दको कामना गर्दछ भने उसले शारीरिक इन्द्रियहरूको माध्यमले ईश्वरको शरणमा जानुपर्छ, जसलाई मोक्ष भनिन्छ।

प्रकृति
१. प्रकृति जड़ पदार्थ हो। यो सदा नै रहनेवाला हो र सदा नै रहनेछ।
२. प्रकृति सर्वव्यापी छैन किनकी यस सृष्टिभन्दा बाहिर यस्तो कुनै स्थान पनि छ जहाँ न प्रकृति छैन न किन्तु ईश्वर नै ईश्वर छन्।
३. प्रकृतिको आधार ईश्वर हो। ईश्वर नै प्रकृतिका स्वामी पनि हुन्।
४. प्रकृति ज्ञान रहित छन्। प्रकृति ईश्वरको सहायता बिना संचालिन हुन सक्दैन।
५. संसारमा कुनै पनि यस्तो चिज छैन जसलाई जादु भन्न मिलोस्। सबै चिज नियमले हुन्छन्। प्रकृतिका सबै चिज सूर्य, चन्द्र, पृथ्वी आदि नियमले चल्छन्। नियम कहिल्यै बद्लिदैन, सदा एक समान रहन्छ।

।।ओ३म्।।

Saturday, August 15, 2020

मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र



मनुष्य जातिको अस्तित्वको आधार हो- राष्ट्र

वैदिक संस्कृति राष्ट्र रक्षालाई मनुष्य जातिको अस्तित्वको आधार घोषित गर्दछ। हाम्रा पवित्र ग्रन्थ वेदमा राष्ट्र रक्षाका प्रति आदर्श कर्तव्यहरूको उद्घोषणा यस प्रकारले गरिएको छ-

• मा व स्तेनऽईशत। -यजु० १/१
भ्रष्ट तथा चोर हामीमाथि शासन नगरून्।

• वयं तुभ्यं बलिहृतः स्याम। -अथर्व० १२/१/६२
हामी सबै मातृभूमिका लागि बलिदान दिनेवाला होवौँ।

• यतेमहि स्वराज्ये। -ऋ० ५/६६/६
हामी स्वराज्यका लागि सदा यत्न गरौँ।

• धन्वना सर्वाः प्रदिशो जयेम। - यजु० २९/३९
हामी धनुष अर्थात् युद्धसामग्रीद्वारा सबै दिशामा विजय प्राप्त गरौँ।

• सासह्याम पृतन्यतः। - ऋ० १/८/४
आक्रमण गर्नेवाला शत्रुलाई हामी पछि पारौँ।

• माता भूमिः पुत्रो अहं पृथिव्याः। -अथर्व० १२/१/१२
भ्रूमि मेरी माता हुन् र म त्यस मातृभूमिको पुत्र हुँ।

• उप सर्प मातरं भूमिमेताम्। -ऋ० १०/१८/१०
हे मनुष्य! तिमी यस मातृभूमिको सेवा गर।

• नमो मात्रे पृथिव्यै नमो मात्रे पृथिव्या। -यजुर्वेद ९/२२
मातृृभूमिलाई हाम्रो नमस्कार छ। हाम्रो बारम्बारको नमस्कार छ।

अथर्ववेदको १२ औँ काण्डको पहिलो सूक्तमा मनुष्य समाजलाई राष्ट्रका प्रति समर्पित हुनका लागि प्रेरणा दिइएको छ जो मनुष्यका राष्ट्रिय कर्तव्यहरूको सूचक हो। हेर्नुृहोस्-

• ये ग्रामा यदरण्यं या: सभा अधि भूम्याम्।
ये संग्रामा: समितयस्तेषु चारु वदेम ते।। -अथर्व० १२/१/५६
अर्थात् हे मातृभूमि! जो तिम्रा गाउँहरू छन्, जो जंगल छन्, जो सभा समिति (काउन्सिल) अथवा संग्राम स्थल छन् हामी तिनीमध्ये कुनै पनि स्थानमा किन नहोऔँ तिम्रो विषयमा उत्तम विचार तथा भाषण आदि गरौँ। तिम्रो हितको विचार हाम्रो मनमा बनिरहोस्।

• उपस्थास्ते अनमीवा अयक्ष्मा अस्मभ्यं सन्तु पृथिवि प्रसूता:।
दीर्घं न आयु: प्रतिबुध्यमाना वयं तुभ्यं बलिहृत: स्याम।। -अथर्व० १२/१/६२
अर्थात् हे मातृभूमि! हामी सबै रोगरहित र स्वस्थ भएर तिम्रो सेवामा उपस्थित हुन सकौँ। तिमीमा उत्पन्न र तैयार गरिएका स्वदेशी पदार्थ नै हाम्रो उपयोगमा सदा आउँछन्। हाम्रो आयु दीर्घ होओस्। हामी ज्ञानसम्पन्न भएर आवश्यकता पर्दा तिम्रा लागि प्राण सम्म बलि दिन सक्ने होऔँ।

कति मार्मिक उपदेश छ। यसभन्दा उत्तम राष्ट्रि धर्मको उपदेश अरु के हुन सक्ला! राष्ट्रको ऐश्वर्यलाई खुब बढाउँने यत्न गर्नुपर्छ, यस कुराको उपदेश वेदहरूमा पाइन्छ।
वेदहरूमा जहाँ ईश्वरसँग वैयक्तिक, पारिवारिक र सामाजिक कल्याणका लागि प्रार्थना गरिन्छ त्यहाँ प्रत्येक देशभक्तले यो पनि प्रार्थना नित्य गर्नुपर्छ र यसका लागि नित्य प्रयत्न पनि गर्नुपर्छ-
 
• स नो रास्व राष्ट्रमिन्द्रजूतं तस्य ते रातौ यशस: स्याम। -अथर्व० ६/३९/२
हे ईश्वर! तपाई हामीलाई परम ऐश्वर्य सम्पन्न राष्ट्र प्रदान गर्नुहोस्। हामी तपाईका शुभ दानमा सदा यशस्वी भएर बस्न सकौँ। 
राष्ट्रोन्नति कस्ता गुणहरूको धारण गरेर हुन्छ, यस कुरालाई वेदमा निम्न शब्दले स्पष्ट गरिएको छ-

• सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञ: पृथिवीं धारयन्ति। -अथर्व० १२/१/१
अर्थात् सत्य, विस्तृत अथवा विशाल ज्ञान, क्षात्र बल, ब्रह्मचर्य आदि व्रत, सुख-दुःख, शीत ताप, मान-अपमान आदि द्वन्द्वहरूको सहन, धर्न र अन्न, स्वार्थ त्याग, सेवा र परोपकारका भावना यी गुणहरू हुन् जो पृथ्वी धारण गर्नेवाला हुन्। यी सबै भावनाहरूलाई एक शब्दमा धर्मद्वारा धारण गर्न सकिन्छ।

आउँनुहोस्, वेदमा निर्दिष्ट राष्ट्रहित आज्ञाहरूको पालन गरेर राष्ट्र सेवा रुपी यज्ञमा आहुति देऔँ र यस देशलाई स्वर्गतुल्य बनाऔँ।

Saturday, August 8, 2020

श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?


श्रीमद्भगवद्गीतामा आतंकवाद छैन?

लेखक- श्री विष्णु शर्मा
नेपाली अनुवादक- अविरल डि० सी०

प्रायः अनेक प्रकारका विभिन्न विचारधारावाला विद्वान् महोदयहरू गीतामा यो आक्षेप लगाउँनुहुन्छ कि गीतामा जिहाद छ र भीषण नरसंहारको आदेश दिइएको छ किन्तु आश्चर्यको कुरा यो हो कि यस्ता मान्छेहरू कहिल्यै गीता उठाएर देखेका पनि हुँदैनन्। केवल सुनेकोभनेको कुरालाई मनमा गाँठो पारेर असत्यको प्रचार गर्छन् जब कि सत्य यसभन्दा उल्टो छ। आउँनुहोसु सत्य के हो विमर्श गरौँ-

जब भगवान् कृष्णले पाण्डवहरूको अधिकार माँग्न हस्तिनापुर जानुभयो तब दुर्योधनले साफ साफ निषेध गरिदिन्छ र भन्छ-
'सूच्यग्रं नैव दास्यामि विना युद्धेन केशव!'
अर्थात् 'म बिना युद्ध गरेर सुइयोको टुप्पो अट्ने जति भूमि पनि दिनेछैन।'

यस वाक्यांशबाट दुर्योधनको मानसिकता स्पष्ट हुन्छ कि यदि उसबाट अलिकति पनि जमीन चाहिए युद्ध गर्नुपर्छ। यसबाहेक अन्य कुनै बाटो छैन।
यस प्रकार युद्धको आधारस्तम्भ दुर्योधनले शान्तिप्रस्तावलाई अवहेलना गरेर नै राखिदिन्छ। भीष्म, द्रोण, कृपाचार्य आदिले पनि विवश भएर उसैको साथ दिन्छ र आफ्नो विवशता यी शब्दमा व्यक्त गर्दछन्-

अर्थस्य पुरुषो दासो दासत्वर्थो न कस्यचित्।
इति सत्यं महाराज बद्धोऽस्म्यर्थेन कौरवैः।।
अतस्त्वां क्लीववद् वाक्यं ब्रवीमि कुरुनन्दन।
भृतोऽस्म्यर्थेन कौरव्य युद्धादन्यत् किमिच्छसि।।

महाराज! पुरुष अर्थ (धन) को दास हो, अर्थ कसैको दास होइन। यो सत्य कुरा हो। म कौरवहरूसँग अर्थ (धन) ले बाँधिएको छु। कुरुनन्दन! यसैले आज म तिम्रा सामु नपुंसकका समान वचन बोल्छु। धृतराष्ट्रका पुत्रहरूले धनद्वारा मेरो भरणपोषण गरेका छन्। यसैले (तिम्रो पक्ष भएर) उनीहरूको युद्ध गर्ने अतिरिक्त तिमी के चाहन्छौ, यो बताऊ।

(यो कथन भीष्म, द्रोण र शल्यको हो, पुनरुक्ति दोष नहोस् भनेर एक पल्ट मात्र दिइदै छ, विस्तृत जानकारीका लागि महाभारतको भीष्म पर्वको भीष्म वध पर्व पढौँ जो कि महाभारतमा गीताको पछि छ।)

यसबाट ती सबैको विवशताको पत्तो लाग्छ साथसाथै यो पनि ज्ञात हुन्छ कि यी सबै जान्दथे कि कौरवपक्ष गलत थिए र गलत पक्षको साथ दिनु त्यत्तिकै गलत हो जत्ति कि गलत काम गर्नेवाला।

यद्यपि अर्जुन विषादमा डुबेर शोकाकुल हुन गए फेरि पनि कौरवहरूलाई आततायी र दुष्ट मान्दथे-
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याजनार्दन।
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः।।
“हे जनार्दन! धृतराष्ट्रका यी पुत्रहरूको हत्या गरेर हामीलाई के सुख प्राप्त हुन सक्छ। यद्यपि यी आततायी हुन्, दुष्ट हुन् तथापि यिनको हत्याले हामीलाई नै पाप हुनेछ।” (गीता १।३६)

यहाँ आततायी शब्द धेरै नै महत्वपूर्ण छ। वशिष्ठ स्मृतिमा आततायीको लक्षण यस प्रकार दिइएको छ-
अग्निदो गरदश्चैव शस्त्रपाणिः धनापहः।
क्षेत्रदारहरश्चैव षडेत आततायिनः।।
अर्थात्-
१. घरमा आगो लगाउँनेवाला
२. विष दिने या खुवाउँनेवाला
३. शस्त्रहातमा लिएर मार्नका लागि आउँनेवाला
४. धन लुट्नेवाला
५. खेत वा भूमि लुट्नेवाला
६. स्त्री हरण गर्नेवाला

यस प्रकारका समस्त कर्म गर्नेहरू आततायी हुन् र कौरवहरूमा यी ६ लक्षण घट्छन् पनि-
१. लाक्षागृहमा आगो लगाउँने
२. भीमसेनलाई धोखाले विष खुवाउँने
३. सधै युद्धमा अस्त्र लिएर मार्न तैयार हुने
४. जुवामा पाण्डवहरूको धन, राजपाट खोस्ने
५. जयद्रथद्वारा द्रौपदीको हरण गर्नु एवं दुर्योधन तथा दुःशासनद्वारा पनि सभामा द्रौपदीको अपमान गर्नु, उनलाई निर्वस्त्र गर्ने प्रयत्न गर्नु।
६. जीविकाको लागि पाण्डवहरूलाई पाँच गाउँ पनि नदिनु

यस प्रकार समस्त कौरवहरू मारिन योग्य थिए किनकी सबै आततायी थिए। मनुस्मृतिमा पनि आततायीहरूलाई देख्ना साथ मार्ने आदेश छ-
‘आततायिनमायान्तं हन्यादेवाविचारयन्।'

यसैकारण भगवान् श्रीकृष्ण यी सबैलाई वध गर्न योग्य मान्नुहुन्थ्यो किनकी जुन देशका गणमान्य मान्छे नै पापी हुन्छन् त्यहाँका प्रजा पनि सुस्तरी सुस्तरी त्यस्तै दुर्गुणहरूको अनुकरण गर्दछन्।

वेद र गृहस्थ जीवन


वेद र गृहस्थ जीवन

वेद नै सबै सत्य विद्याहरूको पुस्तक हो। वेद ईश्वरको वाणी हो जो सबै सत्य विद्याहरूको पुस्तक हो तथा जीवनका प्रत्येक क्षेत्रमा मनुष्यलाई मार्ग दर्शन पनि गर्दछ।
ब्रह्मचर्यपूर्वक विद्या अध्ययन गर्दै गृहस्थ आश्रममा प्रवेश हुनेवालालाई वेद मार्गदर्शन गर्दै भन्छ-

गृहा मा विभीत। (यजु० ३/४१)
हे मनुष्य! विवाहित जीवनको पवित्र दायित्व र कर्तव्यहरूसँग नडराउ, तिनलाई निष्ठापूर्वक वहन गर।

विवाहमा आएका विद्वानहरूका लागि वेदको आज्ञा छ कि-
सुमंगलीरियं वधूरिमाँ समेत पश्यत।
सौभाग्यमस्यै दत्वा यथास्तं विपरेतन।। (ऋ० १०/८५/३३)
हे विद्वानहरू! यी दुलही मंगलस्वरूप छिन् अतः यिनीसँग स्नेह राख तथा मंगल दृष्टिले यिनलाई हेर। यिनलाई सौभाग्यको आशीर्वाद दिएर आफ्नो घरप्रति जाऊ।

नयाँ दुलहीका लागि वेद आदेश दिन्छ कि-
अघोर चक्षुरपतिघ्न्येधि शिवा पशुभ्यः सुमनाः सुवर्चा। (ऋ० १०/८५/४४)
हे रानी! तिमी शान्तदृष्टिवाली एवं पतिको शुभचिन्तन गर्नेवाली भएर आऊ। पशुहरूकी कल्याणकारिणी भएर आऊ। सुन्दर मनवाली र तेजस्विनी भएर गृहमा प्रवेश गर।

वेद नव दम्पत्तीलाई समाजका प्रति आदेश दिन्छ-
प्रजां कृण्वाथाम् इह पुष्यतं रयिम्। (अथर्व० १४/२/३७)
हे दम्पत्ती! तिमी समाज र राष्ट्रको ऐश्वर्य तथा उत्कर्षमा योगदान दिइराख।

मित्रहरू! वेदहरू नै जीवनको हरेक मोडमा हामीलाई मार्गदर्शन गर्नेवाला मार्गदर्शक हुन्।
।।इति ओ३म्।।